जुलाई महिनामा हुने एनआरएनए राष्ट्रिय अधिवेशन तथा अक्टोबरमा आयोजना हुने १२औं अन्तर्राष्ट्रिय महाधिवेशनका लागि सदस्यता वितरण अभियान तीव्र गतिमा अघि बढिरहेको छ।
अघिल्लो अधिवेशनमाझैँ यसपटक पनि ६२ देशमा सदस्यता वितरण अभियान सञ्चालनमा छ। हालको प्रतिकूल परिस्थितिका बाबजुद हालसम्म ६० हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिइसकेका छन्। अमेरिका, कतार, मलेसिया, युएईजस्ता देशहरूमा सदस्यता वितरण अभियान हालै मात्र सुरु भएकाले यसपटक पनि करिब पहिले कै संख्यामा ९७ हजार सदस्यता पुग्नेमा आशावादी रहेको एनआरएनएले जनाएको छ।
एनआरएनएका अनुसार जापान, अष्ट्रेलिया, क्यानाडा, आयरल्यान्ड र न्यूजिल्याण्डजस्ता देशहरूमा (जहाँ सदस्यता वितरण प्रक्रिया बन्द भइसकेको छ) पहिलेको तुलनामा बढी सदस्यता बनेका छन्। साउदी अरेबिया र बेलायत (यूके) ले अघिल्लो सदस्य संख्याको हाराहारीमा सदस्यता हासिल गरेका छन्। यस्तै, करिब २५०० नेपाली बसोबास गर्ने आयरल्यान्डमा ५० प्रतिशतभन्दा बढी नेपालीहरू (१४०० जना) ले एनआरएनएको सदस्यताका लागि आवेदन दिएका छन्।
सदस्यता नलिएकाहरूले आफ्नो मोबाइल फोनमा SMART NRNA एप डाउनलोड गरी आजै सदस्यताको लागि आवेदन दिन सक्ने छन्।
प्रकाशित: १४ असार २०८२ ०६:३४ शनिबार