आसन ग्रहण गर्न लगाइएका सञ्चारकर्मीलाई लक्षित गर्दे बब्बन सिंहले 'आगो' उकेल्न थालेपछि कतिपय त डराए।
मधेश जागरणको अभियानमा हिँडेका तराई-मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य एवं सभासद बब्बन सिंहले मंगलबार बाराको जितपुरमा आयोजित आमसभामा निकै भड्काउ भाषण दिए। दिपावली तथा छठको शुभकामनाका साथ आफ्नो भनाई सुरु गरेका सिंहले 'पहाडी पत्रकार मधेशीको मूख्य दुश्मन' भन्दै आफ्नो अभिव्यक्तिका अधिकांश समय पत्रकारको आलोचनामै खर्चिए।
झण्डै सात मिनेट लामो भाषणको क्रममा उनले साम्प्रदायिक सदभाव खल्बलाउने अभिव्यक्ति मात्र दिएनन्, पत्रकारलाई धम्कीसमेत दिए। हिन्दीमा भाषण गरेका सिंहले मधेशको बारे समाचार नलेख्ने पत्रकारलाई 'छठीको दूध पिलाइदिने' धम्की समेत दिएपछि कार्यकर्ताले ताली बजाए भने सभा सुन्न बसेका सर्वसाधारण मौन।
तमलोपाका कार्यकर्ता तथा नेताको अनुरोध स्वीकार गरेर समाचार सम्प्रेषण गर्न सभास्थल पुगेका संचारकर्मीहरु सिंहको कठोर वचनसँगै एकाएक निराश बन्न पुगे। कार्यक्रमको सुरुवातमा आयोजकले आसन ग्रहण गर्न समेत अनुरोध गरेका थिए सञ्चारकर्मीहरुलाई। तर जब आफूलाई लक्षित गर्दे बब्बन सिंहले 'आगो' ओकल्न थाले, कतिपय त डराए। मधेश आन्दोलनपछि पहाडी मूलका पत्रकारलाई तराईमा बसेर काम गर्न असहज भइरहको अवस्थामा संविधान सभा सदस्यको उक्त अभिव्यक्तिले संचारकर्मीमा त्रासको वातावरण झनै फैलिएको छ। समाचार नछापेको बहानामा दलका कार्यकर्ताद्वारा विभिन्न बहानामा प्रताडित हुदै आएका यहाँका संचारकर्मी नेतृत्व तहबाटै यस्ता अभिव्यक्ति आउन थालेपछि निराश हुँदै कार्यक्रम स्थल बहिस्कार गरी हिँडे।
' सभासद् जस्तो व्यक्तिले सार्वजनिक समारोहमा दिएको उक्त अभिव्यक्ति अत्यत्न लज्जासपद घटना थियो', पत्रकार महासंघ बाराका सभापति गुरु गौतमले सुनाए -' आक्रोसित हुँदै पत्रकारप्रति उनले दिएको अभिव्यक्तिले असुरक्षित महसुस भएकाले पत्रकारले कार्यक्रम बीच मै छाडे। '
मधेशमा चेतना जगाउने उद्देश्यले तराई-मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अगुवाईमा हिँडेका झण्डै एक दर्जन केन्द्रीय पदाधिकारी सम्मिलित उक्त सभामा बब्बन सिंहको उक्त कठोर वचनको विपक्षमा कसैले आपत्ति नजनाउँदा पत्रकार झनै संशकित बन्न पुगेका छन्। बुधबार वीरगन्जमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय पत्रकारले पार्टी अध्यक्ष महन्थ ठाकुरसँग सभासद् सिंहको उक्त अभिव्यक्ति बाराको धारणा बुझ्न खोज्दा बीचैमा बब्बन सिंहले उठेर 'हो मैले भनेको हुँ' भनेपछि पत्रकार सम्मेलनमा बन्न पुगेको तनावको स्थिति पार्टी प्रवक्ता सवेन्द्र सुक्लाले बीचैमा हस्तक्षेप साम्य पार्नु परेको थियो।
सभासद् रहेकै अवस्थामा एक वर्ष अगाडि वीरगन्जमा पक्राउ पर्दा सिंह त्यतिबेला पत्रकारसँग निक्कै नजिक देखिएका थिए। पत्रकारकै कारण आफूलाई सरकारले फसाउन नसकेकेा अभिव्यक्ति दिने सिंह यति बेला पत्रकारका विरुद्ध किन खनिए त्यो प्रष्ट हुन सकेको छैन। विभिन्न वाहानामा चर्चामा आउने सिंह त्यति बेला पत्रकार माहासंघले निकालेको विभिन्न रैलीमा अघिल्लो पंक्तिमा रहेर सहभागीता समेत जनाउने गरेका थिए।
सिंहलाई नजिकबाट चिन्ने पत्रकारहरु अहिलेको अभिव्यक्तिपनि बब्बन सिंहले आफु चर्चामा आउन दिएको सुनाउछन्। लामोे समयदेखी चर्चामा नआएका सिंहले उक्त अभिव्यक्तिका साथ चर्चामा आउने प्रयास गरेको वीरगन्जका एक संचारकर्मिले सुनाए। ' उ वारम्बार चर्चामा आईरहन चाहने मान्छे हो ', ती संचारकर्मिले भने -' अहिले उनी पत्रकारलाई गाली गरेर चर्चामा आउन पुगे।' साम्प्रदायीकता कुरा गरे चाडो चर्चामा आईने कतिपय नेताको संकुचित धारणाका कारण मधेशमा सद्भाव विथोलीन थालेकेा ती पत्रकारको बुझाई छ।
पत्रकार सिंहको अभिव्यक्तिप्रति नेपाल पत्रकार माहासंघले आपत्ती जनाउदै विज्ञप्ती समेत निकालेकेा छ। उसले तराई-मधेश लोकतान्त्रीक पार्टीलाई यस वारे आफ्नो धारणा स्पष्ट गर्न समेत भनेकेा छ।
पत्रकारका विरुद्ध कुनै पार्टीका नेता खनिएको यो पहिलो पटक भने है्रन। विभिन्न वाहानामा पार्टीै कार्यकर्ताले पत्रकारमाथी गर्ने ज्यादतीलाई तिनका पार्टीका नेताहरुले अघोषीत रुपमा समर्थन गर्दा तराई क्षेत्रमा पत्रकार दिनप्रतिदिन असुरक्षित बन्दै गएका छन्। साम्प्रादायीकताको कुरा गरेर मधेशमा राजनीती गर्न सजिलो ठानेर अधिकांस नेताहरुले मधशी-पाहाडी सद्भावलाई नकरात्मक असर गर्ने भाषण गर्ने गरेका थुप्रै उदाहरण भएपनि भएपनि पत्रकार विचमै साम्प्रदायीकता ल्याउने गरि गरिएको संभवत पहिलो अभिव्यक्ति हो।।
प्रकाशित: ३० आश्विन २०६६ ०३:२५ शुक्रबार





