टेक्सास (अमेरिका), भदौ २८ (एजेन्सी) - कृषिमा २० औं शताब्दीकै सबैभन्दा ठूलो क्रान्ति ल्याएका नोबेल पुरस्कार विजेता डा। नोम्र्यान अर्नेष्ट बोर्लगको ९५ वर्षको उमेरमा निधन भएको छ । न्युयोर्क टाइम्सले लेखेको छ 'गएको शताब्दीमा संसारलाई खान सिकाउन उनले जति कसैले योगदान गरेनन् ।'
कृषिमा फादर अफ गि्रन रिभोल्युसन (हरित क्रान्तिका पिता) भनेर चिनिने वनस्पति वैज्ञानिक बोर्लगले अन्नको उत्पादन क्षमतामा अभूतपूर्व वृद्धि गर्ने तरिका पत्ता लाएपछि सन् १९६० देखि सन् १९९० को बीचमा विश्व कृषि उत्पादन झण्डै दोब्बर भएको थियो । उनको अनुसन्धानबाट सबैभन्दा धेरै राहत पाएको दक्षिण एशियामा मात्र यो अवधिमा कृषि उत्पादनमा तेब्बर वृद्धि भएको थियो ।
बोर्लगकै कारण ६० को दशकमा विश्व एक सम्भावित भयानक भोकमरीबाट जोगिएको विश्लेषकहरु ठान्छन् । कृषिमा नयाँपन र उच्च उत्पादन हुने अन्नको विकास गरेबापत सन् १९७० मा उनलाई शान्तिका लागि नोबेल पुरस्कार दिइयो । उनले गर्दा संसारका करोडौं मानिसको ज्यान जोगिएको नोबेल फाउन्डेसनले जनाएको थियो ।
लामो समयदेखि क्यान्सरपीडित रहेका बोर्लगको स्थानीय समयअनुसार शनिबार राति ११ बजे टेक्सासको डल्लासस्थित निवासमा मृत्यु भएको हो ।
उनले विकास गरेको वीजको कारण विकाशोन्मूख देशका दसौं लाख मानिसको जीवनमा प्रभाव परेको थियो । ६० को दशकमा भयानक भोकमरी फैलिने आशंका भइरहेका बेला उनको उच्च उत्पादनशील अन्नको कारण १ अर्ब भन्दा धेरैको जीवने जोगिएको थियो । उनले विकास गरेको गहुँको बिउ रोपेर त्यो बेलामा गम्भीर खाद्यान्न संकट भोगिरहेका भारत र मेक्सिको जस्ता मुलुकले राहत पाएका थिए ।
'यो युगको कुनै अर्को व्यक्तिको तुलनामा उनले भोको विश्वको लागि रोटी दिन मद्दत गरे' उनलाई नोबेल शान्ति पुरस्कार दिने बेलामा नोबेल समितिले भनेको थियो'हामीले पुरस्कारका लागि उनलाई छनौट गरेका छौं किनभने रोटी दिनु भनेको विश्वलाई शान्ति दिनु हो ।'
आफूलाई नोबेल पुरस्कार दिने घोषणा भइरहँदा त्यतिबेला ५६ वर्षका बोर्लग मेक्सिको सिटी नजिकैको एउटा गहुँबारीमा काम गरिरहेका थिए । उनकी श्रीमती मार्गरेट पतिलाई नोबेल पुरस्कार दिने खबर सुनाउन खेतमै पुगिन् । सुरुमा त बोर्लगले पत्याएनन् । जब पत्याए तब पनि उनी 'खुसियाली पछि मनाउँला' भन्दै खेतमै काम गर्न तल्लीन भए ।
सम्मान गर्दै उनलाई मानिसहरुले कृषिको हरीत क्रान्तिका पिता भन्ने गरे पनि त्यसलाई उनी स्वीकार गर्दैन थिए । उनको हरीत क्रान्तिले समाधान भन्दा समस्या धेरै खडा गरेको भन्ने वातावरणवादी आलोचकहरु पनि जन्मिन थाले । तर डक्टर बोर्लगले आफ्नो कृषि तरिका भन्दा पनि जनसंख्या वृद्धि प्रमूख समस्या भएको प्रतिकि्रया दिने गर्थे । जनसंख्या वृद्धिले गर्दा नै हरीत क्रान्तिको आवश्यकता बढाएको उनी तर्क गर्थे । 'यदि विश्वमा मानिसको जनसंख्या यही गतिमा बढ्ने हो भने एक दिन संसारका अन्य प्रजाति हामीले नै नष्ट गर्नेछौं' बोर्लगले घोषणा गरेका थिए ।
नर्वेमा नोबल पुरस्कार समारोहलाई सम्बोधन गर्दै उनले भोकमरीविरुद्धको युद्धमा जित नभइसकेको बताएका थिए । मानिसले कृषिमा मिहेनत गर्न छोड्ने हो भने जुनसुकै बेला समस्या दोहोरिन सक्ने उनको चेतावनी थियो । नभन्दै ७० को दशकमा र गएको वर्ष मात्र विश्वभरि भएको महंगी र खाद्यान्न संकटलाई उनकै भविष्यवाणी को यथार्थ मानिन्छ ।
सन् १९१४ को मार्च २५ तारिखमा आयोवा राज्यमा जन्मेका नोम्र्यान अर्नेष्ट बोर्लगले बनस्पतिमा लाग्ने रोगमा विद्यावारीधि गरेका थिए । उनलाई केवल वनस्पति बैज्ञानिकका रुपमा मात्र नभई शताब्दीकै एक महान् मानवतावादीका रुपमा हेरिन्छ ।
किशोरवय देखि नै उनी आयोवाको आफ्ना खेतमा व्यस्त हुन्थे । उनी सोच्ने गर्थे - किन विरुवाहरु ठाउँ अनुसार राम्रो उम्रन्छन् दोस्रो विश्व युद्ध सकिँदै गर्दा उनी करिअरमा लागे । तर डुपोन्ट जस्तो ठूलो केमिकल कम्पनीको जागिर छोडेर उनी मेक्सिकोका किसानलाई राम्रो फसल उब्जाउन सहयोग गर्ने उदेश्यले त्यतै लागे ।
रकफेलर फाउन्डेशनमा आबद्ध भएर मेक्सिको पुगेपछि सुरुमा त उनी निराश भए । त्यहाँको माटो कमसल थियो अन्नका बोटहरु रोगग्रस्त थिए उत्पादन थोरै थियो किसानहरुलाई आफूलाई समेत खान पुग्दैन थियो । त्यसपछिका केही वर्ष उनी घाम पानी केही नभनी कडा परिश्रममा लागिरहे । सिमित प्रविधि र पैसाका बाबजुद उनी उष्णप्रदेशीय अन्नको उत्पादन बढाउने तरिका खोज्न व्यस्त भए ।
एक दिन उनले छोटो जरा हुने गहुँको बिउ विकास गर्न सफल भए । यस्ता बिउले थोरै पानी र मलमा पनि धेरै उब्जनी दिन्थे । उनले विकास गरेका गहुँका बिउले ल्याटिन अमेरिकामा विशाल उत्पादन दिन सफल भयो । ती बिउमा हतपति रोग समेत लाग्दैन थिए । त्यतिबेला नै भोकमरीको खतरा रहेको दक्षिण एशियामा पनि उनको कृषि तरिका सफल भयो ।
सन् १९६३ मा उनले अरु वैज्ञानिकहरुलाई तालिम दिन मकै तथा गहुँ केन्द्र स्थापना गरे । उनलाई अमेरिकामा नागरिकले पाउने सबैभन्दा ठूलो पुरस्कार कंग्रेसनल गोल्ड मेडल सन् २००७ मा प्रदान गरिएको थियो ।
जीवनका ९० वर्ष नाघिसक्दा पनि उनी बिभिन्नमा काम र अनुसन्धानमा तल्लीन थिए । सन् २००६ मा फिलिपिन्समा भएको एक सम्मेलनमा उनले भनेका थिए 'संसारमा अझै पनि थुप्रै दुःखी र भोका मान्छेहरु छन् र यसले नै विश्वमा अस्थिरतामा फैलाउन सहयोग गरेको छ ।'
'तपाईंहरुले यो बिर्सनु हुँदैन कि मानवीय दुःख विष्फोटक हुन्छ ।'
प्रकाशित: २९ भाद्र २०६६ ०२:०१ सोमबार


-600x400.jpg)


