२८ श्रावण २०७७ बुधबार
ब्लग

शिक्षण पेशा किन रोजाइमा पर्दैन?

शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको स्थायी शिक्षण अनुमती पत्रको परीक्षामा ५ दशमलव ८२ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भए। यो नतिजाले नेपालको शिक्षा क्षेत्र थप संकटग्रस्त स्थितितर्फ उन्मुख देखायो।  

प्राथमिक मात्रै होइन निमावि र माविमा समेत सरदर ९० देखि ९२ प्रतिशतसम्म परीक्षार्थी अनुत्तीर्ण हुनुले शिक्षण पेशाप्रतिको अक्षमतालाई थप उद्वेलित गरेको छ।

के परीक्षामा सहि उत्तर दिन नसकेर लाइसेन्स परीक्षामा यस्तो नतिजा आएको होे? यो प्रश्नको सापेक्षतामा रहेर विश्लेषण गर्दा दोष परीक्षार्थी स्वयंको अक्षमतामा मात्र छैन, समाज र राष्ट्रले शिक्षा क्षेत्रप्रति देखाएको उदासिनता र हेलचक्राईंंमा पनि छ।

बहसको प्रारम्भमा नमुना सर्वेक्षणको लागि कुनै एउटा सरकारी विद्यालयलाई लिऔं। कक्षा १० का विद्यार्थीहरुलाई भबिष्यमा के बन्ने? सोधाैं, यसकोे उत्तरमा ८० प्रतिशत भन्दा बढीले डाक्टर, इन्जिनियर, पाइलट, नर्स, सिए वा यस्तै भन्नेछन्। अति सीमित विद्यार्थीले मात्रै शिक्षक बन्ने चाहना देखाउँछन्। एसमा हाम्रो समाजको चेतनाले पनि काम गर्दछ। स्वयं पेशागत विभेदको खाडल त समाजले आफैले खनेको छ।  

शिक्षक संगठनले पनि ‘खोलो तर्ने लौरो बिर्सने’ गर्नु हुँदैन्। आफू अनुकुल दलको सत्ता हुँदा वरिपरि पुच्छर हल्लाउने र बिपक्षीको सरकार हुँदा बुरुक्क उफ्रने प्रवृत्ति झन बढी घातक छ।

अभिभावकहरु पनि आफ्नो छोराछोरीलाई एसइई दिएर प्लस टु सुरु हुने बेला पहिलो रोजाइमा बिज्ञान , त्यसपछि ब्यबस्थापन, मानविकी अनि बल्ल अन्तिम रोजाइमा शिक्षा संकायमा भर्ना हुनका लागि प्रोत्साहन गर्दछन्। अलि मेधावी भनिएका विद्यार्थीहरुले विज्ञान विषयका लागि तयारी गर्छन्।  

उत्कृष्ट र मध्यम भनिएका विद्यार्थीहरुको रोजाइमा बिज्ञान, ब्यबस्थापन वा अरु प्राविधिक बिषयहरु पर्छन्। कमैले मात्र पढ्ने बिषय बनेको छ शिक्षाशास्त्र संकाय। यहाँ प्रश्न उठ्छ, के कमजोर विद्यार्थीले पढ्नै सक्दैन त? सक्छ , उ जन्मजात कमजोर भएर आएको होइन, उसको त परिश्रम कमजोर भएको हो। हाम्रो परीक्षा प्रणालीले नै प्रतिस्पर्धा जस्तो अवैैज्ञानिक प्रतिशोध उत्पन्न गराएको छ।

डाक्टर, पाइलट, सिए जस्ता पेशालाई समाजमा जुनप्रकारको नजरले हेरिन्छ, के त्यस्तै सम्मानित नजरले शिक्षण पेशालाई हेरिन्छ त? भो छोड्दिनुस्, कक्षाकोठामै फरक(फरक बिषय अध्यापन गराइरहेका एकजना गणित शिक्षक र अर्का शिक्षा बिषयक शिक्षकलाई हेरिने नजर उस्तै छ त? समाजको विभेदपूर्ण चेतना त कक्षाकोठासम्म पुगेको छ। जहाँ ‘म्याथ टिचर’लाई स्मार्ट र शिक्षा बिषयक शिक्षकलाई कमजोर शिक्षकको रुपमा दर्जा दिइन्छ।

राष्ट्रका गहना उत्पादन गर्ने शिक्षकप्रति समाजको सोच बद्लिनुपर्छ। नत्र यस्तै पुरानो ‘न्यारेटिभ’ बोक्ने हो भने कम्तिमा हाम्रा स्कुलहरुले भबिष्यमा राम्रा शिक्षक पाँउछ्न भन्ने आशा नगर्दा नै ठीक हुन्छ। डाक्टर, पाइलटदेखि प्रोफेसरसम्म राष्ट्रका कणधार उत्पादन गर्ने शिक्षक प्रति समाजको दृष्टिकोणमा कालो धब्बा छ। वास्तवमा समाजले कालो धन सोहोर्न सजिलो हुने मार्ग र पेशालाई नै ठूलो सम्मान भावले हेरिरहेको प्रतीत हुन्छ।

शिक्षण पेशामात्र होइन ठूलो अवसर पनि हो। राष्ट्रको सैद्धान्तिक र बैचारिक भबिष्यको नेतृत्व गर्ने कुरा सानो होइन। तुलनात्मक रुपमा शिक्षण पेशामा पैसा कम हुन्छ भन्ने सोचाई छ तर त्यो भन्दा ज्यादा इज्जत, प्रतिष्ठा र सम्मान आर्जन गरिन्छ भन्ने कुरा गौण बनिदिन्छ।

कम्तिमा एउटा स्नातक वा स्नातकोत्तर तह उतीर्ण गरिसकेको युवालाई भबिष्यमा कुन बाटो रोज्ने? भन्ने चिन्ता हुनु स्वभाविक नै हो। शिक्षण पेशा रोजेर शिक्षकबाट नै अवकाश पाइहाल्नुपर्ने अस्वभाविक परिस्थितिले कतिपय शिक्षकहरुको मनोभावना दर्हो हुन सकेको छैन। उनीहरुले तय गरेको बाटो कति फराकिलो छ? कति टाढा छ? र पुग्ने कहाँ सम्म? भन्ने कुरा स्पष्ट हुन जरुरी छ। पेशागत बिकास प्रष्ट हुन जरुरी छ। खरिदार, सुब्बाबाट सेवा प्रवेश गरेको निजामती कर्मचारीलाई मुख्य सचिवसम्म पुग्ने अवसर भएजस्तै शिक्षकलाई पनि यस्तै अवसर प्रदान गर्दै पदसोपान कायम गर्ने प्रबन्ध गरिनुपर्छ जसले गर्दा पेशाप्रति पूर्ण वफदार, कामप्रति उत्तरदायी र अध्ययनशील बनाउन मद्दत गर्छ।

यति मात्र होइन तहगत बढुवाको अत्यन्तै उत्कृष्ट प्रावधान जति खडा गर्न सकिन्छ, शिक्षकहरुको आत्मसम्मानको उचाइ पनि उत्तिकै बढ्दै जान्छ। शिक्षकहरुको लागि अतिरिक्त बैदेशिक अध्ययन अनुसन्धानको बाटो खोलिदिने, सेमिनार, तालिमहरुको आयोजना गर्ने, सेना(प्रहरी, निजामती कर्मचारीहरुको जस्तै अस्पतालको व्यवस्था गरिदिने, भ्रमण भत्ता आदि सुविधाहरुको न्यायोचित प्रबन्धले शिक्षण पेशालाई थप जिम्मेवार बनाउन बल पुर्याउदछ।

दक्षिण कोरिया, स्पेन, व्राजिल, इजरायल, टर्की, चीनदेखि फिनल्यान्डसम्मले शिक्षण पेशाप्रति देखाएको इक्छाशक्तिका बारेमा बहस गरौ। यी देशहरुमा शिक्षण पेशा सबैभन्दा सम्मानित पेशा हो। त्यहाँका मान्छेहरु डाक्टर, इन्जिनियर, पाइलटलाईभन्दा शिक्षण पेशालाई ज्यादा रुचाउँछन्। शिक्षकहरुको जवाफदेहिताबाट विश्वले नै धेरै कुराहरु सिक्न सक्दछ। बिषय बिज्ञता हासिल गरेका जम्मा १० प्रतिशत मात्र शिक्षण पेसामा छिर्न पाउने प्राबधानले शिक्षाको गुणस्तरीयता कायम राख्नमा निकै महत्त्वपूर्ण भुमिका खेलेको छ।

म हरेक दिन लेख्छु, पढ्छु, किताबहरु हेर्छु। मलाई नयाँ कुरा जान्नमा निकै जागर लाग्छ। मेरो बुवा पनि निवृत शिक्षक हुनुन्छ। उहाँको प्रेरणाले मेरो जीवनमा ठूलो भुमिका खेलेको छ। मलाई सबैभन्दा रहर लाग्ने यो कामले पनि मलाई शिक्षण पेसामा जान उत्प्रेरित गरेकै हुन्छ। पढ्ने, पढाउने र लेख्ने यी मेरा जीवनभरका रहरहरु हुन। यी पूरा गर्न त्यही शिक्षण पेशाबाट सम्भव छ, त्यही स्कुल र युनिभर्सिटीबाट मात्र सम्भव छ।

शिक्षण पेशा, पेशामात्र होइन यो ठूलो अवसर पनि हो। भोलिको राष्ट्रको सैद्धान्तिक, बैचारिक वा संस्कारगत भबिष्यको नेतृत्व गर्ने कुरा सानो होइन। तुलनात्मक रुपमा शिक्षण पेशामा पैसा कम हुन्छ भन्ने सोचाई छ तर त्यो भन्दा ज्यादा इज्जत, प्रतिष्ठा र सम्मान आर्जन गरिन्छ भन्ने कुरा गौण बनिदिन्छ। त्यसैले मैले एसलाई जागिरको रुपमा मात्र हेर्दिन, उच्च सम्मान र प्रतिष्ठाको आयामको रुपमा बुझ्छु।

तर, बिगत दस बर्षयता विवेक र नैतिकताका संवाहक मानिने शिक्षकहरुको नैतिक अवनती अत्यन्तै उदेकलाग्दो छ। कामचोर प्रवृत्तिबाट हावी भएका शिक्षकहरु पढाउदैनन, पढाउन गएपनी सिकाईमा कुनै नयाँपन भेट्दैनन, निरस सिकाई अनि शून्य प्रभावकारीता।

किन शिक्षकहरु सामाजिक बिश्वास गुमाउदै आलोचनाको केन्द्रीय पात्र बन्न पुगे त? अचेल शिक्षक आफू शिक्षक भएकोमा गर्व गर्न छाडे, दलको नेता र कार्यक्रता अनि व्यवसायीको परिचयमा बढी सम्मान महसुस गर्न थाले। उनीहरु विद्यार्थीले कति सिके? भन्नेमा भन्दा पनि दलको कार्यक्रम कहाँ छ? भन्नेमा व्यस्त हुनथाले, बढुवा हुने लाभमा नेताको दैलो चाहर्न अभ्यस्त बनिरहे। कक्षाको कमजोर सिकाईदेखि समाजमा नरुचाइएका गतिविधिमा शिक्षक संलग्नता वढेपछि उनीहरुको छवि धुमिल बन्दै जानू, विश्वास गुम्दै जानु सत्य हो।  

यी सबै चिन्ताजनक बिषयहरु हुन, शिक्षक पेशाको नैतिक स्खलनलाई रोक्दै मर्यादित र सम्मानित तबरले समाजमा स्थापित गर्नुपर्दछ। अरु पेशाको समकक्षता सरह सुबिधा र तलब भत्ता मात्र होइन, अरुको भन्दा ५ सय रुपियाँ बढाएर भए पनि शिक्षकको दुखलाई सम्बोधन गर्नुपर्छ। बिश्वबिद्यालयमा उत्कृष्ट नतिजा ल्याउने अब्बल जनशक्तिलाई पढाउन जाऊँ जाऊँ लाग्ने वातावरणको सिर्जना गर्नपर्छ।

तर कस्सिने को हो त ? शिक्षकले हाल पाएको सेवा सुविधा निकै ठूलो संघर्षबाट प्राप्त भएको खबर म मेरै बुवाको बोलीबाट बारम्बार सुनिरहन्छु। उहाँ २०४२ सालमै शिक्षकका अधिकार स्थापित गर्ने सन्दर्भमा काठमाडौ आन्दोलनमा जाँदा एकहप्ता प्रहरीको हिरासतमा परेको बिडम्बना प्रति म निःशब्द हुन्छु। शिक्षक संगठनले पनि खोलो तर्ने लौरो बिर्सने परंरागत नियती दोर्हाइरहेका छन्। आफू अनुकुल राजनैतिक दलको सत्ता हुँदा सत्ताको वरिपरि पुच्छर हल्लाउने र बिपक्षी दलको सरकार हुदा बुरुक्क उफ्रने प्रवृत्ति  झन बढी घातक छ।

अन्त्यमा, राज्यले शिक्षकलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ। समाजले शिक्षकलाई सदैव मर्यादित पेशाको रुपमा बुझ्नुपर्छ र प्रत्येक आमाबाबुले आफ्नो छोराछोरी पनि शिक्षक बनोस भन्ने चाहनुपर्छ। ‘म शिक्षक हु’ भन्दा  कसैले पनि नाक खुम्च्याउने स्थितिको अब अन्त्य गर्नैपर्छ। सोच बदलौ, सब ठीक हुनेछ !  

स्नातकोत्तर प्रथम तह, त्रिभुवन विश्वविद्यालय

प्रकाशित: २० असार २०७७ १२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App