४ वैशाख २०८१ मंगलबार
ब्लग

कोरोना व्यवस्थापन: कर्णालीको आँखी-झ्यालबाट हेर्दा

करोनाको दोस्रो लहर उच्च विन्दूमा पुगेर पनि लगभग ओराली लागेको अवस्था छ। भ्याक्सिन उपलब्धतामा कठिनाई, कमजोर स्वास्थ्य प्रणाली, भारत र चीन जस्ता विशाल देशहरुको सामिप्यता र विदेशीएका अनगिन्ती दाजुभाई। यी र अरु कारणहरुले निश्चयनै हाम्रो देश कोरोना र यस्तै अरु संक्रामक रोगहरूको अनगिन्ति लहरहरुको लागि उच्च जोखिममा छ। यही प्रसंङ्गमा रहेर हामीले गरेका राम्रा तथा नराम्रा कामहरुको विश्लेषण गर्ने कोशिष गरिएको छ।  

दोस्रो लहर र कर्णालीको कथा कुनै पनि देशको स्वास्थ्य अवस्थाको तथ्य चित्र नियाल्न त्यो देशको सबै भन्दा दुर्गम भेगमा जानुपर्छ। स्वास्थ्य क्षत्रको कमजोरी केलाउन र सुधार गर्न त्यो भन्दा उत्तम उपाय अरु हुन सक्दैन। त्यसैले कर्णालीको कोरोना व्यवस्थापनमा गरिएका कमजोरीहरुको मूल्याकंन राष्ट्रियस्तरमै अझ गहिरिएर गर्नुपर्ने हुन्छ।

नाकामा कमजोरी: लकडाउन भएको महिना दिन बितिसक्दा पनि कर्णाली प्रदेशमा दैनिक जसो हजारौं नेपाली मजदूरहरू भारतबाट फर्किरहेका छन्। नाकामै यथासक्य परीक्षण र यथोचित आईसोलेसन सेन्टर व्यवस्थापन गर्न  नसकेको कथा पहिलो लहरदेखि दोस्रो या तेस्रो लहरसम्म आइपुग्दा पनि समस्याकै रुपमा मात्र रहेको छ। लामो र खुल्ला नाकालाई बैज्ञानिक व्यवस्थापन गर्नुको फाईदा स्वास्थ्यलगायत अरु क्षेत्रमा पनि निश्चयनै पर्नेछ।

तयारीमा ढिलासुस्ती: भारतमा दैनिक लाखौ संक्रमित र हजारौको मृत्यु भइसक्दा पनि हामी नेपालमा कोरोना आएन भनेर कुरेर मात्र बस्यौ। यो कुर्ने क्रममा न जनस्वास्थ्य मापदण्ड सुधारतर्फ लाग्यौ, न त अस्पतालको स्तरोन्नतितर्फ। जव पर्‍यो राति, तव बुढी ताती भने जस्तै बिरामीको चाप बढिसकेपछि र अक्सीजनलगायतका साधन स्रोतको चरम अभाव भईसकेपछिमात्र हठातमा केही कदमहरू चाल्यौं। यी अल्पकालिन योजनाहरुले देशको स्वास्थ्य क्षेत्रमा दीर्घकालीन मार्गचित्र दिने सम्भावना कमै छ।

जनशक्तिको कमजोर व्यवस्थापन: स्वास्थ्यमा जनशक्ती अभाव कर्णाली प्रदेशको मात्र हैन कि समग्र नेपालकै पुरानो रोगको रूपमा रहेको छ। एकातिर वर्षौ पुरानो दरबन्दीको बैज्ञानिक पुनरावलोकन गर्न नसकेर स्वास्थ्य संस्थामा कर्मचारी अपुग देखिन्छ भने अर्कोतर्फ नर्सिङ, हेल्थ असिस्टेन्ट जस्ता जनशक्ति काम नपाएर खाली बसेको या निजी संस्थामा अत्यन्त न्यून पारिश्रमिकमा काम गरिरहेको देखिन्छ। धेरै संख्यामा करारका कर्मचारी भर्ना लिएर काम गराउँदासमेत अस्पताललाई भार थेग्न गाह्रो परेको छ। यतिसम्म हुँदा पनि कर्मचारी दरवन्दी थप्न कसैको उचित नजर परेको देखिदैन।  

राजनीतिक नेतृत्वको कमजोरी: कोरोना महामारीमा राजनीतिक नेतृत्वले ठोस र दीर्घकालीन नीति निर्माणतिर लाग्नु भन्दा झिना मसिना काममा मात्र अल्झेको जस्तो देखिन्छ। केही सिमित व्यक्तिहरुको फाइदाको लागि साधन–स्रोत मिलाइदिने र आफन्तले उचित उपचार नपाएपछि मात्र अस्पतालको कमि कमजोरी देख्ने नेतृत्व पनि सुधारिन आवश्यक छ। सबैलाई र सधैलाई हुने सब्बल स्वास्थ्य प्रणाली नबनाउँदासम्म नेपाल जस्तो देशलाई ठूला–साना सबै महामारीले सताइरहनेछ।

समग्रमा भन्नुपर्दा स्रोत, साधन र जनशक्ती अभावको गहिरो खाडलमा पहिल्यैबाट समस्या खेपिरहेको कर्णाली प्रदेशप्रतिको राज्यको उदासिनतालाई उदाङ्गो पारिदिएको छ, कोरोना कहरले। वर्षेपिच्छे झाडापखाला र कुपोषणको चपेटालाई सम्हाल्न धौंधौं परिरहेको कर्णाली प्रदेशलाई कोरोना बज्रपात भएकै छ। गतिलो पाठ सिकेर चुनौतीलाई अवसरको रूपमा लिइनेछ या छैन यो समयले छिट्टैनै बताउनेछ हामी सबैलाई।

महामारीसंगै देखिएको आशाको किरण

प्रविधि र स्वास्थ्य सेवालाई एकदमै अब्बल बनाएका देशहरुलाई समेत कोरोनाले आच्छ्यूँ, आच्छ्यूँ बनायो। यस्तो विषम परिस्थितिमा पनि कोरोना संक्रमणलाई नेपाल जस्तो अल्पविकसित देशले तुलनात्मक रुपमा कमै मानवीय क्षति व्यहोरेर परास्त गर्‍यो। महामारी दोस्रो पटकसम्म ढोकामा आइपुग्दा हामीले चालेका केही कदमहरुले हामीलाई केही बलियो बनाएको छ र अगाडी बढ्न उत्प्रेरित पनि गरेको छ। सकारात्मक सोचका साथ अगाडी बढ्दै यिनै कदमहरूलाई अझ परिस्कृत गर्न सक्यौं भने पक्कै पनि हाम्रो देशको स्वास्थ्य प्रणालीलाई  धेरै राम्रो बनाउन सकिन्छ।

स्थानीय तहको अग्रसरता र स्वास्थ्य क्षेत्रसँग उहाँहरुको सहकार्य यो महामारी विरुद्धको युद्धमा निर्णायक अस्त्रको रुपमा रह्यो । स्थानीय तहले जिम्मेवारीबोध गरेर उचित प्राविधिक सहयोगसहित अगाडि बढ्न सक्यो भने जस्तोसुकै कठिन परिस्थितिबाट पनि पार पाउन सकिन्छ भन्ने कुरा सुर्खेतलगायत धेरै ठाउँको कोभिड व्यवस्थापनले स्पष्ट पारेको छ।

सरकारी अस्पतालको भूमिकालाई आजसम्म जसरी नजरअन्दाज गराउने काम विभिन्न निकाय, निजी स्वास्थ्य संस्था र स्वयम् जनमानसबाटै भईरहेको थियो, कोरोना कहरले त्यसलाई पुनर्विचार गर्न बाध्य बनाएको छ। सरकारी स्वास्थ्यकर्मी र सरकारी स्वास्थ्य संस्थाहरुले डटेर दिएको सेवा र निर्विकल्प रुपमा वहन गरेको जिम्मेवारी केही त्रुटीबाहेक स्वागत योग्यनै छ। ‘चाहिने त सरकारी अस्पतालनै रहेछ’ भन्ने सोचाई जनता र सम्बन्धित सबै निकायमा पार्न कोरोना कहरले एक गतिलो भूमिका खेलेको छ। आईसियु, एचडियु, अक्सिजन प्लान्ट स्थापना र बेड विस्तारले सरकारी अस्पतालमा कोरोनाले एक छलाङ ल्याइदेको छ। यसको उचित व्यवस्थापन र स्तरोन्नति गर्न सक्यौं भने हाम्रो स्वास्थ्य प्रणाली निश्चयनै सुधार हुनेछ। (लेखक कर्णाली अस्पताल सुर्खेतका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन हुन्।)

प्रकाशित: ३ असार २०७८ ११:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App