७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
ब्लग

नर्वेबाट कोरोनाको साक्षी बन्दा

युरोपका मान्छेहरु घडीका सेकेन्ड काँटा जस्ता लाग्छन् । जहिल्यै घुमिरहने, फुर्सदिलो भएर बस्न नरुचाउने । घडीका काँटालाई एक सेकेन्ड भन्दा फुर्सद नभए जस्तै युरोपका मान्छेहरुलाई पनि फुर्सद हुदैन । समयललाई ख्याल गर्छन् । न छिटो दौडिन्छ, न गतिलाई ढिलो गर्छन् । घडीको काँटासँगै युरोपको जीवनशैली चल्छ ।

बिदाको दिनमा छुट्टै तालिका हुन्छ । हामी एसियान जस्तो जता पनि भुल्दैनन्, तालिका अनुसार डुल्छन् । युरोपियनहरु घुमघाममा सोखिन हुन्छन् । मनोरन्जन उनीहरुको प्राथमिकतामा पर्छ । एक मनले भन्छ, क्या वातको जीवनशैली । पाउरोटी टोक्दै, आँखा मिच्दै ट्रेनमा भेटिनेलाई देख्दा लाग्छ, ‘यस्तो के जिन्दगी ?’
हामीलाई जस्तो लागेपनि उनीहरु घडीसँगै दौडिन खुसी देखिन्छन्। मलाई लाग्छ, काम र तालिका विनाको जीवनशैली युरोपियनले विताउँदैनन । तालिका जस्ले बनाउँछन्, भंग कमैले मात्र गर्छन् वा हुन्छ । भंग होस पनि कसरी ? न कहिल्यै बन्द हडताल छ । न कहिल्यै विजुली जान्छ । न त जाम, झन्झटमै फसिन्छ । त्यस्तो सोच्दैनन् पनि युरोपीयनहरु । किनकी, उनीहरुले भोगेका हुदैनन् ।

यस्तै अवस्था रहेमा भोलि अरु देशले पनि आफनै देशमा फर्किन आह्वान गर्न सक्छन् । त्यस्तो अवस्थामा हामीलाई पनि महाकाली नदीको किनारामा रहेका नेपालीलाई जस्तै व्यवहार गरिएमा हालत के हुने ?
आखिर हामी पनि त दुईचार पैसा रेमिट्यान्स पठाउने नेपाली न पर्यौं ।
भारतबाट फर्किनेले गोजीमा पैसा बोकेर ल्याउँछन, त्यसको गिन्ती हुन्न । हामीले विद्युतीय कारोबारबाट पठाउँछौं । त्यसको रेर्कड रहन्छ, फरक यति हो ।

हुन त नसोचेकै भोग्नुपर्छ । जस्तोकी, विश्वले अहिले नसोचेकै भोग्दैछ कोरोना कहर । कोरोनाबाट युरोपीयनहरु प्रताडित छन् । घडीका सुई जस्ता युरोपीयन विग्रिएको घडी बनेका छन् । यात्रामा निस्किरहने युरोपीयन पिन्जडामा थुनिएको सुगा बनेका छन् ।
यतिमात्रै भए त हो ?
युरोपियनहरुको मन कोरोना नामको कहरले उकुसमुकुस बनेको छ । जीवनशैलीलाई फेरिदिएको छ । म नर्वेको राजधानी ओस्लोमा छु। नर्वे पनि युरोपको पाटो हो । नर्वेको जीवनशैली भन्नु र युरोपको जीवनशैली भन्नु उस्तै हो । युरोपीयनहरुको अधिकांशको जीवनशैली युरोपीयन देशहरुसँग मिल्दोजुल्दो हुन्छ । दैनिकी, काममै वित्छ । बिहान बेलुकाको खाना रेष्टुरेन्टमा पाक्छ । फुर्सद मिल्दा यात्रामा जीवन रमाउँछन् ।
अझ नर्वेलाई धेरैले राती पनि घाम लाग्ने देशको रुपमा चिन्छन् । नर्वेमा यो बेला समर छ । यही समय हो नर्वेमा राती पनि घाम लाग्ने । यतिबेलै रातहरु छोटा बन्दैछन् । दिनहरु लामा बन्दैछन् । समरको सैन्र्दयले प्रकृती सजिएको छ । जुन जुलाई महिनामा त रातको समयमा पनि घमाइलो हुन्छ । अब कल्पना गनुर्स, कति रमाइलो हुन्छ ?
त्यति मात्रै होइन, अधिकांश विकासको सुचांकमा नर्वे अग्रपंक्तिमा भेटिन्छ । यहाँ बस्नेहरुमा पनि खुसीयाली देखिन्छ । खुसी मानिसहरु बस्ने देशको सुचीमा पनि नर्वे सँधै टप फाइभभित्रै परिरहेको छ ।
अघिल्लो वर्ष यो समयमा नेपाल थिएँ । अप्रिल पहिलो साता इमेलमा नर्वेको भिसा प्राप्त गर्दा खुसीको चुली ममा पनि थियो । खुसी जति नै चुली चुमेपनि देश छोड्दा मन अमिलो बन्दोरहेछ । बैशाख १८ गते म चढेको जहाजले नेपाली भुमी छोड्दा बेचैन भएको थियो मन । आउन लागेको देश जति नै विकसित होस्, मन त आफ्नै देशमा हुने ।
परिवेश अर्कै भएपनि समय वितिजान्छ । दिन गिन्ती गर्दा ओस्लो बस्न थालेको वर्षदिन पुग्नै लागेछ । मनले भने हिजोअस्ती भर्खर आएको जस्तो ठान्दैछ । त्यही भएर त नेपाल जाउँजाउँ पनि लाग्छ । जस्तोकी ओस्लो आएको केही सयम नेपाल फर्कियौं, फर्कियौं भएको थियो ।
नेपाल जान खोज्ने त्यही मन घरबाट बाहिर निस्कन डराउँछ । झ्यालबाट बाहिरको अवस्था हेरेर चित्ता बुझाउँछ । कोठाभित्रै बसेर इन्टरनेटमार्फत संसार डुल्छ । कहिले परिवारसँग भुल्छ, कहिले साथीभाईलाई खबर सुनाउँन व्यस्त हुन्छ ।
यसको मतलब म क्वारेन्टाइनमा छु । होम क्वारेन्टाइन । संसारले भोगिरहेको कोरोनाको संन्त्रास नर्वेमा पनि छ । नेपालको नागरिक म नर्वेमा बसेर कोरोनाको साक्षी बनिरहेको छु ।
मार्च दोस्रो साताबाट नर्वे मा लकडाउनमा छ । यहाँको लक डाउन अन्य देशको भन्दा अलि फरक छ । स्कुल, कलेज, रेस्टुरेन्ट लगायतका भिडभाड हुने ठाउँहरु बन्द छन् । सम्भव भएसम्म कार्यालयको काम घरबाट गर्न भनिएको छ । सुपरमार्केट खुला छन् । खाद्यसामग्रीको अभाव छैन । किनमेलमा समस्या छैन । न मंहगी ह्वातै बढेको छ ।
सार्वजनिक यातायात यथावत अवस्थामै सन्चालित छन् । यातायात पनि निशुल्क बनाइएकोछ । सवारीसाधनमा यात्रुको संख्या भने शून्य जस्तैछ । सडकमा समर जस्तो भिडाभाड छैन । पार्कहरुमा पर्यटक भरिभराउ छैनन् । सुनसान छन् । घर बाहिर निस्कन कोरोना नामको त्रासले पर्खाल लगाएको छ । न यहाँका रैथानेलाई छोडेको छ उक्त पर्खालले । न हामी जस्तो आगान्तुक नै हिम्मत गर्न सक्छौं कोरोनाको पर्खाल नाघ्न ।
कोरोनाको मात्रै होइन, मान्छे मान्छेबीचमै पर्खाल छ । सार्वजनिक यातायातामा एउटा यात्रु अगाडिको सिटमा छ भने अर्को यात्रु उक्त यात्रु भन्दा धेरै परको सिटमा बस्छ । सपिङ गर्ने ठाउँमा पनि त त्यही अवस्था छ । हतार गर्दैन्, बरु दुई मिनेटको ठाउँमा ५ मिनेट लागोस् । घडीको सेकेन्ड काँटा जस्तो पालोमा सर्दैनन् । ब्याट्री सकिएको घडी जस्तो घरीघरी सर्न खोज्छन् । सडकतिर हिड्दा मान्छे देखिएमा मुन्टो अर्कोतिर फर्काउँछन् । चिनजानकैसँग पनि उभिएर बोल्नुको सट्टा खर्च गरेर फोनमा बोल्न रुचाउँछन् ।
अरुको के कुरा र ? मेरै जीवनशैली फेरिएको छ । न साथीभाई भेट्छु, न बाहिर निस्कन आँट आउँछ । निस्कनै परेमा खुब सचेत भएर निस्कन्छु । एउटै फल्याटमा बस्नेहरु कसैले खोक्यो भनेपनि मन झस्किन्छ । आफ्नै श्रीमतिले ह्याछ्यौं गर्दापनि मन डराउँछ । शरिर तात्दा मन चिसो हुन्छ । ज्वरो आयोकी भनेर मन आतिन्छ ।  
दुई हप्ताअघिसम्म व्यस्त थिए म । कुनै दिन त  सँगै रहेकी श्रीमतिसँगै कुरा गर्ने फुर्सद हुन्न थियो । झन घरमा फोन गर्न त तालिका दिनुपर्दथ्यो, यतिबेला फोन गर्नुस् है भनेर । त्यस्तो व्यस्त मान्छे एकाएक फुर्सदिलो भएकोछु । तर, के गर्नु मन बेचैन र अशान्त छ । न समरमा घुम्न जाने भनेर टिकट काटिसकेका देशहरु घुम्न जान सक्छु । न कुन देशको  टिकट कतिसम्म आयो भनेर हवाई फ्लाइट नियालेर घुम्ने योजना बनाउन नै ।
बरु आजकालको तालिका बनेको छ, कुन देशमा कति संक्रमित भए । कुन देशमा पछिल्लो समयमा कति जनाको निधन भयो भन्दै न्युज चाहरने । यसरी न्युज साइट चाहारिरँदा विश्वभरमा संक्रमित र मर्नेको संख्या देखेर लाग्छ, ‘हावाले वहन किन विर्सिरहेको छ ? अकाश किन यसरी रिसाएर मान्छेको देहलाई चुडाउँदैछ ?’ अनि लाग्छ, ‘यस्तो अवस्थामा संसार भन्ने त भ्रम रहेछ, किनकी, संसार गर्न केही नसकेर चुपचाप छ ।’
यो तिब्र रुपमा प्रविधि विकास भैरहेको समय हो । यस्तो समयमा बम, बारुद्ध, युद्धसँग संसार लड्न तयार छ । तर, के गर्नु हावामा घुमिरहेको कोरोना नामको एउटा भाइरसलाई संसारले केही गर्न सकेको छैन् । संसारलाई उक्त भाइरसले पकडमा राखेको छ । अझै कति समयमा संसार त्यसको पकडमा रहन्छ, हामी सबै अनविज्ञ छौं।
अनविज्ञताको बीचमा आफु सँधैको लागि अनविज्ञ नै रहिन्छकी भन्ने डर त छँदैछ । त्यो अलवा हामी जस्तो परदेशीलाई बढी चासो चाहीँ आफ्नै देशको पर्दोरहेछ । सायद, त्यहाँ हाम्रो परिवार मात्रै छैन् । एउटा नागरिकसँग जोडिने सबै चिज छ । बस्ने ओत छ, सुत्ने खाट छ । समस्या परे सरकार छ । माया गर्ने देशछ । माया चाहिए आफ्नो परिवार छ ।
यसैले होला आफ्नो देशपछि मात्रै आफु बसेको देशको याद आउने रहेछ । म बसेको देश नर्वेमा यतिबेला कोरोना संक्रमितको संख्या ५ हजार नाघिसकेको छ । मृत्यु हुनेको संख्या पनि ५० को हारहारीमा छ ।
नेपालमा पहिलो कोरोना संक्रमित भेटिँदा नर्वेमा त्यस्तै तीन हजारको संख्यामा संक्रमित थिए । मृत्यु हुनेको संख्या त्यस्तै २० जना थियो होला । संख्यात्मक हिसाबले अन्य देशको तुलनामा संक्रमित र मृत्यु हुनेको संख्या धेरै त होइन । तर, जनसंख्याको आधारमा धेरै मान्न सकिन्छ । नर्वे नेपालको तुलनामा तीन गुणा ठूलो छ । यहाँको जनसंख्या हामी जस्तो आगन्तुक सहित ५४ लाख मात्रैछ ।
विकसित देश नै भएपनि जनसंख्याको आधारमा संक्रमण डरलाग्दै हो । आफु बसेको देशको स्थिती यो हुँदा नेपालमा कोरोना संक्रमित नभेटिएकोमा खुसी थिएँ म । जब नेपालमा कोरोना संक्रमित भेटियो, त्यसपछि मन झनै बेचैन बन्यो । सायद, मजस्तै अन्य परदेशीको पनि मन त्यसैगरी बेचैन बनेको हुनुपर्छ । विकसित देशहरु नै कोरोना संक्रमणमा आछुआछु बनिरहेको बेला हाम्रो जस्तो देशले कोरोना भयवह फैलिएमा कसरी पार लगाउँछ भन्ने चिन्ता पनि हो । एकतिर देश गरिब त छँदैछ । हाम्रो नेतृत्व झनै गरिब भएकोमा आम नागरिकको चिन्ता हो ।
नेपालको समाचार पढ्दा यस्तो चिन्ता झनै थपिन्छ । अरु देश कसरी हुन्छ, कोरोनाको संक्रमणलाई पार लागौं भनेर लाग्दा हाम्रो देशको नेतृत्व दुई पैसा कसरी कमाउने भनेर चिन्तित देखिएका समचार छरपस्ट छन् । जनताको जीवनसँग चिन्ता होइन खेलवाड गरिएको प्रस्टछ । परदेशीको आँखाबाट नियाल्दा लाग्छ, देशमा कोरोना छ । नेताहरुलाई दसैं छ ।
अनलाईनतिर आफ्नो देशको मुहार देखेपछि आफु बसेको देशतिर फर्किन्छु ।
म बसेको देश नर्वेमा सेरेमोनियल राजा छन् । राजा छन् भन्ने अधिकांशलाई थाहा छ । तर, उनको बारेमा थाहा पाउने कमै छन् । यहाँकी महिला प्रधानमन्त्री एर्ना सोल्वेग पनि चर्चामा छैनन् । राजा को हो, रानी को हो ? प्रधानमन्त्री को हो ? केही थाहा नहुनेरहेछ । न नेपालमा जस्तो समाचार नै आइरहन्छन् उनीहरुको बारेमा । न उनीहरु नै रिबन काट्ने, केक काट्ने जस्ता कार्यक्रममा जान्छन् ।  न जनताले नै पहुँच देखाएर सार्वजनिक कार्यक्रममा ल्याउँछन् ।  यसैले यहाँका त्यस्ता व्यक्तिलाई मिडियामा बारम्बार देख्न नपाइनेरहेछ । बरु चाहने हो भने हामीले पनि भेट्न पाउँछौं । सदनमै गएर आवाज उठाउन ठाउँ छ ।
नेपाली मिडियामा नेपाली नेतृत्व तथा राजनीतिज्ञको तस्बिर वा समाचार नछापिएको दिन हुँदैन् । नर्वेमा झुक्किएर मात्रै त्यस्ता समाचार पढ्न, तस्बिर हेर्न पाइन्छ । केही महिनाअघि एक मन्त्रीको समाचार छापियो । सार्वजनिक यातायात चढ्दा ट्राभल कार्ड नकिनेको भनेर ।
नर्वेमा सार्वजनिक यातायात गर्न ट्राभल कार्ड खरिद गर्नुपर्छ । चेकिंगको समयमा ट्राभल कार्ड साथमा नभेटिएमा तोकिएको जरिवाना तिर्नपर्छ । छुट कसैलाई हुन्न, चाहे मन्त्री किन नहोस ?
चेकिंग गर्नेले जरिवाना तिराएको उक्त समाचार पढ्दा लागेको थियो, ‘के नेपालमा त्यसरी मन्त्रीलाई कारवाही हुँदो हो ?’
त्यस्तो त परको कुरा । कमिसनको वार्गेनिङ अडियो सार्वजनिक भएका गोकुल बास्कोटा जस्ता व्यक्ति निर्धक्क भएर हिड्छन । मिडियामा आएर ठुलाठुला कुरा गर्छन । तिनैलाई जोगाउन प्रधानमन्त्री लाग्छन्, अनि मिडियाले त्यही समाचारलाई प्राथमिकताको साथ छाप्छन् ।
तर, नर्वेमा फरक छ । नर्वेमा फेब्रुअरी तेस्रो साता एक जनामा कोरोना देखियो । मार्च ११ मा तीन सय जनामा पुगेको कोरोना र्माच १२ मा बढेर ६ सय पुग्यो । त्यसपछि यहाँकी प्रधानमन्त्री सोल्वेग कोरोना आउटबे्रक भएको भन्दै लकडाउनको घोषणा गरेकी थिईन् । त्यसयता उनी बेलाबेलामा पत्रकार सम्मेलन गरेर विभिन्न कुरा जानकारी गराउँछिन् । सरकारले गतिविधि सार्वजनिक गर्छिन् । आवश्यक नियम पनि फेरबदल गर्छिन् ।
यही जानकारीसँग मात्रै उनी मिडियाको कभरेजमा पर्छिन् । त्यसअघि उनी नेपालका स्वास्थ्यमन्त्री भानुभक्त ढकाल जस्ती थिईन् । पहिला कसैले नचिन्ने, कोरोना लागेपछि मिडियामा छाउने । फरक यति हो, सोल्बेग देशप्रति कोरोनाको चिन्तामा मिडिया कभरेजमा परिन् । ढकाल देशमा परेको कोरोना संकटमा जिम्मेवारी निर्वाह गर्न नसकेकोमा परे ।
नर्वेमा पहिलो पटक मार्च २६ सम्मको लागि गरिएको लक डाउन थपेर अप्रिल मध्येसम्मलाई पुराइएको छ । त्यसपछि के हुन्छ, कोरोनाको अवस्थाले बताउला । यहाँ लकडाउन भएपनि किनमेल सहज छ । यहाँको सरकारले अभाव हुन नदिने घोषणा गरेको छ । सरकारको घोषणासँग जनता ढुक्क छन् । जनतालाई थाहा छ, ‘सरकारले जनताप्रति गद्दार गर्दैन् ।’
देशको अवस्थाबाट सरकार चिन्तित छ । तर, नागरिक भने कोरोनाबाहेक चिन्ता छैन । रोजगार गुम्नेलाई सरकारले बेरोजगार भक्ता दिएको छ । बेरोजगार भत्ता पाउनेमा हामी जस्तो आगान्तुक पनि पर्छन । तर, त्यसको लागि पुर्णकालीन रोजगार हुनुपर्दछ । विद्यार्थीको रुपमा रहनेले भने यो सुविद्या पाउँदैनन् ।
नर्वेमा नेपाली कति छन्, त्यसको एकिन तथ्यांक छैन् । तीन हजारको हारहारीमा नेपाली रहेको अनुमान गरिन्छ । नर्वेमा खासगरी विद्यार्थी आउँछन् । त्यस अलवा पोर्चुगल लगायतका देशबाट पार्सपोर्ट बनाएर आउने नेपालीको संख्या धेरैछ । विद्यार्थीको रुपमा आएर पीआर पाएर बस्नेहरु पनि बढ्दो छन् । नर्वे बसाई र आम्दानीको हिसाबले युरोपकै रामो मानिन्छ । नर्वेमा प्रति घण्टा झण्डै २० डलर पारिश्रमिक पाउँछन् ।
खुसीको कुरा नर्वेमा अहिलेसम्म कुनै नेपाली कोरोनाबाट संक्रमित भएको समाचार सुन्नमा आएको छैन । कोरोनाबाट संक्रमित नभएपनि नर्वेमा नव आगान्तुक विद्यार्थी भने कोरोनाको पत्यक्ष मारमा छन् । नर्वेमा वर्षेनी करिब एक सयको हारहारीमा विद्यार्थी आउने अनुमान गरिन्छ ।
नर्वेमा शिक्षा निशुल्क छ । आउँदा केही रकम डिपोजिट बाहेक खर्च लाग्दैन् । डिपोजिट रकम पनि नर्वे आएर कलेज शुरु गरेपछि फिर्ता गरिदिन्छ कलेजले । नर्वे आएपछि डिपेन्डेन्टमा श्रीमान/श्रीमति ल्याउन मिल्छ । डिपेन्डेन्ट फुल टाइमर हुन मिल्छ भने विद्यार्थीले महिनामा ८० घण्टा मात्रै काम गर्न पाउँछन् । नर्वेमा कोठाभाडा मंहगो छ । कोठाभाडा नेपाली एक लाखको हारहारीमा पर्छ । खानाचाहिँ त्यस्तै ३० हजार नेपाली भए एकजनालाई प्राप्त हुन्छ ।
नर्वेमा अगस्ट इन्टेकमा नेपाली विद्यार्थी आएका हुन्छन् । सबैभन्दा गाह्रो अवस्थामा यो अगस्टमा आउने विद्यार्थीहरु छन् । नर्वेमा नेपाली संघसंस्था र राजनीतिक भातृ संगठन पनि छन् । एनआरएन नर्वे, हेल्पिङ ह्यान्डस् नेपाल नर्वे, नेपाल जनसम्पर्क समिति, प्रवासी नेपाली एकता मन्च (ओएनयुएफ), नेपाल पार्चुगिस समाज नर्वे लगायतका संस्था संक्रिय छन् । अहिले ती संस्थाहरु त्यस्ता विद्यार्थी चयन गरेर केही सहयोग गर्न लागेका छन् । त्यस्तो सहयोग प्राप्त होला वा नहोला तर, पीडामा परेका विद्यार्थीको लागि राहत भने पक्कै हुन्छ ।
तर, यस्तो राहात पनि त कतिबेलासम्म बाँडने र ? यस्तै अवस्था अझै केही महिना रह्यो भने यहाँ बस्ने सबै नेपालीकै हालत के हुने हो ?
हुन त यहाँ बस्ने नेपाली मात्रै होइन, विदेश बस्ने नेपाली सबैको हालत उही हो । अझ, अस्ट्रेलियाले त गाह्रो हुने विद्यार्थीलाई फर्किन आह्वानै गरिसकेको छ ।
यस्तै अवस्था रहेमा भोलि अरु देशले पनि आफनै देशमा फर्किन आह्वान गर्न सक्छन् । त्यस्तो अवस्थामा हामीलाई पनि महाकाली नदीको किनारामा रहेका नेपालीलाई जस्तै व्यवहार गरिएमा हालत के हुने ?
आखिर हामी पनि त दुईचार पैसा रेमिट्यान्स पठाउने नेपाली न पर्यौं ।
भारतबाट फर्किनेले गोजीमा पैसा बोकेर ल्याउँछन, त्यसको गिन्ती हुन्न । हामीले विद्युतीय कारोबारबाट पठाउँछौं । त्यसको रेर्कड रहन्छ, फरक यति हो । आखिर तिनिहरुले र हामी युरोप अमेरिकामा हुने नेपालीले पनि गर्ने त मजदुरी नै त हो ।
तैपनि फरक देखिसक्यो, अमेरिकामा र अस्टेलियामा हुने नेपालीमाथि राष्ट्रपतिको चिन्ता रे । अरु देशमा हुने नेपालीको चाहीँ चिन्ता छैन् त राष्ट्रपति ज्यु ?
कि अमेरिका र अस्टेलिया बस्ने बाहेक नेपाली होइनन्, जस्तो लाग्छ ? नत्र विकसित देशमा बस्नेको चिन्ता लिनुको सट्टा सिमानामा अड्केका नेपालीको लागि दुई शब्द बोल्दा के बिग्रन्थ्यो ?

 

प्रकाशित: २३ चैत्र २०७६ ०६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App