गैर आवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विदेशमा रहेका नेपालीहरूसँग संस्थाभित्र ‘बृहत् एकता अधिवेशन’ को लागि आह्वान गर्ने भएका छन्।
गैर आवासीय नेपाली संघका अनुसार आज (मंगलबार) नेपाली समय अनुसार साँझ ५ बजे महतोसहित पूर्व अध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा, संस्थापक संयोजक भिम उदास लगायतले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन्।
परराष्ट्र मन्त्री आरजु देउवाले गत शुक्रबार राखेको बैठकमा संघको १२ औं महाधिवेशन आगामी अक्टोबर महिनामा गर्ने विषयमा सहमति हुन नसकेपछि उनीहरूले संघका राष्ट्रिय समिति, केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्न लागेका हुन्।
मन्त्रीसँगको बैठकमा उनीहरूले मे महिनामा महाधिवेशन गरे संस्था पुनः विभाजनतिर जाने भन्दै तत्काल सो अधिवेशन रोक्न आग्रह गरेका थिए।
सो बैठकमा गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले १० औं महाधिवेशनको विवादको फैसला ११ औं महाधिवेशन सम्पन्न भएपछि आएको भए पनि दोस्रो फैसलाले एघारौं महाधिवेशनको सार्वभौमिकता र स्वतन्त्रताको स्पष्ट व्याख्यासहित अन्तिम फैसला आइसकेको बताए।
डा. केसीले भने, 'गैर आवासीय नेपाली अभियान विदेशमा बस्ने ८० लाख नेपालीहरूको हकहितको संरक्षण गर्ने तथा प्रत्येक विदेशमा बस्ने नेपालीलाई नेपालसँगको अविच्छिन्न जोडी राख्ने अभियान हो। यस महाअभियानमा एकताको लागि सबै पक्ष सकेसम्म लचिलो हुन आवश्यक छ।'
केसीले वैधानिक जटिलताको बाटो खुलाई बृहत् एकताको पहल गर्न सम्पूर्ण अग्रजहरू, सहकर्मी तथा अभियन्ताहरूलाई अनुरोध गरेका छन्। सर्वोच्च अदालतको अन्तिम फैसलाअनुसार संघको १२ औं महाधिवेशन आगामी अक्टोबर महिनामा हुने तयारी भइरहेको अवस्थामा, पुरानो फैसलालाई आधार बनाएर संघका पूर्व अध्यक्ष शेष घले समूहले मे महिनामा काठमाडौँमा भेलाको आयोजना गरेपछि संस्थाभित्र बृहत् एकताको पक्षमा आवाज उठ्न थालेपछि पूर्व अध्यक्षहरूले सक्रियता देखाएका हुन्।
प्रकाशित: २७ फाल्गुन २०८१ १३:३८ मंगलबार