१६ वैशाख २०८१ आइतबार
image/svg+xml
प्रवास

एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा ठकुरीको उम्मेद्वारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद्  (एनसिसी) हरूमा अहिले चुनावी माहोल चलिरहेको छ।

आगामी जुलाईभित्र सबै राष्ट्रिय समन्वय परिषद्लाई अधिवेशन सकेर नयाँ नेतृत्व चयन गर्न गैरआवासीय नेपाल संघले निर्देशन दिएका कारण एनसिसिहरु धमाधम चुनावमा जुटेका छन्।

त्यस कारण युरोपेली राष्ट्र पोर्चुगलमा पनि यतिबेला नेपाली समुदायमा चुनावी माहोल बनिरहेको छ। एनसिसी पोर्चुगलको निर्वाचन आगामी जुलाई ३० का लागि तय भएको छ। सोही निर्वाचनमा लिस्बनमा बस्दै आएका युवा सुनिल मल्ल ठकुरीले एनआरएनए पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्।

चुनावको मिति नजिकिँदै गर्दा वरिष्ठ उपाध्यक्षमा उम्मेदवार सुनिल मल्ल ठकुरीले प्रचारप्रसारलाई तीव्रता दिएका छन्। नेपाली राष्ट्रिय रग्बी टोलीका पूर्वखेलाडीसमेत सुनिलले उम्मेद्वारी घोषणा गरेसँगै विभिन्न ठाउँमा पुगेर नेपाली समुदायहरूसँग छलफल र अन्तरक्रिया गरिरहेका छन्।

नेपालले कतारमा भएको अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता खेल्नुका साथै तत्कालीन मध्यमाञ्चल र गोर्खाली रग्बी क्लबबाट राष्ट्रिय प्रतियोगितासमेत जितेका थिए। युवा उम्मेद्वारी सुनिल मल्ल ठकुरी नेपालमा रहँदा मार्सल आट्सका विभिन्न विधा खेलाडी समेत हुन्।

खेलकुद पृष्ठभूमि र युवाहरूमाझ लोकप्रिय रहेकाले उनलाई एनआरएन पोर्चुगलको वरिष्ठ उपाध्यक्षमा बलियो दाबेदारको रूपमा हेरिएको छ। संस्थागत रूपान्तरणः सामाजिक एकता, सबैको एनआरएनए हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा लिएर उनी चुनावी मैदानमा उत्रिएका छन्।

निस्वार्थ सेवा, नेपाली समुदायमा एकता र सबैको साझा एनआरएनए बनाउने उद्देश्यअनुरूप पोर्चुगलमा रहेका नेपाली समुदायबीच गएकाले आफूले जित्ने उनको विश्वास छ। युवाहरू नेतृत्वमा आउनुपर्छ भन्ने धारणा सबैको रहेकाले पनि आफ्नो जित हुने उनको विश्वास छ।

नेपालीहरूका लागि युरोपको सबैभन्दा बढी रोजाईको गन्तव्य पोर्चुगल बन्दै गए पनि उनीहरूले आफ्नो समुदायबाट साथ सहयोग पर्याप्त नपाएको गुनासो आइरहेको समयमा आफूले संस्थागत रूपमा पुलको काम गर्ने ठकुरीले बताए। आफू युवा र विभिन्न समाजलाई केन्द्रित गरेर अघि बढ्ने योजनामा रहेको युवा उम्मेद्वारी ठकुरीको भनाइ छ।

सबैसँग सहकार्य गरेर आफू दृढ संकल्पका साथ चुनावी मैदानमा उत्रिएको पनि ठकुरीले बताए। आफ्नो जित भएमा रोजगारी र पेशागत विकासजस्ता निश्चित विषयहरूमा एनसिसी पोर्चुगलबाट प्रशिक्षण दिलाउने कार्यक्रमहरू अगाडि बढाउने उनको लक्ष्य छ।

सुनिलले नेतृत्वमा नरहँदा पनि नेपाली समुदायलाई अफ्ठयारो परेका समयमा सहयोग गर्दै आएको र उनको सरल तथा मिलनसार शैलीका कारण धेरै नेपाली प्रभावित भएकाले पनि उनले जित्न सक्ने आधार रहेको लिस्बनमा बस्दै आएका युवाहरू रामेश्वर बर्तौला र सन्जय बर्तौला बताउँछन्।     

प्रकाशित: ९ श्रावण २०८० ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App