१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

मैले यसरी जितें कोरोनालाई

बिदाका दिनबाहेक हरेक बिहान ६ बजे मोबाइलको अलार्मसँगै मेरो निद्रा टुट्ने गर्छ। त्यस दिन पनि त्यस्तै भयो,हत्तपत्त उठेर एक छिन कसरत गरेर नित्यकर्म सकाएँ। खाजा खाइसक्दा साढे ७ बजिसकेको थियो। कम्पनीले ‘वर्क फ्रम होम’ भनेपनि केही कर्मचारी कार्यालयमा हाँजिर हुनै पर्थ्यो। आफू तिनै मध्ये पर्ने हुनाले झोला भिरेर कार्यालय तिर लागें।

आइतबार, कार्यालयमा हाजिर भएपछि दिनको पहिलो कफीसँगै केही बिस्कुट मात्रै लिएको थिएँ। अघोषित लकडाउनको प्रभावले कार्यालयमा काम उत्ति थिएन। तर समय बिताउन खासै मुस्किल भएन। जताततै कोरोनाको सन्त्रास, यसैको समाचार हेर्दा/पढ्दा नै समय फुत्तै चिप्लिन्थ्यो, थाहै नपाई। समय बिहानको करिब ११ बजेको हुँदो हो। मोबाइलमा एउटा ‘म्यासेज’आयो, त्यो हेरी सक्दा नसक्दै म त अर्कै दुनियाँमा हराइसकेको थिएँ। आँखा मोबाइलको स्क्रिनमा भएपनि चेत कुनै अमुक संसारमा पुगिसकेको थियो। टेलिफोनको घण्टीले मेरो एकाग्रता तोडियो। फोन अस्पतालबाट आएको रहेछ। जहाँ २ दिनअघि कोभिड–१९ परीक्षणका लागि स्वाब लिइएको थियो। उताबाट पाएको सूचना र केही क्षणअघि मेरो मोबाइलमा आएको म्यासेजको विषय एउटै थियो–कोभिड–१९ को नतिजा। जुन‘पोजेटिभ’थियो।

मृत्युदर ज्यादै कम रहेको यो रोगलाई साधारण रुघाखोकी लागे जस्तै सोचेर ‘पेनिक’ नभईकन शारीरिक दूरी कायम गर्नु भयो, साबुन–पानीले नियमित हात धुनु भयो र शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने पौष्टिक आहार खानुभयो भने तपाईंले पनि कोरोनालाई सहजै जित्नुहुनेछ।

अस्पतालबाट पाएको सूचना र कम्पनीको निर्देशन अनुसार मैले तत्काल कार्यालय छाड्नुपर्ने भयो। मलाई दुइटा विकल्प दिइयो–पहिलो : कम्पनीले नै व्यवस्थापन गरेको क्वाटरमा सेल्फ आइसोलेसनमा बस्नुपर्ने; दोस्रो : स्थानीय प्रशासनले व्यवस्थापन गरेको होटलको आइसोलेसन कक्षमा बस्नु पर्ने। मेरा लागि दुवै सहज थिए, मैले पहिलो विकल्प रोजें। कार्यालयका सम्पूर्ण जिम्मेवारी सहकर्मीलाई सुम्पेर मैले त्यही दिनदेखि कम्पनीको क्वाटरमा एकान्तवास (आइसोलेसन) सुरु गरें।

म आफ्ना लागि बिलकुल स्वस्थ थिएँ, कुनै शारिरीक कमजोरी वा बिरामीका लक्षण थिएनन्। तर मेडिकल ल्याबको नतिजा अस्विकार गर्ने हिम्मत म सँग थिएन। विधि भनौं वा बाध्यता, एकान्तवास त बस्नैपर्ने भयो। पहिलो रात मेरा लागि ज्यादै कष्टकर रह्यो। मनमा तँ छाडमछाड गर्दै आएका अनेकन् विचार र कल्पनाले मस्तिष्कमा चिन्ता र भयको आँधी बेहरी ल्यायो। रात पनि दिन जस्तै गरी बित्यो, आँखा झिमिक्क नगरी।

भोलिपल्ट बिहान नित्यकर्म सकेर परिवारसँग सम्पर्क गरें। तर आफ्नो स्थितिबारे भेउ पाउने मौका दिइनँ। म चाहन्थें– मेरा कारण घरमा कसैलाई चिन्ता नहोस्। रात त जसोतसो कट्यो, अब दिन बिताउने कसरी? मनको आँधी बेहरी अझै रोकिएको छैन। फेसबुकको टाइमलाईन हेरें, तलदेखि माथिसम्मै कोभिड–१९ को समाचार। चीन, अमेरिका, इटाली, बेलायत र जर्मनीमा आज कति जना संक्रमित भए र कति मरे भन्ने समाचारले नै सबै न्युजपोर्टलका गृहपृष्ठ भरिएका छन्। युट्युबको स्थिति पनि त्यस्तै,कोभिड–१९ कै सामाग्रीले होमपेज भरिएका छन्। कहिलेकाहीं यिनै कुरापनि मन बुझाउने माध्यम बन्दा रहेछन्।  

पर्सिपल्ट बिहानै बार्दलीमा एक झोला सामान पाएँ। कम्पनीको हेपिनेस कमिटीले पठाएको रहेछ। फेस मास्क, पन्जा, सेनिटाइजर, साबुन, फलफूल, अन्डादेखि दाह्री काट्ने मेसिनसम्म रहेछन्, झोला भित्र। खाना कम्पनीले नै पार्सल उपलब्ध गराउँथ्यो। तर पनि शरीरको प्रतिरक्षा प्रणाली मजबुत बनाउन नियमित व्यायामसँगै शक्तिवर्धक चिज स्याउ, सुन्तला, कागती, गाँजर, अदुवा आदि खान सुरु गरें। दिग्भ्रमित हुने गरी सामाजिक सञ्जालमा आउने ‘फेक’ समाचार र ‘इन्फर्मेसन’ले मानसिक तनाव दिने हो कि भनेर फेसबुक र ट्विटर ‘डिएक्टिभेट’ गरें।

एकान्तवास बसेको सातौं दिन, ममा अझै पनि बिरामीका कुनै लक्षण देखिएका थिएनन्। दिनचर्या सामान्य किसिमले बितिरहेका थिए। कम्पनीले बेलाबेला मेरो स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको थियो। पत्रपत्रिकादेखि मैले मागेका अन्य सामाग्रीसम्म उपलब्ध गराइरहेको थियो। सामाजिक सञ्जालसँग दूरी बढेकाले मनमा त्यति कुरा खेल्न पाएनन्। परिवारसँग नियमित सम्पर्क भइरहेको थियो। अबको १ सातापछि कोरोनालाई पक्कै जित्छु भन्ने मलाई विश्वास थियो।

नवौं दिन, बिहान झिसमिसेमै घरबाट फोन आयो। उताबाट आमाको आवाज, केही फरक, अनि कौतुहल र चिन्ता मिश्रित। मैले सम्झाएँ– मलाई केही भएको छैन, म बिलकुल ठीक छु आमा। निकै बेरको कोसिस पछि उहाँ आश्वस्त हुनु भयो। उहाँलाई मेरै एक सहकर्मीले पोल लगाएका रहेछन्। खैर, जे होस्, कुरा बुझाउन सफल भएँ। आमा पनि ढुक्क हुनुभयो। अब केही दिन त बाँकी थियो,बाहिर निस्किन।

पन्ध्रौं दिन, बिहान करिब १० बजे,‘टेस्ट’का लागि मलाई अस्पताल लगियो। त्यहाँ स्वाब दिइसके पछि एकान्तवासै फर्किएँ। विश्वास नडगमगाए पनि मन अस्थिर बन्न खोज्दै थियो। नतिजाको व्यग्र प्रतीक्षामा थिएँ। काममा फर्किन आतुर थिएँ। भोलिपल्ट साँझ मोबाइलमा म्यासेज आयो– कोभिड–१९ नेगेटिभ। मन खुसीले फुरुङ भो, घरमा फोन गरेर सुनाएँ। सबै खुसी भए। तर यत्ति नै काफी थिएन। ४८ घण्टापछि अर्को पनि‘टेस्ट’ गर्नुपर्ने थियो। अब म त्यसको प्रतीक्षामा थिएँ।

१७ औं दिन, दोस्रो पटक मेरो ‘टेस्ट’ भयो। यसको नतिजा पनि‘नेगेटिभ’ नै आयो। जसको अर्थ हो–शरीर कोरोनाभाइरसबाट शतप्रतिशत मुक्त भइसक्यो। कम्पनीको ‘पलिसी’ अनुसार काममा फर्किन अझै यो पर्याप्त थिएन। एक हप्ता अझै कुर्न पर्ने थियो। तर एकान्तवास नै बस्न जरुरी  थिएन। म आफ्नै पुरानो कोठामा फर्किएँ। त्यसको १ हप्ता पछि नियमित काममा फर्किएँ।

माथिको कथा मेरो नितान्त व्यक्तिगत अनुभव हो। कतै अतिरञ्जित र तोडमोड गरिएको छैन। कोरोना भन्ने बित्तिकै आत्तिने, डराउने मानिसमा सकारात्मक सोचको विकास होस्  भन्ने ध्येयले यो व्यक्तिगत कथा पस्किएको हुँ। यस रोगलाई सामान्य ठानेर हेलचक्र्याइँ गर्न हुँदैन, तर आत्तिन पनि आवश्यक छैन। हेलचक्र्याइँ गर्नु भयो भने तपाईंले आफ्नो परिवार, छरछिमेकीलाई समेत रोग सार्नुहुनेछ। जसको नतिजा निकै भयावह हुन सक्छ। मृत्युदर ज्यादै कम रहेको यो रोगलाई साधारण रुघाखोकी लागे जस्तै सोचेर ‘पेनिक’ नभईकन शारीरिक दूरी कायम गर्नु भयो, साबुन–पानीले नियमित हात धुनु भयो र शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने पौष्टिक आहार खानुभयो भने तपाईंले पनि कोरोनालाई सहजै जित्नुहुने छ। सुरक्षित रहनुस्, स्वस्थ बन्नुहोस्। शुभकामना!

(यूएईमा रहेका परियार सञ्चारकर्मी समेत हुन्)

 

 

प्रकाशित: २१ जेष्ठ २०७७ ०३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App