६ जेष्ठ २०७९ शुक्रबार
ब्लग

प्रचण्ड–ओलीले सँगै हेरे हुन्छ ‘आरआरआर’

यो ब्लग चर्चित दक्षिण भारतीय चलचित्र ‘बाहुबली’का डायरेक्टर एसएस राजामौलीको ‘आरआरआर’ सिनेमाको प्रचारका लागि होइन। न त यो कुनै साथीलाई सिनेमा हेर्न दिइने सुझाव नै हो। उक्त सिनेमा हेरेपछि मनमा पलाएका भावनाहरुको अभिव्यक्ति हो यो। यो सिनेमालाई नेपाली राजनीतिसँग जोेडेर हेर्ने सानो प्रयास हो।  

अभिनेता जूनियर एनटीआर र रामचरनको मुख्य भूमिका रहेको यो सिनेमा हेर्दै जाँदा यसका कतिपय प्लट र पात्रहरु नेपाली राजनीतिको नियती र नेतासँग मेल खाएको महसुस भयो। अझ सिधै भन्ने हो भने थोरै नै सही एनटीआरको अनुहारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र रामचरनको अनुहारमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको झलक भेटिन्छ।

सिनेमामा सन् १९२० को दशकको ब्रिटिसकालीन भारतलाई देखाइन्छ। जसमा स्काट र उनकी पत्नीले स्थानीय गोंड जातीको एक बच्ची मलीलाई जबरजस्ती उठाएर दिल्ली लैजान्छन्।

राइज, रोर, रिभोल्ट को छोटकरी रुप हो ‘आरआरआर’। जसलाई नेपालीमा उल्था गर्दा उदय, गर्जन र विद्रोह हुन्छ। जुन प्रत्येक मुलुकमा उदय, गर्जन र विद्रोह हो ‘आरआरआर’। प्रत्येक मुलुकमा तानासाह भेटिन्छन्। आरआरआरका पात्र रामचरण र एनटीआर नै हुन्छन् भन्ने छैन। न त तानासाह सधै बेलायती साम्राज्यनै हुन्छ।  

त्यहि मलीलाई बचाउन आउँछन् भीम (जूनियर एनटीआर)। अंग्रेज सरकारलाई यसको जानकारी हुन्छ। उसलाई रोक्नको लागि एक व्यक्ति चुनिन्छन् ति हुन् रामराजु राम (रामचरण)। राम पनि आफ्नो समाजको मुक्तिको लागि बन्दुक लुट्न पुलिसमा जागिर खाएको हुन्छ। मली र माटोको मुक्तिका लागि यी पात्रका अभिनय बेजोड छ।  

यहि कथालाई प्लट मान्ने हो भने बन्दुकको सहारामा मलीलाई आजाद गराउन खोज्ने भीममा युद्धकालीन ‘मोटाघाटा’ प्रचण्डको सानो झल्को देखिन्छ। क्रान्तिको सहाराले मुलुकलाई  मुक्त गराउन खोज्ने राममा ओलीको झलक भेटिन्छ। त्यसो त कतिपयले ओलीलाई ठोरीका राम पनि भन्छन्।  

अंग्रेज सरकारको अधिनमा रहेको पुलिसका अफिसर राम र भीमको सुरुमा त गज्जबको दोस्ती हुन्छ। चार वर्ष अगाडी प्रचण्ड र ओली मिले जस्तै। तर भीमले कसैगरी पनि मलीलाई लैजान चाहेको र रामले र भिमलाई पक्रन चाहेको घटनाले उनीहरुबीच दुश्मनी पनि भयंकर हुन्छ। अहिलेका ओली र प्रचण्ड जस्ता।  

सिनेमाको अन्त्यतिर दुवैलाई सत्य थाहा हुन्छ। उनीहरु मिल्छन् र अंग्रेजलाई भगाउँछन्। तर ओली र प्रचण्डको झगडा जारी छ। स्वार्थ नमिलेर होकी  मुलुकको सत्य थाहा नपाएर उनीहरु झनै उग्र भएका छन्।

प्रत्येक मुलुकमा आरआआर घट्छ। प्रत्येक मुलकमा तानासाह भेटिन्छन्। आरआरआर रामचरन र एनटीआर नै हुन्छन् भन्ने छैन। न त तानासाह सधै बेलायती साम्राज्य हुन्छ। सकारात्मक ढंगबाट हेर्ने हो भने आम नागरिक आरआरआर हुन्। नकारात्मक ढंगले हेर्ने हो भने कतिपय नेता तानासाह हुन्।  

समाज बदल्ने नेताहरु एक हुन सकेनन्। त्यो हाम्रो दुर्भाग्य हो। तर समाजमा रहेका नागरिक एक हुने हो भने बेलायती साम्राज्य हारेजस्तै यी तानासाहको पतन निश्चित हुने छ। तर त्यस्तो झलक देखिएको छैन। जब एउटै पात्रमा आरआरआर र बेलायती साम्राज्य दुवै भेटिन्छन्। त्यति बेला मुलुक नै कन्फयूज हुन्छ।

यति बेला सिनेमा हलमा मात्र होइन मुलुकमा पनि उदय, गर्जन र विद्रोह अर्थात् आरआरआर चलिरहेको छ। हलमा चलिरहेको ‘आरआरआर’बाट राजामौलीले सबैको मन जितिरहेका छन्। मुलुकमा विद्यमान आरआरआरबाट देशले हारिरहेको छ।

सबैलाई एउटै प्लटमा ल्याउने राजामौली अझै भेटिएका छैनन्। दक्षिण र उत्तरबाट स्वार्थका मौलीहरु नआएका त होइनन्। तर उनीहर पनि सफल देखिएनन्।  

यति बेला सिनेमा हलमा मात्र हैन मुलुकमा पनि उदय, गर्जन र विद्रोह अर्थात आरआरआर चलिरहेछ। हलमा चलिरहेको आरआरआरबाट राजामौलीले जितिरहेका छन्। मुलुकमा विद्यमान आरआरआरबाट देशले हारिरहेको छ।

प्रकाशित: १४ चैत्र २०७८ १६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App