७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

रीता दिदीको सम्झना

अनुभूति

दिदी ! मेरी रीता दिदी। तिमीलाई केही भएकै थिएन त। कसरी तिमी हरायौ, यो सृष्टिको माझबाट ? हामी पुराण सुन्थ्यौँ। पण्डितजी सुनाउँथे– मानिस मर्दैन, शस्त्र र अस्त्रले मानिसको विनाश गर्न सक्दैन।

त्यसैले होला दिदी। म तिमीलाई सधैँ तिम्रो कोठाको झ्यालमा बसेको देख्छु। लाग्छ, तिमी यतै कतै छौ तर होइन। त्यो त एउटा सम्झना मात्रै हुन्छ। सम्झनाभन्दा पनि एउटा तरंग, मेरो मनको तरंग।  

दिदी ! तिमी मेरो जीवनमा छाएकी थियौ। अहिले तिम्रो भौतिक उपस्थिति छैन। तर, तिमी हराएकी छैनौ। तिमी विभिन्न लौकिक अवतारमा मेरो आँखा अगाडि आउँछ्यौ। मलाई लाग्छ, तिमी भ्रम हौ। तिमी अलिकति भ्रम हौ र धेरै यथार्थ।  

अचानक नै अस्पताल लगिएको थियो दिदी तिमीलाई। अघिल्लो दिनसम्म केही भएको थिएन। त्यसरी अचानक किन लगियो तिमीलाई अस्पताल ? मेरो मन आत्तियो। म भाव विह्वल भएँ। मलाई रुन मन लाग्यो। भक्कानो छुटेर आयो पीडाको। तिमीलाई अस्पताल लैजानु ठूलो कुरा थिएन। सामान्य समयमा जो पनि अस्पताल जान्छ नै। तर, कोभिडको यो महामारीमा शरीरमा कुनै ठूलो संकेत नभेटी डाक्टरले तिमीलाई अस्पताल लैजाने सिफारिस पक्कै गरेनन्। तिमी अस्पताल पुगेको कुरा मैले त बिहान मात्र थाहा पाएँ– जब छोरीहरूले बताए। उनीहरूको अनुहार निन्याउरो थियो। सधैँ हाँसखेल गरेर रमाउने बच्चाहरूको अनुहारमा देखिएको चिन्ताले मलाई सताउन थाल्यो।

मलाई हरेक दिन तिम्रो हालखबर चाहिन्थ्यो, छोरीहरूसँग मैले तिम्रो अवस्था सोध्थेँ। उनीहरू कहिले तिमीलाई अक्सिजन दिइरहेको बताउँथे, कहिले तिम्रो स्वास्थ्यमा सुधार आएको खबर दिन्थे। म तिमीलाई भेट्न अस्पताल जान चाहन्थे। तर, अस्पतालको नियम कडा थियो। अरू बिरामीलाई जस्तो तिमीलाई भेट्न पाइँदैनथ्यो। एक दिन सविताले खबर ल्याइन्, ‘ममीलाई आइसियुमा राखेको छ। अब त छिटै डिस्चार्ज गर्छ होला।’ सविता र म दुवै खुसी भएका थियौँ। तर, हाम्रो खुसी धेरैबेर टिकेन। एक दिन बिहानै तिमी परलोक गएको समाचार आयो। तिमी त्यस्तो लोकमा पुग्यौ, जहाँ हाम्रो तिमीसँग कुरा हुँदैनथ्यो।

दिदी, तिमी मेरी संरक्षक थियौ। मैले जीवनका कतिपय कुरा तिमीबाट सिकेकी थिएँ। हामीबीचको आत्मीय सम्बन्ध कति गाढा थियो। एकपटक मैले भनेकी थिएँ, हाम्रो पनि घर बेच्ने कुरा चलेको छ। अब यता बसिन्न होला। त्यसपछि तिम्रो अनुहारमा खिन्नता देखिएको थियो। त्यो खिन्नताले मलाई विचलित तुल्याएको थियो। हो नि, हाम्रो सम्बन्धको गहिराइ यति धेरै थियो कि हामी दुवै त्यसबाट उत्रिन कठिन थियो।

दिदी, गीतामा भनेको छ नि, मानिसको यो आत्मा अजर छ अमर छ। मेरी दिदी, तिमी अजर छ्यौ, अमर छ्यौ। हाम्रो सम्झना तिम्रो उज्यालो अनुहारमा चम्किइरहेको छ।

प्रकाशित: १९ असार २०७८ ०५:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App