खै, कहाँबाट सुरुवात गरुँ, संसार पूरै यतिखेर कोरोनाको कहर सहन बाध्य छ, त्यसमा म एउटा सानो अंश हुँ । तर पनि कोरोनाको कहर प्रत्यक्ष/अप्रत्यक्ष रुपमा म पनि भोग्न बाध्य छु र भोगिरहेकी छु पनि। हामी विगत १४ महिनादेखि यही कोरोना र यसको कहर सहँदै, बच्दै आएका छौं।
मलाई आज पनि याद छ, पहिलो कोरोना संक्रमित सुत्केरी महिलाको मृत्यु २०७७ जेठ ३ गते भएको थियो। धुलिखेल अस्पतालमा सुत्केरी भई घर फर्किएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोना भाइरसका कारण मृत्यु भएको थियो। उनको मृत्यु भएको दिन नेपालमा १३ जना नयाँ संक्रमित थपिएका थिए।
त्यसको ठिक एक दिनपछि जेठ ४ गते बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा २५ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका थिए। र, यी दुबै समाचार स्वास्थ्य मन्त्रालयको प्रेस विफ्रिङपछि मैले नै बनाएर पहिलोपटक अनएयर गरेकी थिएँ। निकै डर लागेको थियो, मन एकदमै आत्तिएको थियो, तर आज मन आत्तिएको होइन भक्कानिएको छ।
आलोचना गर्नुपरे पछि गरौँला, अहिलेलाई आफू बाँचौं र अरुलाई पनि बचाउन आफ्नो स्थानबाट सक्दो सहयोग र पहल गरौं। केही गर्न नसके घरमै बसेर, तथा बाहिर जाँदा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरौं।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आज सेनाले शव व्यवस्थापन गरेको तथ्यांकको आधारमा नेपालमा २२५ जना संक्रमितको मृत्यु भएको छ भने ९४८३ जना नयाँ संक्रमित थपिएका छन्। हिजो मात्रै १३९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो। यसरी दिनप्रतिदिन कोरोना संक्रमितको र कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढिरहेको छ। यस्तो अवस्थामा काममा हिँड्नुपर्ने अवस्था त छँदैछ, मनमा डर पनि उत्तिकै बढ्दै गइरहेको छ।
नेपालमा आजसम्म कोरोना संक्रमणका कारण ४०८४ जनाको मृत्यु भैसकेको स्वास्थ्य मन्त्रालयले तथ्यांक सार्वजनिक गरेको छ। त्यो तथ्यांकमा कति चिनेका व्यक्ति परे अनि कतिपटक आँखाका आँसुलाई लुकाएर थप मृत्यु नहोस् भनेर कामना गरेँ तर कोरोनाको कहर दिनप्रतिदिन थपिँदैछ।
यही २४ गते आफ्नै सहकर्मीको मृत्युको खबरले आँखाको भेललाई रोक्न निकै कठिन भयो। कोरोनाको दोस्रो लहरको संक्रमण झनझन बढिरहेको छ। यस्तोमा जनता आत्तिनु स्वभाविक नै हो। फेरि संक्रमणसँगै बढ्दो मृत्युदरका कारण करिब ७० जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। तर पनि संक्रमण दर, र मृत्युदर घट्ने कुनै लक्षण नै देखिएको छैन। अपतालमा संक्रमितको संख्या धान्न नसक्ने अवस्थामा पुगेका समाचारहरु आइरहेका छन्, होम आइसोलेसनमा बसेकालाई संक्रमणले च्याप्न थालेपछि अस्पताल लैजाँदा एम्बुलेन्स नपाउनु, आईसीयु शय्यासहित स्वास्थ्य उपचारको अभावका समाचार त अहिले दैनिक जसो आउने गरेका छन्।
नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ। यस्तो संक्रमणकालीन अवस्थामा जनताको जीवन रक्षाका लागि सरकार थप जिम्मेवार हुनु जरुरी छ। अहिलेको विषम परिस्थितिमा सरकारले आफ्नो दायित्वबाट उन्मुक्ति पाउन सक्दैन। पहिल्लोपटक काठमाडौंका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रुपमा रुपान्तरण गरेर कोभिड बिरामीको उपचारका लागि छुट्टाउनु आजको आवश्यकता अनुसारकै काम हो। साथै अन्य विकास योजनाको खर्च कटौती गरेर, गर्ने भनिएको चुनाव खर्च कटौती गरेर पनि संक्रमण रोक्न र बिरामीको उपचारमा खर्च गर्नुपर्ने देखिन्छ।
जनता पनि आत्तिएर कोरोनाबाट भाग्नेभन्दा पनि स्वास्थ्यका मापदण्ड पालनामा आफैँ जिम्मेवार हुने र आफ्ना छरछिमेक टोलवासीलाई पनि कडाइ गर्न पहल गर्ने, अनावश्यक भीड नगर्ने र गर्नेलाई पनि निगरानी गरेर सम्बन्धित स्थानीय निकायमा सूचना दिने गर्नुपर्छ। सरकारले केही गरेन भनेर भन्नुभन्दा पनि हामी पनि आफै सचेत र सजग हुनु जरुरी छ। कतै हाम्रै लापरवाहीका कारण कोरोना संक्रमण थप फैलिएको त छैन? यो बारेमा आजै बुझेर सबैले उचित र प्रभावकारी पहल थाल्नु जरुरी देखिन्छ। संक्रमण रोकथाममा लापरवाही गर्नु हामी स्वयंका लागि पनि त्यत्तिकै जोखिमपूर्ण हुन्छ भन्ने बुझ्नु जरुरी छ।
कोरोना संक्रमण बढेको यस अप्ठेरो परिस्थितिमा सरकारलाई दोष लगाउने तथा सराप्नेभन्दा पनि सबै तह र पक्षको सहयोग र सहकार्यमा कसरी संक्रमणलाई कम गरी जनताको जीवन रक्षा गर्न सकिन्छ। त्यसतर्फ सबैको ध्यान जानु जरुरी हुन्छ। आलोचना गर्नुपरे पछि गरौँला, अहिलेलाई आफू बाँचौं र अरुलाई पनि बचाउन आफ्नो स्थानबाट सक्दो सहयोग र पहल गरौं। केही गर्न नसके घरमै बसेर, तथा बाहिर जाँदा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरौं।
प्रकाशित: २८ वैशाख २०७८ १४:४२ मंगलबार