८ चैत्र २०८२ आइतबार
image/svg+xml
प्रवास

केदारनाथमा ६८ मानवकंकाल फेला परे

उत्तराखण्ड - केदारनाथमा आएको प्राकृतिक विपत्तिको तीन महिना पछि पनि मानवकंकाल फेला परिरहेका छन् । यसले त्यो प्रलयकारी बाढी झनै क्रुर भएको देखाएको छ। शुक्रबार प्रहरीले ६८ थप शवको दाहसंस्कार गरेको छ। यी मानवकंकाल पछिल्ला तीन दिनमा गरुडचट्टीदेखि गौरीकुण्डको आसपासमा फेला परेका हुन्।उत्तराखण्ड प्रहरीले पर्वत आरोही, कमाण्डो र नागरिकसँग मिलेर यो संयुक्त अभियान चलाएको थियो। उसले केदारघाटको सबैभन्दा उच्च पहाडी क्षेत्रमा शवको खोजी अभियान थालेको थियो जुन १२ हजार ५ सयदेखि १३ हजार फिटको उचाइमा रहेको छ। प्रहरीले सबै शवको पञ्चनामा गरेर डिएनए सेम्पल सुरक्षित राखेको छ। 

केही दिन अगाडि पनि सो क्षेत्रमा ६४ शवको दाहसंस्कार गरिएको थियो। प्रहरी महानिरीक्षक राम सिंह मीणाले जंगलचट्टी, रामबाडा, गौरीगाउँ र भीमबलीका उच्च क्षेत्रमा पनि खोजी अभियान चलाउने बताए। बाढी र पानी बाट जोगिन मानिसहरु उच्च क्षेत्रमा भागे पनि भोक र राहतको अभावमा उनीहरुले ज्यान गुमाएको हुन सक्ने प्रहरी अधिकारीको अनुमान छ ।
यसैबीच सरकारले केदारनाथ मन्दिरमा सेप्टेम्वर ११ तारिखदेखि नियमित पूजा सुरु गर्ने तयारी गरेको छ। सरकारले मन्दिर परिसर सफा गरेर तीर्थयात्रीहरुलाई आवश्यक सुविधाको व्यवस्था गरिसकेको जनाएको छ। तर राहत र उद्धारको कामलाई ध्यान नदिइ सरकारले मन्दिर खुलाउन हतार गरेको सो क्षेत्रमा कार्यरत संघ संस्थाहरुले आरोप लगाएका छन् ।

प्रकाशित: २२ भाद्र २०७० ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App