१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
प्रवास

विदेशमा रहेका नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो अवस्था !

स्वास्थ्य विज्ञहरूले गैरआवासीय नेपालीहरूमा आत्महत्या र डिप्रेसनको डरलाग्दो समस्या देखिएकोमा चिन्ता व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिको आयोजना र गैरआवासीय नेपाली सङ्घ बेल्जियमको सहकार्यमा आइतवार आयोजित भर्चुअल मानसिक स्वास्थ्य सम्बन्धी जनजागरण कार्यक्रममा बोल्ने चिकित्सकहरूले विदेशमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे।

कार्यक्रममा स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटाले विश्वव्यापी नेपाली समुदायमा डिप्रेसनको समस्या बढिरहेको बताए। उनले साइप्रस, साउदी अरेबिया, इजरायल, यूएई, अष्ट्रेलिया लगायतका देशमा रहेका नेपाली समुदायमाझ मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए। स्वास्थ्य समितिका अनुसार हालसम्म साइप्रसमा ८ जना, यूएईमा ८८ जना र मलेसियामा २ सय जनाभन्दा बढी नेपालीले आत्महत्या गरेका छन्।

डा. संजीव सापकोटाले विश्वव्यापी रुपमा बढ्दै गएको आत्महत्या रोक्नको लागि विशेष जागरण कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।

कार्यक्रममा डा. सुरज थापाले आधुनिकीकरणसँगै आत्महत्याको घटना बढेको संसारभर प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको जानकारी दिए। उनले मानिसहरूमा हुने एक्लोपनका कारण पनि आत्महत्याको घटना बढेको बताए। उनले गरिब मुलुकमा बढि आत्महत्या हुने गरेको भन्दै नेपालमा वार्षिक ७ हजारभन्दा बढी मानिसहरूले आत्महत्या गर्ने गरेको तथ्याङ्क सुनाए। उनले नेपालमा पुरुषभन्दा बढी महिलाहरूले आत्महत्या गर्ने गरेको पनि बताए। डा.थापाले आर्थिक संकट, गरिवी, बेरोजार, व्यक्तिगत असफलता, पारिवारिक हिंसा, कुलतमा परेकाहरूले बढी आत्महत्या गर्ने गरेको बताए।

एनआरएनए बेल्जियमकी महासचिव रुविना शर्माले सञ्चालन गरेको कार्यक्रममा डा. संजय यादवले मानसिक स्वास्थ्य सम्बन्धी आधारभूत जानकारी दिएका थिए। डा. यादवले आत्मग्लानि हुने, आफैलाई बोझ लाग्ने, एक्लै बस्दा टोलाउने, भान्सामा चक्कु देख्दा पनि डर लाग्ने जस्ता समस्यहरू मानसिक  रोगको लक्षण भएको बताए।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा डा. निसिता पाठकले मानसिक स्वास्थ्यको समस्या बाल्यकालसंग पनि जोडिएको बताइन्। उनले बाल्यकालमा कुन अवस्थामा हुर्किएको हो त्यसले मानसिक स्वास्थ्यमा प्रभाव पार्ने बताइन्। 

उनले मानसिक रोगको लक्षण देखिए पछि साथीभाई परिवारभित्र खुलेर कुरा राख्न र मानसिक स्वास्थ्य चिकित्सकसंग परामर्श गर्न आग्रह गरिन्। उनले डिप्रेसन भैहाले पनि निको पार्न सकिने बताउँदै मानसिक स्वास्थ्य समस्या रहेका व्यक्तिहरूलाई समाज र परिवारको सहयोगको ठूलो महत्व हुने बताइन्।

कार्यक्रममा डा. बोधराज सुवेदीले सहभागीहरूलाई धन्यवाद दिंदै एनआरएनए स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्यको बारेमा विभिन्न देशमा स्वास्थ्य जनजागरण सम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको बताए। कार्यक्रममा सहभागीहरूले मानसिक स्वास्थ्य, डिप्रेसशन लगायतका  स्वास्थ्य समस्याकाबारेमा विज्ञ चिकित्सकहरुसंग आफ्ना जिज्ञासाहरू राखेका थिए।

प्रकाशित: ८ आश्विन २०८० ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App