१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
ब्लग

ढाल लगाउन कन्जुस्याइँ किन ?

दुई छोरीकी आमा।  श्रीमान्–श्रीमती दुवैलाई थप सन्तानको चाहना छैन।  त्यसैले उनी श्रीमानलाई यौन सम्पर्क गर्दा परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्न आग्रह गर्छिन्।  तर उनका श्रीमान् मान्दैनन्।  त्यसैले यस्ता साधन प्रयोग गर्ने बाध्यता यिनैको काँधमा छ।  तर विडम्बना, परिवार नियोजनका साधन यिनलाई फापेन।  तीन महिने सुइले काम गरेन।  ट्याब्लेटहरू मकै चपाएझैँ चपाइन् तर शरीर कमजोर गरायो।  फलस्वरूप उनले चौथोपटक गर्भ पतन गराउन बाध्य हुनुपर्यो ।  

एक छोरा भएकी चिनजानकी एक महिलाले सन्तान नचाहेका कारण कवडी पाठेघरमा राखिन्।  तर रगत धेरै बग्यो। १२ वर्षका लागि राखिएकामा त्यही कारण २ वर्षमै झिक्नुपर्योा। अर्कोतर्फ जुनु नामक साथीलेराखेकी नरप्लान्ट पनि भुत्ते भयो। चक्कर लाग्ने, वाक्वाक् आउने भएपछि फ्याँकि दिइन्। उनको पनि समस्या उही– श्रीमान् अस्थायी साधन प्रयोग गर्न नचाहने।  

हुन त परिवार नियोजनको अस्थायी साधन पुरुष/महिला दूवैका लागि बनेको छ।  तर पुरुषहरू हत्पती प्रयोग गर्नै मान्दैनन्।  पुरुषले नमानेपछि महिला आफैँ प्रयोग गर्न बाध्य छन्।  फलस्वरूप, यस्ता साधन प्रयोगको असरबाट धेरै महिला प्रताडित हुँदै आएका छन्।  तर पनि पुरुषहरू यस समस्याप्रति संवेदनशील भएका भने पाइन्न। अस्थायी त परै जाओस्, स्थायी नियोजन अपनाउन पनि धेरै पुरुष तयार देखिन्नन्।  

कतिपय पुरुष स्थायी बन्ध्याकरण गरेमाढाड÷जिउ दुख्ने बताउँछन्।  त्यसैले पनि उनीहरू आफ्ना श्रीमानलाई बन्ध्याकरण गराउन बाध्य पार्न चाहँदैनन्।  बरु आफैँ प्रयोग गर्न तयार हुन्छन्। तर यसबाट महिलामा पर्ने असरबारे भने कमै पुरुषले मात्र सोचेका पाइन्छ।  खासमा आमा बन्नु र बाबु बन्नु ईश्वरी वरदान नै हो तर आज महिलाका लागि यो कता कता अभिशाप पो हो कि भन्ने पनि परिरहेको छ।  

जब बच्चाको रहर पुगिसक्यो वा अब चाहिन्न भनेपछिस्थायी साधन नै किन प्रयोग नगर्ने ? त्यसमा पनि यसो गर्दा महिला र पुरुषमध्ये पुरुषलाई कम असर हुन्छ वा तुलनात्मकरूपमा सहज हुन्छ भने उसैले किन नगर्ने ?तर पनि पुरुषहरू यो मामलामा अनुदार देखिन्छन्।  आफ्ना लागि ढाल भन्दा श्रीमतीका लागि चक्की किन्न अग्रसर हुन्छन्।  जसले महिलालाई अनावश्यक दुःख, तनाव सिर्जना भइरहेको छ।  

अस्पताल वा डक्टरहरूसँग यस्तै समस्या लिएर पुग्नेअधिकांश महिला श्रीमान्सँग गएका हुँदैनन्।  उनीहरू दिदी, बहिनी, साथी वा आफन्तसँग पुग्छन्।  जब डाक्टरले बच्चा नै चाहिन्न भने स्थायी बन्ध्याकरण गर्नूस् र यो पुरुषले गर्नु राम्रो हुने सल्लाह दिन्छन् अनि श्रीमान्लाई सँगै ल्याउन सुझाउँछन्, तब महिलाहरूको उत्तर हुने गर्छ– उहाँलाई यहाँ आउने फुर्सद नै छैन।  

दिनदिनै औषधि खाएर आफ्नै शरीरमाथि लापरबाहीगर्ने र मेसिन हालेर हरेकपल्ट सफा गर्नुभन्दा श्रीमान्ले नै सुरक्षित सम्बन्ध राख्दा महिलाको पीडा धेरै हदसम्म न्यूनीकरण हुन्थ्यो।  तरपुरुषले यो कुरा नबुझिदिँदा महिलाको तनाव झन् बढ्दो छ।  र, दुःख पाउने क्रम पनि वृद्धि हुँदो छ।  

प्रेम गरेको नाममा अवैध सम्बन्ध राख्ने, गर्भ बस्ने र पतन गराउने, जन्म्यो भने पनि कतै छाडेर भाग्ने जस्ता घटना पनि यही परिवार नियोजनका अस्थायी/स्थायी साधनसँगै सम्बन्धित पक्ष हो।  चाँडो थाहा पाए ट्याब्लेट, ढिलो थाहा पाए सफा गराउने दुवै प्रक्रियाले महिलाको शरीर लथालिंग तुल्याएको छ।  जसले गर्दा शरीरका विभिन्न भाग दुख्ने, मानसिक तनाव पैदा गराउने आदि समस्या दीर्घकालीनरूपमा देखिने गरेका छन्।  

हामी महिला अधिकारका धेरै कुरा गर्छौँ अनि यसका लागि पुरुषको अहं भूमिकाबारे पनि चर्चा गर्छौँ तर घरभित्रको यति सानो कुरामा पनि आफ्नै श्रीमान्ले अर्घेल्याइँ गरेपछि कसरी प्राप्त हुन्छ अधिकार ?श्रीमान्कै कारण श्रीमतीको शरीर बिग्रन्छ भने त्योभन्दा ठूलो अधिकारको दमन अरू के हुन सक्छ ? तर यस विषयमा पर्याप्त बहस भने हुन सकेको देखिन्न।  श्रीमान्लाई खुसी तुल्याउन महिलाले आफ्नो शरीर नै बिगार्नुपर्ने अवस्था कुनै हालतमा सही हुन सक्दैन।  

गाइनोलोजिस्ट डा. आँचलका अनुसारपरिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नेमा असी प्रतिशत महिला हुन्छन्। महिलाले यस्ता साधन प्रयोग गर्दा साइड इफेक्टहरू उत्पन्न हुन सक्ने भएकाले सबै भन्दा उत्तम उपाय पुरुषले ढाल प्रयोग गर्नु हो भन्ने आँचलको सुझाव छ।  तर पनि सबै पुरुषले यो वास्तविकता नबुझ्दा धेरै महिलाले दुःख पाइरहेका छन्।  

गर्भ निरोधक साधनका धेरै साइड इफेक्ट छन्। यो प्रयोग गरेपछि कसैलाई रिँगटा लाग्छ।  कसैलाई वाक्वाकी आउँछ।  कसैलाई रक्तस्राव बढी हुने गर्छ।  समग्रमा महिला शरीरलाई कतै न कतै बिगार गरिरहेको हुन्छ।  तर पुरुषले प्रयोग गर्ने ढालको भने खासै साइड इफेक्ट हुँदैन।  तर पनि यसमा उनीहरूको रुचि नहुँदा समस्या भने महिलाले भोग्नु परिरहेको छ।  

अर्की श्रीमती बिहे गर्नुपरेमा सन्तान उत्पादन नहुने चिन्ता, श्रीमतीले पनि आफूसँग खुसी नभएर परस्त्रीसँग जाला भन्ने डरले भनेको खुरु खुरु मान्ने जस्ता कारण पनि पुरुष बन्ध्याकरण गर्न नमान्ने र महिला नै अग्रसर हुने गरेकाडा. उर्मिलाको भनाइ पनि सही लाग्छ।  

श्रीमान्–श्रीमती एकै रथका दुई पांग्रा हुन भनिन्छ।  त्यसैले जीवनरूपी रथ अघि बढाउन दुवै पांग्राको उत्तिकै महत्व छ।  यसै वास्तविकतालाई मनन गरी श्रीमान्ले श्रीमतीको हरेक कुरामा ख्याल राख्न जरुरी छ।  अझ शरीर जस्तो महत्वपूर्ण पक्षमा खेलाँची गरेमा त कसरी अघि बढ्ला र रथ ? अनि कसरी खुसी र सुखी होला र जीवन ?

 

 

प्रकाशित: २४ भाद्र २०७७ ०७:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App