अगस्ट ३,४ र ५ मा सम्पन्न ३८ औं हेरिटेज फेस्टिभलमा यस वर्ष ६० देशका पाल-सिबिरले बिभिन्न ८५ संस्कृतिको प्रतिनिधित्व गरे भने ३ लाख भन्दा बढी मान्छे मेला घुम्न आएको आयोजकले बताए।
मेलामा नेपालले जित्यो तेस्रो स्थान
सन् २००१ देखि फेस्टिभलमा सहभागी हुन थालेको नेपालले यसपाली पहिलो पटक 'बेस्ट आर्ट एन्ड क्र्याफट' समूहको तेस्रो स्थानको अवार्ड अफ एक्सलेन्स र २५० डलरको नगद पुरस्कार पायो। आयोजकले 'बेस्ट आर्ट एंड क्र्याफ्ट', 'बेस्ट फुड' र 'बेस्ट इन्टरटेनमेन्ट' ३ छुट्टाछुट्टै शिर्षकमा उत्कृष्ट ठहरिने देशलाई प्रथम, दितीय र तृतीय स्थानका पुरस्कार र प्रमाणपत्र बाँडेको थिए। बेस्ट आर्ट याण्ड क्र्याफ्टको प्रथममा इजरायल र दोस्रोमा युक्रेन रहे।नेपालका दुईवटा बडेमानका पाल-सिबिर र त्यसको अगाडिपट्टि सांस्कृतिक प्रदर्शनीका लागि एउटा मञ्च थियो। आर्ट याण्ड क्र्याफ्टको पालमुनि नेपाली पश्मिना, ऊनका हातबुना पन्जा, झोला, स्वेटर, गहना, हस्तकलाका सामग्रीहरुको बिक्री कक्ष राखिएका थिए। नेपाली दुताबासको सूचना कक्षमा आई नाम दर्ता गराउनेलाई नेपाल र पर्यटनसम्बन्धी जानकारी गराउने विभिन्न पोस्टर र पर्चा निशुल्क बाँडेको थियो। दुताबासले ल्याएको समग्री नेपालको पर्यटनसम्बन्धी सूचना र चासो लिन आउने भीडका सामु अपुग भयो।
सन् २००१ मा पहिलो पटक मेलामा सहभागी हुँदा नेपालले दुःखले आर्ट याण्ड क्र्याफ्टमा मात्रै भाग लिएको थियो। सन् २००२ मा फुडमा पनि सहभागी भयो र २००६ देखि मनोरन्जन पनि गरेर मेलाका तीन वटा शीर्षकमा नेपाल पूर्णरुपले सहभागी हुन थालेको हो।
सुरुमा आफ्नो गोजीबाट बेहोरेर र घर परिवारका सबैजना खटेर मेलामा भाग लिनु परेको अग्रजहरु बताउनुहुन्छ। अहिले नेपालीको सङ्ख्या पनि बढ्यो, स्वयंसेवकमा पनि युवा तन्नेरीहरुको उत्साहजनक योगदान रह्यो। 'फलस्वरूप नेपालको उपस्थिति निक्कै सशक्त भयो र पुरस्कृत हुने सम्मको सफलता मिल्यो' मेलाका प्रमुख संयोजक ऋषिकेश अधिकारीले बताए।
मेलामा नेपाली खाना खाने बिदेशीहरुको भिड हेर्न लायक थियो। छेवैमा टांगिएको नेपाली परिकारको सचित्र सूचिको बडेमानको पोस्टरमा नियाल्दै खाना किन्नेहरुको लर्को जतिखेरै देख्न पाइयो. भात, कुखुराको मासु, आलुप्याज र बेसनको पकौडा, पश्चिम नेपालतिरको लोकप्रिय परिकार चुकाउनी(आलु, प्याज र मरमसलासँग साँधेको दहि), आलुकाउली आदिको मिश्रीत तरकारी, गोलभेंडाको चखिलो अचार र नेपाली दूधचिया नेपाली खानाको सूचीमा थिए।
सबै देश महादेशका मान्छेहरुको बसोबास रहेको क्यानाडामा सांस्कृतिक विविधता, जातीय सद्भाव र मानवीय सहिष्णुताप्रतिको आपसी स्वीकारोक्ति र हार्दिकता साट्ने महत्व बोकेको साझा थलोको रुपमा यो मेलालाई लिइन्छ। यो मेला सम्भबत: उतर अमेरिकी समाजमा हुने सबै भन्दा ठुलो भूमण्डलीय चरित्रको सांस्कृतिक मेला पनि हो।
प्रकाशित: २५ श्रावण २०७० ०७:५६ शुक्रबार





