प्राप्त समाचारअनुसार उनलाई आजै सो आदेश दिइएको हो। उनलाई पूर्व प्रधानमन्त्री भुट्टोको हत्याको आरोप लगाइएको छ। सो विषयमा अनुसन्धानका लागि उनलाई सो थप थुनाको आदेश दिइएको समाचारमा उल्लेख छ।
उनी यसअघिदेखि नै घरैमा नजरबन्दमा हुनुहुन्छ। उनी हाल आफू सत्तामा रहँदा पाकिस्तानका एकजना न्यायाधीशलाई बर्खास्त गरी थुनामा राखेको अरोपमा आरोपमा नजरबन्दमा नै हुनुहुन्छ।
सो मुद्धाका लागि उनको थुनाको म्याद सकिएपछि उक्त अदालतले उनलाई आज थप १४ दिनको थुना तोकेको हो। न्यायाधीशसम्बन्धी मुद्धामा राखिएका उनीलाई भुट्टो हत्याको अरोपमा गत हप्ता नै अदालतमा उपस्थित गराइएको पाकिस्ताननको रावलपिण्डीबाट विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन्।
पाकिस्तानका पूर्व प्रधानमन्त्री बेनिजर भुट्टोको सन् २००७ मा हत्या भएको थियो। आम निर्वाचनको प्रचारमा लागिरहेका बेला उनको हत्या गरिएको थियो।
सो हत्यामा पूर्व सैनिक शासक मुसर्रफको हात रहेको आरोप लगाइएको छ। सो हत्याको समयमा मुसर्रफ पाकिस्तानको राष्ट्रपति थिए । तर यसअघि देखि नै उनले उक्त हत्याको आरोप भने अस्वीकार गर्दै आएका छन् ।
करिब पाँच वर्षको विदेश पलायनपछि गत महिना मात्र स्वदेश फर्किएका पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफलाई यो समेतगरी तीनवटा छुट्टैछुट्टै अरोप लगाइएको छ।
पूर्व प्रधानमन्त्री भुट्टोको हत्यामा मुसर्रफले षड्यन्त्र गरेको आरोप पाकिस्तानका अधिकारीहरुले लगाएका छन्।
उनलाई सयौँ सैनिक तथा अर्ध सैन्यको घेराभित्र राखिएको छ। अदातलमा ल्याइदा पनि उनलाई यस्तो सुरक्षा घेरा प्रदान गर्ने गरिएको छ।
उनलाई पाकिस्तानका तालिबानीहरुले पनि पाकिस्तान फर्किएमा हत्या गर्ने धम्की यसअघि नै सार्वजनिक गरिसकेका छन्। जसका कारण पनि सरकारले उनलाई कडा सुरक्षा घेरामा राखिरहेको बताइएको छ।
पाकिस्तानमा आगामी महिनाको ११ तारिखमा आम निर्वाचन हुँदैछ। सो निर्वाचनमा सहभागिताका लागि मुसर्रफ स्वदेश फर्किएका थिए ।
स्वेदश फर्किएलगत्तै निर्वाचनको प्रचारमा जुट्ने योजना बनाएका उनलाई हाल आएर भने तीन वटा छुट्टाछुट्टै अभियोग लगाइएको छ।
उनले आफ्नो दलको निर्वाच प्रचार सुरु गरे लगत्तै उनलाई आफू सत्तामा रहँदा भ्रष्टाचार गरेको, अदालतको मानहानी गरेको तथा भुट्टोको हत्यामा षड्यन्त्र गरेको जस्ता आरोप लगाई प्रहरी नियन्त्रणमा राखिएको छ।
प्रकाशित: १७ वैशाख २०७० ०५:५१ मंगलबार





