नेपालमा कोरोना संक्रमणको प्रवेशसँगै सुरु भएको लकडाउनले धेरैको दैनिकी फैरिन पुग्यो । अत्यावश्यक बाहेकको समय घरभित्रै बस्ने मेरो दैनिकीको आठौं महिनामा छिमेकिको लापरबाहीका कारण बेघर हुनबाट बालबाल बाँचे । मंगलबारको साँझको त्यो लापरबाहीपूर्ण घटना टलेपनि मेरो मानसपटलमा कैयन प्रश्न र डर छाडेर गएको छ ।
मंगलबार दिउँसो ५ बजे । साधैं झै म व्यायामका लागि दोस्रो तल्लामा उक्लिए । केहिबेर व्यायाम गरेर बाहिरिए । छतबाट राजमार्गतर्फको चहलपहल चियाउँन खोज्दा कालो मुस्लोले ढाकिसकेको थियो । मैले मोबाइल झिकेर भिडियो खिच्न थाले । कारण वातावरण नै मुस्लोले कुहिरिमण्डल बनाउने हरकत अक्षमय अपराध हो । भिडियो खिच्दै गर्दा मुस्लो झनझन बढ्न थाल्यो । छिमेकी प्रमोद ठाकुरको घर अगाडि बालिएको सामग्रीबाट मुस्लोसँगै आगोका लप्का उड्न थाल्यो । त्यो लप्का विजुली, टोलिफोनलगायत तार छुन खोज्दै थियो । म भिडियो खिच्न छोडेर लहान प्रहरी प्रमुख डिएसपी शरत थापा क्षेत्रीलाई फोन गरेर घटना जानकारी गराउँदै तल ओर्लीन थाले ।
आगोको लप्का फैलिँदै उत्तरतर्फ आइरहेको थियो । जसको पहिलो चपेटामा मेरो घर थियो । के सामान बाहिर गर्ने नगर्ने अलमलका बीच श्रीमतीलाई छिटो ग्यास चुलोबाट सिलिण्डर अलग राख्न भन्दै म आफ्नो मोटरसाइकललाई सुरक्षित स्थानमा राख्न हतारिए । कारण आगोको लप्का मेरो घर छोए पहिलो निशाना मोटरसाइकल नै हुन्थ्यो । म मोटरसाइकल सुरक्षित गरेर फर्किदा श्रीमती ग्यास सिलिण्डलगायतका आवश्यक सामानसहित छोरीहरुलाई लिएर सडकमा सुरक्षित भइसकेकि थिइन् ।
श्रीमती छोरीहरु चिच्याउँदै घर बचाउन गुहारर्दै थिइन् । वृद्ध बुवा घरिघरि मूल गेट खोल्दै घर टोलाउँदै छाती पिटिरहेको देखेर मैले आफूलाई रोक्ने सकिन । भक्कानो छुट्यो । त्यतिन्जेल छिमेकीहरुको भीड जम्मा भैसकेको थियो । भीडमध्ये अधिकांश रमिते मात्र थिए । मेरो मूल गेट अगाडी खुट्टीखोला सिँचाइ नहर छ । जसमा पर्याप्त पानी रहन्छ, थियो । तर भीडमध्ये कसैले पनि एक बाल्टिन पानी आगोमा झोक्ने कष्ट गरेनन् । बरु गोजीबाट मोबाइल भिकेर आगोको लप्का उडिरहेको तस्बिर खिचेर रमाइरहेका थिए । कतिले यसो गर्नुपर्छ उसो गर्नुपर्छ भन्दै घटना विश्लेषण गर्दै थिए ।
लहान प्रहरी प्रमुख डिएसपी थापा तारन्तार फोन गरेर मलाई नआतिन ढाड्स दिएरहेका थिए । सिरहा प्रहरी प्रमुख उमाशंकर पंजीयारले फोन गरेर गोलबजार र राजबिराजबाट थप बारुण यन्त्र झिकाइसकिएको र घर जोगाउन घटनास्थलमा पर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको भरोसा लिदाउँदै थिए । उहाँहरुको भरोसाले मेरो घर अडिरह्ने हुन कि नाइ विश्वाससँगै डर पनि उत्तिकै लागिरहेको थियो । लहान नगरपालिकाको बारुण यन्त्रले आगोको उद्गमस्थल ठाकुरको घरतिरबाट पानीको फोहोरा दिन थालेपछि सास पल्टियो । अब हाम्रो घर जोगिने भयो भन्दै श्रीमतीको अनुहारमा भरोसाको मुस्कान छुट्यो । उनको उज्यालो अनुहार हेरेर सुकून महसुस गरें ।
प्रहरीले बारुण यन्त्रको मद्दतले आगोमाथि काबू पाउने भरपूर प्रयास गरिरहेको थियो । त्यहीबीचमा यन्त्रमा पानी सक्यो । पानी लिन फर्किदा आगोको लप्का उठ्यो । र, त्यो लप्का मेरो भण्डार घर टाँसिएर रहेको कबाडको गोदामलाई आफ्नो चपेटामा लियो । हेर्दाहेर्दै आगो पसरेर भण्डार घरको उत्तर कुनासम्म पुग्यो । जहाँबाट मेरो निवासको जग सुरु हुन्छ । त्यसपछि श्रीमतीको चिच्याहट, बुवाको छटपटी, दिदीको रोदनले मेरो मन फाट्यो । आँखै अगाडी हाम्रो घर आगोले खरानी बन्ने भयो । सम्पूर्ण सामान त्यही आगोमा समेटिने भयो । हामी बेघरबार हुने भयौं । सारा जिवनको कमाइ खर्चेर ठड्याएको घर नै नभएपछि बाच्नुको के अर्थ भन्दै बुवा बिलौना गरेको सम्झिँदा जोरजोरले रुन मन लाग्छ ।
त्यही दर्शक भीडबाट केहि परिचित अनुहार मेरो घर तर्फ पाइला सारे । उनीहरु थिए नेपाली कांग्रेसका सिरहा उपसभापति विष्णुप्रसाद गुप्ता र नेता शैलेन्द्र यादव । बाल्टिन ल्याउनुस तपाइको घर हामी जोगाउँछौं भन्दै दौडिएर आएका गुप्ता र यादव बाल्टिन लिएर अगाडीको नहरतर्फ हानिए । उनीहरुलाई नेपाल प्रहरीका जवानहरुले सघाइरहेका थिए । भण्डार घरको छतमा चढेर आगोमा पानी छ्याप्न मेरो भन्जाका साथी मोहम्मद असलमले साथ दिइरहेका थिए । बारुण यन्त्र पानी भरेर फर्किदासम्म गुप्ता, यादव र असलमसहित प्रहरीहरुले बाल्नि बाल्नि पानी छ्यापेर आगोलाई अगाडी बढ्नबाट रोकिरहेका थिए । सहरमा बसेर पनि गाउँजस्तो सहयोगी भावका उहाँहरु मेरा लागि सच्चा सामाजवादी हुन । उहाँहरुको सहयोग नपाएको भए मेरो परिवारसँग आफ्नो घर खरानी भएको साक्षी बन्नुको बिकल्प थिएन ।
घर टाँसिएरै पश्चिमपट्टी कवाडको भण्डार छ । त्यो टाँसिएकै होटेल इष्टपोइन्छ । उत्तरमा घना मानवबस्ती । र, दक्षीणमा पूर्वपश्चि महेन्द्र राजमार्ग छ । मेरो घर टाँसिएकै दक्षिणमा प्रमोद ठाकुर र उनकी छोरीको घर । जसमध्ये एक घरमा मदिराको गोदाम छ ।
ठाकुर घरको त्यही मदिरा गोदाम अगाडी प्लाष्टिकजन्य फोहोर जलाउन आगो बालिएको थियो । सुरुवातमा आगो मधुर थियो । तर जसरी त्यसमा प्लाष्टिकजन्य फोहोर थप्दै प्रज्वलनशील पदार्थ खन्याउँदै गयो आगोको राप बढ्दै गयो । आगो अनियन्त्रित भैसक्दा समेत ठाकुर परिवार कुनै प्रतिक्रिया जनाएनन् । न बस्तीका मान्छेलाई गुहारे । न प्रहरीलाई फोन गरे । न बारुण यन्त्रलाई नै खबर गरे । जसले उनको लपरबाही प्रष्ट्याउँछ । एक व्यक्तिको लापरबाहीको पीडासँगै अनेकन प्रश्नसाथ लिएर आएको छ । एउटा सचेत व्यतिmको लापरबाहीपूर्ण हरकत क्षम्य हुन्छ ? उनको लापरबाहीको भारी हामीले बोकिदिनुपर्ने ? उनलाई दोषअनुसारको दण्ड भोग्नुपर्दैन ? घनाबस्तीको बीचमा कबाडखाना, मदिराका गोदाम, वर्कसलगायत संचालन गर्न दिनु उचित हो ? मानव बस्तीलाई नै जोखिममा पार्नेगरी भएको लापरबाहीपूर्ण यो घटनाबाट स्थानीय सरकारको निरिहता समेत उदांगिएको छ ।
लहान नगरपालिका उपमहानगर बन्ने रेसमा छ । यस नगरका मेयर मुनी साह आफूलाई विकासमा विम्व भनेर परिचय गराउन रुचाउँछन् । नगरमा घण्टौं आगलागी भइरहँदा समेत मेयर साबको दर्शन पाइएन । अरुथोक भन्दा पनि नगरका अभिभावकसँग सान्त्वना, ढाडस र भरोसाको अपेक्षा त एउटा आगलागी पीडितले राख्छन् नै । सबैभन्दा नजिकको सरकारको दर्शन पाएँ पीडामा मलम हुने लालसा पूरा हुन सकेन नै आगो नियन्त्रणका क्रममा प्रहरीलाई आवश्यक परेको एक्साभेटर समेत नगरपालिकाबाट उपलब्ध हुन सकेन । डिएपी थापाले निजी एक्साभेटर नल्याएको भए कबाड गोदामको आगो पूर्ण नियन्त्रण सम्भव थिएन । र, तेज चलिरहेको पश्चिमी हावाका कारण आगो बस्तीमा फैलिने खतरा यथावत थियो ।
समाचार रिपोर्टिङको क्रममा आगलागीका घटना मेरा लागि नौलो होइन । तर, आगलागीको अनुभूति भने मेरा लागि नौलो हो । यस्तो नियती दुस्मनले पनि भोग्नु नपरोस । यो घटनाले मलाई सप्तरीको टापु गाउँ गोबरगाढाको याद ताजा बनाएको छ । वर्षेनी डुबानका कारण विस्तापनको मार खेपेर पनि त्यहाँका बासिन्दा बसाई सर्न तयार छैनन् । घर छोड्न तयार छैनन् । त्यहाँका बासिन्दाले भनेको सम्झन्छुँ,‘घर चार दिवार मात्र होइन यस भित्र सज्जाइएको कैयन यादहरुको समग्र संगालो हो । त्यसै कसरी छाडिदिउँ ।’
अन्तमा मलाई बेघर हुनबाट जोगाइदिने अग्रमोर्चामा खटिएका डिएसपी शरत थापा, कांग्रेस उपसभापती विष्णुप्रसाद गुप्ता, शैलेन्द्र यादव, भान्जा असलमलाई सलाम ।
प्रकाशित: २० कार्तिक २०७७ ०८:१९ बिहीबार