१५ चैत्र २०८० बिहीबार
ब्लग

हराएको ‘म’, डगमगाएको मानवता र पागलपन

डा. व्यापक पौडेल

स्वस्थ मानिसमा आफ्नो पहिचान ‘म’, मानवता र स्वस्थ सोच–विचार अति आवश्यक कुरा हुन् भन्दा दोस्रो मत राख्ने कोही छैन होला । तर के हामीले आफ्नो पहिचान ‘म’, मानवता र स्वस्थ सोच–विचार जगेर्ना गरिरहेका छौं ? यसबारे एक चिकित्सकको आँखाबाट एक–एक गरी चर्चा गरौं ।

हराएको ‘म’  

म ‘म’ हुँ सबै आफू नै हो । हामी सबै मान्छे भए पनि हामी फरक–फरक हौं । कसरी भने हामी मान्छे भए पनि हाम्रो डिएनए फरक–फरक छ । मेरो आमाबुवाले मलाई जन्म दिए पनि उहाँहरूसँग मेरो डिएनए शतप्रतिशत मिल्दैन । यस्तै मेरो औँलाको छाप कोही कसैसँग मिल्दैन, त्यसैले म ‘म’ मात्रै हो सबै आफू आफू मात्रै हो ।

डा. व्यापक पौडेल

हामी किन असफल छौँ भन्ने कुरा ‘म हुँ सबै आफू नै हो’बाट प्रस्ट हुन्छ । संसारमा लगभग १–२ प्रतिशत मान्छे मात्रै सफल छन्, बाँकी सबै असफल ।

पैसाले सफल भइने होइन रहेछ । मलाई पनि ४–५ वर्ष अघिसम्म यस्तै लाग्थ्यो कि पैसा भएपछि सफल र ठूलो भइन्छ । तर पैसा हुनेलाई पैसावाल अथवा धनी भनिने रहेछ । सफल, ठूलो मान्छे नभइँदो रहेछ । सफल हुन अर्कै कुरा गर्नुपर्ने रहेछ ।  

पैसा भनेको एउटा प्रतीक मात्र रहेछ, अनि सिस्टम मात्र । मानौँ हाम्रो देशले यहाँका नागरिकको खाने–बस्ने स्वास्थ्य उपचार गरिदिने जस्ता अन्य व्यवस्था गरिदिने सिस्टम बनाउने हो भने न हामीलाई पैसा चाहिन्छ, न त पैसा कमाउने होडमा मानवतालाई बिर्सेर एकअर्कासँग लडाइँ गथ्र्यौं, त्यसैले पैसा सिस्टम मात्र हो ।  

पैसा प्रतीक पनि हो । कसरी त भने पैसाको इतिहासलाई हेर्ने हो भने जब पैसाको चलन भयो, तब खबटाबाट सुरुवात भयो, पछि मेटल, त्यसपछि कागज, पोलिमर, एटिएम कार्ड हुँदै मोबाइल वालेट, इ–ब्यांकिङ समेत आइसक्यो, त्यसैले पैसा प्रतीक मात्र हो ।

अधिकांश मान्छेहरू पैसाको पछि दगुरिरहेका छन्, आफूभित्रको ‘म’लाई बिर्सेर । पैसाको पछि दगुर्दैमा पैसा आउँदैन । तर, कर्म गरेपछि अवश्य आउँछ । तसर्थ असफलताको कारण पैसा नकमाउनु होइन । संसारमा ९८–९९ प्रतिशत मान्छे असफल छन् किनकि ९८–९९ प्रतिशत मान्छेले फलानाले त्यो ग¥यो, ढिस्कानाले त्यो ग¥यो म पनि त्यही गर्छु भन्छन्, तर अर्काको गुण आफूमा ल्याएर अथवा नक्कल गरेर सफल हुन सकिँदैन । आफ्नो गुण आफूले चिन्न सक्नुपर्छ, अर्थात् म ‘म’ हुनुपर्छ र म ‘म’ भएर अगाडि बढेपछि मात्र सफल भइन्छ । संसारमा सफल व्यक्तिहरू ती हुन्, जसले आफूलाई चिनेर समाजमा परिवर्तन गरेका छन् र समाजले हृदयदेखि नै सम्मान गरेको छ । इतिहास यसको साक्षी छ ।  

नेपालको सन्दर्भमा हेर्ने हो भने कताकता हामीमा ‘म’ हराएको जस्तो लाग्छ । हामी ‘म’ भएर होइन, अरु भएर बाँचिरहेका छौं । हुनुपर्ने त ‘म’ भएर बाँच्नुपर्ने होइन र ? यस्तो लाग्छ कि हाम्रो देशको ‘म’ को संरक्षण गर्न नसकेर हामी पछाडि परेका हौँ कि ? कुनै पनि देशको ‘म’ भनेको भाषा, धर्म, संस्कृति र संस्कार हुन् ।

ब्रह्माण्डमा तीन नियम कानुन हुन्छन्– प्राकृतिक कानुन, सामाजिक कानुन र देशको मुख्य कानुन (संविधान) र त्यसबाट बनेका विधान, नियम तथा विनियमहरू । प्राकृतिक कानुन अपरिवर्तनीय छ । परिवर्तन गर्न खोज्यो भने सबै डुब्छ । जस्तै, बगिरहेको खोलालाई थुनेर निकास नदिने हो भने यसले विपत्ति ल्याउँछ । गुरुत्वाकर्षण बललाई हामीले परिवर्तन गर्न सक्दैनौँ । प्राकृतिक कानुनबाट व्युत्पन्न भएर सामाजिक कानुन बनेको हुन्छ र सामाजिक कानुनबाट व्युत्पन्न भएर संविधान, नियम विधान तथा विनियमहरू बन्न पुग्छन् ।

डगमगाएको मानवता  

मैले कसैलाई तपाईं मान्छे हो भनेर प्रश्न गर्ने हो भने तपाईं मसँग रिसाउनुहुन्छ, यो के भन्छ भनेर । तर त्यही प्रतिप्रश्न मलाई गरिन्छ भने म त मान्छे हुने बाटोतिर लागेको छु भन्ने छु । म पनि पूर्ण मान्छे बनिसकेको छैन । यसका विभिन्न कारणहरू छन् । जुन तल उल्लेख गरिनेछ । यो संसारमा जे–जति कुरा छन्, ती हुनका लागि गुणको आवश्यकता पर्ने रहेछ । गुणविना कोही नहुने रहेछ । हामी बजारमा आँप किन्न जाँदा त्यो आँप ठूलो छ कि छैन, पाकेको छ कि छैन, बास्ना ठीक छ कि छैन सबै हेर्छौं । एउटा ठूलो आँप छ, तर पाकेको छैन वा बास्ना ठीक छैन भने हामी त्यसलाई घर लिएर आउँदैनौँ । आकारले मात्र त्यसलाई आँप नबनाउने रहेछ । गुण भएपछि मात्र आँप–आँप हुने रहेछ । 

त्यस्तै, दुईवटा उस्तै गिलास छन्, एउटामा पानी हालौँ अर्कोमा रक्सी (म रक्सी खाने मान्छे होइन, हामीलाई जिउनका लागि रक्सी चाहिँदैन । मैले कहीँकतै पढेको छैन, रक्सीले हाम्रो शरीरलाई राम्रो गर्छ भनेर ।) टाढाबाट हेर्दा उस्तै देखिन्छ, तर एउटा रक्सी हो अर्को पानी हो, तिनीहरूलाई छुट्ट्याउन गुणले मात्र सकिन्छ । त्यस्तै दुईवटा उस्तै गिलास छन्, एउटामा दूध र अर्को फिनेल हालेर टाढाबाट हेर्दा उस्तै सेतो देखिन्छ, त्यसलाई छुट्ट्याउन पनि गुणको आवश्यकता पर्छ । हामीले ७–८ कक्षातिर वनस्पतिका कोशिकाहरूका गुणहरू र जनावरका कोशिकाहरूका गुणबारे पनि पढेका छौं । तिनीहरू पनि आफ्नै गुणले गर्दा जनावर र वनस्पति कोशिका भएका हुन् । त्यसैले संसारमा जेजति कुरा छन्, ती सबै गुणले गर्दा नै भएका हुन् ।  

सबैलाई आफू हुन गुण चाहिनेजस्तै हामीलाई पनि मान्छे बन्न गुण चाहिन्छ कि चाहिँदैन अब ? अवश्य नै चाहिन्छ । हामी मान्छे हुनका लागि पनि गुण हुन आवश्यक छ । मानवमा हुनुपर्ने गुण भनेको मानवीय गुण हो । मानवीय गुण युक्त हुनका लागि मुख्यतः दुईव आवश्यक पर्छ– एउटा इमानदारिता र निष्कपटता, जो इमानदार छ र निष्कपट छ, त्यो मात्रै मान्छे हो । जसमा इमानदारिता छैन, निष्कपटता छैन, तिनीहरू मान्छे हुनै सक्दैनन् । अहिले अधिकांश मानिसमा यो गुणको खडेरी छ । हामी अवसरवादी, अर्कालाई दुःख दिने, अर्कालाई लडाएर सानो बनाएर अघि बढ्ने भएका छौं । जुन सरासर गलत छ । 

अरूलाई सानो बनाएर लडाएर कहिल्यै हामी ठूलो हुँदैनौं । ठूलो हुन त आफैँ अगाडि बढ्नुपर्छ । के हाम्रो मुखको आकार मात्रै मान्छेको अरू सबै क्रियाकलाप मान्छेले गर्न नहुने हुँदै गएको हो ? मानवता डगमगाएको हो ? अब मैले अगाडि भनेझैं म पनि पूर्ण मान्छे बनिसकेको छैन । पूर्ण हुने बाटोमा लागेको छु । किनकि चार–पाँच वर्षअगाडि मलाई पनि यस्तो ज्ञान थिएन । म पनि यही समाजमा हुर्केको मान्छे हुँ । समाजले जसो जसो ग¥यो, त्यही मार्गदर्शन भनेर हिँडेको थिएँ, तर जब ज्ञान प्राप्त भयो, त्यसपछि मैले आफ्नो बाटो बदलेको छु । त्यसैले म पूर्ण हुने बाटोमा लागेको छु, तर पूर्ण भइसकेको छैन । पूर्ण हुने र नहुने अधिकार हामी आफैंमा निहीत छ, किनकि म ‘म’ हुँ तपाईं तपाईं हो, बाटो रोज्ने अधिकार हामी आफैँलाई छ ।  

पागलपन 

अहिले नेपाली समाज पागलपनमा हो कि भन्ने भान भइरहेको छ । यो त्यसै भएको होइन । यो लामो समयको बदलावपछि विकसित परिस्थितिले गर्दा हो । पहिले हामीमा डिप्रेसन थियो । यो बिग्रेर बाइपोलार (अधिक खुसी हुने र डिप्रेसन दुवै देखिने मानसिक रोग) र त्यो पनि बिग्रेर पागलपन विकसित भए जस्तो लाग्छ । यसको मुख्य कारण नेपालमा पछिल्लो कालमा भएको युद्धको स्थिति हो भन्दा फरक नपर्ला । जब युद्धको सुरुवात भो, तब मानिसमा डिप्रेसनको स्थिति थियो, किनकि जनताहरू दुवै पक्षको निसानामा थिए, एकअर्काको सुराकी हो कि भनेर अथवा एकअर्काको विरोधी हो कि भनेर । 

मानिसहरू हिँड्न बोल्न डराउँथे, घरमै लुकेर बस्थे, एक किसिमको डरत्रासको स्थिति थियो र मानिसहरू डिप्रेसनमा गएका थिए । जब शान्ति सम्झौता भयो, तब संविधानसभा गठन गरेर संविधान जारी गरिन्छ भनियो, तर धेरै लामो समयसम्म राति सुत्दा भोलि बिहान संविधान जारी हुने भयो भनेर खुसीले सुतियो, तर भोलिपल्ट बिहान उठ्दा कुरा मिलेन भनेर खिन्न भइयो । वर्षौंसम्म तल–माथि भइरह्यो सुत्दा मानिया (अधिक खुसी हुने) र बिहान उठ्दा डिप्रेसनको स्थिति रहिरह्यो । अर्थात् डिप्रेसन बिग्रेर बाइपोलार रोगले हामी ग्रसित भयौं । जब संविधान जारी भयो र भनियो नेपालले कोल्टे फेर्छ र नयाँ नेपाल बन्छ, तर संविधान जारी नहुँदै नेपालले नाकाबन्दी खेप्नुपर्यो, संविधान जारी भएपछि बनेको नियम–कानुन कुनै पनि वर्गलाई पूर्णरूपमा मान्य हुनेगरी अहिलेसम्म बनेको छैन । प्रत्येकपटक नयाँ कानुन आउँदा विरोधको स्वरहरू सुनिन्छन् ।

नियम कानुन त सबैलाई पाच्य हुनेगरी हुनुपर्ने हो नि तर त्यो भइरहेको छैन । कसका लागि गरिएको हो बुझ्न कठिन भइरहेको छ । नेपाली जनताबाहेक अरु अदृश्य कोही छन् कि ! यो देशमा नेपाली बस्छन् नि उनीहरूलाई केन्द्रबिन्दुमा राखेर नियम–कानुन नीति निर्माण हुनुपर्ने हैन र ? पागलपनमा भएपछि जे गरे पनि आफूलाई सत्य, राम्रो नै हो लाग्छ । यथार्थ र भ्रम छुट्ट्याउन गाह्रो हुन्छ । आम नागरिकलाई हेरे पनि उस्तै स्थितिमा रहेको देखिन्छ । कसैले कसैको मान–सम्मान हृदयबाट गर्दैन । कसैलाई यो यसरी गर्नुपर्ने हो भनेर राम्ररी सम्झाउँदा पनि बरु उल्टै मुक्का खानुपर्ने स्थिति छ । आफू मात्रै ठीक भएजस्तो लाग्छ सबैलाई । बाटोमा मोटरसाइकलहरू जहाँ भीड छ, त्यतै झन् जाम गर्न लगिन्छ । न मोटरसाइकल, न त कार, जिप, बस, भ्यान आदिलाई आफ्नो लेनको मतलब छ, जे गरे पनि भएको छ । के यो पागलपन नभएर केही अरू हुन सक्छ ? हो हामी पागलपनमा छौं । यो पागलपनबाट नफर्किन्जेलसम्म जे गरे पनि हामी अगाडि बढ्न सक्दैनौं । हामीलाई भ्रम मात्र भइरहन्छ कि हामी अगाडि बढिरहेका छौं ।  

यो पागलपन हटाउन के बुझ्न जरुरी छ भने ब्रह्माण्डमा तीन नियम कानुन हुन्छन्– प्राकृतिक कानुन, सामाजिक कानुन र देशको मुख्य कानुन (संविधान) र त्यसबाट बनेका विधान, नियम तथा विनियमहरू । प्राकृतिक कानुन अपरिवर्तनीय छ । परिवर्तन गर्न खोज्यो भने सबै डुब्छ । जस्तै, बगिरहेको खोलालाई थुनेर निकास नदिने हो भने यसले विपत्ति ल्याउँछ । गुरुत्वाकर्षण बललाई हामीले परिवर्तन गर्न सक्दैनौँ ।

प्राकृतिक कानुनबाट व्युत्पन्न भएर सामाजिक कानुन बनेको हुन्छ र सामाजिक कानुनबाट व्युत्पन्न भएर संविधान, नियम विधान तथा विनियमहरू बन्न पुग्छन् । समाजको स्थिति अर्कै छ तर हामीले यसलाई ख्याल नगरी संविधान, विधान, नियम, कानुन, विनियमहरू बनाए, त्यो टिक्दैन । देशको संविधान, विधान, नियम, कानुन, विनियमहरू समाजलाई समेट्ने हुनुपर्दछ । सबैलाई अपनत्व महसुस गर्ने खालको हुनुपर्दछ । पागलपन हटाउन हामीमा भएको ‘म’लाई जागृत गराउनुपर्छ र मानवताको अनुसरण गरेर अगाडि बढ्नुपर्छ ।  

अर्को कुरा के बुझ्न जरुरी छ भने हामीले जे गर्छौं, सबै सन्तुलन हुन्छ । मेरो सन्तुलन ‘म’ मा मात्रै हुन्छ । मेरो सन्तुलन अरुले गर्न सक्दैन किनकि म ‘म’ मात्रै हो, सबै आफू आफू नै हो । यो ब्रह्माण्डमा सबै कुरा सन्तुलनमा छ, हाम्रो शरीर पनि सन्तुलनमा छ । हाम्रो शरीरको सन्तुलन हाम्रो खानपिन, आनीबानी र वातावरणमा निहित छ । 

हामीले जथाभावी खाना खाएमा हामीलाई रोग लाग्दछ । बढी रिसाहा भएमा ब्लड प्रेसर, सुगरको रोग हुने सम्भावना बढी हुन्छ । हामी बस्ने वातावरण फोहोर राखेमा हामीलाई संक्रमण हुन्छ र हाम्रो शरीरको सन्तुलन बिग्रिन्छ । सृष्टिका सबै कुरा सन्तुलनमा छन् । सबैको पोजिटिभ र नेगेटिभ पक्षहरू छन् । सन्तुलन नभएको केही छैन । मान्छेमा महिला पुरुष, ब्याट्रीको पनि पोजिटिभ र नेगेटिभ पोल हुन्छ । 

चुम्बकमा पनि नर्थ पोल र साउथ पोल हुन्छ । शब्दमा पनि सन्तुलन छ, राम्रोको उल्टो नराम्रो हुन्छ, कालोको उल्टो सेतो हुन्छ । पैसामा पनि दुईवटा पाटा हुन्छन् । अर्थशास्त्रमा पनि डेबिट–क्रेडिट हुन्छ, हामी ब्यालेन्स सिट निकाल्छौँ । गणितमा हेर्ने हो भने पनि सन्तुलन छ । हामीले गणितमा प्रमाणित गरेकै हो । रासायनिक प्रक्रियामा पनि सन्तुलन छ । आकाशीय पिण्डहरू पनि गुरुत्वाकर्षणको कारणले सन्तुलनमा छन् । तसर्थ यो ब्रह्माण्डमा सबैकुरा सन्तुलनमा छन् र हामी जे गर्छौं, त्यो पनि सन्तुलन हुन्छ । राम्रो गरेको छ भने राम्रो हुन्छ नराम्रो गरेको छ भने नराम्रो नै हुन्छ । किनकि जे रोप्यो त्यही फल्छ, मकै रोपेर धान फल्दैन ।

अन्त्यमा हामीभित्रको ‘म’लाई जागृत गरेर डगमगाएको मानवता पुनस्र्थापन गरी पागलपनरहित समाजको सिर्जना गर्ने अवसर हामीलाई नै छ, अरुले आएर गरिदिँदैन । यसो गरेमा हामी सुखी नेपाली हुनेछौं र समृद्ध नेपालमा बस्न पाउनेछौं ।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०८:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App