२८ श्रावण २०७७ बुधबार
ब्लग

अर्को भेनेजुयला नबनोस् नेपाल

फाइल तस्बिर/एजेन्सी

एक लिटर दुधको मूल्य करिव १६ हजार ६ सय २४ बोलीभार (भेनेजुयालियन मुद्रा)सम्म पर्छ। ५ सय ग्राम चिकेनको ४० हजार १ सय ४१, एक दर्जन अण्डाको  ४० हजार ६ सय ७० बोलीभारको हाराहारी  तिर्नुपर्छ।  यही पाउन पनि मुस्किल पर्छ।

भेनेजुयलियन मुद्राको अवमुल्यन यति छ कि २९ जुनको दर अनुसार  १ अमेरिकी डलर बराबर २ लाख २ हजार ७५ बोलिभार हुन्छ। ताजा मुद्रास्फिर्ती दर पछिल्लो वर्षहरुमा १० हजार प्रतिशतसम्म बढेको विश्व बैकको तथ्यांकमा उल्लेख छ।

अधिकांश भेनेजुयलियनको औषत मासिक आम्दानीले केहि दिनका लागि केहि प्याकेट दुध र केहि किलो चामल किन्न पनि पुग्दैन। औसत मासिक आम्दानी ६ देखि ८ अमेरीकी डलर छ। प्रति दश जनामा ९ जना गरिबीको रेखा मुनि छन्।

देशमा भएका करिब २९ मिलियन जनसंख्यामा ४७ प्रतिशत बेरोजगर छन्। विश्व खाद्य कार्यक्रमका अनुसार करिब १३ प्रतिशत बालबालिका उच्च रुपमा कुपोषणको शिकार भएका छन्। जसका कारण रोग र भोकले बालमृत्युदर बढ्दो छ। ठूलो युवा जमात पनि भोकमरीको चरम शिकार भएको छ।  

यो दयनिय र दर्दानक अवस्थाबाट मुक्त हुन दैनिक हजारौ भेनेजुयालियन रोजगार, खाद्यान्न, औषधी र सुरक्षित भविष्यको खोजीमा छिमेकी देशहरुमा शरणार्थी बन्न जाने गरेका छन्। तर बिडम्बना छिमेकी कोलम्बियन सीमा रक्षाकको चर्कौ यातना र हिंसा सहेर उनीहरुकै देशमा आश्रय लिन जानुपर्ने धेरै भेनेजुयालियनका लागि नियती नै बनि सकेको छ।  

अब आफै कल्पना गर्नुस् शरण माग्न गएकै देशका सिपाहीको चरम यातना सहेर उनीहरुकै देशमा शरणार्थी बन्नु पर्दाको पीडा कति बल्झंदो हो?  त्यस्तै इक्वेडर, चिली, पेरु र पानामामा शरण खोज्दै जानेको संख्या पनि उत्तिकै छ। सन २०१४ देखि हालसम्म करिब ५ मिलियन भेनेजुयालीले चरम आन्तरिक अस्थिरतासंगै  गांस, बास, कपासको खोजीमा  देश छोडि सकेका छन्।

छिमेकी कोलम्बिया र अमेरीकाको नाकाबन्दी पटक पटक ब्यहोरेकोे छ यो देशले। कारण सीमा बिबाद र राजनीतीक मतभेद। भेनेजुयलामा अहिले पनि कम्युनिष्ट नामधारी पार्टीकै सरकार छ। अन्य दक्षिण अमेरीकी देशलाई पनि चिढाएको छ। देशको अर्थतन्त्र अब दशकौ दशक उठ्न नसक्ने गरी तहस नहस भएको छ।

राजनीतीक अस्थिरता झन चुलिंदो छ । आन्दोलनमा मात्र करिब ६ हजार जनाले पछिल्लो ३ बर्षको अबधीमा ज्यान गुमाइसकेका छन्। राष्ट्रवाद र देशभक्तिको नारा बेचेपनि अमेरीका, चीन र रुसको क्रिडास्थल बनेको छ देश। अर्थात शक्ति राष्ट्रहरुले शक्ति संघर्ष गर्न दुरुपयोग गरि राखेका छन्।  

सन २०१९ मा निकोलास मादुरो दोश्रो पटक राष्ट्रपति भएपछि राजनीतीक दन्द्ध झन चुलिंदो छ। छिमेकी देश र अमेरीकाले समेत मादुरोको जितलाई मान्यता दिएका छैनन्। उनीमाथि ब्यापक धाधली गरेर चुनाव जितेको आरोप छ। आन्तरिक संघर्ष गहिरिंदो छ। शक्ति राष्ट्ररुको चासो बढदो छ।  देशले यो बिकराल अवस्थाबाट छिटै पार पाउने सक्ने कुनै संकेत देखिएको छैन। भेनेजुयलाको अहिलेको बास्तविकता यही हो।  

भेनेजुयलालाई यो दर्दनाक अवस्थामा आउन धेरै समय लागेन करिव ५ बर्ष नै काफी भयो। अनि बर्तमान जस्तो थिएन यो देशको बिगत। बिश्वकै कच्चा तेलको खानी भएको ठूलो देश हो भेनेजुयला। सन १९७० सम्म प्रतिदिन १Þ.५ देखि ३.५ मिलियान ब्यारेलसम्म तेल उत्पादन गर्ने यो देशले सन १९२२ मा तेलको खानी भएको पत्ता लगाएको थियो।  

सन १९२८ सम्म बिश्वकै दोसो ठूलो तेल निर्यात गर्ने भेनेजुयला सन १९८० सम्म त दक्षिण अमेरिकाकै धनी देश थियो। ८० को दशकबाट कच्च तेलको उत्पादन र मुल्यमा भारी गिरावाट आए पनि हयुगो चाभेज ले ल्याएको सुधारवादी नीतीले देशमा  केहि परिवर्तन भने आएको थियो।  

कसरी यो अवस्थामा आयो त भेनेजुयला ? हो हाम्रो लागि महत्वपुर्ण बिषय यहि नै हो। सन १९९८  देखि सन २०१३ सम्म १५ वर्षसम्म कम्युनिष्ट नेता हयुगो चाभेजले एकछत्र भेनेजुयलामा शासन गरे। उनको शासनकालमा धेरै सामाजिक सुरक्षाका कार्यक्रमदेखि शुसशन कायम गराउने सकरात्मक काम नभएका पनि होइनन्। तर सामाजिक सुरक्षाको नाममा राज्यको ढुकुटी रित्याएको आरोप पनि उनीमाथि लाग्ने गरेको छ।  कच्चा तेल उत्पादनमा भारी गिरावाट आएपछि तेलमा अडेको भेनेजुयलाको अर्थतन्त्रमा सन २०१० मा नराम्रो संग धक्का लाग्यो। चाभेज ले “इकोनमिक वार” घोषणा गर्दै सुधारको प्रयास पनि गरे। यति बेला सम्म पनि संकट र समस्यासंग जुध्दै  आशातित रुपमै अघि बढेको थियो भेनेजुयला। जब सन २०१३ मा ५८ वर्षिया चाभेजको निधन भयो त्यसपछि उठ्न नसक्ने गरी आर्थिक र राजनीतीक संकटमा फस्न पुग्यो देश। चाभेजको निधन र मादुरोको उदय नै बर्तमान भेनेजुयलाको लागि  अभिषाप सावित भएको छ।  

शासन सत्ता मादुरोको हातमा पुगेको केहि समयपछि नै उनको शासनशैलीको बिरोध सुरु हुन थाल्यो। बिस्तारै चर्कदै गएको एन्टी गर्भमेन्ट मुभमेन्टलाई मथ्थर पार्न भन्दा दवाउन र बेवस्ता गर्न थाले। परिणामतः सन २०१५ मा भएको नेशनल एसेम्बलीको निर्वाचनमा १६ बर्षपछि विपक्षी डेमोक्रेटिक दलले जीत हात पार्यो। सत्ताधारी उनको युनाईटेड सोसलिष्ट पार्टीले नराम्रो हार ब्यहोर्नुपर्यो। तर पनि मादुरोले राज्यसत्ता सञ्चालन र जनताको माग सम्बोधनमा संबेदनशिलता देखाएनन्। बरु सन २०१७ सम्म आइपुग्दा देशमा चरम भोकमरी, बेरोजगारी,  औषधी अभाव जस्ता समस्या चुलिसकेको थियो।

जनता सडकमा आन्दोलित थिए तर सरकारले सेनालाई हातमा लिएर सुरक्षा र देशको सर्वभौम सत्ताँ जोगाउने प्रोपोगाण्डा रच्दै आन्दोलनकारीमाथि ब्यापक दमन गर्यो। करिब १ सय भन्दा बढी प्रदर्शनकारी आरम्भमै मारिए। जुन संख्या बढेर अहिले ६ हजार हाराहारी पुगि सेकेको छ। आन्दोलन र अस्थिरताकै बीचमा सन २०१८ मा राष्ट्रपतीय निर्बाचन गरी उनी पुनः विजय भएको घोषण गरे। जुन परिणामलाई अमेरीका, युरोपियन युनियन र धेरै दक्षिण अमेरीकी छिमेकी देशहरुले अस्विकार गरेका छन्। चीन र रुस जस्ता शक्ति राष्ट्रले भने सैद्धान्तिक निकटताको आधारमा समर्थन गर्दै आएका छन्। विपक्षी दलका नेता जुवाना गोइदोले निर्बाचन परिणामलाई अस्विकार गर्दै आफूलाई अन्तरीम राष्ट्रपति घोषणा गरेका छन्। देश भित्रको आन्तरिक दन्द्ध झन गहिरिदै गएको छ।

कोरोना महामारीले विश्वलाई तहसनहस बनाएका बेला तेलको मुल्यमा झन भारी गिरावाट आएको छ। जसका कारण तेल निर्यातमा बांचेको भेनेजुयलाको अर्थतन्त्र झनै डामाडोल भएको छ। बिदेशी मुद्रा आर्जनको एकमात्र श्रोत ठप्प भएको छ। अनि महंगी दशौ हजार गुणा चुलिएको छ।

 करिब ५, ६ बर्षको अबधिमा देशलाई यति धेरै हरिकंगाल अवस्थामा पुरयाउनुमा मादुरोको गलत ब्यवस्थापन, चढदो भ्रष्टाचारको प्यारामिटर र जनआक्रोशलाई शक्ति दुरुपयोग गरी गरिएको दमनलाई कारक मानिएको छ। अनि यथार्थता पनि यहि नै हो। आरम्भमा देखिएका समस्यालाई हल गर्नभन्दा मादुरो प्रशाशनले जव दमनको नीती अख्तियार गरयो सेना हातमा लियो।  समस्या विस्तारै भुसको आगो जस्तै सल्कंदै गयो। उनले आफू र आफ्नो दलमा मात्र राष्ट्रवादी भावना र देशप्रेम रहेको भन्दै बिपक्षी दललाई संधै कर्नरमा राख्ने दुष्प्रयास गरि राखे। गहिंरिदो आर्थिक संकटलाई पनि राजनितीक मुददासंग जोडेर ढाकछोप गरी राख्दा परिणाम आज देशको अर्थतन्त्र उठनै नसक्ने गरी ध्वस्त भइसकेको छ।

हो अहिले नेपाल पनि राजनीतिक, आर्थिक, रुपमा करिब ५ बर्ष अघिकै भेनेजुयलाको अवस्थामा आएर अडिएको छ। यदी समयमै राज्यले होस पुरयाएन भने तीनदेखि आउदो ५ बर्षमा अहिलेकै भेनेजुयलाको अवस्थामा नेपाल पनि नपुग्ला भन्न सकिदैन। एउटा समानता छ नेपालमा पनि भेनेजुयलाकै जस्तो कम्युनिष्ट सरकार छ। यसर्थ मादुरोको गल्तीबाट नेपालले पाठ सिक्छ या दोहोर्याउँछ। हो बर्तमान सरकार यहि अग्नी परीक्षाको घडीमा छभन्दा फरक पर्दैन।

राजनीतिप्रति खाशै चासो नराख्ने युवापुस्ता पनि अहिले नेपालमा बढ्दो अनियमितता, भ्रष्टचार र जनसरोकारका बिषयलाई लिएर आन्दोलित हुन थालेका छन्। उनीहरुले उठाएका जाहेज मागलाई सम्बोधन गर्न भन्दा मुद्दालाई डाईभर्ट गरियो या दवाउन खोजियो भने सरकारप्रतिको जन असन्तुष्टि विस्तारै बढ्दै जानेछ।   भेनेजुयलामा जस्तै आन्दोलनको आकार बिकसित हुदै गयो भने सरकार बिरुद्धको बिद्रोह नचुलिएला भन्न सकिंदैन। तसर्थ समय छँदै ब्याप्त अनियमितता, संस्थागत भ्रष्टचारको अन्त्य र जनताका जीवन सञ्चालनसंग सम्बन्धित मुददाको सम्बोधन गर्न ढिला नगरियोस्। कोरोना महामारीसंगै भोक संग लडनु पर्ने अवस्था सिर्जित भईसकेका बेला सरकारले समयमै बिकल्पहरु खोज्न जरुरी छ।

तेलको मुल्यमा अवमुल्यन भएका कारण टाट पल्टिएको भेनेजयुलालाई हेरेर नेपालले  अब रेमिटयान्समा अडिएको अर्थतन्त्रलाई कसरी जोगाउने समयमै सोच्न जरुरी छ। किनकी लाखौं बैदेशिक रोजगारमा गएका युवा महामारीका कारण स्वदेश फर्कन थालिसकेका छन्।  रेमिटयान्सको आम्दानीमा भारी मात्रमा गिरावट आइसकेको छ। देश भित्रैका र बाहिरबाट फर्किएका लाखौं युवा बेरोजागार हुने निश्चित छ। जसका कारण बैदेशिक मुद्रा आर्जन घटिसकेको छ। मुद्रास्फिती दर र मुल्यबृद्धी बढन थालिसकेको छ। जनताको क्रयशक्ति घटदो छ।  बेरोजगारको ब्यवस्थापन र रेमिटयान्सको पुराताल गर्ने भरपर्दो बैकल्पिक आधार खोजिएन भने आर्थिक रुपमा पनि हामी भेनेजुयलाकै दिशातर्फ बढ्ने कुरामा दुईमत छैन।

भारतसंगको सीमा बिवाद र एमसिसी जस्ता अन्तर्राष्ट्रिय सरोकारका बिषयमा पनि जानी नजानी नेपाल फसिसकेको छ। यी मुददाको सुरक्षित अवतरण समयमै भएन भने बिदेशी चासोले स्थान पाउनेछ। चीन र भारतको ट्रान्जिट प्वाइन्ट नेपाल आर्थिक राजनीतिक अस्थिरतातर्फ गयो भने स्वभाविक रुपमा शक्ति राष्ट्रले शक्ति संघर्षको केन्द्र बनाउन दुष्प्रयास गर्ने नै छन्। जुन नियती अहिले भेनेजुयलाले भोगिराखेको छ। छिमेकी  र बिदेशी देशहरुसंगको सम्बन्धलाई सैद्धान्तिक निकटतासंग जोडेर ब्याख्या र बिष्लेषण गर्ने भुल पनि नेपालले गर्नु हुँदैन।

माथि उललेखित यीनै संकेतहरुले नेपाल कतै बर्तमान भेनेजुयला कै बाटोतर्फ उन्मुख हुने त होइन? भन्ने आशंका उब्जिएको छ। समयमै यी बिषयमा गम्भीर र संवेदनशिल नभए भविष्यको यात्रा कठिन र कठोर हुने निश्चित छ। कामना गरौं नेपाल विश्वमा अर्को भेनेजुयला बन्ने दिशातर्फ जाने छैन र नजाओस्।

प्रकाशित: २० असार २०७७ १२:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App