१८ चैत्र २०८२ बुधबार
image/svg+xml
प्रवास

आसारामका छोराविरुद्ध लुकआउट आदेश

सुरत(भारत) – प्रहरीले भारतीय धर्म गुरु आसारामका छोरा नारायण साईंविरुद्ध लुकआउट आदेश सोमबार जारी गरेको छ। नाबालिगको बलात्कार गरेको अभियोगमा आसाराम जोधपुरमा प्रहरी हिरासतमा छन्। गुजरातको सहर सुरतमा दुई जना दिदीबहिनीले आसाराम र उनका छोराविरुद्ध बलात्कारको उजुरी दिएपछि प्रहरीले लुकआउट आदेश जारी गरेको हो। उजुरीमा आसारामकी पत्नी र छोरीको नामसमेत उल्लेख छ। प्रहरीले आसारामका छोरा नारायण कहाँ छन् थाहा पाउन नसकेकाले आदेश जारी गरेको जनाएको छ। नारायण देशबाहिर भाग्नसक्ने आशंकाका कारण प्रहरीले विमानस्थलमा समेत सावधानी अपनाएको छ।भारतमा कुनै आरोपी देश छोडेर विदेश भाग्नसक्ने आशंका भए लुकआउट आदेश जारी गरिन्छ। नारायणबारे विमानस्थल अध्यागमनसहित अन्य राज्यका प्रहरीलाई समेत सूचित गरिएको छ। आसारामका प्रवक्ताले भने नारायण भारतमा नै रहेको र प्रहरीले भनेको ठाउँमा छानबिनमा सहयोगका लागि उपस्थित हुने बताएका छन्। आसाराम र नारायणविरुद्ध बलात्कार, अप्राकृतिक यौनाचार, अपहरण, महिलासँग जबर्जस्ती गरेको र हत्याको धम्की दिएको आरोप लगाइएको छ। 
दिदीबहिनीले आसाराम र नारायणविरुद्ध लामो समयसम्म यौन शोषण गरेको आरोप लगाएका छन्। उनीहरूले सुरतको जहाँगीरपुरा थानामा उजुरी गरेका छन्। उजुरीअनुसार आसारामले दिदीको बलात्कार अहमदाबादमा गरेका थिए। नारायणले भने बहिनीको यौन शोषण सुरतको जहाँगीरपुरास्थित आश्रमबाहेक साबरकान्ठा जिल्लाको गाम्भोई आश्रम, पटना आश्रम, नेपालको राजधानी काठमाडौंस्थित आश्रम र मध्यप्रदेशको मेघनगरस्थित आश्रममा बलात्कार गरेको उल्लेख छ।
हाई कोर्टले आसारामद्वारा जमानतका लागि दिइएको निवेदन अस्वीकार गरेको थियो। उजुरीकर्ता दिदीबहिनीका अनुसार उनीहरूलाई आसारामको अहमदाबादस्थित मोटेरा आश्रममा आयुर्वेदिक औषधी बनाउन राखिएको थियो। अहिले विवाहीत जीवन बिताइरहेका दिदीबहिनीलाई त्यहीं नै यौन शोषण गरिएको दाबी उनीहरुले गरेका छन्। आसारामले मोटेरा आश्रममा दिदीसँग सन् २००१ देखि २००७ बीच कैयौंपल्ट बलात्कार गरेको उनले बताइन्। 
उजुरीअनुसार बहिनी सन् २००२ देखि २००४ सम्म साधकका रुपमा आसारामको आश्रममा बसेकी थिइन्। उनलाई केही समयका लागि आसारामको हिम्मतनगरस्थित आश्रमको सञ्चालिकासमेत बनाइएको थियो। दिदी भने आयुर्वेदशालामा औषधी उत्पादनमा सघाउने गर्थिन्। दिदीबहिनी दुवैले आफूमाथिको अत्याचारको विरोध गर्दा उनीहरूलाई सताइएको र पछि आश्रममा चोरीको झुटो आरोप लगाएर निकालिएको थियो। दिदी करिब १० वर्ष साधकका रुपमा बसेपछि सन् २००७ मा आश्रम छोडेकी थिइन्। 
सुरतका प्रहरी कमिस्नर राकेस अस्थानाले आसाराम र उनका छोरा नारायणविरुद्ध उजुरी परेको आइतबार पुष्टि गरेका थिए। अस्थानाले नारायण साईंविरुद्ध छानबिन थालेको बताए। अहमदाबादमा अपराध भएका कारण आसारामविरुद्धको उजुरी भने अहमदाबाद पठाइएको छ। प्रहरीले दिदीबहिनीको यौन शोषण सन् २००२ देखि २००४ बीच भएकाले त्यसबेला बहिनी नाबालिग रहेको आशंका गरेको छ।
यसबीच आसारामको आश्रममा नै रहस्यमय रुपमा मारिएका दाजुभाई दिपेश र अभिषेक मृत्यु मामिलाबारे परिवारले पाँच वर्षपछि आन्दोलन तीव्र पारेका छन्। आसारामको आश्रममा अध्ययन गर्ने दिपेश र अभिषेकको लाश आश्रमनजिकै फेला परेका थिए। उनीहरूको परिवारले अहमदाबादमा धर्ना दिनुका साथै न्याय माग्दै फेरि आन्दोलन थाल्ने निर्णय गरेका छन्।
सन् २००८ मा आसारामको साबरमतीस्थित आश्रममा दिपेश र अभिषेक बाघेलाको संदिग्ध रुपमा मृत्यु भएको थियो। क्राइम इन्भेस्टिगेसन डिपार्टमेन्टले मृत्युबारे छानबिन गरेपछि आसारामको आश्रमका सात जना साधकविरुद्ध अभियोगपत्र पेश गरेकेा थियो। आरोपी सात जनाविरुद्ध हत्याको अभियोग लगाइएको थियो। 
अहमदाबादस्थित प्रमुख मेट्रोपोलिटन मजिस्ट्रेटले सात आरोपीमध्ये चारविरुद्ध शनिबार गैरजमानती पक्राउको आदेश दिएका थिए। आरोपी उदय संघानी, अजय शाह, विकास खेमका र मिनकेत पत्राविरुद्ध मजिस्ट्रेटले पक्राउ आदेश दिएका थिए। मृतक दिपेशका पिता प्रफुल्ल बाघेलाले शनिबार सञ्चारमाध्यमसँग भने, 'जोधपुर प्रहरीले आसाराम र उनका अनुयायीलाई पक्राउ गर्नसक्छ भने गुजरात प्रहरीले आरोपी पक्रन किन सक्दैन?' दिपेश र अभिषेक काण्डका आरोपीलाई प्रहरीले पक्राउ गरेको थिएन।

प्रकाशित: २१ आश्विन २०७० २१:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App