२० मंसिर २०८२ शनिबार
image/svg+xml
ब्लग

जेन–जी आन्दोलनले जन्माएको परिस्थितिको संक्षिप्त विश्लेषण

फाइल तस्बिर

भदौ २३ र २४ गते भ्रष्टाचार विरुद्ध सुशासनको माग राखेर जेन–जी पुस्ताका युवाहरूले गरेको आन्दोलन पश्चात् मुलुकमा फरक परिस्थिति सृजना भएको छ। तत्कालीन सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने निर्णयले आन्दोलनलाई थप प्रश्रय पाएपछि सुरु भएको प्रदर्शनमा ठूलो जनधनको क्षति भयो। 

२३ गते माइतीघर मण्डलादेखि बानेश्वरसम्मको बाटो र देशका धेरै मुख्य मुख्य शहरहरूमा विभिन्न गलत प्रवृतिका विरुद्धमा शान्तिपूर्ण नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका युवाहरू दिउसो २ बजे पछाडि संसद भवन अगाडि भिड एकाएक उत्तेजित बन्यो। प्रहरीले रोक्न खोज्दा नसकेपछि गोली चलायो, १९ जना युवाहरूको मृत्यु भयो। २४ गते प्रमुख प्रशासनिक भवन सिंहदरबारदेखि वडा कार्यलय सम्म र गणतन्त्रको प्रतीक राष्ट्रपति भवन लगायत लोकतन्त्रका धरोहरमा आगो लगाईयो, जेल तोडिए, १५ हजार माथि कैदीहरू बाहिर निकालिए, न्यायलय खरानी बनाइयो। राजनीतिक दलहरूका पार्टी कार्यलय, निजी घरहरू, व्यापारिक भवन, उद्योगहरू तोडफोड, लुटपाट र आगजनी भयो। 

थुनुवा राखिएका स्थानमा कार्यरत प्रहरीहरू माथि गरिएको भौतिक आक्रमणले तीन जनाको ज्यान जानुको साथै सयौं नेपाल प्रहरी र शस्त्र प्रहरी घाइते भए। नागरिकले आफ्नो जिम्मेवारी निभाउने तथा खराब व्यक्तिहरुले लुटपाट र आगजनी गर्ने क्रममा ५० जना धेरैको मृत्यु भयो, सयौं घाइते उपचारत छन्। समग्रमा राजदरबार (नारायणहिटी संग्रहालय) र जंगीअड्डा बाहेक कुनै पनि सरकारी कार्यलय सुरक्षित रहेनन्। काङ्ग्रेस एमालेको ओली सरकार ढल्यो, पूर्व प्रधान न्यायधिश सुशिला कार्किको नेतृत्वमा जेनजी पुस्ताको माग सम्बोधन गर्दै फागुन २१ गते आम निर्वाचन गर्ने गरी अन्तरिम सरकार गठन भएको छ। 

जेनजीको शान्तिपूर्ण आन्दोलनका क्रममा हुन गएको अप्रिय घटनामा ज्यान गुमाउने महान शहिदहरू प्रति हार्दिक श्रद्धाञ्जली परिवारमा गहिरो समवेदना र घाईतेहरूलाई सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । घटनाले राजनीतिक रूपमा ठूलो उथलपुथल ल्याएको छ। विभिन्न प्रकृतिका आवाज सुनिए जसले हामिलाई गम्भीर भएर सोच्न बाध्य बनाएको छ। के पार्टीहरू विनाको लोकतन्त्र सम्भव छ? नेतृत्व बिना उद्देश्य पूरा गर्न सकिन्छ? क्रान्ति बिना शान्ति सम्भव छ? जस्ता प्रश्नको उत्तर खोज्न आवश्यक भएको छ। हाम्रो देशको सात दशक अगाडि फर्केर हेरौं। राणाशासनको क्रूरता विरुद्ध राजा त्रिभुवन समेत सहभागी भएर गरेको आन्दोलन सफल भएपछि नेपालमा वि.स. २००७ सालमा प्रजातन्त्र स्थापना भएको थियो। 

त्यसवेलाको पुरानो राजनीतिक पार्टी "नेपाल प्रजापरिषद"को नामबाटै प्रजातन्त्र नामाकरण गरिएको भन्ने बुझ्न सकिन्छ। पछि पञ्चायत विरुद्धको आन्दोलनमा “प्रजा होइन नागरिक बनौं” भन्ने नारा लगाउन थालियो। प्रजा भन्ने शब्दले राजा पनि भन्ने हुनाले प्रजातन्त्रको ठाउँमा लोकतन्त्र शब्दको प्रयोग हुन थाल्यो। लोकतन्त्रको शाब्दिक अर्थ “मान्छेको शासन” संस्कृतमा लोक “जनता” तन्त्र “शासन” हो। लोकतन्त्र एक यस्तो शासन व्यवस्था हो जसमा जनता आफ्नो शासक आफूहरूले नै चुनिन्छ र जनता द्वारा नै फालिन्छ अर्थात् जनता द्वारा जनताको लागि जनताको शासन हो लोकतन्त्र। 

राजनीतिक दलहरूले नागरिकको विचार, अधिकार, वर्ग जात वा क्षेत्रीय मागलाई संगठित गरेर संसद वा सरकारमा पुर्याउथे । २०१७ सालमा दलहरूलाई प्रतिबन्ध गरेर राजा महेन्द्रले राजनितीक दलहरूलाई प्रतिबन्ध गरेर पञ्चायत जारी गरेका थिए। दलहरू जनताका आवाज हुन् । जनताका आवाजलाई प्रतिबन्ध गरेपछि दलहरूले भुमिगत रूपमा आफ्ना एजेन्डा र मागहरू निरन्तर राखिरहे । नागरिकका सामुहिक आवाजलाई बन्द गर्न नसकेपछि पुनः बहुदलीय व्यवस्थाको स्थापना भयो। दलहरूमा नेतृत्व परिवर्तन भई रहन्छ कहिलेकाही लामो समयसम्म एकै व्यक्ती नेतृत्वमा रहदा विरोध गर्ने नेपाली समाजमा हिजो आज केही व्यक्तिहरू दल विहिन स्वतन्त्र नेतृत्वको कल्पना गर्छन्। स्वतन्त्र व्यक्तिमा व्यक्तिवाद हावी अझ धेरै हुन्छ। 

एकल निर्णय भन्दा सामुहिक निर्णय हितकर हुन्छ। लामो समयसम्म स्वतन्त्र र संगठित प्रतिपक्ष नभएमा सरकारको जवाफदेहिता कमजोर हुन्छ। नागरिकका अधिकारहरू हनन् हुन्छन् । नीतिगत निरन्तरता गुम्दै जान्छ । स्वतन्त्र नेताको व्यक्तिगत सोचमा निर्भर हुनेहुदा भ्रष्टाचार र शक्ति दुरुपयोग रोक्ने संयन्त्र कमजोर हुन्छ। सानो क्षेत्रमा छोटो समयको लागि स्वतन्त्र एक व्यक्तिले सुशासन र पारदर्शितामा प्रभाव राख्न सके पनि सिंगो राष्ट्रमा सुशासन र पारदर्शिता ल्याउन एक व्यक्तिको भरमा सम्भव हुँदैन, त्यसर्थ दर्विलो र भरपर्दो स्थापित र उद्देश्य केन्द्रित राजनीति मुद्दा (Agenda) भएको पार्टीहरू चाहिन्छन्। 

अतः दल बिना लोकतन्त्र सम्भव छ भन्ने सैद्धान्तिक बहस गर्न सकिन्छ तर व्यवहारमा दीर्घकालीन रूपमा सफल उदाहरण कतै छैन। राजनीतिक दलहरू विकासक्रमको लोकतन्त्रमा खुला प्रतिस्पर्धी रूपमा रहनु अत्यन्त आवश्यक रहन्छ। राजनीतिक दल बिना सरकार निर्माण र प्रतिपक्षमा जिम्मेवारी, प्रभावकारी जवाफदेहिताको संरचना नै अपुरो हुन्छ। पुराना राजनीतिक दलहरूले नयाँ युवा भित्र्याउन नसक्नु वा पार्टी भित्र जनताको मर्म र भावना अनुरूप पार्टीका गतिविधि न्यून हुनु गलत प्रवृत्तिको छलफल चियापसल र छलफलका विषयमा मात्र सिमित रहनाले राजनीतिक चेत राख्ने युवामा वितृष्णा र आक्रोश उत्पन्न गरेको छ। 

त्यस्तै साना साना समूह संघ-संगठनहरूले जायज माग राखेर जति नै धर्ना जुलुस गरे पनि झारो टार्ने पुरानो प्रवृत्ति नफेरिनु, नागरिकको माग सम्बोधनमा ढिला सुस्ति हुनु ,राज्यका सबै निकायमा भ्रष्टाचारको जालो हुनु, निर्णायक भुमिकामा बिचौलिया प्रवेश हुनु, संविधान र कानूनको पालनामा एकरूपता नहुनु, बौद्धिक बेरोजगारको संख्या दिन प्रतिदिन बढ्दै जानू, नयाँ उद्योगका बाटोहरूमा समस्या नै समस्याको चाङ हुनु, राज्यका हरेक क्षेत्रमा राजनीतिक भनसुन, दबाव र प्रभाव हुनाले कर्मचारीले स्वस्थ कार्य सम्पादन गर्न नसक्नु, नकारात्मक र गलत सुचना प्रचार प्रसार गर्नु, भविष्यको चिन्ता र चासोमा नेतृत्वतहमा गम्भीरता कम देखिनु र कुलतमा फसेका युवाहरूको बढ्दो संख्या जस्ता कुराले जनआक्रोशका कारणहरू हुन सक्छन्।

 भ्रष्टाचार नियन्त्रण गर्न एकाध व्यक्तिहरू लागिरहनु भएको छ। भ्रष्टाचार नियन्त्रण प्रयासलाई आफ्नै भ्रष्ट सहकर्मीबाटै पेलान र तार्केटमा पारिदा ईज्जतदार व्यक्तिमा खिन्नता । भ्रष्टाचार र सुशासनको चेतना सबै जिम्मेवार नागरिकमा हुन पर्छ । त्यसर्थ नेपाली जनतामा देश प्रति माया, नया पुस्ता प्रति बफादार र समृद्ध नेपालको कल्पना हुन जरूरी छ। अत: पुराना राजनीतिक दलहरूले गरेका कमि कमजोरीको पहिचान गर्ने, जनताले बनाएका नेतृत्व र दलहरू जनता संगै गएर आत्मालोचना गर्ने, समीक्षा गर्ने , आफ्नो योजनाहरू स्पष्ट राख्ने, जनताले विश्वास गरे चुनावमा विजय भए सरकार बनाउने, नीति निर्माण गर्ने पराजित भए जनताको सुख-दुःखमा साथ दिने पार्टीलाई मजबुत बनाउन थाल्ने। 

यति भन्दै गर्दा पार्टीभित्र स्पष्ट र प्रतिस्पर्धात्मक पद्धति द्वारा नेतृत्व निर्माण गर्ने हो भने पार्टी बाहिर नैतिक, आर्थिक र सामाजिक रूपमा पारदर्शी नेतृत्व निर्माण गर्न जरूरी हुन्छ। नेतामा उमेर अनुभवसँगै समस्या समाधान गर्ने क्षमता पनि चाहिन्छ। ईमान्दार, क्षमतावान र कुशल व्यक्तिहरू भएको दल मात्र जनताले मन पराउछन्। दलहरूमा जनताले देखेको सपना साकार गर्न मार्ग प्रदान गर्ने र स्पस्ट दृष्टिकोण र सिद्धान्त भएको, जनतालाई सकारात्मक कार्यमा उत्प्रेरित गर्ने पथप्रदर्शक नेतृत्व चाहिन्छ । असल र सफल नेतृत्वमा स्पष्ट भविष्यमा हासिल गर्ने दृष्टिकोण र लक्ष्यसम्म पुग्ने बाटो हुनुको साथै आफूसँगै अरूलाई पनि उत्साहित गर्न सक्ने क्षमता स्रोत समय र मानिसलाई एकीकृत गर्ने संगठन र प्राप्त गरेको सफलता वा असफलताको जवाफदेही जिम्मेवारी भएको र गल्तीलाई सच्याएर आत्मालोचना शक्ति भएको दुःखमा नआतिने सुखमा नमातिने प्रकृतिको गुणवान् हुन्छ। सानो सानो अस्थायी उद्देश्य पुरा गर्न अल्पकालीन कार्यक्रमहरूमा विशेष नेता नचाहिन पनि दिर्घकालमा असम्भव छ तर ठूलो र दीर्घकालीन वा संरचनात्मक उद्देश्य पुरा गर्न जस्तै सामाजिक आन्दोलन, राजनीति परिवर्तन जस्ता ठोस कुरामा कुशल नेतृत्व नभएमा छिटै अव्यवस्था फुट वा दिशाहिनता हुन्छ। नेतृत्व बिना आन्दोलन लामो समयसम्म टिक्दैन। 

अस्थायी उद्देश्य सम्भव भएपनि संरचनात्मक उद्देश्य प्राप्त गर्ने स्पष्ट नेतृत्व अपरिहार्य हुन्छ। कुनै पनि समाज वा देशको आर्थिक संरचना उत्पादन प्रणाली रोजगारी व्यापार वितरण वा सम्पत्ति स्वामित्वमा हुने मौलिकता र द्रुत परिवर्तनलाई आर्थिक क्रान्ति भन्न सकिन्छ। आर्थिक क्रान्तिको लागि कृषि, औद्योगिक, प्रविधिक र सामाजिक आर्थिक क्रान्तिलाई एकै लयमा वृद्धी गर्नु पर्ने हुन्छ। खासगरी उत्पादन प्रणालिमा आमूल परिवर्तन गर्ने समाजको वर्ग संरचना र जीवनशैलीमा सकारात्मक असर पार्ने नयाँ प्रविधि वा विचारको प्रयोग गर्नाले राजनीतिक व्यवस्थामा पनि प्रभाव पार्ने सम्भावना हुन्छ। समाज वा राष्ट्रमा रहेका पुराना व्यवस्थाका अन्याय र असमानताका विरुद्ध उठेकाआवाजले आमूल परिवर्तनकारी आन्दोलन प्रायः संघर्ष, विद्रोह हिंसा बाट वा हिंसा रहित अवस्थाबाट पनि न्याय, समान अवसर, स्वतन्त्रता र सुरक्षा भएको समाज निर्माण गरेर शान्ति स्थापना गर्न सकिन्छ। संवाद र सुधारमार्फत परिवर्तन यदि शासक वा शक्तिशाली वर्गले समयमै सुधार गरेमा कानुन निष्पक्ष भएमा राज्यले उत्तरदायी र समान अवसर प्रदान गरेमा क्रान्ति बिना शान्ति सम्भव हुन्छ तर शोषण, दमन, असमानता धेरै हुन्छ, पक्षपातपुर्ण न्याय हुन्छ, संवाद र सुधारका ढोका बन्द हुन्छन् त्यसवेला क्रान्ति नगरी शान्ति ल्याउन असम्भव हुन्छ।

 जबसम्म देशमा न्यायपूर्ण व्यवस्था आउँदैन, भ्रष्टाचार र बेथितिका क्रियाकलापले समाजमा प्रश्रय पाइरहन्छ, त्यसवेला सम्म शान्तिको अनुभव गर्न सकिदैन केवल अनुभवको व्याख्या गर्न सकिन्छ। क्रान्तिबाट प्राप्त उपलब्धि लाई संस्थागत गर्न सर्वपक्षीय सहमति सहकार्य र एकताको आवस्यक पर्छ। शान्तिपुर्ण तरिकाले गरिएका परिवर्तन दिगो र भरपर्दो हुन्छ । एक वाक्यमा लोकतन्त्र बचाउन पनि अर्थतन्त्रमा सुधार ल्याउन अनिवार्य छ, बलियो अर्थतन्त्रले शान्ति स्थापना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतालाई कायम राख्न सक्छ भन्न सकिन्छ।

 नयाँ पुस्ताले थप केही विषयहरू मनन गर्नुपर्ने छ। १.आज सर्वाधिक बहसको विषय प्रत्यक्ष कार्यकारीको माग नयाँ पुस्ताले पनि राखेको देखिन्छ। यसका लागि संविधानमा व्यवस्था नभएको हुनाले संविधान संशोधन गर्न पर्ने हुन्छ। सामाजिक आर्थिक र राजनीतिक असरहरू मध्यनजर नगरी बढ्दो भू-राजनीतिक प्रभावमा प्रत्यक्ष कार्यकारी रहने कुरा कति उत्तम होला यो विषयमा पर्याप्त अध्ययन गरिएको छ त? २.हाम्रो देशको सुरक्षा संयन्त्र कमजोर देखिएको हो ? २३ गतेको जेनजी हत्या र २४ गतेको देशभरका सरकारी र निजी सम्पत्ति माथि हुने क्षतिको सूचना कतैबाट पनि अग्रिम प्राप्त गर्न नसक्नु सरकारी संयन्त्रको ठूलो कमजोरी हो। शान्तिपूर्ण आन्दोलनमा हिजोआज चारैतर्फी रूपमा घुसपैठ भएको कुरा सार्वजनिक हुन थालेका छन्।

 आयोजक जेनजी लिडरहरू र तत्कालीन प्रम बाटै घुसपैठको कुरा आएको छ । युवा विध्यार्थीको कार्यक्रममा षड्यन्त्र हुनु प्रहरीहरूसँग भएका हातहतियार खोसिनु, उनीहरूसँग नभएका हातहतियार बाट विध्यार्थीको हत्या भएको, आन्दोलनमा नकापधारी अपरिचित व्यक्तिहरूको व्यापक उपस्थित थियो भन्ने जस्ता कुरा सञ्चार माध्यममा सुनिनु अत्यन्त दुखद र गम्भीर विषय हो। सत्य तथ्य अनुसन्धान हुनु पर्छ। ३.अर्थतन्त्र बचाउन र बढाउन नसके राज्यको अवस्था कस्तो होला ? । 

लामो संघर्ष र बलिदानले प्राप्त नेपालको संविधान भूकम्प र संविधान जारी लगत्तै अघोषित नाकाबन्दीको सामना गर्दै गाउँगाउँसम्म भौतिक पूर्वाधारको रूपमा कार्यलय, बाटो, विजुली, खाने पानी र प्रविधिको व्यापक वृद्धि विकाससँगै प्राविधिक र सिपमुलक स्कुलहरूको स्थापना मनग्य भएको देखिन्छ। पर्यटन प्रवर्द्धनका लागि आवश्यक कामहरू सुस्त गति भए पनि हुँदै गरेको देखिन्थ्यो तर युवाको चाहना अनुसार छिटो र पारदर्शी चै थिएन। हाम्रो सामु ठूलो चुनौती देखा पर्दैछ राष्ट्र निर्माणमा प्रमुख टेवा पुर्याउने स्थायी क्षेत्रमा पर्यटन पर्छ तर देशमा अशान्ति मच्चाई रहने हो भने हाम्रमा कहिबाट पनि पर्यटक आउदैनन् । कति ट्राभल र होटलमा बुक। गरेका टिकेट क्यान्सिल गरेको समचार आउन थालेका छन्।

 १० वर्षे जनयुद्धले अन्तर्राष्ट्रिय नजरमा असुरक्षित राष्ट्रको रूपमा परिचय पाएको हाम्रो देशले सुरक्षित वातावरण र सहज गन्तव्यको रूपमा विकास गर्दै गरेको नेपालले सेप्टेम्बर ८÷९ र त्यस पछिका घटना क्रमले अन्तर्राष्ट्रिय जगतमा राम्रो सन्देश दिदैन। अत: जनताले थाहा पाएको छ जेनजी पुस्ता आफू प्रति इमानदार भविष्य र राष्ट्र प्रति जिम्मेवार पुस्ता हो। जेनजिले संविधानको विश्वास गर्छ, लोकतन्त्र र गणतन्त्रलाई विश्वास गर्छ, लुटपाट र आगजनीले अर्थतन्त्रलाई कमजोर बनाउँछ भन्ने बुझेको छ। जेन डब्ल्यू, याक्सा र वाईको त्याग तपस्यालाई बुझ्न सक्छ। दलहरू खराब छैनन्, दल भित्रका केहि पात्र खराब छन्, ती खराब पात्रहरूबाट राष्ट्र अगाडि बढ्न सक्दैन भन्ने कुरा बुझेको छ।

राष्ट्रिय हितको निम्ति सबै गोलबद्ध भएर हातमा हात, साथमा साथ हुन पर्छ। देशप्रेम सहित भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जाल बन्दका विरुद्ध जायज मागहरू लिएर शान्तिपूर्ण आन्दोलन निस्किएको जेनजी पुस्ताको काधमा चढेर देशमाथि नै गरिएको आक्रमण सामान्य रूपमा लिन सकिदैन। नेपाली जनताको लोकतन्त्रको जग कमजोर छैन। वाह्य शक्तिले ढाल्न सक्दैन।

प्रकाशित: २१ आश्विन २०८२ ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App