४ माघ २०८२ आइतबार
image/svg+xml
प्रवास

ह्याम रेडियोका लागि क्यान युएसए सकृय

क्यालिफोर्निया – नेपालमा प्राकृतिक प्रकोपको समयमा प्रभावकारी सञ्चारको साधन मानिएको ह्याम रेडियो सञ्चालनका लागि कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) अमेरिकाको सकृयतामा पूर्वाधार निर्माण सुरु भएको छ।
भुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको समयमा ह्याम रेडियो विश्वभरिनै प्रभाकारी सञ्चारमाध्यम मानिन्छ। अमेरिकाको पश्चिमी राज्य अरिजोनाको स्टेट युनिभर्सिटीमा आइतबार आयोजित अमेरिकन सोसाइटी अफ नेप्लिज इन्जिनियर्स र क्यान युएसएको संयुक्त बार्षिक सम्मेलनमा उक्त जानकारी दिइएको हो। क्यान युएसएका उपाध्यक्ष प्रदीप खनालले ८ रेक्टरस्केलसम्मको भुइचालोले समेत कुनै असर नगर्नेगरि रिपिटर स्टेशन सहितको ह्याम रेडियो नेटवर्क स्थापना भइरहेको बताए । त्यसका लागि अमेरिकामा रहेका नेपालीहरुबाट १५ हजार डलर सहयोग संकलन भैसकेको समेत उनले उल्लेख गरे। ‘ह्याम रेडियो नेटवर्कको पहिलो चरणको जडान सम्पन्न भैसकेको छ, अब दोस्रो चरणको लागि काम हुँदैछ,’ स्वागत मनतव्यका क्रममा खनाले भने। ह्याम रेडियो सञ्चालनका लागि अमेरिकामा रहेका नेपाली इन्जिनियरहरुले ५० हजार डलर सहयोग संकलन गर्ने योजना बनाएका छन्। ‘यही बर्षभित्र पुरा गर्ने योजना राखेका छौं,’ खनालले भने। प्राकृतिक प्रकोपमा अन्य सञ्चारका साधनले काम नगरेपनि ह्याम रेडियो भने चलिरहन सक्छ । त्यसो हुँदा यसलाई प्राकृतिक प्रकोपमा विश्वभरि प्रयोगमा ल्याउने गरिन्छ। सम्मेलनमा नेपालबाट इन्जिनियरिङ अध्ययन संस्थानका डीन भरतराज पहारीले प्रविधिले मानवीय जीवन सहज र सजिलो बनाउने भएकाले त्यसतर्फ सबैको ध्यान जान जरुरी भएको उल्लेख गरे । उनले अमेरिकामा रहेका नेपाली प्राविधिकहरु र नेपालमा रहेका प्राविधिकहरुबीच सहकार्य भएको खण्डमा त्यो दिगो एवं प्रभावकारी हुने बताए । कार्यक्रममा नेपालले भोगिरहेको ऊर्जा संकटको अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समाधानका उपायहरुका विषयमा समेत प्राविधिकहरुबीच छलफल भएको थियो । त्यसक्रममा ’स्टानअलोन’ जस्तो कम ऊर्जा खपतमै रिचार्ज भएर लामो समय उज्यालो दिने व्याट्री नेपालका लागि सस्तो र उपयोगी हुने निष्कर्श निकालिएको थियो । यो व्याट्रीलाई सोलार, हावा र माइक्रोहाइड्रोबाट समेत रिचार्ज गरेर गाउँमा विद्युतीकरण गर्न सकिने संभावना रहेको प्राविधिकहरुले उल्लेख गरे । कार्यक्रममा एरिजोना स्टट युनिभरसिटीका डाइरेक्टर ग्यारी डिक्र्सले विश्वव्यापी रुपमा ऊर्जाको माग र नेपालले अहिलेको अवस्थामा गर्नसक्ने संभावनाका बारेमा चर्चा गरेका थिए । त्यस्तै सोलार ऊर्जा प्रणालीका बारेमा अरिजोना स्टेट युनिभर्सिटीका अर्का निर्देशक गोभिन्दासामी तामिमानीले चर्चा गरेका थिए । कार्यक्रममा नेपाली युवा अच्युत श्रेष्ठले छतमा रहेको ट्यांकीमा पानी भर्नको लागि धारामा पानी आएको सूचना गर्ने मोबाइल प्रविधि सार्वजनिक गरेका थिए । मोबाइलमा राख्न सकिने यो प्रविधिबाट धारामा पानी आए नआएको र पानी ट्यांकी भरिएपछि संकेत आउँछ । यसको लागि इन्टरनेट आवश्यक पर्ने उनले जानकारी दिए । कार्यक्रममा अमेरिकाका बिभिन्न राज्यमा रहेका पाँच दर्जनको हाराहारीमा युवा इन्जिनियरहरु सहभागी थिए । क्यान युएसएका अनुसार अमेरिकाभरि झण्डै एकहजार दुईसय आइटी इन्जिनियरहरु कार्यरत छन् । क्यान युएसएले उनीहरुले हाँसिल गरेको दक्षतालाई नेपालमा उपयोग गर्नेगरि बिभिन्न योजनाहरु बनाइरहेको छ ।

प्रकाशित: १२ असार २०७१ ००:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App