१६ चैत्र २०८० शुक्रबार
ब्लग

विश्व योग दिवसः मनहरुको 'योग' कहिले हुने होला

आज विश्व योग दिवस। नेपाल, भारत लगायत विश्वका विभिन्न मुलुकमा  विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाइदै छ।  योगको क्रियाले पनि मानवीय चेतनालाई यसका अनेक आयामसंग साक्षात्ककार गराउँने मान्यता छ। शारीरिक स्वास्थ्यमात्र हैन, मानसिक स्वास्थ्य, ज्ञान, त्याग, वैराग्यसंग योगका क्रिया  जोडिएका छन्। खासमा योगको सोझो अर्थ हो जोड्नु। योगको क्रियालाई कतिपयले  आत्मालाई परमात्मासंग जोड्ने माध्यमको रुपमा समेत लिन्छन्।  

यी त भए आध्यात्मिक कुरा। यति बेला मानिसका मनहरु दुखेका छन्। मेलम्चीमा घर खेत बगाएका पिडित हुन या मनाङमा पहिरोले पुरिएका सर्वसाधरण सवैतिर मन फाँटेको छ। हेलम्बुका किसानको घर खेत मात्र हैन माछा र भैसी समेत  बगाएको छ। अझ यसो भनौ कोरोनाको महामारीले थला पारेका किसानहरु सपना बर्षातको भेलले बगाएको छ। 

त्यसैले राज्यको पहिलो दायीत्व भनेको उनीहरुलाई हिम्मत हार्न नदिनु हो। किनकी  घर बगाएको मान्छे टिक्न सक्छ । सपना बगाएकोलाई टिक्क मुश्किल हुन्छ।  यसको लागि मुलुकको नेतृत्वले उनीहरुको मन जित्ने कार्य तत्काल गर्नु जरुरी  छ।  

राज्यलाई के थाहा हुनु पर्छ भने मेलम्चीमा दिइने सहयोगबाट  सिन्धुपाल्चोकबासीले मात्र हैन सिंगो मुलुकबासीले राहत पाउँछन्। किनकी बाढीले मेलम्चीका  किसानका सपनामात्र हैन पिँडा सुन्ने सर्वसाधरणको खुसी पनि हराएको छ। त्यसैले त सर्वसाधरणदेखि विभिन्न संघसंस्था, सहयोगी नगरपालिका, गाउँपालिका सवैले  बाढीपिडित क्षेत्रमा सहयोग दिन थालेका छन्।  

विपत्तीमा मनहरु फाट्ने मात्र हैन जोडिएकोपनि हामीले विगतमा देखेकै हो। २०७२ सालको भूकम्प लगत्तै राजधानीका विभिन्न एकै त्रिपालमुनि तराई–पाहाड मिलेर बसेका समाचार प्रकाशित भएका थिए । त्यति बेला त्रिपालभित्र मनहरु जोडिएका थिए।  

कोरोनाका कारण सामाजिक दुरी कायम छ। तर यसले मनको दुरी बढाएको छैन। मनहरु सधै एकै छन्। पहाँड तराई सवै जोडिएका छन्। तरपनि कतिपय ठाउँमा जात, धर्म, बाद र अन्य यस्ता कतिपय धुलाहरुले समाजका मन धमिलिएका छन्। त्यसैले आजको दिन ‘योग’ कुचो बनोस र धमिला मनहरु बढारोस्।  

अन्त्यमा  

हो, यति बेला संसारभरका मान्छेका मनहरु फाटेका छन्। कोरोनाको महामारीमा बाढी पहिरो लगायतका विपत्तीले  ‘नुनुचुक’ छरेको छ। योगका क्रियाले आत्मालाई परमात्मासंग जोड्ला नजोड्ला त्यो बुझ्न कठिन छ। तर सम्बन्धीत देशका सरकारले मुश्किलमा परेका जनतालाई सन्तुलितरुपमा राहत दिने हो भने जनताका फाटेका मनहरुको ‘योग’ हुने छ। अर्थात समाज फेरी  जोडिने छ।

प्रकाशित: ७ असार २०७८ ०८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App