भगवान श्री १००२७ (क), महावीर पुनज्यू,
विज्ञान क्षेत्रकै एक युवा अनुसन्धानकर्ताको हिसाबले तपाईंकै मिश्रित शैलीमा सम्मानसहित केही सन्देश एवं सुझावहरू सार्वजनिक रूपमा प्रवाह गर्न चाहन्छु। तपाईंलाई केही कुरा सम्झाउनै पर्ने लागेर यत्ति बोल्दैछु, सबै पढेर मात्र गाली गर्नुहोला।
सबैभन्दा पहिले, नेपाल सरकारको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गर्न र आफैं त्यस मन्त्रालयको मन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना। तपाईंको देशप्रतिको चिन्तन, नियत एवं निकै लामो योगदान सधैं सम्झनलायक छन्, सम्मान छ, धन्यवाद पनि छ। रास्वपामा त्यति ठूलो जमात हुँदाहुँदै उक्त मन्त्रालयको जिम्मेवारी बहन गर्न सक्ने योग्यता भएको एकजना पनि स्पष्ट सांसद नभएकाले तपाईँ भगवान श्री १००२७ (क) नियुक्त हुनु तुलनात्मक दृष्टिले निकै राम्रो पक्ष हो। यसले सक्षम मान्छे पार्टीभन्दा पनि क्षमताका आधारमा नेतृत्वमा पुग्न सक्नुपर्छ र जिम्मेवारी बहन गर्न सबैले सहयोग गर्नुपर्छ भन्ने राम्रो सन्देश समेत प्रवाह गरेको छ। यसका निम्ति चटपटे नेपाल सरकारलाई पनि धन्यवाद।
पहिलो कुरा, भगवान श्री १००२७ (क) ज्यू, अब तपाईं दिनदिनै बिहान-बेलुकी “म त सोझो छु, ढिँडो खान्छु, कुँडो-खुँडो खान्छु, मलाई त बेड यही चाहिन्छ” भनेर युट्युबरहरू जम्मा गरेर किचलो गर्ने, पकाएका भिडियो सञ्जालमा राख्ने, “नुहाउँदिन, हाफ पेन्ट लगाउँछु” या इदर-उदर भन्दै हिँड्दै सामाजिक सञ्जालमा फण्डा गर्दै हल्का रूपमा रन्किने-फन्किने अनि तमासा गर्ने काम कृपया नगर्नुहोला। यो सुहाउँदैन, अत्ति भइसक्यो।
तपाईंलाई खुर्सानी खान मन लाग्छ खानुस, गोलभेडा चपाउन मन लाग्छ चपाउनुस, अरू के-के खान मन छ खानुस, गर्नुस, तर कृपया सञ्जालमा तमासा नगर्नुस अबदेखि। यो केटाकेटीपन र अनावश्यक मजाक तपाईंको उमेर र हालको जिम्मेवारीअनुसार ठीक होइन। “मेरो मौलिक अधिकार हो, तैले के नाप्छस्” भन्न पनि सक्नुहोला, भन्नुस। तर ड्रोन भ्युबाट हेर्दा देश निकै मजाक बनेको देखिरहेको छु।
अनि सामाजिक सञ्जालमा अलि फरक मत राख्यो वा सुझाव दियो कि जथाभावी गाली गर्ने, मुख छाड्ने काम पनि कृपया नगर्नुहोला। IQ ४२ वा अझै तल भएका तपाईंका प्रेसराइज्ड भक्तहरूलाई गाली गर्न र मुख छाड्न बन्द गर्न पनि सम्झाउनुहोला। ती असल सभ्यताभित्र पर्दैनन् र समाज सही दिशामा यसरी जाँदैन। बरु कानुन बनाएर नियमन गर्ने बाटोमा योगदान गर्नुहोला।
राष्ट्रिय-अन्तर्राष्ट्रिय स्तरमा देशको सवाल पनि जोडिने र सरकारका कुरा, काम अनि दैनिक गतिविधि अध्ययन हुने भएकाले त्यसलाई मेन्टेन गर्नु तपाईंको जिम्मेवारीको हिसाबले कर्तव्य हुन आउने कुरामा सजग रहनुहोला। अब तपाईं काम गर्ने ठाउँमा हुनुहुन्छ र अब तपाईंका काम मात्रै बोल्नुपर्दछ। सम्झनुहोला, जिम्मेवारी र परिपक्व व्यक्तिको तमासा विवेकी जगतमा स्वादिलो हुँदैन।
अर्को कुरा, तपाईं मुलुकको एक जिम्मेवार सांसदसँगै मन्त्री पनि हुनुहुन्छ। सुशासन, विधिको शासन एवं कानुनी राज्यको महसुस तब हुन्छ जब सबै नागरिकलाई समान अधिकार र पहुँच राज्यले ग्यारेन्टी गर्दछ।
मेरो एउटा बिन्ती छ — कृपया सडकका गल्ली-गल्लीमा किताब बेच्दै हिँड्ने काम अब नगर्नुहोला। पब्लिकेशनहरूले किताबको पैसा टन्न खाइदिने हुनाले तपाईं गल्ली-गल्ली हिँड्नुपरेको तथ्य म बुझ्छु र आजसम्म गरेको कुरा जायज छ। अब त समग्र सिस्टम बसाल्नुपर्ने छ, त्यो गर्नुस भन्न खोजेको हो, तब सिस्टमले बेचोस्।
किताब लेखेर अनि त्यसैबाट जीवनयापन गर्नेहरू धेरै हुनुहुन्छ। सबै सडकमा त्यसरी आउँदा के होला? तपाईंको किताबको रकम देशको उद्योग सञ्चालनमा लगाउनुभएको छ, जुन प्रशंसनीय हुँदाहुँदै पनि एक व्यक्तिले त्यसरी सडकमा किताब बेच्दै हिँड्न मिल्छ या मिल्दैन, कानुनले के भन्छ?
त्यसो त, मलाई भौतिक विज्ञान (Physics) पढाउनुभएका धेरै गुरुहरूले निकै उत्कृष्ट किताब लेख्नुभएको छ। अन्य क्षेत्रका कयौँ लेखकहरू हुनुहुन्छ। उहाँहरूलाई पब्लिकेशनले टन्न लुटेका छन्। यसको दीर्घकालीन समाधान के हुन्छ, अब त्यसमा ध्यान दिनुपर्यो।
फेरि भन्नु होला — “मेरो किताबको बिक्रीको पैसा मेरो लागि होइन, वीरगञ्ज कृषि कारखानाका लागि हो।” तपाईंको प्रयास र पहल राम्रो हुँदाहुँदै पनि तपाईं व्यक्ति हो, राज्य होइन। व्यक्तिले अभियान सञ्चालन गर्न सक्छ तर त्यसको सुनुवाइ र दिगो कार्यान्वयन अन्ततः राज्यले नै गर्नुपर्दछ।
अर्कोतिर, एक छाक खान सडकमा मकै बेच्ने र ठेला पेल्दै हिँड्नेहरूमाथि भएका अमानवीय दृश्यहरू तपाईंको दिलमा पक्कै टाँसिएका होलान्। ती व्यक्तिका मानवअधिकार र तपाईंका कर्ममाथि राज्यले एउटै दृष्टिले व्यवहार गर्नुपर्दछ — चाहे त्यो तपाईंको किताब होस् वा उनीहरूको मकै, मानवअधिकारका दृष्टिले यी दुवै समान हुनुपर्छ।
तपाईं किताब बेच्दै हिँड्न पाउनुहुन्छ भने ती काम गरेर एक छाक खानेहरूले पनि काम गरेर खान पाउनुपर्छ। स्केल मात्र फरक हो, तात्त्विक कुरा एउटै हो। र, हामीले स्थापित गर्ने थिति, मूल्य र मान्यता त्यसैमा आधारित हुनुपर्दछ।
आजसम्म तपाईंका कुरा सुन्नुपर्ने निकायले सुनेन होलान्, तर अब त तालाचाबी नै तपाईंको आफ्नै हातमा छ। अब त कसैलाई गाली नगरी या केही नभनी प्रस्तुती दिनु पर्नेछ।
अनुसन्धान र नवप्रवर्तनमा तपाईँ भगवान श्री १००२७ (क) जस्तो मान्छे आवश्यक थियो, काम गर्ने ठाउँमा देशले पायो, अब गर्नुस। अब नेपाललाई अनुसन्धानको हब बनाउनुपर्दछ र देश तथा विदेशमा रहेका विज्ञान क्षेत्रका अनुसन्धानकर्ताहरूलाई उचित व्यवस्था गरेर स्थापित गर्ने एवं brain gain गर्ने नीति निर्माणमा योगदान गर्दै व्यवहारमा रूपान्तरण गर्न भूमिका निर्वाह गर्नुहोला।
विज्ञान क्षेत्रकै एक युवा अनुसन्धानकर्ताको तर्फबाट तपाईंकै शैलीमा दिएको सुझाव सकारात्मक रूपमा लिनुहुनेछ भन्ने अपेक्षा सहित नेपालको समग्र शिक्षा, विज्ञान र अनुसन्धानका क्षेत्रमा हामीले सहयोग गर्नुपर्ने भएमा हामी धेरै युवाहरू त्यसका निम्ति प्रतिबद्ध रहेको जानकारी गराउँदछौँ।
भद्रकाली, कपालिनी — गाली बन्दनम्, नमस्कारम्, भगवान श्री १००२७ (क), धन्यवादम्।
नोट: तपाईंलाई इज्जतसहित सुझाव दिएको हुँदा अरूलाई जस्तो गाली गर्नुहुन्न भन्ने विश्वास छ। यदि गर्नुभयो भने न्यूटनको तेस्रो नियम पक्का प्रयोग हुनेछ। धन्यवाद।
यहाँकै शुभचिन्तक:
किसान खत्री डक्टोरल क्याण्डिडेट, भौतिकविज्ञान, अमेरिका
प्रकाशित: २९ जेष्ठ २०८३ १४:३८ शुक्रबार





