८ वैशाख २०८१ शनिबार
प्रवास

गण्डकी प्रदेशको खेलकुद विकासको लागि वेलायतमा समन्वय समिति गठन

गण्डकी प्रदेशमा खेलकुदको विकास एवं प्रवर्धनमा सघाउने उदेश्यले बेलायतमा रहेका नेपालीहरु सकृय भएका छन्। यसैबीच गण्डकी प्रदेशमा खेलकुद विकासको लागि बेलायतमा एक उच्चस्तरीय समन्वय मञ्च गठन भएको छ।

गण्डकी प्रदेशका नवनियुक्त सदस्यसचिव तेजबहादुर गुरुङको सम्मानमा आइतबार भर्चुअल रुपमा आयोजित कार्यक्रममा बेलायतका अग्रज समाजसेवी मीनप्रसाद गुरुङको संयोजकत्वमा ‘गण्डकी प्रदेश खेलकुद समन्वय मञ्च यूके’ घोषणा गरिएको हो।

पूर्वराष्ट्रिय खेलाडी समेत रहेका तमुधिं यूकेका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङको संयोजनमा गठित मञ्चमा गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने बेलायतस्थित विभिन्न क्षेत्रीय तथा खेलकुदसम्बन्धि संघसंस्थाको प्रतिनिधित्व रहनेछ।

नवनियुक्त सदस्यसचिव गुरुङको सम्मानमा मञ्चका संयोजक मीनप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तले बधाई तथा शुभकामना ज्ञापन गरे।

अध्यक्ष पन्तले गुरुङ उक्त पदका लागि उपयुक्त व्यक्ति भएको बताए। अनुभवसहित जिम्मेवारी पाएकाले गुरुङबाट गण्डकी प्रदेशले खेल क्षेत्रमा मनग्य लाभ लिने पन्तको भनाइ थियो।

कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा हेमराज शर्माले खेलकुद प्रतिको धारणमा परिवर्तन आउनु पर्नेमा जोड दिए। उनले खेलकुल क्षेत्रमा ठूलो सम्भवना रहेको बताउँदै नयाँ पुस्तालाई खेलप्रति आर्कषण गराउनु पर्ने बताए। उनले परम्परागत खेलहरु लोप हुदै गएको चिन्ता व्यक्त गरे।

मन्तव्यका क्रममा सदस्य सचिव तेजबहादुर गुरुङले आफूमा महत्वपूर्ण जिम्मेवारी आएको र केन्द्रित भएर काम गर्ने वातावरण र पहुंच भएकाले यसलाई अवसरका रुपमा लिएको बताए।  

उनले खेलकुद मनोरन्जनमात्र नभइ अर्थव्यवस्था उकास्ने ठूलो माध्यम भएको उनको धारणा थियो। गण्डकी प्रदेशमा नेपाली डायस्पोराको सहयोग त छंदैछ, बेलायतबाट खेल विकासमा हुन सक्ने सहयोग र सहकार्यका लागि मितेरी सम्बन्ध गाँस्न पनि उनले जोड दिए।

सदस्य सचिव गुरुङले पहाडी भेगमा खेलिने मौलिक खेल छेलो र तारो धनुष हान्ने खेल प्रवर्धनका लागि बजेट निकासा भइसकेको पनि जानकारी दिए। ‘हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टर’ खोल्ने प्रोजेक्ट रहेको पनि उनले बताए।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै एनआरएनए यूकेका संरक्षक एवं समाजसेवी सूर्य गुरुङले खेलकुद क्षेत्रको विकास र स्तरोन्नतिका लागि जीवन नै समर्पण गरेका गुरुङको सक्षम र क्षमतावान नेतृत्वबाट गण्डकी प्रदेशको खेलकुदले थप उचाई हासिल गर्ने अपेक्षा व्यक्त गरे।

शुभकामना दिने वक्ताहरुले खेल क्षेत्रमा लामो योगदान र अनुभव संगालेका गुरुङ गण्डकी प्रदेशको खेलकुद परिषद सदस्यसचिवमा नियुक्त हुनु सुःखद रहेको धारणा राखे।  

कार्यक्रममा पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ राईले गण्डकी प्रदेशका सदस्यसचिव गुरुङको प्रोफाइल र पृष्ठभूमि समेटेर प्रस्तुति दिएकी थिइन्।

कार्यक्रममा एनआरएनए आइसीसी युवा संयोजक हिमाल गुरुङ, एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ, तमुधि यूके अध्यक्ष हितकाजी गुरुङ, तमु पे ल्यू संघ यूके निवर्तमान अध्यक्ष मेजर खुशीमान गुरुङ, अन्तर्राष्ट्रिय बाग्लुङ समाज उपाध्यक्ष कृष्ण शर्मा, अन्तरराष्ट्रिय कास्की आदर्श समाज अध्यक्ष गोविन्द पौडेल, अन्तरराष्ट्रिय पर्वत समाज अध्यक्ष पुरन गिरी, सहारा यूके संस्थापक नवीन गुरुङ, बुद्धिजिवी एवं पूर्वप्रधानाध्यापकद्धय एकेन्द्र गुरुङ र महेश गुरुङ, तमुधिं यूके सल्लाहकार डा चन्द्रबहादुर गुरुङ, वगर माइखलक यूके अध्यक्ष चन्द्रमान गुरुङ, पोखरा रामबजार समाज यूकेका पहलमान गुरुङ, पोखरेली मञ्च यूके अध्यक्ष मानप्रसाद गुरुङ, सहारा यूके अध्यक्ष कुमार गुरुङ, हङकङ नेपाली मञ्च यूके अध्यक्ष ह्यारी गुरुङ, घोताने समाज यूके अध्यक्ष ले। चन्द्रबहादुर गुरुङ, स्याङजा समाज यूके अध्यक्ष शारदा गुरुङ, लमजुङ समाज यूके अध्यक्ष विश्वजंग गुरुङ, गोरखाली समाज यूके उपाध्यक्ष हेम गुरुङ, तनहुं समाज यूके अध्यक्ष लेख गुरुङ, तमुधि यूके आमा समूह महासचिव यशोधा गुरुङ, मोना यूके एवं एनआरएनए यूके पूर्व अध्यक्ष योग फगामी, प्रवासी नेपाली मञ्च यूके उपाध्यक्ष रमेश बास्तोला, सहारा यूके पूर्व अध्यक्ष मीनबहादुर गुरुङ, सहारा यूके उपाध्यक्ष कुसाङ गुरुङ, ज्येष्ठ नागरिक नन्दकुमारी गुरुङ लगायतले पनि शुभकामना मन्तव्य दिए।

कार्यक्रमको सञ्चालन एनआरएनए आइसीसी सदस्य भक्त गुरुङले गरेका थिए। कार्यक्रममा बेलायतस्थित नेपाली संघसंस्थाका साथै गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने विदेशस्थित संस्थाहरु र गण्डकी प्रदेशस्थित खेलकुद निकट संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता थियो।

 

प्रकाशित: ११ चैत्र २०७७ १२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App