६ कार्तिक २०७८ शनिबार
ब्लग

जब धर्मलाई राजनीतिक हतियार बनाइन्छ

ऐतिहासिक हिसाबले नेपाल पुरानो देश भए पनि विश्वसामु यसको परिचय त्यति लामो छैन। बेलायती साम्राज्यको राजनीतिक तवरले सामना गर्न सफल भए पनि कूटनीतिक क्षेत्रमा नेपालले खासै सफलता हासिल गर्न सकेन। किनकि एकीकरणका बेलादेखि नै शाहवंशीय राजाहरूले धर्मलाई राजनीतिसँग जोडे। जसले देशलाई विज्ञानको ज्योतितर्फ होइन, अन्धविश्वासको गुफातिर धकेलिदियो। बाह्रौं शताब्दीतिर जसरी इस्लामिक सभ्यताले विज्ञान र विकास त्यागेर रुखो धार्मिक चरमपन्थी बाटो अपनायो, त्यसरी नै नेपालका शाहवंशीय शासकले पनि आफ्नो शक्ति सञ्चय गर्न नेपालबाट ज्ञान–विज्ञान र धार्मिक स्वतन्त्रताविरुद्ध हिन्दु धर्मलाई हतियार बनाए र बौद्ध तथा किरात धर्मावलम्बीलाई आफ्नो वशमा राख्न तथा इस्लाम र इसाई धर्मावलम्बीलाई देशद्रोहीका रूपमा व्याख्या गर्न सफल भए।

संसारमा जति पनि धनी र विकसित देश छन्, ती सबैमा धार्मिक अतिवाद र अन्धविश्वासले होइन, वैज्ञानिक सोच र प्रविधिले पहिलो स्थान पाएका छन्।  

यी दुई धर्मलाई निस्तेज पार्ने नाममा नेपालमा झण्डै २ सय ५० वर्षसम्म ज्ञान–विज्ञानको ज्योति चम्किन दिइएन। जसका कारण नेपाल आजसम्म विश्वमानचित्रमा सबैभन्दा पिछडिएको राष्ट्रका रूपमा रहन बाध्य छ। यही पिछडापनलाई नै यहाँका शासकले आफ्नो व्यक्तिगत फाइदाको माध्यम बनाइरहेका छन्।  

धनी र विकसित राष्ट्रका सामु नेपालका शासक ‘मेरो देश गरिब छ’ भन्दै भिख मागिरहेका छन् र प्राप्त अनुदानबाट भ्रष्टाचारलाई निरन्तरता दिइरहेका छन्। तर संसारमा जति पनि धनी र विकसित देश छन्, ती सबैमा धार्मिक अतिवाद र अन्धविश्वासले होइन, वैज्ञानिक सोच र प्रविधिले पहिलो स्थान पाएका छन्।

चीनजस्तो विशाल देशमा पनि तीव्र विकास हुनुमा मार्क्सवादको देनलाई इन्कार गर्न मिल्दैन। धार्मिक अन्धविश्वास अन्त्य नगरिएको भए सायद चीन पनि आज आन्तरिक द्वन्द्व र भ्रष्टाचारकै भुमरीमा रुमलिइरहेको हुने थियो।  

खाडी क्षेत्रका केही मुलुक धनी भए पनि त्यहाँ मानवीय विकास हुन सयौं वर्ष लाग्नेछ। कारण ती देशमा पनि धर्मलाई अतिवादी तरिकाले मानिसमा लादिएको छ। जसले सबै मानवको होइन, शासक वर्गको मात्र कल्याण गर्छ।  

मध्यकालीन युरोप पनि त्यतिबेला मात्रै मानव कल्याण र विकासको बाटोमा लाग्यो, जब उसले आफूमाथि लादिएको धार्मिक अतिवादको जुवा भाँच्न सफल भयो। धर्म जब राजनीतिमा मिसिन्छ, तब त्यसले कहिल्यै मानवको भलो गर्दैन, चाहे जुनसुकै धर्म होस्।  

धर्म त मानिस–ईश्वर सम्बन्धको कुरा हो, जसलाई कुनै राज्य वा समुदायले लाद्ने विषय होइन। यो त स्वतन्त्र मानव आत्माले चिन्तनरमनन गरेर स्वेच्छाले अपनाउने कुरा हो। आफ्नो मनले खाएको मतमा विश्वास गर्नु, मठ, मन्दिर, मस्जिद, गिर्जाघर, गुरुद्वार जानु, भगवान्, ईश्वर, परमेश्वर, अल्लाह, खुदा भनी पुकार्नु, गीता, गुरुग्रन्थ, कुरान, बाइबल, त्रिपटक आदि पढ्नु धर्म हो। जब मानिसबाट स्वतन्त्रता खोसिन्छ, तब त्यसलाई धर्म भन्न मिल्दैन। किनकि जसले (ईश्वर...) यो स्वतन्त्र मस्तिष्क, मन, इच्छा र चाहनासहित मानव सिर्जना गरेको छ, उसले कहिल्यै पनि मानिसको इच्छाविपरीत पूजा अवश्य चाहँदैन। चाहन्थ्यो भने मानिसलाई पशुभन्दा फरक प्राणीका रूपमा बनाउने आवश्यकता नै नहुँदो हो। त्यसकारण धार्मिक अतिवादले मानिसको मानव हुने आधारभूत अधिकार नै हरण गरेको हुन्छ। हिन्दु धर्मको बाहुल्य भए पनि विविधताले भरिएको भारतले हिजोका दिनसम्म सबै धर्मको सम्मान गर्दै विश्वमा आफूलाई पहिलो स्थानमा राख्न सफल भइरहेको थियो, तर अहिले त्यो अवस्था अन्त्य भइसकेको छ। कारण भारतमा पनि यो महान् धर्म राजनीतिको सिकार भइसकेको छ। एसियाको सबैभन्दा उदार देशका रूपमा परिचित नेपालमा पनि धर्मलाई फेरि राजनीतिमा मिसाइँदै छ, २ सय ५० वर्षअघिका दिन फर्काउने दुष्प्रयास हुँदै छ।

जसका कारण देश मानव विकास र वैज्ञानिक विचारतिर लम्किनुको साटो अन्धविश्वासकै दलदलतर्फ भासिँदै छ। देश विकासका लागि मानव अधिकार र स्वतन्त्रता नभई नहुने तत्व हुन्, तर धार्मिक अतिवाद र दमनले तिनलाई फस्टाउन दिँदैन, किनभने धर्मको राजनीतीकरण भगवान् वा ईश्वरका लागि नभएर मानिसको दुष्टता लुकाउन गरिन्छ।  

नेपालमा पनि गुमेको शक्ति र पतन भएको नैतिकता फर्काउन इसाईकरणविरुद्धका बहानामा हिन्दु धर्मलाई हतियार बनाइँदै छ। हाम्रो संविधानले दिएको धार्मिक स्वतन्त्रता संस्थागत गर्ने हो भने मानव कल्याण र देश विकासमा ठूलो फड्को मार्न सकिने निश्चित छ। तर देश लुट्न पल्केकाहरूले नागरिकका आँखामा धर्मको ‘धुलो’ हालेर आफ्नो दुनो सोझ्याइरहेका छन्। हामी नागरिक अन्धकारमा ताली बजाइरहेका छौं। यस्तै छ, हाम्रो देशको चलन !

प्रकाशित: २५ मंसिर २०७७ १४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App