८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
ब्लग

असारमा ननिभेको आगो!

सन्दर्भः एमाले बिबाद

पानी दर्किरहेकाले एमाले केन्द्रीय कमिटीको बैठक टेन्ट टाँगेर बालुवाटरमा जारी छ। तर पार्टीभित्रको अविश्वासको आगो भने यही पानीमा दन्किरहेको छ।

अविश्वासको आगो निभाउने प्रयास सुरु नभएको होइन। तर प्रयासहरू सफल भएको देखिँदैन। बैठक सुरु हुनुअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग माधवकुमार नेपाल पक्षका नेताले वार्ता गरेर बैठक रोक्न आग्रह गरे। तर, उनीहरू बालुवाटारमा बाहिरिएलगत्तै बैठक सुरु भयो। बरु बैठकले दुई दिनभित्रमा हस्ताक्षर फिर्ता लिन दिएको निर्देशनसँगै विग्रहको आगो थप दन्किने निश्चित छ।  

आगो निभाउने प्रयासमा बैठकमा आएका नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफू पार्टीमा फर्किसकेको बताउँदै अब पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए। एमालेनै टुक्रिन लागेको समयमा बृहत् कम्युनिस्ट एकताका लागि माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि एकै ठाउँमा ल्याउनुपर्ने उनको भनाइ सुन्नमा त मिठो सुनिन्थ्यो तर त्यो प्रभावकारी हुन नसक्ने नेताहरूको मनोविज्ञानले बताउँछ।  

मध्य असारको यो क्षणमा मुलुकभर पानी दर्किरहेको छ। तर एमालेभित्र सल्केको अविश्वासको आगो भने अझै निभ्न सकेको छैन। सामान्य आगो भए यो धेरै पहिल्यै निभिसक्थ्यो तर अहंको आगो एक असारले त के हजारौं साउनले पनि निभाउन सक्दैन। 

किनकि अघिल्लो दिन माधव नेपाललाई प्रचण्डको कार्यकर्ता भन्दै उल्लाउने पार्टी अध्यक्ष ओली पछिल्लो दिन टेलिफोनमा एकताका लागि वार्ता गरेको समाचार आउँछ। उनी नेपालसँग मिल्न चाहेका छन् कि नेपाललाई हटाउन चाहेका छन्, सामान्यले अत्तोपत्तो पाउन सकेका छैनन्।  

त्यसो त विग्रहको आगो निभ्नका लागि यो समय उपयुक्त थियो। नजिकिँदै गरेको चुनावमा मिलेर जाँदा विजय हासिल हुने दुवै पक्षलाई थाहा छ। तर नेपाल र ओलीबीचमा ‘अहम’ को आगो निभ्ने छाँट देखिएकै छैन। आगो दन्काउन विपक्षीले कति प्रयास गरे त्यो आफ्नो ठाउँमा होला। तर पार्टीका दशाैं हजार कार्यकर्ताले एकता चाहिरहेको बेलामा समेत आगो निभ्न नसक्नु एमालको दूर्भाग्य हो।

सामान्य आगो भए यो धेरै पहिल्यै निभिसक्थ्यो। तर अहंमको आगो एक असारले त के हजारौं साउनले पनि निभाउन सक्दैन।

प्रकाशित: १८ असार २०७८ ०८:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App