२२ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

मालपोत प्रवेशमा रोक लगाएको भन्दै लेखापढी व्यवसायी आन्दोलित

कार्यालय प्रवेशमा रोक लगाइएको भन्दै भक्तपुर मालपोतका लेखापढी व्यवसायीहरू आन्दोलित भएका छन्।

भक्तपुर नगरपालिका वडा नं-९ तुमुचो दुगुरे जग्गा एकीकरण आयोजनामा रहेको मालपोत कार्यालयले आइतबार बिहानैदेखि प्रवेशमा निषेध गरेपछि उनीहरूले विरोध जनाएका हुन्।

काठमाडौंको साँखु र ललितपुरलगायतका मालपोत कार्यालयबाट लेखापढी तथा कानुन व्यवसायी पक्राउ परेको खबर सामाजिक सञ्जालमा भाइरल भएपछि भक्तपुरका व्यवसायीमा त्रास फैलिएको छ।

मालपोत र नापी कार्यालयले आ-आफ्नो प्रवेशद्वारमा सूचना टाँस गर्दै अनधिकृत व्यक्तिलाई कार्यालय परिसरमा प्रवेश निषेध गरिएको जनाएका छन्। सेवा प्रवाहलाई व्यवस्थित, पारदर्शी र गुनासोरहित बनाउन सेवाग्राहीलाई नागरिकता, परिचयपत्र वा जग्गाधनी दर्ता प्रमाणपुर्जा लिएर मात्र आउन भनिएको छ।

प्रमुख मालपोत अधिकृत अर्जुन राईले वास्तविक सेवाग्राही र परिचयपत्र बोकेका लेखापढी व्यवसायीलाई प्रवेशमा नरोकिएको दाबी गरेका छन्।

‘केन्द्र सरकारको निर्देशनअनुसार शुक्रबारदेखि नै कडाइ गर्नुपर्ने थियो, तर हामीले आइतबारदेखि लागू गरेका हौं,’ उनले भने।

अनावश्यक व्यक्तिलाई मात्र रोकिएको कार्यालयको भनाइ छ। यद्यपि, समाचार संकलनका लागि पुगेका संचारकर्मीलाई समेत कार्यालयभित्र प्रवेश गर्दा प्रहरीले केरकार र चेकजाँच गरेको थियो। कार्यालयभित्र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ।

प्रवेशमा कडाइ गरेसँगै लेखापढी व्यवसायीले काम बन्द गरेको खबरपछि प्रमुख मालपोत अधिकृत राईले भक्तपुर लेखापढी व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष रामशरण रानालाई बोलाएर जानकारी लिएका थिए। भेटमा रानाले आफूहरू काम बन्द गरेर विरोधमा नउत्रिएको प्रष्टीकरण दिएका छन्।

कार्यालयभित्र प्रहरी खटिएको जानकारी पाएपछि आफूले केही दिन मालपोतभित्र प्रवेश नगर्न व्यवसायीलाई अनुरोध गरेको अध्यक्ष रानाले बताएका छन्। सरकारको निर्देशनअनुसार छलफल गरेर अगाडि बढ्न आफूहरू तयार रहेको र यस विषयमा केन्द्रीय नेतृत्वले सरकारसँग वार्ता गरिरहेको उनले जानकारी दिएका छन्।

यता, नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले भने आफूहरूसँग परिचयपत्र हुँदाहुँदै पनि प्रवेश गर्न नदिइएको गुनासो गरेका छन्। भक्तपुर मालपोतमा मात्रै पाँच सयभन्दा बढी लेखापढी व्यवसायी कार्यरत छन्। कानुनले अधिकार दिँदा पनि काम गर्न नपाएको उनीहरूको दुखेसो छ।

लेखापढी व्यवसायीमाथि भएको कडाइको विरोधमा कानुन व्यवसायीहरूले कानुनी लडाइँमा जाने बताएका छन्। रामशरण रानाको नेतृत्वमा भर्खरै चयन भएको भक्तपुर लेखापढी व्यवसायी संघको आइतबार आयोजित शपथ ग्रहण तथा बधाई कार्यक्रममा बोल्दै भक्तपुर बार एसोसिएसनका पूर्वअध्यक्ष रवीन्द्र प्रधानले उक्त धारणा राखेका हुन्।

सरकारलाई कर तिरेर र अनुमति लिएर व्यवसाय गरिरहेकाहरूलाई कुनै पनि किसिमको रोकतोक गर्न नमिल्ने भन्दै उनले यसको कानुनी रूपमै प्रतिवाद गर्ने बताए।

प्रकाशित: २२ चैत्र २०८२ १९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App