महिला हिंसा दिनहुँ बढिरहेको छ । अझ त्यसमा पनिघरभित्रै हुने हिंसा घट्ने कुनै गुञ्जायस नै छैन । यस्ता घटनाले हाम्रो समाजलाई नै दूषित तुल्याएको छ । आफ्नै भनिएका श्रीमान्, सासू/ससुरा, नन्द/आमाजु, देवर/जेठाजु आदिबाट क्रमशः महिला मारिइरहेका छन् । यसबाट पनि हाम्रो समाज महिला प्रति कति कठोर बन्दै गइरहेको छ भन्ने बुझ्न सकिन्छ ।
यतिबेलो मुलुक कोरोना त्रासले आतंकित छ । यस्तो अवस्थामा क्वारेन्टिनले केही भए पनि आशा जगाएको छ तर त्यही सुरक्षित ठानिएको क्वारेन्टिन पनि महिलाका लागि सुरक्षित हुन सकेन । लम्कीचुहाको एक क्वारेन्टिनमा बसेकी महिला बलात्कृत हुनु यसको उदाहरण हो । अझ अचम्मको कुरा त यो छ कि उक्त क्वारेन्टिनमा स्वास्थ्योपचारका लागि बसेका स्वास्थ्यकर्मी नै उक्त घटनामा संलग्न रहे । यस्तो अवस्थाले देखाउँछ कि महिला कहीँ पनि सुरक्षित छैनन् ।
हामी महिला सशक्तीकरणको कुरा गर्छौं। महिला अब कमजोर छैनन्भन्छौँ तर पनि यतिखेर किनमहिला आफ्नै घर/परिवारबाटै असुरक्षित छन् ? किन महिलालाई दोस्रो दर्जाको ठान्ने गरिएको छ ? किन उनीहरूलाई निरीह ठानिन्छ ? अब यस्ता प्रश्नको उत्तर नखोजी नहुने भएको छ ।
यसरी महिलामाथि गरिने अत्याचारले थुप्रै युवती नारकीय जीवन भोग्न बाध्य भएका छन् । समाजमा तीव्र गतिमा बढिरहेको यौन हिंसाले सभ्य समाजलाई समेत जिस्क्याइरहेको छ । महिलालाई सताउने कार्यमा महिलाकै संलग्नताले थप चिन्ता उब्जाएको छ । महिलाले अब यस विषयमा पनि गम्भीर भएर सोच्नु आवश्यक छ ।
महिलामाथिगरिने दुव्र्यवहार एउटा घातक र डरलाग्दो रोग नै बनेको छ । गाउँदेखि शहर जताजतै छ्यापछ्याप्ती यस्ता घटना भइरहेका छन् ।प्रत्येक दिन सञ्चार माध्यममा आउने यौन शोषणका खबरले सबैलाई दुःखी तुल्याएको छ । यतिसम्म सुन्दै घीन लाग्ने र पत्याउने नसकिने यौन हिंसाका घटनासमेत सार्वजनिक भएका छन् । बाबुले छोरीलाई बलात्कार गरेका घटना कसरी पत्याउन सकिन्छ ? तर वास्तविकतामा यही भइरहेको छ । जसले हामीलाई मानव हो कि पशु भनेरसमेत प्रश्न गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
केहीअघि काकाले ५ वर्षकी भतिजीलाई बलात्कार गरेको घटना सार्वजनिक भयो । आफ्नै जन्म दिने बाबुले सुतिरहेकी छोरीलाई बलात्कार गरेपछि उनी बाबुकै गर्भ बोकेर हिँड्न बाध्य भएकी खबर पनि बाहिर आयो । किन हुन्छ यस्ता घटना ? के मानवमा मानवीयता भन्ने कुरा सकिएको हो ? के हामी आफ्नै छोरी÷चेलीमाथि गिद्धेदृष्टि राख्ने हदसम्म गिरेका हौँ ? यस्तो दानवीय अवस्था कसरी सिर्जना हुँदैछ ? प्रश्न नै उदेकलाग्दा छन् ।
भनिएका बेला यौन सम्पर्क गर्न नपाए यातना दिने, कुनै सानो कुरामा रिस उठे पनि अर्की बिहे गर्ने, आफूले भनेको नमाने हिंसामा उत्रने जस्ता प्रवृत्ति बढ्दो छ समाजमा । जसले गर्दा महिलाहरू दिनानुदिन प्रताडित भइरहेका छन् । एकातिर समाज विकसित र परिवर्तन हुँदैछ । शिक्षा र सम्पत्तिमाथि बराबर अधिकारको माग भइरहेको छ तर कतिपय अवस्थामा अझै पनि महिला हिंसा भने वृद्धि भइरहनु विडम्बना नै हो ।
महिलाहरू आर्थिकरूपमा कमजोर हुनु, यही कारण अरूमाथि निर्भर हुन पर्नु, इन्टरनेटले भित्र्याएका अश्लील सामग्रीमा सहज पहुँच, डर/धम्की देखाउने प्रवृत्ति र शिक्षामा कमी यस्ता घटना निम्तनुका मुख्य कारण हुन् । त्यसबाहेक खासगरी किशोरीहरूमा बढ्दो महत्वाकांक्षा, परिपक्वताको कमी र अनावश्यक सोखहरू पूरा गर्ने लालसाले पनि यस्ता घटनालाई मलजल गरिरहेका छन् ।
गरिबी त्यो केन्द्रविन्दु हो जसले जे गर्न पनि बाध्य गराउँछ । आफ्नो र पराइ केही भन्दैन । आर्थिक अवस्था कमजोर भएका महिलामाथि प्रहार हुने एउटा कारण यो पनि हो । यौनजन्य अपराध बढ्नुमा पनि यस्तै कारण बढी जिम्मेवार छ ।तर लुटिने, कुटिने, यातना सहन बाध्य हुने भने जताबाट पनि महिला नै हुन्छन् । जुन साह्रै दुःखदायी पक्ष हो ।
हामी घटना भइसकेपछि त्यसलाई लुकाउँछौँ । किनकि हामीलाई समाजको डर लाग्छ । हामी आफैँमाथिको यातना गुपचूप पार्छौँ किनकि हामीलाई आफन्तले के भन्लान् भन्ने लाग्छ । त्यसैले हाम्रा लागि प्रहरी, प्रशासन र अदालतहरू आवश्यक छैनन् । यही सोच र व्यवहारले पनि महिलामाथिका हिंसा दिन/प्रतिदिन बढ्दो मात्रामा छन् । तर हामी यस्ता विषयमा अनविज्ञ छौँ वा थाहा पाएर पनि चूपचाप मौनधारण गरिरहेका छौँ ।
दण्डहीनता यस्ता घटना बढ्नुको अर्को मुख्य कारण हो । तर दण्डहीनतामा पनि मौन बस्ने हामी झनै ठूला कारक हौँ यसका । जहाँ अपराधमा संलग्नलाई कारबाही हुन्न, हामी त्यहाँ ज्वालामुखी झैँ दन्किउँ त, अनि हेरौँ कसले बचाउन सक्दो रहेछ अभियुक्तलाई ? महिलामाथि अत्याचार गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन चौतर्फी प्रयास गरेर सजाय दिलाइछाडौँ । अनि हेरौँ ऊ कसरी आफूलाई संसार जितेको महसुस गरिरहन सक्छ ?
प्रकाशित: १६ श्रावण २०७७ ०९:१६ शुक्रबार