३ कार्तिक २०७८ बुधबार
ब्लग

कोरोनाभन्दा श्रीमानको डर

दिपा धिताल

(मनोविमर्शकर्ता)

सरकारले पटक–पटक निषेधाज्ञाको समय अवधि थप गरी नागरिकलाई कोरोना महामारीबाट सुरक्षित राख्ने प्रयास गरेको छ। तर सधैं विपत्का समयमा जोखिममा पर्ने महिला तथा बालबालिका माथि हुने हिंसातिर सरोकारवालाको खासै ध्यान गएको पाइँदैन। पछिल्लो समय कोराना करहरको अवस्थामा घरेलु हिंसा बढ्दै गएको देखिन्छ । जसका कारण महिला तथा बालिकाहरू त्रासपूर्ण वातावरणमा बाँच्न बाध्य भएको विभिन्न तथ्याङ्क र घटनाहरूले पुष्टि गरेको छ।

निषेधाज्ञा सुरुवात भएदेखि महिला पुनःस्थापना केन्द्र ओरेकले आफ्नो कार्यक्षेत्र भित्र अभिलेखीकरण गरेको तथ्याङ्क अनुसार एक महिनाको अवधिमा २ सय जना महिला तथा बालिकामाथि विभिन्न प्रकारका हिंसाका घटना भएको छ । जेष्ठ १ देखि १५ सम्म १ सय ३ जना महिला तथा बालिकामाथि विभिन्न किसिमका हिंसा भएको पाइएको हो। ओरेकको कार्यक्षेत्रको तथ्याङ्क र विभिन्न घटनाहरूलाई विश्लेषण गर्दा जोखिममा रहेका धेरैजसो महिलाहरू आज पनि घर वा श्रीमान्बाट प्रताडित रहेका छन्।

मुसिकोट नगरपालिका वडा नं. ८ घर भएका मिना (नाम परिवर्तन ) २३ वर्षकी भइन् । उनले विवाह भएको एक वर्ष भयो। उनका श्रीमान् लकडाउन हुनुभन्दा पहिले कामको सिलसिलामा दाङ बसेर ज्याला–मजदुरी गर्दथे। अहिले लकडाउनको समयमा काम गर्ने वातावरण नपाएपछि उनी घरमा आएर बसेका छन् । पछिल्लो समय मिनाका श्रीमानले रातदिन मद्यपान सेवन गरी श्रीमतीलाई कुटपिट गर्ने गर्दछन्।

मिनाका अनुसार भागेर विवाह गरेका कारण माइती जाने बाटो छैन । श्रीमान्ले मदिराको तालमा पिटेपछि ३ महिनाको गर्भ पनि खेर गयो । ‘मैले के नै गर्न सक्छु र मेरो कोही पनि छैन । जति पीडा भए पनि यहीं बस्छु भनेर सहेर बसेको छु ।’ मिना भन्छिन् ,‘कहिलेकाहीं मलाई बाँचेर के नै गर्न सक्छु जस्तो लाग्छ । मर्न पाए त यो सबै दुःखबाट मुक्ति पाउँथे होला जस्तो लाग्छ।’

उनी मर्नका लागि एक पटक  डोरी लिएर समेत गइन् तर श्रीमानले देखेर आफूलाई फसाउन खोजेकी होस् भन्दै डोरी थुतेर ल्याए, मर्न दिएनन् । कोरोना कहर सुरु हुनु मिनाका लागि झन् पीडा भएको छ । कोरोना नभएको भए उनीहरू दैनिक ज्यालामजदुरी गर्थे। समस्यामा पर्ने थिएनन्। कोरोनापछिको बन्दाबन्दीले घरभित्र बस्नु परेको छ। खानाको लागि समस्या छ। यतिबेला उनी पीडा सहेर बस्नुभन्दा आफूलाई कोरोना लागेर मर्न पाए हुन्थ्यो भन्ने सोच आउने गरेको बताउँछिन्।  

यस्तै बाफिकोटको दहीडाँडामा माइती रहेकी ३४ वर्षीया रजमती ‐नाम परिवर्तन) ४ दिदी बहिनीमध्ये माहिली छोरीको हुन्। २ भाइ र बुवा आमा लगायत उनको ८ जनाको परिवार थियो। स्कुल समेत नदेखेकी रजमतीको घाँस, दाउरा र गोठालो गर्दै  बाल्यकाल बितेको हो। १६ वर्षको हुँदा आफूखुसी भागी विवाह गरेकी उनका ३ छोरा र १ छोरी थिए। घरको आर्थिक अवस्था त्यति राम्रो नभएको कारण श्रीमान् केही वर्ष पहिले भारतमा मजदुरी गर्थे।

तीन वर्ष पहिले मलेसिया पनि गएका रजमतीका श्रीमानले पैसा कमाउन सकेनन् । गत वर्ष धादिङको इँटा भट्टामा १ वर्ष पहिलेदेखि काम गर्दै गर्दा लकडाउनका कारण घर फर्कनुपर्यो । घरमा भएको जमिनमा खेतीपाती गरिरहेका उनीहरूलाई ३ महिना मात्रै पनि खाना पुग्दैन । उनलाई मजदुरी नगरी साँझबिहानको छाक टार्न गाह्रो हुने गर्दछ । अघिल्लो वर्षको लकडाउनमा श्रीमानले दैनिक रक्सी खाएर श्रीमतीलाई मात्र नभएर छोराछोरी समेतलाई कुटपिट गर्ने गालीगलौज गर्ने गर्दथे।  

चार सन्तान भएकी रजमतीका श्रीमानको व्यवहारका कारण छोराहरू पनि तनावमा परेपछि गत वर्षको लकडाउनमा घर बस्न रुचाएनन्। आमामाथि हुने दैनिक कुटाइपिटाइ देखेका छोराछोरी त्यही कारणले घरमा बस्न छोडेका थिए। घर बस्न मन मरेपछि गाउँमा साथीहरूसँगको लहलहैमा लाग्दै गर्दा छोराहरूले पनि रक्सी सुरु गरेका थिए। बुवाको कारणले घरमा बस्न मन नगर्ने १२ वर्षे कान्छो छोराले एकदिन आत्महत्या गरे । सानो छोराको मृत्युको पीडा सेलाउन नपाउँदै एक महिनापछि १५ वर्षको अर्का छोराले पनि त्यही कारणले आत्महत्या गरे । दुई छोराले आत्महत्या गरेपछि रजमती त्यसपछि अशान्त बनिन्।

माथिका प्रतिनिधि घटना हेर्दा हाम्रो समाजमा पितृसतात्मक सोचले जरा गाडेर बसेको देखिन्छ। कतिपय महिलाहरू यतिबेला कोरोनाभन्दा घरकै मान्छेसँगको असुरक्षित रहेको देखिन्छ। विपत्कोे अवस्थामा विश्वभर जहिले पनि महिला, बालबालिका तथा किशोरीहरू आफ्नो घरमा समेत सुरक्षित हुँदैनन्। महामारी अवस्थामा देशमा रहेका तीन तहका सरकारले गतिलोसँग आफ्नो भूमिका निर्वाह गर्न नसक्दा महिला तथा बालबालिका जहिल्यै जोखिममा रहिरहेका छन्।

प्रकाशित: १ असार २०७८ १३:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App