
पूर्ण बस्नेत, हङकङ, मंसिर ११ - चीनको नयाँ नेतृत्वसँग नेपाली नेताहरू त्यत्ति परिचित छैनन् तर सत्तारुढ र प्रतिपक्षी पार्टीहरूले ढिलो नगरी पठाएका औपचारिक सन्देशले बेइजिङलाई उत्साही बनाएको छ। नेपालसँग ठोस सम्बन्ध विकास गर्दै जटिल मोडमा पुगेको तिब्बत समस्या सामना गर्ने रणनीति बनाउन चीनका नयाँ नेता सी जिनपिङलाई काठमाडौंको सन्देश एउटा आधार बन्ने बेइजिङका दक्षिण एसिया विशेषज्ञहरूले टिप्पणी गरेका छन्।
चीन सरकार मातहतको सेन्टर फर स्ट्राटेजिक स्टडिजका कार्यकारी उपनिर्देशक प्रोफेसर मा जियली नेपाली नेताहरूको सन्देशमा 'एक चीन नीति' प्रतिबिम्बित भएको ठान्छन्। 'तिब्बत र ताइवानसम्बन्धी बेइजिङको नीतिलाई समर्थन गर्ने सन्देशले चीनको नयाँ नेतृत्वलाई उत्साहित बनाउनु स्वाभाविक छ,' चीनको दक्षिण एसिया मामिला विशेषज्ञ माले बेइजिङमा नागरिकसँग भने, 'तिब्बतका कारण चीनका लागि नेपालको रणनीतिक महŒव छ, त्यसैले नयाँ नेता सीले नेपालका लागि केही गर्नेछन्।'
चीन-भारत ट्र्याक टु डाइलगका सदस्य प्रोफेसर मा चीनको राज्य परिषद् मातहतको थिंक ट्यांक चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेसनल रिलेसन्स-सिआइसिआइआरका विशेषज्ञ हुन्।
'थिंक ट्यांकको अध्ययन-विश्लेषण गर्ने भएकाले सी नेपालसहित दक्षिण एसियाबारे राम्रो जानकारी राख्छन्,' नयाँ नेतृत्वले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकता दिने बताउँदै उनले बेइजिङमा नागरिकसँग भने, 'सी जिनपिङले राष्ट्रप्रमुखको कार्यभार लिएपछि नेपालसहित केही महŒवपूर्ण छिमेकी मुलुकहरूको भ्रमण गर्ने विश्वास मलाई छ।'
दुई साताअघि चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को १८ औं कंग्रेसका सहभागीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति हु जिन्ताओले नयाँ नेतृत्वले छिमेकी मुलुकहरूसँग बलियो सम्बन्ध विकास गर्दै चीनको आर्थिक विकासको फाइदा उनीहरूले पाउने सुनिश्चित गर्नुपर्ने बताएका थिए। बेइजिङको नयाँ नेतृत्वबारे काठमाडौंमा जानकारी गराउने क्रममा चिनियाँ राजदूत याङ होउलानले नेपालमा लगानी वृद्धि हुने बताएका छन्।
इन्स्टिच्युट अफ एसिया प्यासेफिकका प्रोफेसर वाङ होङवेईले तिब्बत तथा सिन्ज्याङमा केन्द्रित हुने नीतिअनुसार चीनले छिमेकलाई प्राथमिकता दिने बताए। 'नयाँ नेतृत्वले सुरक्षा तथा अन्य क्षेत्रमा राम्रो सम्बन्ध स्थापित गर्दै नेपाल चीन सम्बन्धलाई बलियो बनाउने विश्वास छ,' वाङले भने, 'वर्ल्ड अर्डर परिवर्तन गर्ने प्रयासअन्तर्गत चीनले छिमेकी र विकासशील मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकता दिन खोजेको हो।'
सिआइसिआइआरका दक्षिण तथा दक्षिणपूर्वी एसिया निर्देशक हु सिसेङका अनुसार एसियामा अमेरिकालाई सन्तुलन गर्ने प्रयासअन्तर्गत चीनले छिमेकी मुलुकहरूसँग बलियो सम्बन्ध बनाउन लागेको हो। एसियामा अमेरिकी रणनीतिले सिर्जना गरेको नयाँ परिस्थितिमा बेइजिङको प्राथमिकता फेरिएको संकेत गर्दै हुले भने, 'चीनको उदयको कारण एसियामा प्रभाव विस्तार गर्ने होडबाजीले क्षेत्रीय तनाव निम्त्याउन सक्छ, त्यसलाई सामना गर्न चीनले शक्तिराष्ट्रहरूभन्दा छिमेकीलाई बढी महŒव दिनु स्वाभाविक हो।'
पूर्वी र दक्षिणपूर्वी एसियाका छिमेकीमा बढ्दो अमेरिकी प्रभावको दबाब बेइजिङमाथि छ। तर दलाई लामा समर्थकको आत्मदाह आन्दोलनले सिर्जना गरेको तिब्बतको संकट तथा सिन्ज्याङमा अल्पसंख्यक मुसलमान समुदायको बढ्दो असन्तुष्टि बेइजिङको प्राथमिकता परिवर्तनको मुख्य आधार बनेको देखिन्छ। 'आगामी वर्षहरूमा हामीले चीनको पश्चिम क्षेत्रका चुनौती सामना गर्ने तयारी गर्नु छ, अरू क्षेत्रको होइन,' हुले भने, 'त्यसैले तिब्बत र सिन्ज्याङसँग जोडिएका नेपालसहित दक्षिण एसियाली मुलुकहरूसँग ठोस सम्बन्ध स्थापनामा नेतृत्वकेन्द्रित हुनेमा द्विविधा छैन।'
तिब्बतसँग जोडिएकाले बेइजिङको दक्षिण एसिया नीतिमा नेपालले विशेष महŒव राख्छ। 'प्रत्येक वर्ष सयौं तिब्बती नेपाल भएर बाहिरिन्छन्, त्यसैले नेपालसँग नजिकको सम्बन्ध राखेर मात्र तिब्बत क्षेत्रमा स्थिरता सम्भव छ,' हिमालय र शीतयुद्धको मानसिकताले दक्षिण एसिया र चीनबीच खडा गरेको पर्खाल भत्काएर भारत पनि चीन र नेपालसँग त्रिदशीय साझेदारीमा आउनसक्ने तर्क गर्दै हुले थपे, 'केही वर्षभित्रै चीनले नेपालसँग यातायात सम्पर्कमा प्रगति गर्नेछ, नेपाल रणनीतिक महŒवको पुल बनेपछि चीन दक्षिण एसिया सम्बन्धमा आधारभूत परिवर्तन आउनेछ।'
तिब्बतको सुरक्षा चासोका कारण बेइजिङले विस्तार गर्न खोज्ने णनीतिक प्रभावसँगै पश्चिमकेन्द्रित आर्थिक विकास कार्यक्रमबाट नेपालले फाइदा लिन सक्ने देखिन्छ। तिब्बत र सिन्ज्याङको समस्यान्युन गर्ने प्रयासस्वरुप चीनले अहिले यस क्षेत्रको आर्थिक, सामाजिक विकासलाई प्राथमिकता दिएको छ। 'तिब्बतमा केन्द्री सरकारले गर्ने आर्थिक लगानीको फाइदा नेपाललाई हुनेछ, राजनीतिक स्थिरता भए नयाँ नेतृत्वले नेपालमा थप लगानीको योजना ल्याउन सक्छ,' हु भन्छन्।
राष्ट्रपति हुको कार्यकाल ताइवानमा केन्द्रित थियो भने सीको दशक तिब्बत समस्या वरिपरि घुम्ने विश्लेषण गरिँदैछ। मार्चमा राष्ट्रपति हु जिन्ताओको उत्तराधिकारी लिने तयारीमा रहेका सीको राजनीतिक र पारिवारिक पृष्ठभूमि बौद्ध धर्मसँग जोडिएको छ। झेजेङ प्रान्तमा पार्टी सचिव हुँदा सीले त्यहाँ विश्व बौद्ध सम्मेलन आयोजना गरेका थिए। सेनाको जनरल रहेकी सीकी लोकगायिका श्रीमती पेङ लिउयान बौद्धमार्गी हुन् भने पिता सी झोङसुनले दलाई लामासँग सम्बन्ध स्थापित गरेर लामो समय बेइजिङमा तिब्बत मामिला हेरेका थिए। तिब्बतसम्बन्धी बेइजिङले बनाउने नयाँ नीतिमा सीको बौद्धमार्गी पृष्ठभूमिको प्रतिबिम्ब नदेखिन सक्छ, तर त्यसले बुद्ध जन्मस्थल नेपालसँग भावनात्मक सम्बन्ध जोड्न उत्प्रेरित गर्ने ठानिएको छ।
सिपिसीको नयाँ स्थायी समितिका सातमध्ये कार्यकारी उपप्रधानमन्त्रीसहित आर्थिक मामिला प्रमुख बनाइने विश्वास गरिएका झाङ गाओलीले २००९ मा नेपाल भ्रमण गरेका थिए। बेइजिङमा नेपाली नेताहरूलाई भेटेका सी र प्रधानमन्त्री वेन जियाबाओका उत्तराधिकारी बन्ने तयारीमा रहेका ली खछ्याङ नेपाल बुझेका नेता हुन्। तिब्बतमा करिब २० वर्ष बस्ने क्रममा नेपाललाई नजिकबाट बुझेका पोलिटब्युरो सदस्य हु चुन्वाले नयाँ नेतृत्वसँग नेपाललाई परिचय गराउन सक्छन्। हु जिन्ताओको राजनीतिक नेतृत्वमा हुर्केर तिब्बत तथा इनर मंगोलियाको पार्टी सचिव भइसकेका हु चुन्वाले २०२२ मा सी जिनपिङको उत्तराधिकारी लिने धेरैको अनुमान छ।
प्रकाशित: १० मंसिर २०६९ २३:५० आइतबार





