प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सम्बोधनकोक्रममा प्लान्टमा उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको बताएका छन्। अक्सिजनको अभावमा कोरोना संक्रमित विरामी नछट्पटाउन भन्ने उनको चाहना हो भने त्यो राम्रै हो।
तर सरकार आफैलाई भने यति बेला सत्ताको छट्पटीले पोलेको छ। हैन भने, कोरोनाको यत्रो महामारीमा किन सत्ताको लागि मरिहत्ते गरेको? बाग्मती किनारमा कोरोना संक्रमितको शव जलिरहँदा सरकार किन गण्डकीमा सांसदको किनबेचमा व्यस्त रहन्छ। राजधानी कोरोनाको सन्त्रासले मौन रहँदा सरकार किन लुम्बिनीको शान्त राजनीति बिथोल्न उद्धेलित रहन्छ।
सत्ताको डोज कति पावरफुल, नेताहरु यसको अभावमा बाँच्नै नसक्ने। सत्ताको नशा कति भयानक, हिँड्ने बाटो पनि पहिचान गर्न नसक्ने। त्यसैले होला कोरोनासंग सामूहिकरुपमा लड्नु पर्ने बेलामा विभाजित भएर विश्वास र अविश्वासमा सरकार अलमलिएको।
हैन भने, कोरोनाको यत्रो महामारीमा किन सत्ताको लागि मरिहत्ते गरेको? बाग्मती किनारमा कोरोना संक्रमितको शव जलिरहँदा सरकार किन गण्डकीमा सांसदको किनबेचमा व्यस्त रहन्छ। राजधानी कोरोनाको सन्त्रासले मौन रहँदा सरकार किन लुम्बिनीको शान्त राजनीति बिथोल्न उद्धेलित रहन्छ।
सांसदको संख्या गन्न थालेको सरकारले के कोरोना संक्रमित संख्या गन्न भुलेकै हो त? सोमबार मात्रै ७ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएको तथ्यांक सार्वजनिक भएको छ। ३७ को मृत्यु भएको छ। तर सरकार यसबाट अनविज्ञ जस्तो देखिन्छ। बोल्न त सरकार टेलिभिजनमा आएर देशवासीको नाममा सम्बोधन गर्दे अनाहकमा मर्नु नपर्ने कुरा गर्छ। तर खासमा भने ऊ आफू जोगिने उपायमा व्यस्त रहेको भान हुन्छ।
पछिल्ला क्रियाकलाप नियाल्दा सरकार जनता जोगाउन भन्दापनि सत्ता जोगाउन लागिपरेको भान हुन्छ। संविधानका धारा समाएर सत्ताको वैतणी तर्न सरकार आतुर छ। प्रदेशमा गरिएका कतिपय बिकृत खेलका बाछीता केन्द्रमा भेल बनेर आउँदै छन्। खेल संस्कारयुक्त छैन। सकुनीको पासा जस्तो छ। जसो भन्यो त्यतै पल्टने।
यस्तोमा प्रतिपक्षको भूमिका सकारात्मक हुनुपर्ने हो। तर सत्ताको माखेजालोमा प्रतिपक्ष पनि नराम्ररी अल्झिएको भान हुन्छ। प्रतिपक्ष सरकारको विरोध त गर्छ तर आफै सत्तामा जान लालायित देखिन्छ। सत्तामा गएर सर्वसाधरणको रक्षा कसरी गर्ने चिन्ताभन्दा पनि आउँदो चुनाव जितिएलाकी हारिएला भन्ने चिन्ताले सताएको भेटिन्छ। हैन भने किन प्रतिपक्ष अहिले सत्ताको अकर्ममण्डयताको एक भएर विरोध गर्देनन्। अथवा रचनात्मक सुझाव दिएर रोगसंग लड्ने अभियानमा सहभागिता जनाउँदैनन्।
तर यसो हुन सकिरहेको छैन। जब सरकार सत्तालाई अक्सिजन ठानेर आफू बच्ने उपायमा मात्र व्यस्त रहन्छ। यस्तो बेलामा हजारौ जनता अक्सिजनको अभावमा जीवन गुमाउन बाध्य हुन्छन्। सत्ताको पावरले सांसद संख्या पुग्दा सरकार त जोगिएला तर कोरोना संकट गहिरियो भने सिंगो मुलुक ‘भेन्टिलेटर’मा पुग्ने छ।
प्रकाशित: २१ वैशाख २०७८ ०९:१५ मंगलबार