coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

इजरायल–प्यालेस्टाइन द्वन्द्व: त्रासमा नेपाली समुदाय, बंकरमा बास

इजरायल र प्यालेस्टाइनी विद्रोही समूह हमासबीच गत सातादेखि चलिरहेको द्वन्द्वका कारण दुवैतर्फ ठूलो जनधनको क्षति हुनपुगेको छ। प्यालेस्टाइनको गाजा क्षेत्रबाट हमासले इजरायललाई लक्षित गर्दै ठूलो संख्यामा रकेट प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले निरन्तर हवाई तथा स्थल आक्रमण गरिरहेको छ। गत सोमबारयता दुईतर्फी आक्रमणमा परी एक सय ८४ जनाको ज्यान गइसकेको छ।

गाजा क्षेत्रमा इजरायल सेनाले गरेको हवाई आक्रमणमा परी आइतबार साँझसम्म एक सय ७४ जनाको मृत्यु भएको छ। त्यसमध्ये ४७ जना बालबालिका र २९ जना महिला छन्। आक्रमणमा परी एक हजार दुई सय जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। त्यस्तै विद्रोही हमास समूहको रकेट आक्रमणमा परी इजरायलमा १० जनाको मृत्यु भएको छ। तीमध्ये दुई बालबालिका छन्। इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाई हमलामा परी केही विद्रोही कमान्डर मारिएको दाबी गरेको छ। हवाई आक्रमणमा मिडिया कार्यालय रहेका भवन तथा अन्य ठूलाठूला संरचनासमेत ध्वस्त भएका छन्।

द्वन्द्व चर्किदै जाँदा रोजगारी तथा अध्ययनको सिलसिलामा इजरायलमा रहेका नेपालीमा पनि त्रास बढेको छ। द्वन्द्वका कारण हालसम्म नेपाली समुदायमा मानवीय क्षति नभए पनि उनीहरूको बसोबास रहेको दक्षिण पश्चिम क्षेत्र तथा तेलवी क्षेत्रमा हमास समूहले निरन्तर आक्रमण गरिरहेको छ। ‘सन २०१४ मा दुई मुलुकबीच युद्ध हुँदा र त्यसभन्दा पहिले पनि यस क्षेत्रमा द्वन्द्वको प्रभाव परेको थिएन। तर अहिले प्यालेस्टाइन क्षेत्रबाट निरन्तर रकेट आक्रमण भइरहेको छ,’ इजरायलमा केयर गिभरका रूपमा कार्यरत काठमाडौंकी नितु खतिवडाले भनिन्। उनी एक दशकदेखि तेलवी क्षेत्रमा केयर गिभरका रूपमा काम गर्दै आएकी छन्। तेलवीलाई तुलनात्मक रूपमा सुरक्षित क्षेत्र मानिन्थ्यो। तर अहिले त्यहाँ पनि रकेट आक्रमण भइरहेको खतिवडाले बताइन्।

‘अहिले यहाँ रहेका नेपालीमा त्रास छ। रकेट हमला हुँदैछ भनेर साइरन बज्न थालेपछि हतारहतार बंकरभित्र वा घरको ‘अन्डरग्राउन्ड’ मा गएर बस्छौं,’ उनले भनिन्। केही दिनअघि एक भारतीय केयर  गिभर युवतीको रकेट आक्रमणमा परेर निधन भएपछि नेपाली समुदाय थप आत्तिएको खतिवडा बताउँछिन्। ‘हामी सकेसम्म सुरक्षित हुने प्रयासमा छौं तर कति बेला के हुन्छ, थाहा छैन,’ उनले भनिन्। उनले नेपाली दूतावास र अन्य नेपाली संघसंस्थाका प्रतिनिधिसँग सम्पर्कमा रहेको र आफूहरूको अवस्थाबारे जानकारी गराइरहेको बताइन्।

इजरायलस्थित नेपाली दूतावासले त्यहाँको परिस्थितिलाई ध्यान दिँदै नेपाली समुदायलाई खुला ठाउँमा ननिस्कन र सुरक्षित रहन आग्रह गरेको छ। ‘हामीले विभिन्न माध्यमबाट तथा प्रत्यक्ष सम्पर्क गरेर नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरिरहेका छौं,’ इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यले भनिन। बढी आक्रमण भइरहेको दक्षिण पश्चिम क्षेत्रमा नेपाली विद्यार्थीहरू रहेको र आफू उनीहरूसँग निरन्तर सम्पर्कमा रहेको शाक्यले जानकारी दिइन्। 

‘यहाँ द्वन्द्व सुरु हुनेबित्तिकै नेपाली विद्यार्थीले अध्ययन गर्ने पाँचवटै कलेजमा सम्पर्क गरेर उनीहरूको अवस्था बुझेकी थिएँ। हाल उनीहरूलाई सुरक्षित रूपमा बंकरमा राखिएको छ,’ उनले भनिन्। रोजगारीका लागि इजरायलमा रहेका नेपालीलाई पनि सुरक्षित रहन आग्र्र्रह गरेको शाक्यले जानकारी दिइन। ‘हालसम्म सबै नेपाली सुरक्षित हुनुहुन्छ। हामी निरन्तर उहाँहरूको सम्पर्कमा छौं,’ उनले भनिन्।  

राजदूत शाक्यले आफू इजरायल पुगेपछि पहिलो पटक यस्तो परिस्थिति सामना गर्नुपरेको बताइन। ‘यसअघि पनि द्वन्द्व हुने गरेको सुनेकी थिएँ। यसपटक आफैंले त्यो परिस्थिति भोगिरहेकी छु,’ उनले भनिन्। इजरायलमा रकेट आक्रमण हुनुभन्दा पहिले साइरनमार्फत पूर्व सूचना दिइने भएकाले साइरनको आवाज आउनेबित्तिकै सबैजना सुरक्षित ढंगले बंकरभित्र बस्ने गरेको उनले बताइन। इजरायलको हालको अवस्थाबारे जानकारी गराउँदै राजदूत शाक्यले भनिन्, ‘निरन्तर साइरनको आवाज बजिरहेको छ। आकाशभरि रकेट आक्रमणको दृश्य देख्न सकिन्छ। रकेट आक्रमणको आवाजले घरहरू भूकम्पले धक्का दिएजस्तै हल्लिरहेका छन्। कुनै चलचित्रमा देखाइने युद्धको दृश्यभन्दा कम छैन यहाँको अवस्था।’

इजरायल सरकारले सुरक्षाको प्रत्याभूति दिइरहेकाले सबैले राहत महसुस गरिरहेको उनले बताइन। ‘यहाँको सरकारले तपाईंहरूको सुरक्षाको जिम्मा हामी लिन्छौं भनेको छ। त्यसैले यहाँ रहेका नेपाली समुदायले केही राहत महसुस गरिरहेका छौं,’ उनले भनिन्।

पछिल्लो एक सातामा हमासलगायतका प्यालेस्टाइनी विद्रोही समूहले इजरायललाई लक्षित गर्दै दुुुर्र्ई हजारभन्दा बढी रकेट हमला गरेका छन्। त्यसमध्य ९० प्रतिशतभन्दा धेरै रकेटलाई इजरायलको मिसाइल प्रतिरक्षा प्रणालीले बीचमै नष्ट गरिदिएको छ। जसले गर्दा प्यालेस्टाइनको तुलनामा इजरायलतर्फ कम क्षति भएको छ। सन् २००६ मा लेबनानी विद्रोही समुह हजबुल्लासँग भएको द्वन्द्वमा उक्त समूहले इजरायलमा हजारौं रकेट आक्रमण गरेको थियो। त्यसले इजरायलमा ठूलो जनधनको क्षति पुगेको थियो। त्यसपछि इजरायलले आफूमाथि हुने रकट आक्रमण असफल बनाउन सन् २०११ मा अमेरिकाको सहयोगमा मिसाइल प्रतिरक्षा प्रणाली सञ्चालनमा ल्याएको थियो।

प्रकाशित: ३ जेष्ठ २०७८ ०१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App