७ वैशाख २०८१ शुक्रबार
ब्लग

'प्रेम गीत ३' लाई लिएर कलाकारहरू नै सामाजिक सञ्जालमा दाेहाेरी खेल्दै

'प्रेमगीत ३' का कारण नेपाली चलचित्र क्षेत्रमा अहिले फिल्मकर्मीबीच विवाद चलिरहेको छ।सन्तोष सेनले निर्माण गरेको चलचित्र 'प्रेमगीत ३' लाई लिएर नाम चलेका कलाकारहरु अहिले एक अर्काकोविरुद्धमा खडा भएका छन्।

‘प्रेमगीत ३’ अहिले नेपाली र हिन्दी भाषामा विश्वभर एकसाथ हजारभन्दा बडी सिनेमा हलमा प्रदर्शन हुँदैछ। नेपालमा समेत हिन्दी भाषामा 'डब' भएको ‘प्रेमगीत ३’ रिलिज हुने भएपछि यसलाई लिएर नाम चलेका निर्माता, कलाकारहरु सार्वजनिक बहसमा उत्रिएका छन्।

यस फिल्मको हिन्दी डबलाई विदेशी फिल्म झै कर लगाउन पर्ने चलचित्र निर्माता संघको माग छ। त्यस्तै निर्माता पक्षको भने हिन्दी डबलाई नेपाली फिल्म नै मानेर कर छुट पाउनु पर्ने माग छ। कोही कलाकारले यसलाई नेपाली फिल्म नै मानेर कर छुट गर्नुपर्छ भन्ने पक्षमा छन् त कोही विपक्षमा।

भुवन केसीको अध्यक्षतामा रहेको चलचित्र विकास बोर्डले ‘प्रेमगीत ३’ हिन्दी भाषामा रिलिज भए विदेशी फिल्म सरह कर बुझाउनुपर्ने भन्दै सूचना जारी गरेको थियो। उक्त सूचना जारी भएपछि चलचित्रका निर्माता एवं निर्देशक सन्तोष सेन, अभिनेता प्रदीप खड्का लगायतका निर्माण पक्ष आक्रोशित बन्न पुगे।

त्यसपछि चलचित्र निर्माण पक्षले सार्वजनिक रूपमै विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गरे। उनीहरुले चलचित्र विकास बोर्डले नेपाली चलचित्रको बजार खुम्च्याउन लागि परेको आरोप लगाएका छन्। भदौ ३० गते चलचित्र विकास बोर्डले एक सूचना जारी गर्दै बिहान ६ बजे फिल्म हल खोलेर राति ११ बजे बन्द गर्नुपर्ने भन्दै विज्ञप्ती जारी गरेको थियो।

अभिनेता प्रदीप खड्काले ''प्रेमगीत ३'' लाई विदेशी फिल्म करार गरेर यसलाई १५ प्रतिशत अतिरिक्त कर लगाएको गुनासो गरेका छन्। 'प्रेमगीत ३' लाई हिन्दी भाषामा डब गर्दैमा चलचित्र हिन्दी नहुने उनको भनाइ छ। प्रदीप खड्काले आफ्नो फिल्म लाग्ने समयमाा ८ः३० बजेसम्मको मात्र शो दिएको गुनासो गर्दै शो बढाउनुपर्छ भनी माग राखेका थिए।  

त्यस्तै निर्माता एवं निर्देशक सन्तोष सेनले बोर्डका अध्यक्ष भुवन केसीले विकाश बोर्डले आफ्नो कार्यसमितिमा छलफल गरेर संचार मन्त्रालय पठाउनु पर्नेमा आफ्ना आसेपासेलाई बोलाएर सल्लाह लिएको बताए। मैले १५ प्रतिशत मात्र होइन ५० प्रतिशत तिरेर भए पनि म दर्शकलाई फिल्म देखाउँछु तर यो विदेशी फिल्म होइन भन्ने हाम्रो टिप्पणी हो। उनले भने।

यता चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बोर्डले सम्पूर्ण नेपाली कलाकार र चलचित्र क्षेत्रको प्रवर्द्धन गर्नलाई विकास बोर्ड गठन भएको बताए। उनले विकास बोर्डले चलचित्रहरुलाई शो दिने नदिने भन्ने विकास बोर्डको हातमा नभएको प्रतिक्रिया दिए। उनले शो दिने काम चलचित्र डिष्ट्रिब्युटरको भएको जानकारी दिँदै नेपाली चलचित्रलाई भन्दा पनि विदेशी चलचित्रलाई हलहरुले बढी शो दिएको हुनाले यसको लागि नीति नियम बनाउनु पर्ने बताए। उनले विदेशी चलचित्र भन्दा नेपाली चलचित्रलाई नै पहिलो प्रथिमकतमा राख्ने बताएका छन्। निर्माता टिम र बोर्डबीचको यस विवादमा अहिले फिल्मकर्मीहरूले सामाजिक सञ्जाल तताई रहेका छन्। 

कलाकार दीपकराज गिरीले फिल्म क्षेत्र सिध्याउने हिसाबले हरेक दिन मिडियामा हंगामा नमच्चाउन अनुरोध गरेका छन्। उनले सबैलाई गाली गरेरै फ़िल्म चलाउने हो? भन्दै प्रश्न गरेका छन्। उनले लेखेका छन्, 'सबैलाई गाली गरेरै फ़िल्म चलाउने हो? यति राम्रो हाइप हुँदाहुँदै के गर्या यो? आफ्ना मान्छे लगाएर सामान्य दर्शकलाई पनि उचालेर उद्योगका मान्छेलाई गाली गर्न लगाएर सबैलाई सिध्याउने हो? त्यसपछि उद्योग सकिदिने? अनि आफू मात्रै राज गर्ने हो? घर नै नरहे कहाँ बस्छौ साथी? जे जे गर्यौ महान काम गर्यौ, तर हिन्दी भाषाकोमा नियम अनुसार कर तिर बरु राम्रो कामको लागि नेपाली भाषाको फ़िल्ममा एक्स्ट्रा छुट माग सक्किगो त।'हरेकदिन मिडियामा आएर हंगामा मच्चाउने किन? आफ्ना सेना तथा समर्थक लाइ सभ्य हुन सिकाऔ साथी! तपाईँको फ़िल्म चल्दा हामी कसैको बेफाइदा छैन, तपाईँको बजार बढ्दा भोलि मैले पनि कमाउने बाटो खुल्छ! फाइदा नै छ! सकिन्छ प्रत्यक्ष भेटेर बहस गरौ! होइन भने एकले अर्को लाइ नसकौ!'

त्यस्तै अर्का वरिष्ठ अभिनेता सरोज खनालले प्रदिप खड्का जतिको सुपरस्टार कलाकारले आक्रोशित भएर बोली हाल्न नहुने टिप्पणी दिएका छन्। 'भुवन दाई गलत हुनुहुन्थ्यो भने प्रदीप खड्काले राजीनामा दे भन्नै पर्दैन थियो। उहाँ आँफै हट्दिनु हुन्थ्यो होला।' उनले भने।

निर्माता अशोक शर्माले त ‘प्रेमगीत ३’ हिन्दीमा रिलिज हुँदा नेपाली चलचित्रको बजार घट्ने भन्दै विदेशीसरह कर तिर्न भन्दै सामाजिक सञ्जालमा एक स्टाटस लेखेका छन्। 'प्रेमगीत ३ का निर्माता सन्तोष सेन भाइ वितरक मनोज राठी र गोबिन्द साही तथा कलाकार  प्रदीप खड्का भाइहरुलाई विनम्र अनुरोध छ नेपालमा उक्त चलचित्र नेपाली अझ सम्भव भए हिन्दी मा जस्तै देशका अन्य जातजातिका भाषामा डब गरि प्रदर्शन गराउँ तर हिन्दीमा नगराउँ यसको दुर्गामी प्रभाव हाम्रो भाषा संस्कृतिमा र हाम्रो क्षेत्रमा पर्छ यो मेरो अनुरोध हो निर्णय तपाईँहरुको' उनले लेखेका छन् ।

उनलाई सपोर्ट गर्दै सरोज खनाल, दीपकराज गिरीले समेत विदेशी फिल्मसरह कर तिर्नुपर्ने, ‘प्रेमगीत ३’ लाई कर छुट दिन नहुने भन्दै लबिङ गरेपछि निर्माता सन्तोष सेन आक्रोशित भएका हुन्।

चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारी, अभिनेत्री करिश्मा मानन्धर लगायत अरु पनि ‘प्रेमगीत ३’ को पक्षमा उभिएका छन्। अभिनेत्री करिश्मा मानन्धरले आफ्नो सामाजिक संजालमा लेखेकी छिन्, 'भाषा एउटा माध्यम हो भारतका मान्छेले नेपाली भाषा बुझ्दैनन्। ठिक छ तपाईंको विधानमा या नियममा त्यस्तै प्रावधान होला विदेशी भाषिक फिल्मलाई निश्चत प्रतिशत कर लगाउने। लगाउनुस् तर त्यत्रो लगानी भएको फिल्मलाई तोकेको समयमै फिल्म हलमा लगाउनका लागि सघाउनु पर्दैन? यदि प्रेमगीत ३ स्तरीय बनेको छ, नेपालकै सुन्दर दृश्यहरू समेटिएको छ भने फिल्मलाई अंग्रेजी, चाइनिज, इटालियन, जापानीज्, कोरियनलगायत विभिन्न भाषामा पनि देखाउनु पर्छ। यसमा विकास बोर्डले सहुलियत लगानी गर्नुपर्छ,’ उनले लेखेकी छन्।

‘प्रेमगीत ३’ को विश्वव्यापी प्रचार र रिलिजले भोलि नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्न भन्दै विकास बोर्डले निश्चित कर छुट दिएर चलचित्र चलाउन दिनुपर्ने उनीहरूको माग छ।

प्रकाशित: ४ आश्विन २०७९ १४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App