प्रवासी नेपाली मञ्च (ओएनएफ) साउथ अष्ट्रेलियाको आयोजनामा अन्तर्राष्ट्रिय टोपी दिवस तथा नयाँ वर्ष २०२५ को उपलक्ष्यमा पदयात्रा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
एडिलेडको स्थानीय जोन मिलर रिजर्भबाट समुन्द्री किनार हुँदै पदयात्रा सुरु गरेर एडिलेडको प्रमुख बिच ग्लेनेल पुगेर पुन जोन मिलर रिजर्भमा आएर पदयात्रा समापन भएको थियो । पदयात्रामा अष्ट्रेलियाको साङ्गीतिक यात्राको क्रममा रहेका कलाकारहरू सत्य राज आचार्य र स्वरूप राज आचार्यले समेत सहभागी भएका थिए ।
पदयात्रा पछि आयोजित कार्यक्रममा १५ जना विद्यावारिधि गरेर साउथ अष्ट्रेलियामा क्रियाशील रहेका नेपालीहरूलाई दोसल्ला, ढाका टोपी तथा प्रमाण पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै साउथ अष्ट्रेलियाको नेपाली मुलुकी पहिलो काउन्सिलर रेनुका लामाले विदेशमा आएर सिकेको ज्ञान र सिपलाई यहाँ रहेको नेपाली समुदाय र मातृभूमिको लागि समेत उपयोगमा ल्याउन आग्रह गरेकी थिइन ।
कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरीले नेपालीहरू जहाँ भए पनि आधार भूमि नेपाललाई बिर्सनु नहुने बताउँदै टोपी दिवस मार्फत नेपाललाई चिनाउने प्रयासका लागि सहभागी सबैलाई धन्यवाद दिएका थिए ।
गत बर्ष घातक मस्तिष्क एन्युरिज्मको जोखिममा रहेका व्यक्तिहरूलाई पहिचान गरेर अष्ट्रेलिया सरकारबाट समेत सम्मानित हुनु भएका डा। अर्जुन बुर्लाकोटीले यस्ता सम्मान कार्यक्रमहरूले बालबालिकाहरू सहित सबैले राम्रो कुरा एक अर्का बाट सिक्ने अवसर पनि भएकाले महत्त्वपूर्ण रहेको बताए ।
अर्का सम्मानित डा.दया पराजुलीले मातृभूमिमा जस्तै यहाँ पनि सम्मान गरेकोमा थप समुदाय र मातृभूमि प्रति जिम्मेवारी बोध भएको बताए ।
५०० भन्दा बढीको सहभागितामा भएको कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था सहित नेपालबाट आउनु भएका अभिभावकहरू तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । पदयात्राका क्रममा साँझ समुन्द्री किनारामा टहलिन आएका रहेका गैह्र नेपालीहरूले अभिरुचि पूर्वक हेर्ने र जिज्ञासा समेत राखेका थिए ।
मञ्चका साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडीले प्रवासमा रहुर्केका नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृति बारेमा परिचित गराउन समेत कार्यक्रम आयोजना गरिएको बताए । उनले विद्यावारिधि गरेका नेपालीहरू सम्मान गरेर उहाँहरु बिच पनि जोड्न चाहिएको बताउँदै विदेशमा सिकेको ज्ञान सिप मातृभूमिका लागि कसरी उपयोग गर्न सकिन्छ भनेर छलफल चलाउने समय आएको बताए ।
कार्यक्रमका संयोजक रामकृष्ण शर्माले नेपाल प्रचार र प्रवर्द्धन गर्नु मूल उद्देश्य सहित विगत २०१८ देखी मञ्चले टोपी दिवस मनाउँदै आएको बताए ।उनले पदयात्राले सडक हिँड्ने अन्य गैह्र नेपालीहरूका बिचमा नेपाललाई चिनाउन सकिने भएकाले पदयात्रा आयोजना गरिएको बताए ।
कार्यक्रममा सौजन्यकर्ता व्यवसायीहरू सहित पत्रकारहरूलाई समेत टोपी र प्रमाणपत्र सहित धन्यवाद ज्ञापन गरिएको थियो ।
यसै गरी प्रवासी नेपाली मञ्चकै आयोजनामा अष्ट्रेलियाको राजधानी क्यानवेरा र वेस्टन अष्ट्रेलियामा समेत टोपी दिवस मनाइएको छ ।
प्रकाशित: १८ पुस २०८१ १९:०२ बिहीबार