रेवतीरमण सापकोटा, ओदालगुढी, (आसाम), मंसिर १२ - दुई दिन अघि भारतको सशस्त्र समूह नेसनल डेमोक्रेटिक फ्रन्ट अफ वोरोल्यान्ड (एनडीएफवी)ले हत्या गरेका तीन जना नेपाली नागरिक रहेको खुलासा भएको छ। प्रहरीका अनुसार केकाराजुली खोलाको किनारमा हत्या गरी फालिएको अवस्थामा भेटिएकाहरु नेपाली हुन्।
खोलाको किनारामा भेटिएका महेश घिमिरे हुन्। त्यस्तै मारिएका अन्य दुई नेपालीहरु अनिल पोखरेल र झलक श्रवण सुवेदीको शव प्रहरीले फेला पार्न सकेको छैन। नेपालबाट गुवाहिटी जाँदा यी तीनले सोझो बाटो बिराएर अन्यत्रै पुगेको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रहरीका अनुसार नेपालबाट इन्डिका कार चढेर यी तीन जना भारत गएका थिए। कार भारतीय चालक भाग्य वसुमात्रियले चलाएका थिए।
प्रहरीले एनडीएफवीमा संलग्न रहेका धनेश्वर वासुमात्रियलाई पक्राउ गरेको छ। उनले तीन नेपालीको अपहरण गरी हत्या गरेको स्विकारेका छन्। शान्तिपुर गाउँमा नेपालीको हत्या गरिएको उनले स्विकार गरेका हुन्। उनले नेपालीबाट ८ लाख रुपैयाँ लुटेको बताएका छन् भने उनीहरुलाई बन्चरोको प्रहारबाट मारिएको स्विकारेका छन्।
उनीहरुको अपहरणमा गंगापुर गाउँका नेपाली भाषा जान्नेहरु समेत संलग्न रहेको उनले खुलाएका छन्। मारिएका नेपालीको नाम पहिचान भएपनि उनीहरुको ठेगान खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरीले मारिएका नेपालीहरु गैडाको सिङ किन्न भारत आएको हुनसक्ने अनुमान गरेको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १२ मंसिर २०६७ ०६:३४ आइतबार





