२०७२ सालको भूकम्पले हामीलाई बस्नका लागि बलियो घर चाहिने रहेछ भन्ने कुरा बुझाएर गयो।अहिले सानोतिनो भूकम्प आउँदा मानिस आत्तिँदैनन्।किनकि साना भए पनि अहिले केही पक्काखालको बनाइएको छ। भूकम्प त फुत्त आयो। तहसनहस बनायो। र फुत्तै गयो।
सबै कुरा हाम्रै जुनीमा भोग्न लेखेको रहेछ। भूकम्पको क्षतिबाट उठ्दै थियौँ। कहिल्यै नसुनेको अनौठो कोरोना भाइरस आयो। ख्याल ख्याल ठान्दा ठान्दै साँच्चै बनायो। यसले मनस्थितिलाई एकदम कमजोर बनाउँदै लगेको छ। विदेशमा हुनेलाई आफ्नो देशमा कसरी आउने भन्ने चिन्ताछ। आफ्नै देशमा हुनेलाई आफ्नो ज्यान जोगाउनुका साथै विदेशमा भएका छोराछोरी र आफन्तकोे चिन्ता। चिन्ता नै चिन्ताले मानसिक असर बढाएको छ।
लकडाउनको समयले किसानलाई अझ बढी परिश्रमी बन्ने मौका दिएको छ। जसले गर्दा गाउँको मुहार फेरिँदैछ र किसानलाई अर्ध किसानबाट पूर्ण किसान बनाउँदैछ।
व्यापार, व्यवसाय, कलकारखाना सबै ठप्प छ। हेर्दा देखिने पनि हैन। यसले पूरै विश्वलाई नराम्रो असर परिरहेको छ। कति बाध्यताले त कति बहकिएर सुन फल्ने माटो छाडी विदेश पस्नेहरूहरतरहले स्वदेश फर्कन चाहिरहेका छन्। तर आउने कसरी ? सबै हवाई यातायात बन्द छ।
यतिबेला बालीनाली लगाउने सिजन छ। चिन्ता र पिरलाई दिमागमा आउन नदिनका लागि आफूलाई व्यस्त राखेर कृषि कर्ममा लाग्नुको कुनै विकल्प छैन। सहरका मानिस आफ्नै कोठाभित्र बन्दी जीवन बिताइरहेका छन्। तर गाउँका मानिस भने सुरक्षित भएरकृषि कर्ममा अनवरतरूपमा लागेका छन्। उनीहरूलाई विदेसिएर फर्केका सदस्यले सघाइरहेका छन्।लगाएको अन्नबाली छाडेर धेरै पाउने लोभमा सहर पस्नेहरू आफ्नै थलो फर्किएर कृषि कर्ममा जुटेका छन्। ज्यान जोखिममा राखेर थोरै पैसाका लागि मरिहत्ते गर्ने मानिसलाई अहिले कोरोनाले आफ्नै देशमा विकल्प खोज्न सिकाउँदैछ।
कोरोनाले सिर्जना गरेको लकडाउनको समयमा भूमिसम्बन्धी किताबहरू पढ्नुका साथै साथीभाइका कृषि र भूमिसम्बन्धी लेखहरु पढेँ। ती लेखले मेरो मनको ढोका खोल्यो। अहिले मपनि आफ्नो बाँझो भएको जमिन खनजोत गरी अन्नबाली लगाउँदैछु। समय समयमा मलजल र गोडमेल गरेमा मात्र उत्पादन बढ्ने रहेछ भन्ने ज्ञान आर्जन गर्दैछु। लकडाउनको समयमा अरु काम नहुने भएकाले खेती किसानी नै महत्वपूर्ण काम हुनेरहेछ भन्ने पाठ पनि सिकिरहेकी छु।
अहिलेको कठिन समयमा कृषिको काम गर्दागर्दै पनि यसको अर्को पाटो उत्तिकै जटिल बन्दै गइरहेको छ।सिन्धुपाल्चोकमा वर्षौँदेखि खेती गर्दै आएका कतिपय मोही किसानको निवेदन मालपोतमा अड्किएको छ। मोही बाँडफाँट र निवेदन पेश गरेको म्याद पनि लकडाउनले गर्दा ठप्प भएको छ। यही मौकाको फाइदा उठाइ हराभरा भएको पाखो बारी देखेरजग्गाधनीले मोही किसानलाई दुःख दिन थालेका छन्। आफ्नो अधिकारका लागि लडिरहेका किसानलाई आफूखुसी भाडा मागेर दुःख दिन थालेका छन्। तर उनीहरू त्यसको पर्वाह नगरी लकडाउनको समय भरपुर सदुपयोग गर्दैखेतीपातीका साथसाथै पिउनेपानी, कुलोनिर्माण जस्ता विकास निर्माणकाकाममा अझ बढी सक्रिय भएर लागेका छन्।
लकडाउनको समयले किसानलाई अझ बढी परिश्रमी बन्ने मौका दिएको छ। जसले गर्दा गाउँको मुहार फेरिँदैछ र किसानलाई अर्ध किसानबाट पूर्ण किसान बनाउँदैछ। यसरी उत्पादन कर्ममा लागेका किसानलाई गैरकिसानी पेसा गर्नेले हेपेको देख्दाचाहिँ झोक चलेर आउँछ। सबै किसानले आफूलाई मात्र पुग्ने उत्पादन गरे अरु काम गर्ने अनि मैं हुँ भन्नेले के खालान्? त्यसो गरेर मात्र व्यवहार चल्दैन। तर किसानको योगदानलाई अरुले बुझ्नै पर्छ। किसानले कर्म छोड्ने हो भने भोकमरी लाग्छ। यो कुराको चेतना सबैलाई हुन आवश्यक छ।
फेरि कोरोनाको कुरा गर्दैछु। अरु देशमा आए पनि नेपालमा नआइदिए हुन्थ्यो भन्ने लाग्थ्यो। नेपालमा कोरोना आयो। अन्त आएप्नि आफ्नो जिल्ला नआए हुन्थ्यो भनेर सोच्थेँ। तर दुर्भाग्यवस कोरोनाबाट पहिलो मृत्यु नै आफ्नै गाउँबाट भयो। यसले हामीलाई साह्रै दुःखी बनाएको छ। यही दुःखको बीचमा पनि कृषि कर्म छाडेका छैनौँ किनकि हामीलाई थाहा छ– नखाए बाँचिदैन।
प्रकाशित: १७ जेष्ठ २०७७ ०७:१० शनिबार