च्यानल नाइन टिभीमा ल्यारी पोटास र रबिन बाउमगार्टेनले मर्निङ शो चलाइरहेका थिए। यत्तिकैमा मार्टिन लुथर किङ ड्राइभमा एउटा हलुका विमान दुर्घटना भएको खबर आयो।
न्युज हेलिकप्टर छँदै थियो, त्यहाँको दृश्य माथिबाट खिचेर पठाउन थाल्यो। नियमित कार्यक्रम रोकेर ब्रेकिङ न्युज दिँदै त्यहाँ के भएको हो भन्ने सूचना जुटाउन उनीहरु लागे। उनीहरुको चासो कसरी दुर्घटना भएको र कति जना घाइते भए भन्ने बारे थियो।
यसै क्रममा उनीहरुले थाहा पाए त्यो त एउटा टेलिभिजन कार्यक्रमका लागि गरिएको सुटिङ पो रहेछ। त्यो पनि प्रतिस्पर्धी टिभी च्यानलको कार्यक्रमका लागि।
एकछिन त के गर्ने के गर्ने भयो उनीहरुलाई। तर टिभी कार्यक्रमका लागि यो सुटिङ गरिएको पुष्टि भइसकेपछि पोटासले लाइभमै भन्दिए- "वास्तवमा यो एनबीसी टिभीको कसैले नहेर्ने शोका लागि गरिएको सुटिङ रहेछ।"
च्यानल नाइनका समाचार निर्देशक ग्रेग क्यापुटोले प्रतिक्रिया दिए, "शिकागोमा हुने टिभी सो र फिल्मको सुटिङ बारे समुदायलाई पहिले नै जानकारी दिने गरिन्थ्यो। हामीसित त्यस्तो कुनै पूर्व जानकारी नभएकोले न्युज टिमले हेलिकप्टरबाट जे देख्यो, त्यसको बयान गरेका हुन्।"
भिडियो हेर्नुस्-
प्रकाशित: २२ मंसिर २०६९ ०६:०७ शुक्रबार





