अर्काको परिश्रम खोसेर कर्मठ बन्न नखोज, आफू निष्क्रिय भएर पहाडै फोडेँ भन्न नखोज। विध्वंस मात्रै भएको छ चारैतिर छैन प्रगति, उन्नति गर्नेलाई रोक्न खाडल खन्न नखोज।
समय चक्रले भत्काउँछ सुरक्षाको देवाल होस गर, प्रकृतिको उग्र रूप छेक्ने कुनै छैन पर्खाल होस् गर। उद्दण्ड बन्दैछ मान्छे सत्ता, शक्ति र धनको बलमा,विध्वंस गरी विकासमा गर्न हुन्न कुनै जाल होस गर।
हातमुख जोर्न धौधौ हुनेसँग सुनका कुरा के गर्नु, संवेदनहीन अमानवीय पशुसँग गुनका कुरा के गर्नु। स्वार्थले भरिएका विवेकहीन मान्छेहरूको सामुन्ने, बन्धुबान्धव,इष्टमित्र,नातागोता खुनका कुरा के गर्नु।
गर्विलो वात्सल्य चौतारीकी वैभव खानी हुन् आमा, संस्कार र संस्कृतिकी प्रथम गुरु ज्ञानी हुन् आमा। त्रिलोक चौध भुवनकी साक्षात्कार अधिष्ठात्री हुन्, सन्तानका कुकृत्य बगाइदिने निर्झर पानी हुन् आमा।