२६ माघ २०८२- मेरो जीवनको एउटा अविस्मरणीय दिन। छोराको शुभविवाह सम्पन्न भएपछि पारिवारिक कर्तव्य पूरा भएको क्षण, परिवारमा नयाँ सदस्यको आगमनसँगै नयाँ खुशी, नयाँ उमंग र नयाँ जिम्मेवारी थपिएको क्षण। घरआँगनमा बजेको बाजागाजा, आफन्तजनको भीड, शुभेच्छा र आशीर्वादबीच मैले एउटा नयाँ अध्याय सुरु हुँदै गरेको महसुस गरिरहेको थिएँ। यही पारिवारिक उल्लासको बीचमा अर्को महत्वपूर्ण योजना तयार हुँदै थियो । छोरा–बुहारीको हनिमुन र मेरो निमन्त्रणा भ्रमण।
देशभित्रको राजनीतिक परिस्थिति पनि त्यसै समय असामान्य मोडमा थियो। २०८२ साल भदौ २३ र २४ गतेको जेन–जी आन्दोलन (मुभमेन्ट) पछि उत्पन्न परिस्थितिले सबैलाई गम्भीर बनाएको थियो। त्यसकै जगमा टेकेर बनेको अन्तरिम सरकारले फागुन २१ गते गर्न लागेको संसदीय दलको निर्वाचनलाई पूर्ण बहिष्कार गर्ने ४८ राजनीतिक दलको पूर्वनिर्धारित निर्णय लिँदै, आफ्नो वैचारिक अडानलाई कायम राख्दै, मैले देशबाहिरको यो यात्रा तय गरें। त्यसैले २२ फागुनका दिन, श्रीमती सुजना, छोरा समिन र नवदुलही आयुषासँगै हामी परदेशको यात्रामा निस्कियौँ। मलेसिया हुँदै भियतनामको दानाङ शहरको निमन्त्रणा हाम्रो भ्रमणको गन्तव्य थियो।
२२ गते राति काठमाडौंबाट करिब ४ घण्टा ४५ मिनेटको उडानपछि मलेसिया अन्तर्राष्ट्रिय विमानस्थल, त्यहाँको ३ घण्टे विश्राम (ट्रान्जिट) पछि फेरि २ घण्टा १५ मिनेटको अर्को उडान पार गर्दै हामी दानाङ अवतरण भयौँ। यात्रा लामो थियो, थकान पनि उत्तिकै, तर मनमा उत्साह अझै ताजा थियो। किनभने यो यात्रा केवल घुमफिर मात्र होइन, अनुभव, अध्ययन र प्रतिनिधित्वको यात्रा थियो। हामीलाई दानाङ अन्तर्राष्ट्रिय विमानस्थलबाटै भव्य स्वागत–सम्मानका साथ हान नदी किनारमा अवस्थित इडन पाँचतारे होटलमा पुर्याइयो, जहाँ भियतनामी कलाकार र भियतनाम सरकारको तर्फबाट गरिने स्वागत, सम्मान र अनुपम सेवाले हामी पुलकित बन्यौँ।
त्यहाँ भाषा बुझिँदैन थियो। संस्कार र संस्कृति बिल्कुलै फरक थिए। यद्यपि रंगमञ्चीय आकाशमा अडेको संसार र रंगमञ्चको मञ्चबाट बोलिने भाषा र गरिने कर्मको कुनै सिमाना थिएन। हामी शब्दले भन्दा बढी कर्म र भावनाले जोडिएका थियौँ। भावनात्मक भाषाले जोडिएर फरक भूमि, फरक अनुहार भए पनि एउटै मञ्चका सहकर्मीका रूपमा परिचित हुन पुग्यौँ।
दोस्रो दिन बिहान जब हामी हान नदीको किनारमा उभियौँ, त्यो दृश्यले मलाई केही क्षण मौन बनायो। नदीको शान्त बहाव, किनारमा फैलिएको हरियाली, र शहरलाई दुई भागमा विभाजन गर्दै बगिरहेको त्यो जलधाराले दानाङलाई जीवित बनाएको जस्तो लाग्थ्यो। साँझ पर्नासाथ नदीमाथिका ड्रागन पुलहरूमा बल्ने बत्तीहरूले शहरलाई झिलिमिली बनाउँछन्, पुलबाट निस्कने आगोका मुस्ला र ज्वाला देख्दा मानौँ आकाशका ताराहरू धरतीमा झरेका छन्।
नदी किनारमा मानिसहरूको चहलपहल देख्दा लाग्थ्यो: यो केवल प्राकृतिक स्रोत होइन, यहाँको जीवनशैलीको अभिन्न अङ्ग हो। पार्क, होटल, क्याफे र मनोरञ्जन स्थलहरूले नदीलाई घेरिरहेका थिए। त्यही क्षण मैले महसुस गरें । विकास भनेको केवल ठूला संरचना होइन, प्रकृति र मानवबीचको सन्तुलन पनि हो। मेरो देशका नदी किनारमा बनेका होटल र पर्यटन स्थलहरू चल्न नसकेर धराशायी हुँदै गएको अवस्था र भियतनामको पर्यटन प्रवर्द्धन र विकासको चमत्कारी खेल मैले दुवैलाई मनमनै तुलना गरें। मन केही खिन्न र ग्लानी बन्न पुग्यो।
दानाङ नजिकै रहेको थु बोन नदीले कृषि क्षेत्रमा पुर्याएको योगदान पनि उत्तिकै महत्वपूर्ण रहेछ। धानका फाँटहरू, हरियाली खेतहरू र स्थानीय जीवनशैलीमा नदीको प्रभाव स्पष्ट देखिन्थ्यो। समुद्र र नदीको संगमले दानाङलाई आर्थिक, सांस्कृतिक र प्राकृतिक रूपमा सम्पन्न बनाएको रहेछ।
तर भियतनामको वास्तविक शक्ति यसको वर्तमान मात्र होइन, यसको इतिहास पनि उत्तिकै गहिरो छ। हजारौँ वर्षसम्म चीनको प्रभावमा रहेको यो देशले अन्ततः स्वतन्त्रता हासिल गर्यो। पछि फ्रान्सको उपनिवेश बन्यो, जहाँबाट स्वतन्त्रताको लागि संघर्ष सुरु भयो। पहिलो इन्डोचाइना युद्ध, त्यसपछि लामो भियतनाम युद्ध । यी सबैले भियतनामलाई कठोर बनायो, तर कहिल्यै कमजोर बनाएन।
सन १९५५ देखि सन् १९७५ सम्म करिब २० वर्ष उत्तर भियतनाम र दक्षिण भियतनाम युद्धमा फस्न पुग्यो। सन १९७५ मा एकीकरणपछि समाजवादी शासन स्थापना भयो। त्यसपछि १९८६ मा ‘डोई मोई’ सुधार नीति लागू गरियो, जसले भियतनामलाई आर्थिक रूपमा नयाँ उचाइमा पुर्यायो।
आजका दिनमा, फाम मिन्ह चिन्हको नेतृत्वमा रहेको यो देश एशियाकै तीव्र गतिमा विकास गर्ने राष्ट्रमध्ये एक बनेको छ, र यसको राजधानी हानोईले आधुनिकता र इतिहासलाई एकसाथ बोकेको भेटियो।
यसै ऐतिहासिक र विकसित भूमिमा, मैले एउटा विशेष क्षण अनुभव गरें । मेरो जीवनकै महत्वपूर्ण उपलब्धि। दानाङ ललितकला सङ्घद्वारा मलाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरियो। यो केवल मेरो व्यक्तिगत सम्मान थिएन, यो सम्पूर्ण नेपाली कला, साहित्य र संस्कृतिको सम्मान थियो।
८ मार्च २०२६ मा दानाङको बाना हिल्समा आयोजित कार्यक्रममा विश्वका विभिन्न देशका कलाकारहरूको उपस्थितिबीच मलाई सम्मान गरिएको थियो। विगत ३ दशकभन्दा लामो समयदेखि निरन्तर आफूलाई समाहित गरी नेपाली कला, साहित्य र संस्कृतिको निरन्तरता, संरक्षण र संवर्द्धनमा पुर्याएको योगदानको उच्च कदर गर्दै नेपालको तर्फबाट मलाई र मैले नेतृत्व गरेको क्षितिज नाट्य प्रतिष्ठान नेपाललाई अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको थियो।
मैले महसुस गरें:- पूर्वी नेपालको झापा जिल्ला, त्यसभित्र रहेका १५ पालिकामध्ये बिर्तामोड नगरपालिका र त्यसभित्र रहेका १० वटा वडामध्ये १ नम्बर वडामा रहेको एउटा सानो समूहले गरेको सानो ‘एक इट्टा अभियान’ को प्रयास आज अन्तर्राष्ट्रिय मञ्चसम्म पुगेको रहेछ। हामीले त यति परसम्म सोचेकै थिएनौँ।
हाम्रो प्रतिष्ठान र विशेषतः मेरो ‘एक इट्टा अभियान’ जसले बहुजातीय सांस्कृतिक सङ्ग्रहालयसहित ‘झापा नाटक घर’ निर्माणको परिकल्पना मात्र गरेन, सात वर्षको निरन्तर प्रयासमा सुविधासम्पन्न नाटकघर निर्माण गर्यो। अब यो हामी र हाम्रो मात्र विषय बनेन, यसले अन्तर्राष्ट्रिय चर्चा बटुल्यो, इतिहासमा स्थापित भयो र नेपाली रंगमञ्चलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म चिनाउन सफल भयो।
यसले अब इट्टा, बालुवा, सिमेन्ट, काठ र फलाम मात्र बोकेन । सिंगो नेपाल र नेपाली रंगमञ्चको पहिचान बोकेर आकाशमा चन्द्र-सूर्य रहेसम्म आफू पनि रहिरहने संकल्पका साथ उभिन सफल भयो। हामीले सडकमा मागेर बनेको एक इट्टाको झापा नाटकघर । त्यही अभियानले मलाई यहाँसम्म ल्याएको रहेछ।
यो अभियान केवल भवन निर्माण होइन, यो संस्कृति जोगाउने आन्दोलन नै बनिसकेको रहेछ। मैले भियतनाम पुगेर नेपाली भूमिमा मागेको एक इट्टाको मूल्य र महिमालाई झन् गहिरो रूपमा बुझेँ।
भ्रमणका क्रममा हामीले ड्रागन पुल, मार्बल पर्वतमाला, क्याम थान नारिवल वन, होइ आन प्राचीन सहर, दानाङ शहर, बानाहिल लगायतका स्थानहरूको अवलोकन गर्यौँ। प्रत्येक स्थानले एउटा कथा सुनायो । इतिहासको, संघर्षको र पुनर्जागरणको स्मरण गरायो।
विशेषगरी होइ आन प्राचीन शहरले मलाई गहिरो प्रभाव पार्यो। साँघुरा गल्ली, पुराना भवन र सांस्कृतिक सम्पदाले भरिएको त्यो शहरले समयलाई जस्तै रोकिदिएको अनुभूति हुन्थ्यो।
यस क्रममा स्थानीय कलाकारसँग गरिएको सांस्कृतिक आदान–प्रदान अत्यन्तै अर्थपूर्ण रह्यो। मैले नेपाली मौलिक कला, साहित्य र संस्कृतिको प्रस्तुति दिएँ। विशेषतः बानाहिल साइटको सम्मानित मञ्च र नारिवल वनस्थित नदीको बीच भागमा बनाइएको डुङ्गा–मञ्चभित्रका विशेष प्रस्तुतिहरू अत्यन्तै यादगारका रूपमा रहन पुगे। हाम्रो नेपालीपन र नेपाली प्रस्तुतिलाई उनीहरूले उत्साहपूर्वक सुने, बुझे र सम्मान गरे।
भियतनामी खानाका परिकार र अतिथि सत्कारका आफ्नै नियमहरू हाम्रो परम्परा र संस्कृतिभन्दा फरक थिए। त्यो क्षणमा मैले महसुस गरें ।
भाषा फरक हुन सक्छ, तर कला सबैको साझा भाषा हो। कलालाई न भूगोलको सीमा हुन्छ, न भाषा र राजनीति । यो त स्वतन्त्र आकाशमा अनन्त भएर फैलने अस्त्र हो। त्यसैले त महान नाटककार शेक्सपियरले भन्नुभएको छ, ‘संसार एउटा रंगमञ्च हो र हामी त्यसका कलाकार हौँ।’
कार्यक्रमका आयोजकहरूले मलाई अत्यन्त आत्मीयताका साथ स्वागत गरे। पारिवारिक भ्रमणकै क्रममा पनि उनीहरूले हामीलाई विशेष महत्व दिएर विभिन्न ऐतिहासिक र सांस्कृतिक स्थलहरूको भ्रमण गराए। यसले भियतनामी आतिथ्यताको गहिरो छाप छोड्यो।
यस उपलब्धिले मलाई मात्र होइन, सम्पूर्ण नेपाली कलाकारलाई विश्वमञ्चमा उभिन प्रेरणा दिएको छ। मेरी श्रीमती सुजना खतिवडाले पनि यसलाई नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय पहिचान विस्तारको महत्वपूर्ण कदमका रूपमा लिएकी छन् ।
आज जब म यो यात्रा सम्झन्छु, मलाई लाग्छ-यो केवल एक भ्रमण थिएन। यो मेरो जीवनको एउटा पाठ थियो। दानाङको हान नदी किनारमा उभिएर मैले विकासको सौन्दर्य देखें। भियतनामको इतिहासबाट संघर्षको शक्ति सिकें। र अन्तर्राष्ट्रिय सम्मानबाट आफ्नो पहिचानको मूल्य बुझें।
झापाको माटोबाट सुरु भएको त्यो सानो पाइला आज विश्वमञ्चसम्म आइपुग्दा, मनमा एउटा गहिरो अनुभूति बसेको छ । सपना ठूला हुनुपर्छ भन्ने होइन, दृढ संकल्प र निरन्तरता नै त्यसलाई ठूला बनाउने शक्ति रहेछ। सिमानाभित्रको सानो आवाज पनि, जब आत्मविश्वास र उद्देश्यसँग जोडिन्छ, संसारभरि गुञ्जिन सक्दो रहेछ।
यो यात्रा मेरो मात्र होइन- यो सम्पूर्ण नेपाली कला, संस्कृतिको आत्मा बोकेको यात्रा हो। यो हाम्रो पहिचान, हाम्रो गौरव र हाम्रो अस्तित्वको कथा हो, जसले विश्वसामु नेपाललाई चिनाउने एउटा सानो तर महत्वपूर्ण पुल बनेको छ।
भियतनामको त्यो आत्मीयता, कलाकारहरूको स्नेह र सम्झनाले भरिएका ती दिनहरू मनको कुनामा सधैं ताजा रहनेछन्। बिदाइका ती हातहरू केवल औपचारिक थिएनन्, तिनीहरूमा आत्मीयता, सम्मान र मित्रताको गहिरो भाव लुकेको थियो।
अनि यसैबीच, स्मृतिका अमिट पानाहरू बोकेर, हृदयभरि कृतज्ञता र नयाँ उत्साह लिएर, हामी २०८२ साल फागुन २९ गते स्वदेश फर्कियौँ । नयाँ सपना, नयाँ ऊर्जा र अझ ठूलो यात्राको संकेतसहित।
किनकि यो अन्त्य होइन…
यो त केवल अर्को सुन्दर सुरुवात हो, जहाँबाट मलाई थप ऊर्जा र जिम्मेवारीको गह्रुङ्गो भारी अझ थपिएको थियो।
हामी नेपाल झर्नु अगावै, यहाँका सामाजिक सञ्जाल र मिडियामा ‘क्षितिज नाट्य प्रतिष्ठान नेपाललाई भियतनाममा अन्तर्राष्ट्रिय सम्मान’ र ‘नेपाली कलाकार माधव कल्पितलाई प्रदान गरियो अन्तर्राष्ट्रिय सम्मान’ लगायतका मुख्य शीर्षक समाचार युट्युब, अखबारदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसम्म फैलिसकेका रहेछन्। त्यो दृश्य केवल खबरको विस्तार मात्र थिएन । त्यो त हाम्रो वर्षौँको मेहनत, संघर्ष र विश्वासले पाएको सार्वजनिक मान्यता थियो।
काठमाडौं पुग्नेबित्तिकै नागरिक बचाउ दलका पदाधिकारीहरूले आयोजना गरेको स्वागत–सम्मान कार्यक्रम, अनि मिडियाहरूमा अन्तरवार्ताको निरन्तरता…। ती सबै क्षणहरूले मलाई एकाएक चर्चाको शिखरतिर पुर्याए। स्थानीयदेखि राष्ट्रिय अखबारका कला पृष्ठमा छापिएका तस्बिरहरू केवल तस्बिर थिएनन् । ती त एउटा आन्दोलनको दस्तावेज थिए, एउटा सपनाको प्रमाण थिए।
तर विडम्बना पनि त्यत्तिकै गहिरो थियो । मेरै गृह जिल्ला झापामा, जहाँ ‘झापा नाटक घर’ जस्तो ऐतिहासिक अभियानलाई पटक–पटक प्रस्तावना लिएर जाँदा पनि पालिका, प्रदेश र केन्द्रले चिन्न चाहेनन्, सम्बोधन गर्न सकेनन् । अब त्यही अभियान सबैको चासो र खोजीको विषय बनेको थियो। समयले आफैं उत्तर दिएको थियो। केहीका लागि यो प्रेरणा बन्यो भने, केहीका लागि दरिलो झापटझैँ साबित भयो।
राजधानीको व्यस्ततालाई छिचोल्दै, हामी चैत ३ गते झापा प्रस्थान गर्यौँ। भद्रपुर विमानस्थलमै कलाकार साथीहरू, सामाजिक अभियन्ता र स्थानीयहरूको भव्य स्वागतले मन गद्गद भयो। त्यो सम्मान केवल व्यक्तिको थिएन । त्यो त एउटा विचारको सम्मान थियो, एउटा निरन्तर कर्मको परिणाम थियो।
साँच्चै, कहिल्यै नदेखिने जस्तो लागेको सपना पनि, जब इट्टा–इट्टा जोड्दै बनाइन्छ, एक दिन शिखर चुम्दो रहेछ।
र आज, त्यो शिखरमा उभिँदा पनि, मन भन्छ: यो यात्रा रोकिने होइन, अब झन् ठूलो आकारमा अघि बढ्नेछ, किनकि मान्यता ढोका ढकढक्याएर होइन, समयले आफैं खोलिदिँदो रहेछ।
हिजो जसले अभियानविरुद्ध चरित्र देखाउँदै उपहास गरे, आज उनीहरू नै ‘हामी पनि सँगै थियौँ र रहिरहने छौँ’ भन्न आतुर देखिनु सायद यही नै सफलताको सबैभन्दा ठूलो प्रमाण हो भन्ने ठूलो शिक्षा आज मिलेको छ।
प्रकाशित: ३० चैत्र २०८२ १६:३७ सोमबार





-600x400-wm.jpg)