गत वर्ष वैदेशिक रोजगारीमा गएकामध्ये विभिन्न कारणले झण्डै १५ सय जनाको मृत्यु भएको छ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त तथ्यङ्क सार्वजनिक गरेको हो ।
सन् २०२३-०२४ मा वैदेशिक रोजगारीमा जाने १ हजार ४९२ जना नेपालीको मृत्यु भएको बताउँदै जिफन्टले त्यसमध्ये ९२ प्रतिशत पुरुष रहेको जानकारी दिएको हो । मृत्यु हुनेमा ११६ महिला र १ हजार ३७६ पुरुष रहेको जिफन्टले जनाएको छ ।
अघिल्लो वर्ष २०२२-०२३ मा यो संख्या १ हजार २०८ मात्र थियो । जसमा ४५ महिला र १ हजार १६३ पुरुष थिए ।
अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसरमा आयोजित पत्रकार सम्मेलनमा जिफन्टले व्यक्तिगत सम्पर्कको माध्यमबाट वैदेशिक रोजगारीका लागि विदेशिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै एजेन्सीमार्फत जान सुझाएको छ । व्यक्तिगत सम्पर्कको माध्यमबाट विदेशिने प्रवृत्ति बढ्नु डरलाग्दो संकेत भएको उसको भनाइ छ ।
यस्तै वैधानिकीकरण गरेका ११ हजार ९०१, पुनः श्रम २ लाख ८१ हजार १९५, पुनः श्रम स्वीकृति लिएको कुल संख्या ७ लाख ४१ हजार २९७, नयाँ श्रम स्वीकृतिको कुल संख्या ४ लाख ६० हजार १०२ रहेको जिफन्टले जनाएको छ।
वैदेशिक रोजगारीमा जानेहरुमा तपाईंका बढी रहेको उल्लेख गर्दै जिफन्टले धनुषाबाट दुई वर्षमा ३९ हजार १०७ र झापाबाट ३४ हजार ३६२ जना वैदेशिक रोजगारीमा गएको तथ्याङ्क सार्वजनिक गरेको थियो । युएईमा मात्र गत वर्ष १ लाख ९३ हजार ५०२ युवायुवती रोजगारीका लागि पुगेका छन् । साउदी अरेबिया, कतार, मलेसिया, कुवेत, क्रोएसिया, रोमानिया, जापान, दक्षिण कोरिया, बहराइनलगायतका देशमा पनि उल्लेख्य संख्यामा नेपालीहरु रोजगारीका लागि पुगेका छन् ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई अनिवार्य रूपमा सामाजिक सुरक्षामा योगदान गर्नुपर्ने व्यवस्थाले १३ लाख १ हजार ७८ जना श्रमिक योगदानसहित सूचीकरण भएको जानकारी दिए।
प्रकाशित: २ पुस २०८१ १६:२४ मंगलबार