६ वैशाख २०८१ बिहीबार
प्रवास

दक्षिण कोरियामा रहेका नेपाली भन्छन्, ‘त्रासैत्रासमा काम गरिरहेका छौं’

काठमाडौं - चीनको वुहान क्षेत्रबाट सुरु भएको कोडिङ–१९ अर्थात कोरोना भाइरसको संक्रमण विश्वभर फैलिँदो छ। पछिल्लो तथ्यांकअनुसार हालसम्म यसको संक्रमण ६० भन्दा बढी देशमा फैलिएको छ। शनिबार बिहानसम्मको तथ्यांकअनुसार चीनमा मात्रै सबैभन्दा बढी २ हजार ८ सय ३५ जनाले ज्यान गुमाएका छन्।

चीनमा मात्रै संक्रमितको संख्या ८० हजार हाराहारी पुगेको छ। ३९ हजार जना संक्रमित ठिक भएर घर फर्किसकेका छन् भने ३७ हजार ३ सय विरामीको अहिले पनि उपचार भैरहेको छ। जसमा साढे ७ हजारको अवस्था गम्भीर छ। चीनबाहिर पनि पाँच हजार बढीमा यसको संक्रमण देखिएको छ। संक्रमितको संख्या हालसम्म ८५ हजार नाघेको छ।

चीनपछि यसको प्रभाव ईरान, इटाली र दक्षिण कोरियामा बढी देखिएको छ। इरानमा मात्रै हालसम्म ३४ र इटालीमा २१ जनाले ज्यान गुमाएका छन् भने दक्षिण कोरियामा मात्रै हालसम्म १७ जनाले ज्यान गुमाइसकेका छन्। जापानमा ५, हङकङमा २, फ्रान्समा २, ताइवानमा १ सहित २९२४ जनाले ज्यान गुमाएका छन्।

दक्षिण कोरियामा शनिबार बिहानसम्मको तथ्यांकअनुसार २ हजार ९ सय ३१ जनामा यसको संक्रमण देखिएको छ। जसमा ५ सय ९४ नयाँ संक्रमण भएका बिरामी थपिएका हुन्। जसमध्ये ७ को अवस्था गम्भीर रहेको तथ्यांकमा उल्लेख छ। २४ जना भने उपचारपछि घर फर्किएका छन्।

दक्षिण कोरिया नेपालीका लागि वैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो। रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत र अध्ययनका लागि करिब ५० हजारको हाराहारीमा नेपालीहरु त्यहाँ हरेको अनुमान छ।

सिओलदेखि ३ सय किलोमिटर दक्षिणको थेगु सहरमा सुरुमा कोरोनाको संक्रमण देखिएको थियो। पछिल्लो समय सबैभन्दा बढी प्रभावित क्षेत्र पनि यही हो। नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका अध्यक्ष रन्जनराज कुँवरका अनुसार सो क्षेत्रमा मात्रै ७ हजारको हाराहारीमा नेपाली छन्।

कोरोनाको संक्रमण दिन प्रतिदिन फैलिन थालेपछि त्यहाँ रहेका नेपाली पनि त्रसित भएका छन्। दुई वर्षदेखि कोरियाको चुङहाङ नाम्दो राज्यको बुयागुनमा काम गर्ने नरेश रावललाई कोरोनाको डरले सताइरहन्छ। अति व्यस्त हुने ठाउँहरुमा मानिसहरुको चहलपह घटेको छ। ‘कमाउन’ का लागि भन्दै कोरियामा रहेका नेपालीहरु त्रासमा काम गरिहेको उनले बताए। नियमित काममा गैरहेका रावलले कतिबेला के हुन्छ भन्ने त्रासमा काम गरिरहेको बताए। ‘म भएको राज्यमा पनि यसको संक्रमण देखिएको छ। तर म बस्ने ठाउँमा चाहि अहिलेसम्म थाहा भएको छैन। नियमित काममा गैरहेकै छु। डर त लागिरहन्छ। डरैडरमा काम गरिरहेका छौं’ उनले भने।

कोरोना संक्रमणको समाचारसँगै कोरियामा रहेका नेपालीका आफन्त पनि डराएका छन्। कतिपयले आफन्तलाई घर फर्कन दबाब दिन थालेको त्यहाँ रहेको नेपालीहरु बताउँछन्। रावललाई पनि परिवाले घर फर्किन आग्रह गरेको सुनाए। ‘ हामी मात्रै होइन परिवारका मान्छे झन् डराएका छन्। प्रत्येकपटक फोनमा कुरा हुँदा घर फर्किन आग्रह गर्छन्।’ उनले भने।

सरकारले केही गर्ला भन्ने आसा पालेर बसेका उनले भने, ‘तत्कालै घर फर्किने योजना नभए पनि यही अनुपातमा संक्रमण बढ्दै गए घर फर्किन सक्ने उनले बताए। ‘सरकारले केही गर्ला भन्ने आसा छ’, उनले भने, ‘ यदि सरकारले केही गरेन र संक्रमण पनि यस्तै बढ्दै गयो भने फर्किन्छु होला।’

त्यस्तै उलिनमा रहेका हिराप्रसाद ओझा र क्वाजुमा रहेका नवराज ढकालको अवस्था पनि खासै फरक छैन। दुई वर्षअघि कामको शिसशिलामा उलिन पुगेका ओझा र केही हप्ताअघि मात्रै क्वाजु पुगेका ढकाल पनि काम गरिरहेकै छन्। ‘दिनप्रतिदिन संक्रमण बढ्दो छ। मनमा डर त लागिरहन्छ तर काम गरिरहेकै छु।’ ढकालले भने।

दुई वर्षदेखि कोरियाको सोलमा रोजगारीको शिलसिलामा रहेका अशोक कुमार शाह भने बाहिर हल्ला भएजस्तो अवस्था नरहेको बताउँछन्। ‘थेगु क्षेत्रमा बढी प्रकोप छ। त्यहाँ सकेसम्म घरबाट बाहिर नआउन स्थानीय प्रशासनले भनेको छ। कम्पनीहरुले थेगुमा कामदारहरुलाई सतर्क बनाएका छन्। कम्पनीले कामदारलाई बाहिर निस्कँदा सचेत रहन भनेको छ। अन्त प्रायः काम भैरहेकै छन्। सामान्य जीवनयापन चलिरहेको छ। डर त रहेने नै भयो। काम पर्दा मात्रै बाहिर निस्कने हो।’ नागरिकसँग उनले भने।

दूतावास, एनआरएनए कोरिया र विभिन्न संघसंस्थाले पनि नेपालीहरुलाई सचेत रहन आग्रह गरिरहेको उनले बताए। दूतावासले पनि केही दिन पहिले सूचना जारी गरेर सचेत रहन भनेको छ। विभिन्न संघसंस्था र सामाजिक सञ्जालमार्फत पनि नेपालीलाई आग्रह गरिरहेको छ।’ उनले भने, ‘समाचारहरुमा आएजस्तो तत्कालै आत्तिहाल्नु पर्ने अवस्था छैन। सचेत रहने कुरा त छँदैछ।’

हालसम्म  नेपाली नागरिक कसैलाई पनि केही नभएको जानकरीमा नआएको उनले बताए। घर फर्किन चाहेमा प्राय नेपालीहरु आफै पनि फर्किन सक्ने समेत उनले बताए। करिब ५० हजारको हाराहारीमा रहेका नेपालीलाई सरकारले पनि तत्कालै फिर्ता लिन सक्ने कुरा भएन। उनले भने, ‘ कामको शिलसिलामा रहेकाहरुलाई त फर्किनकै लागि समस्या हुँदैन जस्तो लाग्छ। कमाइ राम्रै छ चाहे भने फर्किन सक्छन्।’ उनले अगाडि भने।

नेपाली दूतावास दक्षिण कोरियाले केही दिनअघि एक विज्ञप्ति प्रकाशित गर्दै कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गएकोले अझ बढि सजग र सचेत हुन भनेको थियो। कार्यावाहक राजदूत रामसिंह थापाका अनुसार कोरोना भाइरसको संक्रमणको शंका लागेमा अवैधानिक रुपमा कोरियामा रहेकाहरु समेतले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा परिक्षण र उपचार गराउन सक्ने छन्।

कोरियाको अध्यागमन विभागले उपचारको क्रममा पक्राउ नगर्ने, स्वदेश नफर्काउने तथा विरामीको कानुनी हैसियतबारे नसोध्न समेत अस्पताललाई निर्देशन दिएको छ। यसबारे नेपाली दूतावास कोरियालाई अध्यागमन विभागले माघ १५ गते लिखित पत्र समेत पठाएको छ।

प्रकाशित: १७ फाल्गुन २०७६ ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App