१९ श्रावण २०७७ सोमबार
ब्लग

ठिसोङको पुस्तासँग कुन्चेप्वाकलमा

नियात्रा

कुन्चेप्वाकलको चैत्य।

असार मास ।  

हृदयमा बयेली खेल्दै थियो असारले। धर्तीमा नुनिलो पसिनाको धितो राखेर हिउँदको सपना कोरल्ने याम हो यो। मिठामिठा सपनाका खातिर पसिनाको धितो राख्दाराख्दै आधा उमेर घर्किसक्यो मेरो। उत्पादनसित जोडिने मनहरूको सौरभ र गौरव पो हो त असार!

छिनमै झरी, छिनमै बादल र वर्षा भइरहेथ्यो मन। सम्झँदै थिएँ– बाउसे भएर बेठी बाजाको तालमा हली, ब्याडे, बाउसे, र रोपाहारसँगै नाचेको। असार लाग्नेबित्तिकै मनले गाउँकै छबीसे फाँटमा पुगेर रोपाइँ गर्ने मन गर्दै थियो। कोभिड– १९ ले त्यसरी आऊजाऊ गर्ने अनुमति कहाँ नै दिएको थियो र सामान्यजनलाई! निर्ममतापूर्वक बाँधेर राखेको थिएँ मनलाई मैले। त्यसैले त रुझ्दै थियो मेरो मन असार बनेरै।  

०००

“आउँदो शनिवार कुन्चेप्वाकल हाइकिङ गरौँ न!”  

रेडियोकर्मी सहचर दीपक लोहनीले प्रस्ताव राखे, कवि माधव घिमिरे र मसँग।  

राजेन्द्रमान डंगोल

कुन्चेप्वाकल!  

कहिल्यै नसुनेको नाम। नामले पनि जाऊँजाऊँ पो लाग्यो मलाई। कोरोनाले कुँजिएको मनलाई डुलाउन लालायित थिएँ। केही क्षणमात्र भए पनि आफैँलाई विश्रान्ति दिने ठाउँ खोजिरहेथेँ मैले।

सकिनसकी कुन्चेप्वकालको जीवन सुमसुम्याइरहेको छ चैत्यले। यतिबेला चैत्यले उनै नेवार शिल्पकारहरू खोजिरहेका छन्, जसले यो बनाएर गए।  

कहाँ हो कुन्चेप्वाकल? सोधेँ।

“काठमाडौँकै एउटा छेउ। चुनीसाङ्लाबाट अलि माथि पर्छ। हाम्रै तारकेश्वर नगर पालिका हो।” दीपकको जवाफ।

उनले थपे–“नेवारहरूले इतिहास छाडेको बस्ती अरे। पुरानो ठाउँ।”  

काठमाडौँमा नेवारी बस्ती नभएको ठाउँ कहाँ छ र!  

नेवारी भाषामा ‘प्वाकः’को अर्थ हुन्छ–प्वाकल(खल) अर्थात् खोबिल्टो। आफैँ नेवार समुदायको भएर पनि ‘कुन्चे’को अर्थचाहिँ थाहा भएन। नेवारी भाषामा ‘कँु’को अर्थ ‘कुना’ र ‘कुँछँे’को अर्थ हुन्छ–कुनाको घर। कुनाको घरलाई ‘कुँछेँ’ भन्दाभन्दै अपभ्रंश भएर ‘कुन्चे’ भएको हो कि! प्वाकल भएको कुनाको घर भएकाले ‘कुँछेँप्वाकः’ भन्दाभन्दै ‘कुन्चेप्वाकल’ भनिन थालेको होला भन्ने अड्कल लाएथेँ मैले।  

जेजे भए पनि चाखिलोे थियो ‘कुन्चेप्वाकल’ नाम।  

हाइकिङ गर्ने निश्चय ग-यौँ हामीले।

कल्पनाको कुन्चेप्वाकल पुग्यो मेरो मन सलहझैँ भुरुरु उडेर।

०००

कुन्चेप्वाकल जाने बाटो कुन हो? चुनीसाङ्लाको लेडिज टेलरमा बसेर उद्यमशीलताको यात्रा गरिरहेकी षोडशीलाई सोधेँ मैले।  “यताबाट जानुस्। उः त्यही माथि हो कुन्चेप्वाकल।”

उनले बाटो बताइन् हामीलाई।  

उनकै टेलर अगाडि बाइक थन्क्यायौँ।  

सिमेन्टको बस्तीलाई छाडेर गाउँतिर लागेपछि असारे धर्तीले ओढेको हरियो उपर्नाको फेरो समात्यौँ हामीले।  

असारको सौन्दर्य छाएको थियो जताततै। मोतीको लुङ बनेर झुलिरहेथ्यो पाखापखेरा। खुबै सिँगारपटार गरेकी थिइन् धर्तीले। शिरीषका मलमदार फूल र बगे्रल्ती असारे फूलहरू सिउरिएकी थिइन्। हिउँदभरि हराउने झोरको झरना पनि असार लागेपछि छिल्लिन थालिसकेको रहेछ। मज्जाले रसाएर कलकल आवाज निकाल्दै थिए खोल्सा–खोल्सीहरू। हेर्नलायक थियो साङ्लाखोलाको खहरे बैँस।  

राजधानी छाडेर निकै पर पुगेको अनुभूति भइरहेको थियो। हाम्रो पिछा गरिरहेको थियो हिले सडकले।  

टेलरकी षोडशीले भनेकी थिइन्–“कुन्चेप्वाकलसम्मै मोटर साइकल जान्छ दाइ। किन हिँडिरहनु हुन्छ?”  

उनकै लहैलहैमा लागेको भए त मोटर साइकललाई बोकेरै कुन्चेप्वाकल पु¥याउनु पर्ने पो रहेछ! हाइकिङ गर्ने योजना थियो र पार पाइयो। नत्र के हालत हुन्थ्यो होला!

हुन पनि रोपाइँ गर्न ठिक्क पारेको खेतजस्तै थियो सडक। सबै कुरालाई सुन्दर बनाए पनि कच्ची सडकको चाहिँ अस्मिता लुट्दोरहेछ असारले। उता पासाङ ल्हामु राजमार्गको हालत पनि उस्तै छ भन्ने सुनेको थिएँ। यसै पनि वर्षौंदेखि ठेकेदारले हुर्मत लिएको सडकलाई असारको जवानीले छोएपछि ककनी र रानीपौवाका स्थानीयहरूले रोपाइँ नै गरिदिएछन्। लौजा त .....!

ठिकै गरे भन्छु म त! हिउँदभरि क्यान्सर हुने गरी छारो उडाउने सडकसित बदला लिएछन् यसपाली। तैपनि त्यो ठेकेदार भनाउँदोलाई लाज लाग्दोरहेनछ। अहिले त झन् दुई अर्बको मलको ठेक्का पाएको छ रे! शक्तिको सियाँलमा परेपछि मान्छेलाई फाप्नसम्म फाप्दोरहेछ।

खोल्सा पारिको साँघुरा सुर्काहरूमा बिउको हार मिलाएर छुपुछुपु रोपाइँ गरिरहेका तीन्टी रोपाहार। आलीमा बसिरहेका थिए तीन भाइ लाठे। फरियालाई घुँडासम्म स्याहारेर रोपोसँगै माटोसित प्रीति लाउँदै थिए उनीहरू। हाम्रो मोबाइलले कैद ग-यो, रोपाइँको त्यो दृश्य।

यो सडक सुधार होला र नुवाकोटको पर्यटनमा टेवा पुग्ला भन्ठान्नु पनि बेकारै भयो।

लाग्न त सडक भइदिएको भए पनि के नै लछारपाटो लाग्ने रहेछ र, कोभिड– १९ ले मुलुकलाई नै ठेगान लगाइदिएपछि! मरुस्थलझैँ उजाड भएको छ यतिबेला सिङ्गो नेपालको पर्यटन। हृदयको ब्याडमा अगणित हरियो डलरको बिउ उमारेर बयेंली खेलाउँदै गरेको बेला लुसुक्क नेपाल छिरेथ्योे, अल्लारे कोरोना भाइरस। मजस्तो सामान्य व्यवसायीलाई भन्दा पनि बिग हाउसहरूलाई पो छ त पीडा। ‘उडायो सपना सबै हुरीले..........’ भनेजस्तै भइरहेको होला। म महशुस मात्र गर्न सक्छु उनीहरूको पीडालाई। ख्यालख्यालमै बन्दाबन्दीको सय दिनभित्रै यो व्यवसायको थुपै्र रङ्गमञ्च नै उठिसके।

केही दिनअघि ठमेलको एउटा छेउमा उभिएर हेरेथेँ। शून्य थियो–ठमेल। पक्षाघातले थलिएको बिरामीजस्तै लाग्थ्यो। ‘अत्तर त्यो फूलको झरेपछि उडिजान्छ रे........’ भनेझैँ लाग्थ्यो ठमेलमा पर्यटनको खुस्बू नदेख्दा। सोच्दै थिएँ– ‘पर्यटकहरूको ताँती लाग्ने चितवन र पोखरामा पनि योभन्दा कम त के होला र। एभरेस्ट, अन्नपूर्णा, लाङटाङ र मुस्ताङका होटल र टी–हाउसको हालत झन् कस्तोे होला ?’

  

अदृश्य पहाडको टुप्पामा अस्ताएका अस्तित्वहरूको भग्नावशेषमा कोरिएका चित्र बनेर तितो वर्तमानमाथि चिच्याएथेँ, कोभिडको पीडाले। नितान्त निस्तो र निस्सार भएको छ यतिबेला म र मजस्तै स्वरोजगारको जीवन। आफू त दीपक खरेलले गाएको गीत गुन्गुनायो, बस्यो–

‘समयले मानिसलाई कहाँ–कहाँ पु-याउँछ  

कहिले हसाउँछ, कहिले रुवाउँछ

आँसु र हाँसोको सङ्गम पनि गराउँछ........’

के गर्नु! पर्यटन बाहेक अर्को व्यवसायमा हात हालिएन। यस्तो होला भन्ने सुइँको पाएको भए त खेती–किसानी गर्थेँ होला। कम्तीमा भोकले मर्नुपर्ने अवस्था त आउँदैनथ्यो। उत्पादनसित जोडिनुपर्दोरहेछ भन्ने चेत त अहिले पो खुल्दै छ।  

निरन्तरतामा विराम लागेको कालरात्रीसिवाय केही होइन भनेर चित्त बुझाउँन म बाध्य छु यतिबेला। पर्यटनको सुवास हराएका बेला पर्यटकको ‘मिराज’ देखिरहेको छु। मलाई थाहा छ– मिराज’ त एउटा मृगतृष्णामात्र हो। म कामना गर्छु–‘साँच्चिकै मरुभूमिमा देखिने प्रतिभासजस्तो नहोस् यो।’ आफ्नै शान्त मनमा ढुङ्गा फ्याँकेर तरङ्ग पैदा गर्दै थिएँ म।  

०००

घुर्मैलो दिन। शान्त वातावरण। खोल्सीमा बगिरहेको चराहरूको चिरबिर र पानीको सङ्गीतबाहेक केही सुनेनौँ हामीले।  

सजिलो थियो हाइकिङ।  

अलि माथि पुगेपछि देखियो, खोल्सा पारिको साँघुरा सुर्काहरूमा बिउको हार मिलाएर छुपुछुपु रोपाइँ गरिरहेका तीन्टी रोपाहार। आलीमा बसिरहेका थिए तीन भाइ लाठे। फरियालाई घुँडासम्म स्याहारेर रोपोसँगै माटोसित प्रीति लाउँदै थिए उनीहरू। हाम्रो मोबाइलले कैद ग-यो, रोपाइँको त्यो दृश्य।  

“राम्ररी लिनूस् है फोटो !” मधुर आवाज आउँछ उताबाट।  

रोपाहारको वाक्यमा बैँसका उन्मेषहरू बगिरहेको प्रतीत हुन्छ, समाहाबाट बगेको पानीजस्तै।

सोध्न मन लागेको थियो– ‘हामी पनि आऊँ कि सघाउन?’  

तर सोधिनँ।

‘हस् हजुर !’ भन्नेबाहेक दोहोरो बात मार्ने आँट गरिएन।

कुलोबाट झरिरहेको पानी। रोपाहारको त्यो जुनेली उद्भास। पानीझैँ छ्ङछङाउँदै एक्कासी झ¥यो अनौठो रहर। झल्झली याद आएथ्यो ऊबेला बिउका प्रत्येक मुठालाई मनले गाँठो पारेर रोपाहारलाई हिलो छ्यापेको। मातै लाग्ने धर्तीको रङमाथि रोपाहारको उमेरको रङले उत्ताउलिएथ्यो मेरो मन।  

कुन्चेप्वाकल नपुगी टुङ्गिदैन उकालो। हतार थिएन। सुस्तरी उकालिँन्छौ हामी।  

“यो पनि शिरीषकै प्रजाति हो।” भीरमा फूलिरहेको शिरीषको बोटलाई देखाउँदै  माधवजीले भने। अरुभन्दा फरक थियो त्यो। धेरै प्रजातिका हुन्छन् शिरीष। चिन्दिनँ म– कुन मिमोसा, कुन जाकारान्ड।  

वनस्पतिका बारेमा राम्रो जानकारी छ उनलाई। स–साना बुट्यान पनि चिन्छन् उनी। भन्दै थिए– त्यो कनिके फूल, यो असारे फूल, त्यो फलानो, यो तिलानो, केके केके...।  

सिस्नोदेखि गाँजासम्म, असुरोदेखि अमलासम्म, गन्देको झारदेखि रानीसिन्कासम्म झुलिरहेका छन् पहराभरि। औँला फिँजाइरहेका छन्, अडिरका पाँचऔँले पातले। नरम काँडेदार दानाका झुप्पा लागेका छन्। हेर्दा ठ्याक्क कोभिड– १९ को आकृतिजस्तै देखिन्छ। कतै कोरोनाको ओखती पनि यही त होइन भनेझैँ लाग्ने!  जडीबुटी त कति हो कति! चिन्न सके पो! बुटीहरूको मिश्रित बास्ना सुँघिरहेका छौँ हामी। छेउछाउमा छन् सहरीयाहरूले गमलामा सजाउने खालका बिरुवाहरू। उता महङ्गोमा किन्नुपर्छ, यता फालाफाल।

बाटोमा भेटिए कोही बाख्रा चराउँदै, कोही घाँस काट्दै गरेका महिला। घरभित्रको काम त छँदै छ; घरबाहिरको काम पनि महिलाले नै धान्नु पर्छ। महिलाकै हुन्छ बढी जिम्मेवारी गाउँ–घरमा। पुरुषप्रधान सोचले ग्रस्त नेपाली समाज न हो।

जङ्गल छिचोलेपछि देखिन थाले नेपाली परम्परागत दुईपाखे घर। तल पिँढी र माथि बार्दली निकालिएका चिटिक्क परेका। यहाँ सानै भए पनि घर छ। घरअगाडि फुलिरहेका छन् मौसमी केरापाते फूल र बाह्रमासे फूलहरू। खेत–बारी छ। मलिलो छ माटो। भर्खरैमात्र भकारी बसाएका छन् खेतमा। घरसँगै बारीमा मकैका बोटहरू हुर्किरहेका छन्। तिहुन–तरकारीको दुःख हुने कुरै भएन। गाई, भैँसी र बाख्रा पालेका छन्। सबै कुरा तरोताजा। खानको दुःख नभएपछि समृद्धि भनेकै यही त हो। पेशा त यही ठिक रहेछ। पर्यटनमा त अलिकति गडबड भयो कि अनिकाल लागिहाल्ने!

घरैपिच्छेको करेसामा फलिरहेका छन् कुनै न कुनै फलफूल। कुनैमा नासपाती फलिरहेका, कुनैमा आरु पाकिरहेका र कुनैमा अङ्गुरका झुप्पा झुन्डिरहेका। देख्दैमा मुखै रसाउने।

बोटमा लटरम्मै आरु फलेको घरमा पुगेर रोकिएँ म।  

आँगनमा उभिइरहेकी थिइन् एउटी अधबैँसे महिला।

“नमस्ते दिदी! आरु देखेर मुखै रसायो मेरो?” ठट्टा भावमा प्रस्तुत भएँ म।

मागेर खाने कायदा मेरो। चोरेर पो खान हुन्न त!

सायद ती दिदीले भन्ठानिन् होला–‘मागेर खान जानेको रहेछ यो फिरन्तेले!’

“खानुस् न टिपेर।” सहृदयताका साथ भनिन्।  

मनकारी हुन्छन् गाउँका मान्छेहरू।  

तीनवटा आरु टिपेँ मैले। एउटा आफूलाई र एक–एकवटा माधव र दीपकजीलाई।  

मभन्दा अगाडि थिए ती दुवै। म थिएँ पछाडि, आफ्नै तालमा रमाउँदै।  

बाँसकोे झाङमा पुगेपछि भेटिए तीन तन्नेरी।  

सोधेँ– “भाइहरू यहीँको हो?”

“हो!” जवाफ आयो।

उनीहरूको नजिक गएँ म।

धमाधम गाँजा भर्दै पो रहेछन् ठिटाहरू त।  

आहा! बास्नै मिठो गाँजाको। आफूले सेवन नगर्ने भए पनि हदै मनपर्छ मलाई यसको सुवास। उनीहरूसँग छोटो सम्वाद गरेँ मैले।  

“कुन्चेप्वाकल पुग्न कति लाग्छ?

“पन्ध्र मिनेट।”

“कुन्चेप्वाकलको अर्थ के होला?”  

“खोई! त्यो त थाहा भएन। एउटाले भन्यो।  

मुखामुख गर्न थाले तीनैजना।

“खासमा हामी पनि यहाँको त कहाँ हौँ र तल बजारबाट आएको।” हाँस्दै भन्यो अर्कोले।

सायद गाँजाको ‘ट्रिप’ लिनकै लागि आएका थिए होलान् उनीहरू।  

हरिया कल्पवृक्षका सुनौला मुनाजस्तै लाग्थे कुन्चेप्वाकलको खुसीका सौन्दर्य बनेर खुलिरहेका ती नानीहरू देख्दा। कसैको हातमा फूलको थुँगा। कसैको हातमा बेलुन। कसैको हातमा थियो माटोको डल्ला। भरपुर आनन्द लिइरहेझैँ लाग्थे बन्दाबन्दीको।  

कतिले गाँजा खान्छन् भन्ने कुनै अभिलेख छैन नेपालमा। तर गाँजाका अम्मलीहरू यसरी नै भेटिन्छन् ठाउँठाउँमा। प्रतिबन्धित भएपछि यसको ओसारपसार र उपभोग लुकीछिपी हुने नै भयो। बिक्रीमा घोषित प्रतिबन्ध भए पनि सहरमा किनबेच रोकिएको छैन। प्रकृतिले उपहार दिएको कुरालाई त उपभोगमा किन प्रतिबन्ध लगाउनु! विष होइन बुटी हो–गाँजा। फेरि उच्च कोटीका गाँजा पाइन्छ नेपालमा। वस्तुभाउलाई पनि बेलाबखत ओखतीका रूपमा गाँजा खुवाउने गरिन्छ। भगवान् शिवले उपभोग भरेको कुरा मान्छेले गर्न नहुने हो र?  

नेपाललाई गाँजामाथि प्रतिबन्ध लगाउन दबाब दिएको संयुक्त राष्ट्रसंघले गाँजालाई वैधानिकता दिइसक्यो। नेपालमा भने गाँजा मूलका जुनसुकै बोट, पात, फूलका साथै बोटबाट आउने चोप, खोटोलाई समेत लागूऔषध किटान गरेको छ सरकारले। अथर्व वेदअनुसार पाँच आधारभूत वनस्पतिमा पर्ने गाँजाजस्तो बुटीलाई पनि नेपालको ऐनमा लागू औषधकै कोटीमा राखिनु विडम्बना नै हो। यस्तो‘नि हुन्छ र?  

सत्तरीको दशकतिर वसन्तपुर र झोछँेतिर ‘यहाँ गाँजा र चरेस पाइन्छ ’ भन्ने साइनबोर्ड देखिन्थे। गाँजाको खुलमखुला बेचबिखन हुन्थ्यो, पान–सुपारी जस्तै। गाँजाको धुवाँमा मन–मग्न हुनकै लागि पश्चिमेली तन्नेरी–तरुनीहरू नेपाल आउँथे, पर्यटक बनेर। त्यो बेला मौलाएको थियो पर्यटन। उनीहरूले नै ल्याएका थिए– नेपालमा जिन्स पाइन्ट, गितार र पप सङ्गीत। मर्सिडिज मिनीबसहरू खुबै चले काठमाडौँका सडकमा। आखिर बेफाइदा त के नै थियो र! कम्तीमा यसरी लुकेर खानु त पर्दैनथ्यो! भुट्भुटिएथेँ म।  

०००

पुग्याँै बलौटे पहाडले च्यापेको बस्तीको चोकमा।  

बलौटे ढिस्को खारेर निकालेको बालुवा धमाधाम पखाल्दै थिए केही श्रमिक। कोरोनाको यस्तो महामारीमा पनि काम पाएकै छन्। प्रकृतिले नै दिएको छ, बालुवाको पहाड। खोला धाउनै नपर्ने। यही बालुवा पखालिइएर आइपुग्छ काठमाडौँमा र उठ्छ पहाडजत्रो घर।  

पहाड खा-यो। बालुवा निकाल्यो अनि कित्ताकाट ग¥यो। घडेरी पनि बिक्री भइहाल्यो।  क्या मज्जा! मौका पाएपछि गर्छन् नेपालीहरूले!

“कुन्चेप्वाकल हो यो ठाउँ?” दीपकले सोधे।

“हो।” एक युवाको जवाफ।

पोहोर साल पहाड घर (नुवाकोट) जाँदा यही ठाउँ भएर गएका रहेछौँ। मैले त बिर्सि पो सकेछु। माधवजीले भनेपछि पो थाहा पाएँ मैले।  

प्रवेश ग¥यौँ हामी कुन्चेप्वाकलको बस्तीभित्र।

कुन्चेप्वाकल टोल सुधार समितिले जारी गरेको सूचना पढ्यौँ हामीले।  

लेखिएको थियो– ‘.............कोरोना कानून हो, जसले उल्लङ्घन गर्छ उसले मृत्युदण्ड पाउँछ।’

स्वास्थ्यप्रति सचेत रहेछन् कुन्चेप्वाकलबासी। सचेतना फैलाउने कस्तो राम्रो कायदा!

सचेत हुनु राम्रो कुरा हो। कोरोनाको गाम्भिर्यलाई ध्यानमा राखेर अपरितिचहरू आएर भिडभाड नगरुन् भन्ने अभिप्राय थियो उनीहरूको।  

त्यसैले त उनीहरू मातृभाषामा सुस्तरी जप्दै थिए कारोनाको नाम। सायद भनेका होलान्– “कतै कोरोना त ल्याएनन् यिनीहरूले!”

“हामी लकडाउनमै बसेर आएका हौँ भाइ !” आशय बुझेपछि जवाफ फर्काएथेँ मैले।

कुरा बुझेछ भन्ठानेर होला, खित्का छाडेका थिए ।

०००

वास्तवमा जति यथार्थ, त्यत्ति नै भ्रम पनि हो– कोरोना ।  

‘जडीबुटीको भण्डारमा बस्नेहरू यसरी डराउनु पथ्यो र? आफैलाई सोधेथेँ मैले।  

रुघाखोकीले पनि वर्षेनी उल्लेख्य सङ्ख्यामा मान्छेहरू मर्छन्। हामी आत्तिएका मात्र हौँ। हामी जडीबुटी खाएरै हुर्केका हौँ। बाटुलोपाते, चिरैँतो र गुर्जोजस्ता औषधिजन्य वनस्पति हाम्रै वरिपरि छन्। रोग प्रतिरोधात्मक क्षमता बढाउन सके हाम्रो शरीरमा प्रवेश गर्ने आँट गर्न सक्दैन कोरोनाले। कति दिन डराएर बस्ने कोरोनासित? आगामी दिन कोरोनासँगै बिताउनुपर्छ हामीले। नत्र कसरी अगाडि बढ्ला र जीवन। आत्मलाप गर्दै थिएँ म।

०००

लुङ्दर टाँगिएका थिए कुन्चेप्वाकलका घरहरूमा। लुङ्दर त तामाङ बस्तीको चिनारी हो। मनले भन्दै थियो– कतै यो तामाङ बस्ती त होइन!

ढुङ्गा र माटोले बनेको प्राचीन शैलीका घरहरू देख्न मुस्किलै पर्दोरहेछ। भएका पनि लगभग खण्डहरमा परिणत भैसकेका छन्। थपिँदै छन्, एकपछि अर्को कङ्क्रिटका घरहरू। हामीले आपसमा कुरा ग¥यौँ– “घर नयाँ बनाए पनि शैली पुरानै भइदिए कति सुन्दर देखिन्थ्यो बस्ती।”  

लगभग १,५५० मिटरको उचाइमा छ–कुन्चेप्वाकल। माथि देखिन्छ– आकाशको नीलिमालाई घ्वाप्लाक्कै छोपेर शिवपुरी डाँडोमा टाँगिएको कालो मेघमाला। काठमाडौँ वरिपरि उभिएका सारा पहाडहरूमा आँखा पु¥याउँन खोज्छु म। बायाँतर्फ फर्कंदा नजर ठोक्किन्छ हरियाली ओढीबसेको नागार्जुनमा। तल हेर्दा देखिन्छ, लमतन्न पसारिएको राजधानीको अव्यवस्थित बस्ती। आकाशले पनि ओढेको छ–घनघटाको श्वेत पछ्यौरा।  

दायाँबायाँ चारैतिर बस्ती नै बस्ती। धेरै पर देखिन्छ कठेरी गाउँ। त्योभन्दा नजिक देखिन्छ झोर गाउँ। वरिपरि छन्– सल्ले गाउँ, तामाङ गाउँ, सापकोटा गाउँ, लामिछाने गाउँ, ढकाल गाउँ, देवकोटा गाउँ, फुयाँल गाउँँँ... केके केके...।  

सिमलको भुवाजस्तो भुईंकुहिरोले काउकुती लगाउन आइरहेको छ कुन्चेप्वाकलमा। त्यहीबेला आँखाअगाडि आउँछ–असारकै उही रकमझमक। कुहिरोकोे गति र कुन्चेप्वाकलको उचाइले घचघच्याउँछ र भावुक बनाउँछ  मलाई। मन उडेर पुग्छ  कल्पनाको खेतका आलीआलीमा।

कुन्चेप्वाकलको अर्थ बुझ्ने कोशिस ग¥यौँ हामीले।  

गाउँमा भेटिए– स्थानीय समाजसेवी मनोज लामा। उनीसँग सँवाद भयो हाम्रो।

कतिले गाँजा खान्छन् भन्ने कुनै अभिलेख छैन नेपालमा। तर गाँजाका अम्मलीहरू यसरी नै भेटिन्छन् ठाउँठाउँमा। प्रतिबन्धित भएपछि यसको ओसारपसार र उपभोग लुकीछिपी हुने नै भयो। बिक्रीमा घोषित प्रतिबन्ध भए पनि सहरमा किनबेच रोकिएको छैन। प्रकृतिले उपहार दिएको कुरालाई त उपभोगमा किन प्रतिबन्ध लगाउनु!

“यो तामाङ बस्ती हो। मल्ल कालसम्म यहाँ नेवार बस्ती थियो रे। तर कसरी विस्तापित भयो थाहा छैन। अहिले त एक–दुई घरमात्र बाँकी छन्, शिलाकार थरका नेवार। नेवारहरूले खल(प्वाकल)मा च्यूरा कुट्थे, कोदो फल्थे, धान कुट्थे रे। ‘कुटिप्वाकल’ भन्दाभन्दै ‘कुन्चेप्वाकल’ भयो होला।” आफ्नै खालको अनुमान रहेछ उनको।  

आदिमकालदेखिको मूल आदिवासी जाति मध्येको एक हो– नेवार। किन छाडे  होलान् त कुन्चेप्वाकलका नेवारहरूले आफ्नो ठौर ठेगान? स्वाभाविक प्रश्न उब्जिरहेको थियो मेरो मनमा।  

त्यसो त लिच्छवि र मल्लकालमा धेरै नेवारकालीगढहरू उपत्यका बाहिरिएका थिए। अरनिको(बलबाहु शाक्य)जस्ता विख्यात कलाकार तिब्बतसम्म पुगेका थिए कला र शिल्पकै कारण। उनीहरू जहाँ गए, स–सम्मान त्यहीँ बसे। पुस्ताहरूले पनि पुख्र्यौली बिँडो थाम्दै गए। बस्ती विस्तापित हुनुको अन्य कारण व्यवसाय विस्तारका क्रममा क्रमशः बाहिरिएकाले पनि हुन सक्छ। महामारीका कारणले पनि बस्ती नै सखाप भएको हुनसक्छ। थुप्रै नेवारहरूलाई तामाकोसीपारि पु¥याइएका थिए, राजा रणबहादुर शाहका पालामा बिफरको महामारी आउँदा। विस्तापित हुनुको अर्को कारण सांस्कृतिक जटिलता पनि हुनसक्छ। निम्न आय भएकाहरूका लागि नेवार समुदायको गुठी परम्परा अहिले त्यति सजिलो कहाँ छ र! अलग्गिएर बस्न पनि नसक्ने र भोजभतेर धान्न पनि नसक्ने अवस्था अझै विद्यमान छ, नेवार समुदायमा। उतिखेरको अवस्था झन् कस्तो थियो होला! सामाजिक विधि–व्यवहार चलाउन नसक्ने र कडा अनुशासनबाट उन्मुक्ति खोजेकाहरूले पनि थातथलो छाड्दै गए होलान्। एवम् रितले बस्ती रित्तियो होला। यस्तैयस्तै सोच्दै थिएँ म, कुन्चेप्वाकलमा टहलिँदै गर्दा।  

मनोजले भने– “ऊ त्यहाँ गुम्बा थियो। बहत्तर सालको भूईंचालेले भत्कायो। बौद्ध र स्वयम्भुमा भएकाजस्तै मूर्तिहरू थिए।”

उनले गुम्बातर्फ डो¥याए हामीलाई। बाटोमा खेलिरहेका थिए– चार–पाँच जना भविष्यका कार्णधार।  

“नमस्ते !”  

अभिवादन गर्छन् उनीहरू हामीलाई देख्दा।

“स्कुल जानु पर्दैन?”  

अभिवादन फर्काउँदै सोध्छु म।

“बिदा छ आजकाल।”  

एकै स्वरमा जवाफ फर्काउँछन् उनीहरू।  

कति हिस्सी परेका! हरिया कल्पवृक्षका सुनौला मुनाजस्तै लाग्थे कुन्चेप्वाकलको खुसीका सौन्दर्य बनेर खुलिरहेका ती नानीहरू देख्दा। कसैको हातमा फूलको थुँगा। कसैको हातमा बेलुन। कसैको हातमा थियो माटोको डल्ला। भरपुर आनन्द लिइरहेझैँ लाग्थे बन्दाबन्दीको। स्कुल जानु नपररै होला खुसी देखिन्थे ती। बच्चाहरू हो, खुसी त हुने नै भए। पढ्नु एउटा कुरा हो, पढेको सँझनु÷बिर्सनु अर्को कुरा। माटोमा खेलिरहेका थिए उनीहरू। कम्तीमा ‘डिजिटल एडिक्सन’ त छैन सहरका बालबािलकामा जस्तो। खुसी लाग्यो।  

पुग्यौँ गुम्बा।

“तासी छ्योलिङ गुम्बा।” नाम बताए मनोजले।  

खण्डहरलाई वनमारा, सिस्नु, उन्यू र असारेपूmलहरूको झाडीले ढाकको छ ढपक्कै। कुनापट्टि एक पाखा मात्र बाँकी छ गारो। दुई थान दलिनको टेकोमा घामपानीले मक्किसकेका चार थान दलिन अडिएका छन्। खण्डहरलाई देखेर मक्किएका दलिनझैँ मक्कियो मेरो मन।

बौद्ध परम्पराअनुसार पूजा–पाठ गर्ने, ध्यान गर्ने, र लामा तथा आनीहरूलाई शिक्षादिक्षा, ठाउँ हो– गुम्बा। गुम्बा भइदिएको भए देखिन्थे होलान्– गेरुवा वस्त्रधारी भिक्षु÷भिक्षुणीहरू। बजिरहेको हुन्थ्यो होला–झ्याली, झ्याम्टा, ढ्याङ्ग्रो, घ्यालिङ, लाभा र घण्टी। सुन्न पाइन्थ्योे होला– बुद्धप्रति काव्यात्मक श्रद्धाले भरिपूर्ण अभिव्यक्तिहरू। गुञ्जिरहेको हुन्थ्यो होला–बौद्धमन्त्र। कति आनन्दित हुन्थे होला यहाँका मान्छेदेखि रूख, विरूवा र पन्छीसम्म। गुम्बाको अभावमा नितान्त शून्य छ कुन्चेप्वाकल। मैले मनमनै उचरण गरेथेँे– ‘ॐ मणि पद्मे हुँ’।

“यो सबै गुम्बाकै जग्गा हो। अब छिट्टै नयाँ गुम्बा बन्दै छ।” जानकारी गराए मनोजले।  

खुसी लाग्यो उनको कुरा सुनेर।

खण्डहरसँगैको ढिस्कोमा छ– आकर्षक आयतकार चैत्य। ऊबेलाका नेवारहरूको निशानी।

चैत्यकै प्रतिविम्ब छ, चैत्यको अगाडि। चारै दिशामा गाडिएका छन् अग्लाअग्ला बाँस र शिखाराबाट टाँगिएका छन् लुङ्दर। हेर्दा बौद्धनाथ स्तुपकै सुक्ष्म रूपझैँ लाग्ने। चार स्टेप छन् चैत्यको। सबैभन्दा तल नेवारी लिपी कुँदिएको शिला छ। ‘ॐ मणि पद्मे हुँ’ लेखिएको छ, त्यसैको अर्कोपट्टिको प्रस्तरमा। चारैपट्टि विभिन्न देवीदेवताका मूर्तिहरू राखिएका छन्, त्यसपछिका प्रत्येक स्टेपमा। शान्तिको मौन सङ्गीतसँगै चल्छ मेरो मुटु।

मनोजले चैत्यमात्र भने तर नाम भनेनन्। चैत्यको नाम के हो, अनविज्ञ छन् सबै। माने भन्दारहेछन् उनीहरू यसलाई।  

“तर मरेको मान्छेको सम्झनामा बनाइने खालको माने भने होइन यो।” मनोज भन्छन्।  

बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक हो– चैत्य। सुनेको थिएँ– चैत्य चार किसिमका हुन्छन्– शारीरिक चैत्य, परिभोग चैत्य, उद्देश्य चैत्य (निमित्त चैत्य) र धर्म चैत्य। शिलालेख पढ्न नसक्दा यो कुन उपादेयताका लागि बनेको थियो, थाहा पाउन सकिएन। स्थानीयलाई त थाहा नभएको कुरा हामीलाई कसरी हुनु!

उनले थपे– “ऊः त्यहाँ तल चिहान छ। मरेका मान्छेलाई दाहसंस्कार गर्न लैजाँदा यो माने परिक्रमा गराउने चलन छ।  

चैत्य अर्थात् एउटा मूर्त सम्पदा। मानव सभ्यताको परिचायक। घामपानीले खाइसकेको छ, चैत्यको सेतो रङलाई। काइ, लेउ र झ्याउ मौलाएको छ। मलाई आभास हुन्छ– सकिनसकी कुन्चेप्वकालको जीवन सुमसुम्याइरहेको छ चैत्यले। यतिबेला चैत्यले उनै नेवार शिल्पकारहरू खोजिरहेका छन्, जसले यो बनाएर गए।  

म सोच्छु– ‘स्थानीयहरूले चासो दिने हो भने एउटा नवीन पर्यटकीय गन्तव्यकै रूपमा विकास गर्न सकिने रहेछ। पर्यटनका विद्यार्थीका लागि त खोजको विषय हुनसक्छ।’

चैत्य अवलोकन गर्दै गर्दा आइपुगे अर्का एक स्थानीय। मनोजले ‘तासी दिलेक’ साटासाट गराइदिए हामीबीचमा। उनी थिए– मिलन लामा। तासी छ्योलिङ गुम्बाका (पुरोहित) लामा।  

उनीसँग सम्वाद भयो हाम्रो।

“तपाईंको खास थर?”  

“खासमा हामी ल्हो हौँ। नागरिकतामा चाहिँ लामा लेखेको छु। पुरेत्याइँ हाम्रो पुख्र्यौली पेशा।”  

“लामा बन्नको लागि पढ्नु पर्छ?”

“पर्छ। मैले यही घ्याङमा पढेको।”  

“तपाईहरू कहाँबाट आउनु भएको।”

“तिब्बतबाट। सैँतिसौँ राजा ठिसोङ देचेनका सन्तान यहाँ आइपुगेका रहेछन्। उनकै सन्तान हौँ हामी। अहिले सत्र पुस्ता भइसकेको छ।”

आदिमकालदेखिको मूल आदिवासी जाति मध्येको एक हो– नेवार। किन छाडे  होलान् त कुन्चेप्वाकलका नेवारहरूले आफ्नो ठौर ठेगान? स्वाभाविक प्रश्न उब्जिरहेको थियो मेरो मनमा।  

ठूलै विरासत बोकेको कुलको मान्छे पो रहेछन् उनी त।  

“तारेभीरतिरको तामाङ पनि तपाईंहरूकै सन्तान हो?”

“हो। उनीहरू पनि यहीँबाट गएका हुन्। मकावपुरका पनि पहिले यहीँकै हुन्।”

“तपाईंको पुर्खाहरू सुरुमै यहीँ आएका थिए कि अन्त कतै?”

“पहिला त उहाँहरू नुवाकोटको झ्योनान्भन्दा माथि न्हार्काङ भन्ने ठाउँमा आएर बस्नुभएको रहेछ। त्यसपछि यहाँ आउनु भएको रे।”  

कति जाती मिलन लामा! मिलनशील थिए उनी! उनले कुन्चेप्वाकलको चिहानडाँडा र सतीडाँडा पनि देखाए हामीलाई। ढुङ्गो खोज्दा देउता मिलेजस्तै भयो। बौद्ध परम्परा र संस्कृतिका बारेमा पनि थुपै्र कुराको जानकारी गराए।  

संसारकै छानाबाट बार्दलीतिर झरेका तिब्बतको त्यो राजपरिवारका पछिल्लो पुस्ता उनी। एउटा अनौठो संयोग थियो, ठिसोङको पुस्तासँग भेट गर्न पाउनु। उनीसँगको त्यो छोटो र मिठो पललाई मोबाइलको मेमोरीमा जोगाउन खोज्यौँ हामीले। तर उनी परे ‘लामा’। त्यतिबेला लामाको पहिरनमा थिएनन्। बिना पोशाकमा हामीसँग तस्बिर लिन अनिच्छा देखाए। बरु हाम्रो तस्बिरचाहिँ खिचिदिए उनले।  

०००

पृथक पहिचान छ कुन्चेप्वाकलको। पृथक परिभाषामै बाँचिरहेको छ कुन्चेप्वाकल।  

हेर्दै नहेर्नु एउटा कुरा। देख्न नसक्नु अर्को कुरा। तर गहिरिएर हे-यो भने प्रकृति, संस्कृति, इतिहास र परम्पराका सवै पाटाहरू छलङ्गै देखिँदोरहेछ कुन्चेप्वाकलमा।

प्रकाशित: १ श्रावण २०७७ १३:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App