६ जेष्ठ २०७९ शुक्रबार
ब्लग

‘पिर’ को पीरलोमा कमरेड

रोल्पा त्रिबेणी गाउँपालिका ५ जबरबोटकि पूर्वलडाकु निर्मला बिक साधना रोगले थलिएर वर्षौदेखि जनावरसंग बस्न थालेको दु:खद कथा लेखेको ३ वर्ष पुग्न थाल्यो। बेलुका अँध्यारो बढ्दै जाँदा बाख्रा र कुखुरासँगै गोठमा सुताईने उनलाई बिहान तिनै घरपालुवा पशुपन्छीसँगै बाहिर सारिन्थ्यो। दिसापिसाब तर्काउन नसकेपछि अनि जलेको खुट्टा गनाउन थालेपछि उनलाई तीन वर्षदेखि बाख्राको खोरमा राख्न थालिएको थियो।

२०७६ जेठ २२ गते नागरिक दैनिकमा उक्त खबर प्रकाशित भएको २४ घण्टाभित्र मानव सेवा आश्रम बुटवलले उद्धार गरेको थियो। उनको उद्यार भएपछि कहिल्यै उनलाई लडाउने र उनिसंग लड्नेहरुले सोधखोज गरेनन्। बुटवलमै रहेका हालका मुख्यमन्त्री तथा पूर्वलडाकु समेत रहेका कुलप्रशाद केसी छेउको आश्रममा उनको खबर लिन गएनन्। त्यसो त उनका कमाण्डर भनिएकाहरु धेरै लाभको पदमा छन् तर निर्मलालाई जनयुद्ध कागलाई बेल बनेको थियो।  

वर्षौदेखि रोगले थलिएकी निर्मलालाई आर्थिक अभावका कारण उनको परिवारले भेट्ने अवसर समेत पाएनन्। गतवर्ष आश्रममै रहेकी निर्मलाको रगत उल्टी गर्दा गर्दै मृत्यु भयो। पैसा नहुँदा परिवारले बुटवलमा मृत्यु भएकी निर्मलाको मृत सरिर समेत गाउँ ल्याएर अन्तेष्टी समेत सकेनन्। करिब २ वर्ष सुकुनको जीवन बाँचेकी उनको मनमा के थियो कसैले थाहा पाएन वा बुझ्ने चेस्टासम्म पनि गरेनन्।  

एउटी ३२ वर्षीया पूर्वलडाकुले वर्षौ बिताएको नारकिय जीवन अनि कस्टकर मृत्युका बारेमा खै-खबर नगर्ने उग्र माओवादी कार्यकर्ता यतिबेला प्रकाश सपुतको ‘पिर’ले पीरोलिएका छन्। उतिबेलाका लडाकुको अवस्थाका बारेमा पूर्ण अनभिज्ञ उनिहरुलाई गितका दृष्यले पोलेको छ। शरिरमा गोलि बोकेर बाँचिरहेका, अंग काटिएका अनि साँच्चिकै नारकिय जीवन बिताई रहेकाहरुको सम्बेदनासंग खेल्ने अधिकार माओवादीलाई मात्र छ जस्तो भनक देखिएको छ।  

आफ्ना नेता कार्यकर्ताले गरेका बहु बिवाहलाई जायज मानेर मौन बस्ने माओवादी नेता कार्यकर्ताहरु अध्यारोसंगै भट्टिमा भेटिन थालेका दृष्टान्त छोप्ने चस्मा फाल्ने दिन कहिले आउला? तल्लो तहदेखि उपल्लो तहसम्म लालसामा लिप्त क्रान्तीकारी भनिनेहरु ‘पिर’को बहस छोडेर गितमा देखाईएका जस्ता आफ्ना सहकर्मीको अवस्थाका बारेमा जानकारी लिन लाग्ने हो भने न्याय हुने देखिन्छ।  

गत फाल्गुन ९ गते द्वन्द्वकालमा सेनाले मारेर गाडेको आशंका गरिएका ३ जनाको सामूहिक चिहान भेटिएको खबर संचारमाध्यममा आयो तर माओवादी नेतृत्वदेखि कार्यकर्ता तहमा त्यो विषयमा छलफल समेत भएको देखिएन। प्रहरीले मुचुल्का उठायो, उत्खनन् गर्यो हाडखोर परीक्षणका लागि काठमाडाैं पठायो। तीन जनाको बलिदानि हराए जस्तै अस्तीपञ्जर समेत हरायो।

उग्र बिरोध गर्ने कमरेडहरुले आफ्नो वा आफू जस्तै लाभपूर्ण जीवन बिताईरहेकाहरुको अनुहार ऐनामा हेर्दा सबै देखिन्छ। कतै ऐना हेर्न लाज लाग्छ भने बन्द कोठामा आत्म समिक्षा गर्दा पनि हुन्छ। माओवादी शसस्त्र द्वन्द्वले दिएका घाउका बारेमा बहस/छलफल गर्ने अधिकार गुमिसकेकोतर्फ ध्यान दिदा बेश हुन्छ कि।

गितमा देखाईएको दृष्यले अनुहार देखाउन समेत लाज हुने नेता कार्यकर्ताले पूर्वलडाकुका माग सम्बोधन गरेको भए वा उनिहरुलाई सान्तोवनासम्म मात्र दिएको भए सायद प्रकाश सपुतले गीत गाउने अनि दृष्य बनाउने थिएनन्। द्वन्द्वकालमा यौन हिंसामा परेर आज पनि त्यहि कारण घरबाट तिरस्कारमा परेका हाम्रा चेली, काटिएका अंग, टाउको र छातिमा छुटेका छर्रा बोकेर जीवन जीउनुको पीडातर्फ ध्यान दिन सकेमा ‘पिर’को पीरलोमा रुमलिनु पर्थेन कमरेड।

प्रकाशित: २९ फाल्गुन २०७८ १२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App