१४ माघ २०७७ बुधबार
ब्लग

तिमीसँगको त्यो अन्तिम ५ मिनेट !

जसरी छाडेर गएका थियौ  

खाँदाखाँदैको आधा गाँस

गोड्दागोड्दैको आधा पाखो

रुँदारुँदैको आधा आँशु

हो त्यहींबाट  

सम्बोधन गरिरहेछु तिमीलाई

प्रिय गोकर्ण गौतम,

प्रस्तुत कविता, कवि रावतले खै कसको सम्झनामा कोरे? तर आज मलाई लागिरहेछ- यी पंक्ति मेरै लागि लेखिएका हुन्। तिमी र म सँगै घुमेको यो पृथ्वी आज यस्ताे लाग्दैछ- आफैं घुम्न बिर्सिएर रोकिएकाे छ।  

प्रिय साथी गोकर्ण,  

तिमी अब यो संसारमा छैनौ। तर याे वास्तविकता स्वीकार्न यो मन अझै मानिरहेको छैन।  

मलाई याद छ- तिम्रो र मेरो भेट करिब ८ वर्षअगाडि अंग्रेजी ट्याब्लोइड पत्रिका ‘द न्यु पेपर’मा भएको थियो। केही दिन सँगै काम गरिसकेपछि तिमी पत्रिका छाडेर ‘देशान्तर साप्ताहिक’लाई नै निरन्तरता दिने इच्छा सुनायौ। मैले अंग्रेजी पत्रिकामै काम गर भनेर ‘कन्भिन्स’ गर्ने प्रयास गरें। तर तिमीले अब यो पत्रिकामा किन काम गर्न सकिन्न भनेर मलाई ‘कन्भिन्स’ गरायौ।

तिमी अब यो संसारमा छैनौ भन्ने कुरा स्वीकार्न यो मन मान्दै मानिरहेको छैन।  

हामी आआफ्ना तरिकाले पत्रकारितामा अघि बढिरह्यौं। तिमी ‘कान्तिपुर पब्लिकेसन्स’ र म ‘रिपब्लिक मिडिया’मा आबद्ध भएर पत्रकारिता यात्रालाई निरन्तरता दिन थाल्यौं। अलग सञ्चारमाध्यममा रहे पनि हाम्रो सम्बन्ध भने झन् निकट हुँदै गयो। भूकम्पपछि तिमीले हामी नजिक बस्न आउने इच्छा व्यक्त गर्‍याै। नजिकको बसाइसँगै हामी एकै परिवारका सदस्यझैं बन्न पुग्यौं। अबेरसम्म सुत्ने बानी भएको मलाई चियाको निम्तो दिन तिमी नै पहिला आइपुग्थ्यौ। प्रत्येक दिनका चिया गफमा रिपोर्टिङ अनुभव वा समसामयिक सवाल हाम्रा विषय हुन्थे। कतिपय विषयमा हामीबीच मतमतान्तर पनि हुन्थे। ती विषय केपी ओली नेतृत्वको सरकारदेखि भिटेनका ‘र्‍याप’सम्म, अनि उता भारतीय अभिनेता सुशान्त सिंह राजपुतको ‘आत्महत्या’देखि मोदी सरकारको हिन्दू अतिवादसम्म हुन्थे। अन्तिममा कि तिमीले मलाई कि मैले तिमीलाई आफ्नो तर्कमा सहमत गराउँथ्यौं।  

कात्तिक २६ गते म तिम्रो कोठामा बसेको दिन तिमीले टाउको दुखेको सुनायौ। त्यो सामान्य दुखाइ अर्को दिन असह्य भएपछि हामी काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल गयौं। परीक्षणपछि डाक्टरले हामीलाई ‘एन्युरिजम’ (मस्तिष्कभित्रको धमनीमा एक प्रकारको सानो बेलुन/फोका उठ्नु) भएको रिपोर्ट दिए र शल्यक्रिया (अप्रेसन) गर्नुपर्ने बताए। मस्तिष्कको अप्रेसन गर्ने निर्णयमा पुगिहाल्नु पहिले अन्य डाक्टरसँग पनि एकपटक साेध्ने पारिवारिक सल्लाहपछि हामी घर फर्क्यौं।

त्यो ५ मिनेटको समयमा पनि हामीले हाँसीमजाक गर्न भ्यायौं। अन्ततः त्यही हाँसो हामीबीचको अन्तिम हाँसाे बन्यो!

त्यसपछिका २ दिन हामीले अरू २ अस्पतालका वरिष्ठ डाक्टरसँग परामर्श लियौं। एक जना वरिष्ठ डाक्टरले तिम्रो स्वास्थ्य समस्यालाई ‘टाइमबम विथआउट टाइम’ को संज्ञा दिएर छिटो शल्यक्रिया गर्न सुझाव दिए। तर शल्यक्रिया गर्ने विधिमा डाक्टरबीच राय बाझियो। यसका दुइटा विधि रहेछन्- ‘क्वाइलिङ’ र ‘क्लिपिङ’। पहिलाे- चिरेर गरिने र अर्को- नचिरेर अर्थात् ट्युब छिराएर अप्रेसन गरिने विधि। पछिल्लो क्वाइलिङ विधि उन्नत मानिँदोरहेछ। यी दुईबीच एउटा छनोट गर्नुपर्ने भयो। अथवा, केही नगर्ने विकल्प पनि थियो। तर डाक्टरले त्यो मस्तिष्कभित्रको फोको कुनै पनि समय फुटेर दुर्घटना हुन सक्ने डर देखाए। हामीले भने अर्काे एउटा डाक्टरसँग परामर्शपछि निर्णय लिने विचार गर्‍यौं।  

तर तिहारका दिन तिमीले भतिजलाई फोन गरेर मलाई बोलाउन लगाएपछि म तिम्रो घर पुगें। तिमीले ‘क्वालिङ’ का लागि अस्पताल भर्ना हुने इच्छा सुनायौ। त्यसमा तिम्रो परिवारका सदस्यको पनि सहमति भएपछि मैले असहमति जनाउने कुरै भएन। तिमी कार्यरत पत्रिकामा स्वास्थ्य विषय राम्रोसँग बुझेका सहकर्मीलाई फोन गरेर क्वाइलिङ र क्लिपिङको द्विविधामा सुनाउँदा उनले डाक्टरसँगको परामर्शमा परिवारको सदस्यले निर्णय गर्ने विषय हो भनेर सल्लाह दिए। मलाई लाग्यो- ‘म पनि तिम्रै परिवारको सदस्य त हुँ।’  

तिहारको दिन दिदीको घरमा टीका लगाउन भनेर निस्किएको म तिम्रो परिवारसित बाँसबारी न्युरो अस्पतालतर्फ लागें। तिमी अस्पतालमा भर्ना भयौ। तर अप्रेसनको मिति बुधबार बिहान १० बजेका लागि तोकियो। त्यसबीच अस्पतालमा हरेक क्षण निसास्सिएर बिते।

बुधबार अर्थात् यही मंसिर ३ गते बिहान अस्पतालमा तिमीले मलाई भेट्न चाह्यौ। आइसियु कक्षमा बिरामीको परिवारका सदस्यबाहेक अन्य व्यक्तिलाई जान कडाइ गरिएकाले तिमीले शल्यक्रियाको सहमतिपत्र पढिदिनुपर्ने बहाना बनाएर मलाई भित्र बोलायौ। तर ५ मिनेटभन्दा बढी कुरा गर्न पाएनौं। त्यति छोटो समयमा पनि तिमीले मलाई ‘कन्भिन्स’ गरायौ कि तिम्रा विषयमा ‘मैले आत्तिन जरुरी छैन’। तिम्रा प्रधान सम्पादक र सहकर्मीका शुभकामना सुनाइदिँदा तिम्रा आँखामा धपक्कै जीवन बलेको थियो। त्यो ५ मिनेटको समयमा पनि हामीले हाँसीमजाक गर्न भ्यायौं। अन्ततः त्यही हाँसो हामीबीचको अन्तिम बन्यो!

करिब दिउँसो २ बजेतिर तिमीलाई बचाउने प्रयास गरेका डाक्टरले बोलाएर शल्यक्रिया गर्दा एन्युरिजम आएको धमनी नजिकैको नसामा रक्तस्राव भएका कारण जटिलता आएको सुनाए। तिमीलाई पुनः आइसियुमा सारियो। तिमी मृत्युसँग संघर्ष गरिरहँदा म भने बाहिर आफंैभित्रको डरसँग लडिरहेको थिएँ। तिम्रो मृत्युको डरले मलाई जित्दै थियो। किनकि त्यतिबेला डरलाई जित्न सकिन्छ भनेर ‘कन्भिन्स’ गराउने तिमी मेरो साथमा थिएनौ।  

भोलिपल्ट (मंसिर ४ गते) बिहान डाक्टरले बिरामीको अवस्था झनै जटिल भएको बताएपछि भने म आफ्नो त्राससँग पूरै पराजित भइसकेको थिएँ। त्यसको केही समयपछि नै डाक्टरले तिमीलाई बचाउन नसकेको बताउँदा म सुन्न नसकेर डाक्टरले ब्रिफिङ गरिरहेको कोठाभित्र जानै सकिनँ। एकछिनपछि अस्पतालले ‘डेथ सर्टिफिकेट’ लिन आफन्तलाई आइसियु कक्षमा बोलाए। तिम्रो परिवारका सदस्य जान नसकेका कारण म गएँ। 

नर्सले एउटा फाइलका दुईवटा कागजमा हस्ताक्षर गर्न लगाइन्। त्यो समय चेतना शून्य भएँ, आज कुन बार वा गते हो, यादै भएन, केवल मनभरि तिमी छाउन थाल्यौं। अन्य कुरा अट्नका लागि त मन/मस्तिष्कमा खाली ठाउँ चाहिनेरहेछ। हात कमाउँदै नर्सलाई सोधेर त्यो ‘डेथ सर्टिफिकेट’ लिएको कागजमा मिति लेखें र हस्ताक्षर गरें। तिमीलाई अन्तिमपटक भेटेको बेडतिर फर्केर हेरें। त्यो खाली थियो, मजस्तै। अरू बेला लाग्थ्यो– अस्पतालका बेड सबै खाली भए संसार कति खुसी हुन्थ्यो होला। तर, पहिलोपटक त्यो दिन मेरो मन अस्पतालको बेड भरिएको हेर्न लालयित बनेको थियो।  

आइसियु कक्षबाट बाहिरिएर फाइल हेरें। त्यो फाइल हरेपछि आँशु थामिएन। त्यो सानो फाइल पनि मेरा लागि ठूलो भारी भइरहेको थियो। एकछेउ लागेर भक्कानिएँ र बिस्तारै तल ओर्लें। बाहिर निस्किँदै गर्दा सोचें– म रोएँ भने परिवारका सदस्यको अवस्था झन् कस्तो होला? फेरि एकपटक हत्केलाले आँशु पुछेर बाहिर निस्किएँ। त्यतिन्जेल अस्पताल बाहिर तिम्रा परिवार र सहकर्मी सबै जम्मा भइसकेका रहेछन्।  

पशुपतिमा पार्थिव शरीर जल्दै गर्दा मलाई लागिरहेको थियो– मैले एउटा साथी मात्र होइन, परिवारकै सदस्य गुमाएँ। आगो पनि अचम्मको हुँदोरहेछ, जो जलिरहेछ, उसलाई पोल्दैन, जो हेरिरहेको छ, उसलाई भने भतभती पोल्दोरहेछ, तर ऊ जल्दैन।  

राति घर फर्किएँ। आँखामा तिम्रो मुहार झल्झली आइरह्यो। सोचें– अब भोलि बिहानदेखि मलाई उठाउँदै ‘ओ हिरो चिया खान जाने होइन’ भन्न तिमी कहिले आउने छैनौ।  

तर पनि केही दिनसम्म तिमी चिया खान आइहाल्छौ कि भन्ने लागिरह्यो। तर त्यो मेरो भ्रम थियो, किनकि तिमी नर्फिकिने बाटो लागिसकेका थियौ।  

आगो पनि अचम्मको हुँदोरहेछ, जो जलिरहेछ, उसलाई पोल्दैन, जो हेरिरहेको छ, उसलाई भने भतभती पोल्दोरहेछ, तर ऊ जल्दैन।  

तिमीलाई अलबिदा भनिरहँदा पुनः कवि रावतकै कवितांश याद आइरहेछ :

जसरी छाडेर गएका थियौ

झोलुङ्गोमा निदाइरहेको बच्चा

आधा मात्र उघ्रिएको हिमाल  

हिँड्दाहिँड्दैको आधा बाटो

हो त्यहींबाट  

सम्बोधन गरिरहेछु तिमीलाई।

प्रकाशित: ७ मंसिर २०७७ १७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App