१६ चैत्र २०८० शुक्रबार
प्रवास

विदेशमा अलपत्र तीन हजार १०८ जनाको उद्धार, ४० शव ल्याइयो

विदेशमा मृत्यु हुने नेपालीको संख्या १३० पुग्यो

कोरोना भाइरसको संक्रमणका कारण यो साता विदेशमा रहेका थप तीन जना नेपालीको मृत्यु भएको छ । योसँगै गत नौ सातामा कोरोनाका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १३० जना पुगेको छ । यो साता मृत्यु भएका तीनै जना कतारका भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । यसैगरी एनआरएनएको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विभिन्न देशमा १० हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।  

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, माल्टा, जापान, म्यान्मा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियम, हङकङ, दक्षिण कोरियालगायतका १८ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएका हुन् । समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका १७ हजार ७९२ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।  

संयोजक डा सापकोटाका अनुसार यही साता अफ्रिकी मुलुकमा रहेका चार जना नेपालीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालका आठ हजार ६०५ सहित विश्वभरका ३५ देशमा २६ हजार ४०२ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको संयोजक सापकोटाले जानकारी दिए ।  

विदेशमा अलपत्र तीन हजार १०८ जनाको उद्धार 

कोरोनाको संक्रमण रोक्न लकडाउन घोषणा गरेसँगै विदेशमा रहेका नेपालीको उद्धार कार्य जारी छ । सरकारले गत ५ जुन तारिखदेखि स्वदेश फर्काउन शुरु गरेको अभियानले यतिबेला तीव्रता पाएको हो । गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कूटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार एक सय आठ जना नेपाली स्वदेश फर्किसकेका छन्।  

शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् ।  

४० जनाको शव पनि ल्याइयो 

यही साता विदेशमा निधन भएका नेपालीको शवसमेत नेपाल ल्याउनेक्रम शुरु भएको छ । लकडाउनको अवधिमा विदेशमा विभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि शुक्रबारसम्ममा ४० शव नेपाल ल्याइएको हो ।  

अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, युएई र साउदीबाट एक÷एक जनाको शव नेपाल ल्याइएको छ । मृत्यु भएका ३१८ जनामध्ये ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएको संघले जनाएको छ । यसबाहेक अझै १६४ शवको व्यवस्थापन गर्न बाँकी रहेको छ । ती शव कोरोनाको कारण अन्तरराष्ट्रिय उडान बन्द हुँदा महिनौँदेखि विदेशमा रोकिएका थिए । उनीहरूको अन्त्येष्टि र व्यवस्थापनका लागि संघले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिइसकेको बताइयो । रासस

प्रकाशित: ७ असार २०७७ १७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App