२२ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

लण्डनमा 'मिनी नेपाल' (फोटो फिचर)

तमुधिं यूकेको आयोना र नेपाली दूतावास लन्डनको सहकार्यमा लण्डनमा १२ औं नेपाली मेलाको भव्य रुपमा सम्पन्न भएको छ।

आइतबार केम्पटन पार्कमा भव्य समारोहबीच प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा मेलाको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत लोकदर्शन रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवर्द्धनमा योगदान पुर्‍याइरहेको बताए। उनले यस मेलाले नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने विश्वास व्यक्त गरे।

कठिन परिस्थितिमा पनि कार्यक्रम आयोजना गरेकोमा तमुधिं यूके र अध्यक्ष हित काजी गुरुङ लगायत कार्यसमितिलाई नेपाली दूतावास र नेपाल सरकारको तर्फबाट राजदूत रेग्मीले धन्यवाद दिए।

उनले नेपाली मेला आगामी दिनम भव्य बनाउनका लागि रचनात्मक सुझाव दिन नेपालीहरुलाई अपील गरे। आगामी कार्यक्रमअघि नै सामूहिक छलफल गरेर सल्लाह, सुझाव लिने योजना राजदूत रेग्मीले सुनाए।

कार्यक्रममा तमुधिं यूेका अध्यक्ष हित काजी गुरुङले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए।

तमुधिं यूकेका महासचिव परशु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए।

दुई हजार भन्दा बढी दर्शकको सहभागिता रहेको मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिएको थियो।

मेलामा करिब दुई दर्जन नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभूषा झल्कने विभिन्न झाँकी र नृत्य प्रस्तुत गरेका थिए।

तमुधिं यूकेले सन २००९ देखि हरेक वर्ष हुँदै आएको छ।

 

प्रकाशित: १४ भाद्र २०७८ ०२:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App