८ वैशाख २०८१ शनिबार
ब्लग

वाग्मती सफाइ महाअभियानको ८ वर्ष

वाग्मती  सफाई महाअभियान  २०७० जेठ ५ गते शुरु भएको हो ।राष्ट्रका नाममा सातामा दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ शुरु भएको अभियान एकैदिन,एकै समय स्वयंमसेवी रुपमा सञ्चालनमा आएको नेपालको सबैभन्दा ठुलो र लामो स्वयंसेवी अभियान हो । यो महाअभियान निरन्तर संचालन भई ८ बर्ष पूरा भएको छ । यो महाअभियान महाभुकम्प, नाकाबन्दी, लकडाउन, दशै तिहार जाडो गर्मी या अन्य महत्वपूर्ण चाडपर्वमा पनि यो निरन्तर सञ्चालनमा रहेको छ । यो महाअभियानमा कुनै प्रकारको आर्थिक कारोबारका साथै चन्दा सहयोग लिईदैन । यो अभियानको कुनै समिति छैन, कुनै बैक खाता छैन । नेपाल सरकारको आधिकारिक संस्था अधिकार सम्पन्न वाग्मती एकीकृत बिकास आयोजनाले गर्ने खर्चसँग महाअभियानको कुनै सरोकार रहदैन । यो बिशुद्ध नागरीक महाअभियान हो । यसमा हालसम्म करिब १० लाख जनाको सहभागीता भैसकेको छ । राष्ट्रपतीदेखी प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, लगाएत राज्यका उच्चपदस्थ पदाधिकारी, कलाकारहरु देखी नागरीकसम्म यो अभियानमा सामेल भईसक्नु भएको छ । नेपाली सेना, नेपाल प्रहरी, शसत्र प्रहरीको यो अभियानमा ठुलो साथ सहयोग रहदै आएको छ । भने यस अभियानमा हजारौं संस्थाहरु संस्थागत सहभागीता जनाईसक्नु भएको छ । नेपाल टेलिकमले शुरुवाती दिनदेखी सफाई सामाग्रीहरु सहयोग गर्दै आएको छ । यस अभियानमा बिभिन्न संघसंस्थाहरुले पनि सफाई सामाग्रीहरु सहयोग गर्दै आउनु भएको छ ।  

यो महाअभियानको प्रेरणा, सहयोग र सहभागितामा उपत्यकाका वाग्मती नदीका सहायक नदीहरु क्रमशः विष्णुमती, रुद्रमती, ईच्छुमती, मनहरा, गोदावरी, नख्खु, कोडकु तथा वाग्मतीको माथिल्लो भाग एवं विष्णुमतीको माथिल्लो भाग, तिलगंगा, आलोकनगर, सुन्दरीघाट, हनुमन्ते, वाग्मती फोहोर उन्मूलन र चक्रपथको पश्चिम, उत्तर र दक्षिण भाग तथा लामाटारमा लगाएत २० स्थानमा सरसफाई अभियान संचालित छन् । यही महाअभियानको प्रेरणा र सहभागितामा काठमाडौं उपत्यका बाहिर देशभरी करिब १०० स्थानमा सरसफाइ अभियान सञ्चालनमा छन । भने मेची महाकाली सफाइ अभियान अन्तर्गत ६२ स्थानहरुमा सफाई अभियान कार्यक्रम सम्पन्न भएको छ । हामीले हरेक हप्ता दुई घण्टा वाग्मती र उपत्यकाका सहायक नदीहरु, सार्वजनिक स्थल, मठमन्दिर, घरआँगन सफा गर्दै आएका छौं । जनचेतना जगाउदैछौ । अभियानले फोहोरको श्रोत मै वर्गीकरण गर्न, कौसीखेती शुरु गर्न, कुहिने फोहोरबाट वायो कम्पोष्टिङ र वायोग्याँस उत्पादन गर्न उत्प्रेरणा सहजिकरण गर्ने गरेको छ । महानगरपालिकाको अगुवाईमा जथाभावी फोहोर गर्नेलाई दण्ड जरिवाना पनि गर्ने गरिएको छ ।  

यो महाअभियान र अभियन्ताहरुको सहयोग दबाब र कृयाशिलताका कारण नेपाल सरकारको सम्बन्धित निकायहरुमा दबाब पर्न गई बषौदेखी रोकिएका बिभिन्न निर्माण कार्य तथा ढल निर्माण कार्य तिब्रता पाई निर्माण कार्य भईरहेका छन् । वाग्मती लगाएत काठमाडौं उपत्यकाका अन्य सहायक नदीहरुबाट नस्वत स्फूर्तरुपमा करिब २० हजार मेट्रिकटन भन्दा धेरै फोहोर निकालि ब्यबस्थापन गरिएको छ । नदी किनारमा ६ हजारभन्दा बढी बिभिन्न प्रजातिका बिरुवाहरु रोपिएका छन् । यो महाअभियानको अगुवाईमा नदी किनारामा सार्वजनिक स्थललाई सरकारका नाममा फिर्ता ल्याउन सकिएको छ । विभिन्न निकायहरुबाट सामाजिक उत्तरदायित्व अन्तरर्गत नदी किनारामा पुरातात्विक स्थलको संरक्षण तथा ३० भन्दा बढी स्थानमा बगैचा निर्माण भएका छन् । मानिसहरु घुम्न आउने खेल्न आउने गरेका छन् । भने दिनहू जसो यी पार्कहरुमा फिल्म भिडियोहरु सुटिड। समेत हुने गर्दछन् । यी सबै बाग्मती सफाई महाभियान कै कारण हो । अझ बाग्मती नदी किनारमा स्थानिय क्लब, बिभिन्न समूहले बृक्षारोपण गर्ने गरेको छन् ।  अभियन्ताहरुले आफ्नो जन्मदिनमा समेत बाग्मती किनारमा बृक्षारोपण गर्ने गरेका छन् । यो अभियन्ताहरुको नियम जस्तै बनेको छ । अहिले बिरुवा बढेर गर्मी समयमा शितल छहारीमा बस्नेसम्म भएका छन् । बाग्मती किनारामा अहिले रुद्राक्ष, बरपिपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, निम, समी, अम्बा, गुलाब लगाएत बिभिन्न जातका बिरुवाहरु हुर्किदै आएका छन् । यसले गर्दापनि बाग्मती नदी किनारहरु बाताबरणमैत्री बन्दै गएका छन् । नेपाल सरकारको आधिकारीक निकाय अधिकार सम्पन्न बाग्मती आयोजनाबाट भत्केको पुलदेखी थापाथलीपुलसम्म सोलार बत्ति जडान गरेको ती क्षेत्रमा अझ सौदर्य बढेको पाईन्छ ।  

काठमाण्डौंबासीले बाग्मती नदीमा ३०औं बर्षदेखी फोहोर थुपार्दै डम्पीड. साईड बनाएको नदीमा अहिले यस्ता थुप्रै परिवर्तनका कारण आशाका किरणहरु पलाएको आभाष पाएको स्थानियबासी र नागरीक समाजले बताउदै आएका छन् ।  नागरीकहरुमा पनि चेतनाको अभिबृद्धि भई पहिला फोहोर सोझै वाग्मतीमा फाल्नेहरु अहिले सचेत भएका छन् भने जनमानसमा चेतनाको जागरण भई नदीमा फोहोर फाल्ने कार्य निकै कम भएकोछ । तथापी अझै केही अचेत ब्यतिmहरुले राती राती लुकेर नदीहरुमा फोहोर फाल्ने गरेको पाईन्छ । केहीलाई महानगरले कार्बाही गर्दैपनि आएको छ । तरपनि यसका अभियन्ताहरु थाकेका छैनन । यो अभियानले प्राय मृत अवस्थामा रहेको वाग्मती र यसका सहायक नदीलाई पुनर्जीवन दिएको छ । महाअभियानको मूल उद्देश्य भनेको विशुद्ध स्वयंसेवी भावनाको विकास गर्ने, स्वाभिमानी भावनाको विकास गराउने, हामी हाम्रो काम आफै गर्न सक्छौ भन्ने भावनाका साथ राष्ट्र निर्माणमा निस्वार्थ समर्पण हुने युवा जनशक्ति निर्माण गर्ने हो ।

त्यसैले यो सभ्य समाज  निर्माण र राष्ट्रिय स्वाभिमानको महाअभियान हो । फोहरको श्रोत मै व्यवस्थापन गर्न, नदीहरु, सम्पदा तथा सार्वजनिक स्थलको सरसफाइ गर्न र राष्ट्रब्यापी जनचेतना जगाउन यस महाअभियानको अतुलनीय योगदान रहेको हाम्रो विश्वास छ । हामीले शुरू गरेको सरसफाइ अभियान राष्ट्रव्यापी बनेकोमा हामीलाई गौरब छ । हामीलाई सञ्चार जगतले निरन्तर सहयोग र उत्साहवर्धन गरिदिएको छ । यो हामी सबैको साझा अभियान हो । यसमा सहभागि हुने र परोक्ष सहयोग गर्ने सबै अभियन्ता हुन् । आउनुहोस् सबैजना हातेमालो गरी यो महाअभियानको यात्रालाई अगाडी बढाऔं ।  

यो अभियान कहिलेसम्म भन्ने प्रश्न धेरै उठने गरेका छन् । यसबारे अभियन्ताहरुसँग एउटै जवाफ छ जबसम्म बाग्मती नदीमा सफा पानी बग्दैन तबसम्म यो अभियान जारीरहन्छ । तरपनि पछिल्लो समय बाग्मती सफाई महाअभियानको सफाई मोडलमा केही परिवर्तन गर्न अभियन्ताहरु स्थानिय सरकारसँग समन्वयन गरीरहेका थियौं । यही बेलामा विश्वब्यापी कोरोनाभाईरसको संक्रमण फैलियो जसको कारण यसको प्रभाव नेपालमा पनि पर्न गई निरन्तर संचालनमा रहेको बाग्मती सफाई महाअभियान पनि प्रभाबित हुन गयो । यो अभियान सामुहिकरुपमा संचालन हुन सकेन र अभियन्ताहरु आआफ्नो घर आँगन घरको नजिकको सडक छेउछाऊ सफाई गर्ने अभियानमा लागी परेका छौं । भने वाग्मती नदी नजिक बस्ने अभियन्ताले महाअभियानलाई निरन्तरता दिन नदीमा सानो समूहमा अभियान सञ्चालन गर्दै आएका छौं ।  

नदीहरुमा फोहोर फाल्नु हुदेन भन्ने नागरीकमा चेतना हुन जरुरी छ । त्यसकारण अब असल नागरीकको पहिचान दिन निम्न २ कामलाई आजैबाट लागु गरौं भन्ने हाम्रो अपील हो ।

१. घरबाट निस्कने फोहोरलाई बर्गिकरण गरी कुहिने फोहोरलाई अग्र्यानिक मल बनाई कौसीखेती गर्ने  

२. प्लाष्टीक, फलाम कागजलाई बिक्रि गर्न सकिन्छ त्यो फोहोरबाट मोहर बनाऔं  

३. सरकारी जिम्मेवार निकायले जथाभावी फोहोर फाल्नेलाई कडा कार्वाही गर्ने ।

४. जनचेतना फैलाउन बिघालय स्तर मै सफाई सम्बन्धि शैक्षिक पाठयक्रम समावेश गर्ने  

यो अभियानका कारण समाजमा परिवर्तनका संकेत देखा परेका छन् ।  

हाम्रो घरको फोहोरले मोहर पनि हुने अग्र्यानिक तरकारी र फलफुल खान पाउने पनि पाउने राज्यलाई स्थानिय सरकारलाई फोहोरको मात्रा पनि घटाउन योगदान दिईरहेको छ । मानिसले फोहोरलाई जथाभावी नदीमा फाल्नु हुदैन भन्ने चेतना जागेको छ । यो जनचेतना आम नागरीकमा सन्देश फैलाउने कार्य गरीरहेको छ । मानव जातीले पृथ्बीमाथी धेरै किसिमले अन्याय गरेको छ ।  प्रकृतीसँग खेलवाड गरेको छ पैसा कमाउनको लागी प्रकृतीको दोहोन गर्ने नदीहरुको दोहोन गर्ने, नदीनालाहरुको बहाब नै परिवर्तन गराई बस्ती बसाउने, सार्वजनिक स्थलहरुलाई ब्यतिगत प्रयोजनमा ल्याउने, आफ्नो सुबिधाको लागी प्रकृतीको बिनास गर्ने रुखहरु जथाभावी काटने कार्यमा हामी मानब जाती नै अग्रसरमा रहदै आएकाछौं । आफ्नो घरबाट निस्कने फोहोरहरुलाई जथाभावी नदीनालाहरुमा फाल्ने सार्वजनिक स्थलमा फाल्ने आफू राम्रो भए पुग्यो, आफू सुखी भए पुग्यो दोस्रो ब्यतिको बारे नसोच्ने, समाजको बारे नसोच्ने, गरेको कारण अहिले वाताबरणमा ठुलो असर परेको छ । हामीले अब सोच्ने बेला आएको छ । चिन्तन मनन गर्ने बेला आयो अब पनि हामी ब्यूझिन जरुरी छ ।  । हामीले सच्चीने बेला आएको छ यसमा सबैको ध्यान केन्द्रित होस् हामीले हाम्रो पालामा नै असल कार्य गरी राम्रो समाज बनाउन सक्ने गरी जनचेतना फैलाउन निकै आवश्यक छ।

म मेरो बासस्थान र वरिपरि, कार्यस्थल र सार्वजनिक स्थल वरिपरि तथा नदीनालाहरु सफा राख्छु । वाग्मती नदीको स्वच्छता र पवित्रता कायम राख्न मन, बचन र कर्मले लाग्नेछु ।”

प्रकाशित: ५ जेष्ठ २०७८ १०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App