१९ श्रावण २०७७ सोमबार
ब्लग

‘हे भगवान्, अझै कति दुःख दिन्छौ !’

पर्यटन मजदूरको व्यथा

पर्वतारोही मौले तामाङ

दैनिक ज्यालादारी काम गरेर गुजारा चलाउनुपर्ने मजदूरको जीवनमा सुखको घाम कहिले लाग्ला? दिनरात पसीना चुहाएर सुखद भविष्यको सपना देख्दैमा उमेर ढल्किन्छ। अनि सन्तानका आँखामा आफ्नो सपना फक्रिएको कल्पना गर्दागर्दै जीवन सकिन्छ। यसरी मजदूरको जीवन सधैं संघर्षमै बित्छ।  

आज कोभिड–१९ को महामारीले श्रमजीवी वर्ग ठूलो मारमा परेको छ। न काम छ न माम। त्यस्तै समस्यामा परेका एक मजदूर हुन्–मौले तामाङ। साहसिक पर्वतारोही र पदयात्रा गाइडको चिनारी बनाएका उनी अहिले बडो तनावमा छन्। पर्यटकीय सिजनको मुखैमा महामारी फैलेकाले उनको काम रोकियो। आम्दानी ठप्प भयो। आम मजदूरझैं उनी पनि समस्याको तलाउमा चुर्लुम्म डुबे।    

डेरामा परिवारसहित बस्दै आएका उनलाई दालभात कसरी खाने भन्ने चिन्ताले गाँजेको छ। भरियाबाट संघर्ष गर्दै पर्वतीय पर्यटनमा स्थापित बनेका उनको जीवनमा फेरि दुःखको पहाड ठिङ्ङ उभिएको छ। त्यसैले उनी भगवान्सँग बरोबर सोध्छन्, ‘हे भगवान्, अझै कति दुःख दिन्छौ!’

एक जनाको कमाइले ७ जनाको परिवार पाल्दै आएका पर्वतारोही मौले तामाङ छोराछोरीको भविष्य सम्झेर कहालिन्छन्। डेरामा बसेर जिन्दगी धान्न महिनाको ५० हजार रुपैयाँ खर्च लाग्छ। आफ्नो भन्ने घर छैन, जग्गा छैन, कसरी छोराछोरीको भविष्य बनाउने? यही प्रश्न हरपल घुमिरहन्छ उनको मनमा।  

मुलुक लकडाउनमा जेलिएको सय दिन नाघिसक्यो। उनी एक्लैले कमाएर सिंगो परिवार पाल्नुपर्छ। उनी काठमाडौंको चमतीमा श्रीमती, एक छोरी, दुई छोरा र आमाबुबासँगै बस्दै आएका छन्। छोराछोरी पढ्दै छन्। घरभाडा, खाना र पढाइ खर्चमा मासिक ५० हजार रुपैयाँ खर्च भैहाल्छ।  

विदेशीसँग पर्वतारोही मौले तामाङ।

भएको अलिकति बचत र सरसापटले जसोतसो खर्च धानिरहेका छन्। भोलिका कठिन दिनहरूको कल्पना गर्दा आङै सिरिङ्ङ हुन्छ तर उनले हरेश खाएका छैनन्। आखिर दुःखको तलाउबाट पौडेर किनारामा पुग्नैपर्छ।  

अफ्ठेरोमा परेका बेला साथी गोपालले उनलाई गुन लगाए। उनले महिना दिनका लागि काम खोजिदिए। त्यसैले अचेल उनी ग्लोबल सिड्स कम्पनीमा काम गर्छन्। त्यहाँ बिहान ९ देखि साँझ ५ बजेसम्म तरकारीको बिउका प्याकेटमा तिथिमिति र तौल झल्कने छाप लगाउँछन्।  

उनले महिना दिन काम गरेको ज्याला १५ हजार रुपैयाँ पाउँछन्। आम्दानी शून्यमा झरेका बेला पाइएको यही कामले पनि ठूलो राहत मिलेको छ, कम्तीमा एक महिनाको कोठाभाडा त तिर्न पुग्छ नि! यही असार २८ गते महिना दिन पूरा हुँदैछ। त्यसपछि उनी फेरि बेरोजगार बन्नेछन्। 

ग्लोबल सिड्स कम्पनीका प्याकेटमा छाप हान्दै पर्वतारोही मौले तामाङ । 

कुनै पनि काम सानो वा ठूलो हुँदैन। उनी जुनसुकै काम गर्न तयार छन्। आखिर भोकै बाँच्न सकिँदैन। त्यसमाथि उनको काँधमा परिवारको ठूलो जिम्मेवारी पनि त छ।

विदेशमा विधिको शासन छ। त्यहाँका सरकारले आफ्ना नागरिकलाई राहत दिइरहेका छन्। नेपाल सरकारले पनि बेरोजगार बनेका मजदूरका लागि राहत प्याकेज ल्याउनुपर्ने उनको माग छ।  

‘हामी मजदूर ठूलो मर्कामा परेका छौं’, ४५ वर्षे तामाङ भन्छन्, ‘यस्तो दुःखका बेला नहेर्ने सरकार हामीलाई किन चाहिन्छ र?’

ठीकै भने उनले, मुलुकमा महामारी नआएका बेला उनीहरू आफैंले जीवन धान्दै आएका थिए। सरकारको कुनै आशा थिएन। त्यसैले सरकारले मौलेहरूको आवाज सुन्नैपर्छ।  

कोरोना नफैलेको भए यतिबेला उनी भारतीय तीर्थालुलाई तिब्बतमा मानसरोवर घुमाइरहेका हुन्थे। उनी एक्सप्लोर हिमालय कम्पनीमार्फत पर्यटक घुमाउँथे।    

मौले तिनै साहसिक युवा हुन् जसले सन् १९९६ मै धौलागिरि(८,१६७ मि.) हिमाल आरोहण गरेका थिए। उनीसँग विदेशी समूहलाई ४८ पटक आइल्याण्ड पिक (६,१८९मिटर), ८ पटक मेरा पिक (६,४७६ मिटर) र ३ पटक लोबुचे पिक(६,११९ मिटर) चढाएको अनुभव छ। त्यति मात्र होइन, उनले ६ हजार मिटरका अरू थुप्रै हिमाल चढिसके।   

 उनी मुलुकभित्रका पदमार्गमा विदेशीलाई डुलाउँछन्। सिजनमा पर्वतारोहण समेत गराउँछन्।

मौले तिनै साहसिक युवा हुन् जसले सन् १९९६ मै धौलागिरि हिमाल आरोहण गरेका थिए। उनीसँग विदेशी समूहलाई ४८ पटक आइल्याण्ड पिक, ८ पटक मेरा पिक र ३ पटक लोबुचे पिक चढाएको अनुभव छ।    

सोलुखुम्बुको सोताङ गाउँपालिका–४ को गरीब परिवारमा जन्मेहुर्केका तामाङको जीवन बाल्यकालदेखि नै दुःखमै बित्यो। उनले १२ वर्षको उमेरदेखि नै भरिया बनेर काम गरे। तिनताका दोलखाको जिरीदेखि साहूको भारी बोकेर नाम्चे पुग्न १ हप्ता लाग्थ्यो। यसरी ६ वर्ष भारी खेपेपछि पैसा कमाउन भनेर १८ वर्षको उमेरमा उनी काठमाडौं झरे।  

सपनाको सहर काठमाडौंमा टिक्न सजिलो छैन। ‘सुरुका दिनमा ६० किलोसम्मको भारी बोकेर हिमालतिर पदयात्रामा गइयो’, उनी सम्झन्छन्, ‘त्यो बेला दिनको १२५ रुपैयाँ ज्याला पाइन्थ्यो। त्यसबाटै दालभात समेत खानुपथ्र्यो।’  

भरिया, किचन ब्वाई, कुक हुँदै गाइड बनेका हुन् उनी। गाइड बनेपछि सजिलो भयो। पदयात्रा र पर्वतारोहणको सिजनमा काम गरेर कमाएको पैसाले अफसिजनमा पनि धानिनुपर्ने पर्यटन मजदूरहरूको बाध्यता हुन्छ। ७ महिना काम गरेर वर्ष दिन पालिनुपर्छ।    

नेपालमा मात्र होइन, सबैतिर महामारी छ। संसारकै अर्थतन्त्र लथालिङ्ग छ। त्यसले अबका दुईचार वर्ष पर्यटनले गति लिने सम्भावना छैन। आफ्नो भन्ने घर छैन, जग्गा छैन। कसरी छोराछोरीको भविष्य बनाउने? यही प्रश्न हरपल घुमिरहन्छ मनमा। जन्मथलोमा फर्कने वतावरण पनि त छैन। त्यसैले भविष्य सम्झँदा आँखा रसाउँछन्।

जीवनमा नसोचेको भोग्नु प-यो। मान्छेले समस्याबाट भाग्न मिल्दैन। हामी आशावादी बन्नैपर्छ। आफ्नो काम गर्न छाड्नु हुन्न। उनी पनि आफूले आफैंलाई सम्झाउँछन्, ‘एक दिन त सुखको घाम लाग्ला नि!’

पर्वतारोही मौले तामाङ।

प्रकाशित: २५ असार २०७७ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App